कविता : शण्डेश्वरको पर्व

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

तीते पाती बटुलन जाती,
माकुरजाली ल्याउन काती,
डाकन भ्याक्ते कोरस ताँती,
धापहरुको बालन बाती ।

छेपाराका रङ्गहरु ल्याओ !
चीलहरुका पङ्खा चलायो !
गन्धे झारका बालन धूप,
वेदी भरभर गोबर लेप,
ढयावर, ढयाङ्ग्रो टिनको ठटाओ !

दुनियाँ सारा पूजन आयो !
शण्डेश्वरको पर्व छ आज,
यस युगदिलमा उनको राज ।
टाउको उनको वज्र चटान,
मस्तिष्क अणु, अणु जल्दो मुहान ।

शास्त्रालङ्कृत चण्ड मुशण्ड,
हनुवा, हाँका उनको मुण्ड,
पुच्छर बेर्दछ भूतले फन्को,
झटार्छ जगत् यदि माखा झन्क्यो,
तोपहरुको ढ्वाँढ्वाँकार
उनकै गुँज्दो गुफा ओडार
कालो ध्वजा छ जूरो उँचा,
आज छ गर्नु उनको पूजा,
फलामहरुको मसल छ उनको,
मूर्ति बनाऔँ तर सब सुनको ।

रुपियाँको एक मन्दिर ढालौँ,
नोटहरुका लहरा हालौँ,
विज्ञापनका कागज डालौँ,
रङ्ग चडकारा सारा उज्यालौँ ।

बन्दूकहरुको बनाऔँ बार ।
बुट्टा सिंगारौँ नव तरबार,
तोपहरुका मञ्च उचालौँ,
युरेनियमका ज्वाला ज्वालौँ,
हो विजयले देऔँ सलाम !
रणबिकुलले घोषी नाम,
गोलीहरुका पूmल बरषाऔँ
लोहित झन्डा फहरन जाऔँ
गन्धक धूवाँ छाना छाऔँ,
कोलाहलका स्तुतिहरु गाऔँ !
शान्तिसुरक्षा बम् पडकाऔँ !
पृथिवी काँप्ने पर्व मचाऔँ !
मध्यपूर्वका तेल जलाऔँ !
द्धीप विविधका फलपूmल ल्याऔँ !
आजादीको एफिजी जलाऔँ !
लामखुट्टेका कोरस गाऔँ !
गरम पसीना जल ली चढाऔँ !
सभ्यताको अन्त्येष्टि मनाऔँ !

अन्नहरु सब होमौँ ढेर,
‘तन्त्र मुनाफा’ अक्षर दे’र ।
पसले संस्कृति जगमा फिँजाऔँ,
शण्डेश्वरको पर्व मनाऔँ !

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *