कथा : केटो हेर्न आउँदा -‘आई ह्याभ अ गलफ्रेन्ड’

~सविता सापकोटा~

छोरीको बिहे समयमै गर्नुपर्छ । धेरै बुझ्ने भएपछि बिहे गर्न गाह्रो हुन्छ । ‘सेटाएर’ मैतिर थियो । बुझे पनि नबुजेझैँ बसिरहेँ । मेरो विचारमा सायद अलि अपरिपक्व हुँदा नै बिहे गर्दा केटीले बाबुआमाको रोजाइमा हस् भनी स्वीकार गर्छिन् र धेरै केटा देखाउनुपर्दैन भन्ने होला । केटाको कुरा ल्याउँदा नै यस्तो र उस्तो भनी खोट लगाउनाले पनि हजुरबुवाले यस्तो भनेको हुनुपर्छ ।

मान्छे जस्तो भए पनि ‘प्रोफेसन’ र पढाइ त मनपर्दाे हुनुपर्यो नि । बिहे गर्न मन नै छैन भने किन केटो हेरेर मन भड्काउनु । अघिल्ला वर्षहरुमा यसरी नै तर्किएँ । छोरीलाई सधँै माइतीमा बसेर पुग्दैन । यस्तै भन्थे आफन्तजन । यसपालि फुपूले कुरा राखेकी रहिछिन् घरमा । केटो सोझो छ । दुःख गरेर पढेको । जाँड, रक्सी केही खाँदैन । यस्तै यस्तै । जसरी पनि बिहेपछि श्रीमानको कमाइमै बाच्नुपर्ने भए यतिका वर्षसम्म पढाएको के काम ? बिहेको लागि गतिलो, सोझो, कमाइ भएको केटालाई नै सुम्पिन खोज्छन् । विचरा ! जागिर नपाएका बेरोजगारसँग कसले बिहे गर्ने ?

उमेर पुगेर पनि बिहे नगर्दा कतै छोरीले नाक काटेर भाग्छे कि भन्ने चिन्ता लाग्दो रहेछ बाबाआमालाई । हुन त मन न हो । कुनबेला भड्किन्छ पत्तै हुँदैन । कहिलेकाहीँ त बाबाआमाको किचकिच देखेर एउटा केटो टिपेर भाग्दिम जस्तो लाग्छ । छोरीको जातलाई जति पढाए पनि बिहेमा खर्च भइहाल्छ भन्ने गर्छन् । हुन त हो, नेपाली समाजमा बल्लबल्ल पढ्यो । जागिर पाउन नै धौधौ हुन्छ । जागिर खान थालेपछि छोरीलाई ज्वाइँको हातमा सुम्पिने बेला हुन्छ । कहिले कमाएर कहिले रमाउने ।

तेरो कतै लभसभ त छैन नि । बाबाले सोध्दै हुनुहुन्थ्यो । मुन्टो हल्लाएर छैनको सङ्केत गरेँ । आजकल त जता भए पनि लभ जोडी मात्र देखिन्छन् । आजकलका केटाकेटीको के भर आमातिर नजर लाउँदै जिस्काउँदै हुनुहुन्थ्यो उहाँ । हुन त त्यो जमानामा पनि बाबाआमाको लभ म्यारिज नै भएको थियो । भोलि केटो तलाई हेर्न आउँदैछ । राम्री भएर कुर्ता सुरुवाल लगाएर बस्नू । त्यो आफ्नो कोठा पनि बढारेर सफा पार्नू । मलाई त केटाको घरमा नै जान मन थियो । धेरै उत्ताउली नबन् भन्दै आमा अल्लि ठूलो स्वरमा बोल्नुभयो । म चियासिया बोकेर चाहिँ जादिन है । दिदीलाई नै दिन लगाउनू । अघिल्लो दिनमा नै जानकारी दिएकी थिए ।

कहिलेकाहीँ छतमा बसेर फोनमा बोल्दै गर्दा आमाले गफ सुनेर को हो भनी केरकार गर्नुभएको छ । साथी हो भने पनि आमालाई भने शङ्का लागेको छ । ऊ विदेश भएकाले प्रायः हामी च्याटमा कुराकानी गथ्र्याै तर कहिलेकाहीँ फोनकल हुन्थ्यो । भाइलाई भने सबै थाहा छ । भिनाजु भनेर ऊ पनि बोल्ने गर्छ । पोहोर साल भाइलाई आइफोन उसैले नै पठाइदिएको थियो । बेलुकी च्याटमा केटो हेर्न आउने कुरा राखे । म त यतै छु, ऊ जिस्कियो । तिमी बिदेशमै बस, मलाई अर्काेले उडाउँछ अनि चाल पाउँछौ । उडाए के भो त ? म आएपछि खोसेर ल्याउँछु । लौ साँच्चै हो ? ऊ थोरै झस्कियो । हेर्दिन भन्दा पनि फुपूले कर गर्नुभाछ । आज नै घर छोडेर भागुम जस्तो भाको छ । जाउँ न त मेरो घरमा गएर बस । म बुहारी आउँदै छिन् भनिदिन्छु । बिहे नगर्दै के नाताले जाउँ तिम्रो घर ? एकपटक हेर्दिन्छु । केटो मन परेन भनिदिन्छु । खोट लगाउने ठाउँ भेटिहाल्छ नि । उसले मन परायो भने नि ? तिमी जन्ती आउनु । राम्रो गिफ्ट लिएर । साच्चै केटीको मन कति कठोर हुन्छ है । कति सजिलै भन्यौै । अरे बाबा च्याट न हो । हल्का ठट्टा गर्न पनि नपाउनु । २ वर्ष ‘फलोअप’ गरेर पाएको माया हो चानचुने हो र ? ओके हजुर म हजुरकै हुँ । हाहा भन्दै हाँसेको इमो पठायो ।

धेरैबेर गफ नगर्नु नि सीधै मेरो ब्वाइफ्रेन्ड छ भनिदिनू । सानो बच्चालाई जस्तै सिकाउँदै थियो । लभ परेर टाढा रहेका हरेक प्रेम जोडीको सम्झना आयो । सायद यस्तै गरी सिकाउँछन् होला सबै । कसैले प्रमीलाई अनि कसैले प्रमिकालाई । त्यो रातभर हामी च्याट र भिडियो कलमै झुन्डियौ । मानौ म भोलि नै अर्काकी हुँदै छु र हाम्रो चार वर्षको माया प्रेम ओइलाएर झर्दैछ ।

राति अबेरसम्म बसेकाले बिहानभर निदाएँछु । उठेर मुख धोएँ । क्रिम, पाउडर लगाउने जाँगर थिएन । छरपस्ट किताबहरु एकठाउँमा मिलाए । काम गर्ने दिदी आएर अघि नै कोठा सफा गरेर जानुभएछ । हिजो मात्र किनेर ल्याएको मनसुन बेडमै राखे । चिया लिएर जाँदिन भनेकाले बाबाआमाले कर गर्नुभएन् । टाइट पेन्ट र टिर्सट लगाएर के शरीरको साइज देखाउनु । सिम्पल कुर्ता सुरुवाल नै लगाए । आमाको आदेशअनुसार म आफ्नै कोठामा बसे । मनसुन पल्टाएर पढ्न थालेँ ।

‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ यस्तै भएको थियो मनमा । एकछिनको प्रतीक्षापछि अङ्कलले केशु उहाँ नै हो भन्दै उसलाई मेरो कोठामा पठाउनुभयो । कस्तो केटीको जस्तो नाम मनमनै हाँसो उठ्यो । बन्द कोठामा दुईजना मात्र भयौँ । बस्नुहोस् न, मधुरो स्वरमा बोलेँ । कोठाभरि एक नजर लाउँदै उसले अर्को नजर मैतिर खन्यायो । मनमा दुविधा भयो । प्रश्न सोधौँ या मौन बसौँ । उसले नै प्रश्न गर्यो । ‘जेन्स फ्स्ट’ लागू भयो । उसले सोधेजस्तै प्रश्न सोधेँ ।

‘नाम नै केशु ?’

हैन नाम त केशव हो, साथीभाइ र घरमा बोलाउने नाम केशु ।

पढाइ कहाँपुग्यो त ? नाम भन्न अल्लि असहज लाग्यो ।

मास्टर्स लास्ट इयर, उसले भन्यो ।

जागिरको बारेमा उसले आफै भन्यो “होटलको म्यानेजर” कति हतार भाको, भन्न मन थियो बोलिनँ ।

मेरो मोबाइलमा म्यासेजको घन्टी भाइब्रेट गरिरहेको थियो । उसको मोबाइलमा फोनको घन्टी बजे पनि उठाउन असहज मान्दै थियो । फोन उठाउनुस् न, मनभरि आटँ सँगालेर बोलेँ । त्यही मेसोमा मैले पनि म्यासेजको रिप्लाई दिएँ । कुराकानी हुँदै छ । २० मिनेटपछि अनलाइन आउँछु ।

केटीको स्वर सुने पनि कसको फोन भनेर सोधेँ । उसले सीधै गलफ्रेन्डको भन्यो ।

“केटी हेर्न किन त ?” घरको कचकचले सोझो उत्तर दियो ।

मन पराए पनि न उसलाई जीवन साथी चाहिएको थियो न मलाई ।

“सेम हेयर” म पनि पछि परिन । अनि सोधेँ ह्वेर इज सी ?

जापान, दुई वर्षपछि आएर बिहे गर्ने प्लान छ ।

के छोड्थ्यो उसले पनि सोध्यो “ह्वेर इज ही ?”

अस्टे«लिया ।

किताब कत्तिको पढ्नुहुन्छ ? फुर्सदमा पढ्छु उसले भन्यो ।

जे भए पनि भेटियो, साथी बनौँ नभनेर रिक्वेस्ट पठाउने वाचामा मैले उसको फेसबुक आईडी मागेँ ।

अब निर्णय गलफ्रेन्ड छ रे भन्दिऊँ भन्दै हामी कोठाबाट बाहिर निस्कियौँ ।

हाँसोको लहरमा जम्दै थियौँ दुवै । सायद दुवैको समस्या हल भएर होला ।

ऊ गएपछि बाबाले सोध्नुभयो “कस्तो लाग्यो केटा ?” उसको त गलफ्रेन्ड छ रे । आफ्नो कोठामा गएर उसलाई रिक्वेस्ट पठाएँ र ब्वाइफ्रेन्डसँग कलमा गफिन थालेँ ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *