क्वान्टम कविता : मेरो देशमा भूत पसेको छ…

~डा.मधु माधुर्य~

झिसमिसे उज्यालो
रमितेहरुको भीडबाट गुञ्जिरहेछ कोलाहल
विश्वास/ अविश्वासको अग्नी-परीक्षामा ब्यस्त
जीवनको एक कालखण्ड –
टक्क रोकिन्छ:
टिकाथली
सिँहदरबार
दशगजा …

टिकाथलीमा –
एउटा घरकै मानिसहरु
भूत बनेर
सिंगो देश र संसार तर्साउँछन्
इँटाले हानेर झर्याम्म
आफ्नै झ्यालका सीसाहरु
रमितेहरु वरिपरि झुमिरहेका हुन्छन्
“थ्रिलिंग-धून” मा धामीहरु भित्र/बाहिर कामिरहेका हुन्छन्
र जिज्ञासा सगरमाथा चुलिएको छ !

सिँहदरबारमा-
आफ्नै देशका अमानिसहरु
कुर्सीको भूत बनेर
सिंगो देशको वर्तमान र भविष्य तर्साउँछन्
“प्रभूको रिमोट कन्ट्रोल” अनुसार चलेर
अस्थिरता र अन्यौलको नौटंकी देखाइरहन्छन्
युग-युगान्तार …
भूकम्पपीडितको रकमलाई
प्रकृति कै “कमिसन” सम्झेर
“आचारहिन धून” मा सबथोक घिच्दै /डकार्दै
संसारभरका नेपालीलाई अनवरत तर्साइरहन्छन्
हामी रमितेहरु पनि थाकेकाजस्ता छौं
र देशको अस्मितामाथि नै प्रश्नचिन्ह ठडिएको छ !

सीमानामा –
मुर्कुट्टाहरुले दशगजा उखेलेर
उधुम मच्चाएका छन्
कालापानी र सुस्ता लुटेका छन्
दक्षिणी-सीमा जोडिएका २६ जिल्लामध्ये २३ जिल्लाका
७१ भन्दाबढी ठाउँमा नेपाली भू-भाग मिचेका छन्
यसरी ६० हजार हेक्टर मिचिएपछि बाँकी भूभागहरु सात प्रदेशमा चिरेका छन्
चोरऔंला लुकाएर नव-लेन्डुपहरु
भास्मासूरका हात उचाल्दै “नमूना समाजवाद”का भाषण गरिरहेका छन्
बोली एउटा, ब्यबहार अर्कै
अर्थात्, पुर्खा कै बाँकी ईमानप्रति उपहास गरिरहेका छन्
देश र जनता विरुद्धका सम्पूर्ण गतिविधिहरुले
धैर्यताका सीमाहरू नाघिसकेका छन् !

टिकाथली – सिँहदरबार – दशगजा …
मेरो देशको एउटा “प्रोटोटाइप बेर्मुडा” त्रिभूज
जहाँ हाम्रा विश्वासहरु हराईरहेका छन्
खसेर सपनाहरु डुबिरहेका छन्
समयले देखाईरहेछ त्यहाँ हाम्रो विम्ब/ प्रतिविम्ब:
भुत्ते चेतना, अप्रेम र मृत्त अनुभूतिको संश्लेषण
कुहेको जाँडजस्तो दुङ्ग-दुङ्ग गन्हाइरहेको
हाम्रो यथास्थितिवाद –
परिवर्तनशील समयकोलागि एउटा नाङ्गो / अत्याधुनिक चुनैती !

चौताराको डीलमा बसेर बुढो पर्यटक
क्यमाराको ठूलो लेन्स चलाउँदै
सगरमाथामा चराउँछ आफ्ना दुई आँखाहरु
पग्लेर शुभ्र हिउँ
सगरमाथा नांगै छ
अलपत्र छाडिएका भग्न / खण्डहर बस्तीहरु
क्लिक क्लिक क्यामरामा कैद हुँदै छन्
शहरको धूलोमा होली खेलिरहने रमितेहरुको रहन-सहन र कोलाहल
भिडियोमा कैद हुँदै छन् …
तर २१ सौं शताव्दीमा पनि
हाम्रो आदिम जीवनशैली र पीडाको रहस्य नबुझेपछि
केहि अंग्रेजी छाडा-शव्दहरु फ्याँकेर वायुमण्डलमा
गाईडलाई सोध्ने आँट गर्छ माईकल::
“हैन, यहाँ के भैरहेको छ ?”
दोभाषेले सोझो / सरल भाषामा
आफूले बुझेको एकमुष्ठ जवाफ दिन्छ:
“मेरो देशमा भूत पसेको छ !”

एकजना सच्चा “तान्त्रिक” खोज्दै
म / हामी –
भौतारिरहेछु/ छौं …

हाल: न्युयोर्क, अमेरिका
फेब्रुअरी १०, २०१७

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *