कविता : ऊ

~अर्जुन दाहाल~

ऊ बिहान सबेरै उठेको छ ,
नुहाई – धुहाई सकेको छ ,
रातो टीका टिलिक्क लाएको छ ,
मन्दिर गएको छ ,
ट्वाङ – उसले घण्टी बजाएको छ ,
नरिवल फुटाएको छ ,
फुलपाती , अगरबत्ती, नानाथरीले ,
देवी देवतालाई घाँस हालेको छ ,
र साथमा मागेको छ तिमिलाई ,
मात्र तिमिलाई ।

दौडिएर पुग्छ उ ,
उसको कलेज ,
ऊ हेर्छ, सबै रमाइरहेको क्षण ,
ऊ हेर्छ , बनभोज जान तयार रहेको गाडी ,
ऊ हेर्छ , आफुले लगाएको दशैँको लुगा
ऊ हेर्छ , हेर्छ र हेरिरहन्छ ,
तिम्रो सुस्त हिँडाई ,
तिम्रो चम्किलो मुहार ,
हावासँगै उडिरहेका तिम्रो केशहरु ,
ऊ हेरिरहन्छ तिमिलाई ,
लाटाले पापा हेरेझैँ ।

आहा! कति रमाइलो वातावरण ,
तर सबै बनभोजमै ब्यस्त ,
ऊ डुल्छ , तर तिम्रै वरिपरि ,
ऊ घुम्छ , तर तिम्रै वरिपरि ,
ऊ पनि मनाउँदै छ बनभोज , तर तिम्रै वरिपरि ,
ऊ साहस गर्छ ,
उसको स्तब्ध धड्कनले ,
उसको बन्ध आँखाले ,
र बोलाउँछ तिमिलाई एकान्तमा ,
के बोल्ने ? के भन्ने ?
कसरी बोल्ने ? कसरी भन्ने ?
स्थितिको पुर्वअनुमान लगाउन सिपालु उ ,
गोजीबाट सुटुक्क झिक्छ चिट्ठी ,
उसको अदृश्य आवाज ,
उसको हृदयको तरंग ,
जवाफ पाउने आशा छ उसलाई ,
ऊ गमक्क छ ।

तिमी छौ स्थिर ,
केही लजालु , केही नशालु ,
केही मुस्कुराए जस्तो ,
केही गहिरिए जस्तो ,
र बोल्दछौ ,
अध्यात्मिक ,
बौद्धिक ,
सन्तुलित ,
सायद तिम्रो लागि ब्यबहारिक ,
र हुन्छौ ओझेल उसको आँखाबाट ,
तिम्रो अस्पष्ठ जवाफले , उ कापिँरहेको छ ,
तिम्रो दर्शन सिद्धान्तले , उ आत्तिएको छ ,
र हेरिरहेको छ , उ तिमिलाई ,
पुनः लाटाले पापा हेरेझैँ ,
आफ्नो मनको कुरा पोख्ने , एक साधारण प्रेमी
ऊ तिम्रो मानसिक जवाफ पर्खिरहेको छ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *