कविता : चम्कँदै छन् यहाँ नक्कली लेखक

~निर्मोही व्यास~Nirmohi Vyas

चम्कँदै छन् यहाँ नक्कली लेखक
लेख्छ ज्याला लिई ‘प्रेत’ले बे–धक
चल्न खोज्छन् तिनै झन् बजारैभरि
अब्बलै पर्न खोज्छन् हजारैभरि

हुन्छ होटेलमा भव्य लोकार्पण
खानको–पानको दिव्य आकर्षण
आरती चल्छ लामो, नथाकीकन
गर्दछन् भक्तले ‘नाम–संकीर्तन’

काम राम्रो कुनै होस् कि बेकार होस्
वाहवाही लिने स्वप्न साकार होस्
ढ्वाङ सक्तो फुकी गर्नु आफ्नै स्तुति
झांगिएको छ ऐले नयाँ संस्कृति

द्रव्यका दासमा हुन्न लज्जा, भय
गाउँछन् मिडियाले तिनैको जय
भन्नु दुष्कृत्य ‘उत्कृष्ट साहित्य हो’
त्यो त साहित्यमा नै ‘महाघात’ हो

(स्रोत : सौर्य दैनिक)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *