छन्द कविता : अलौकिक कला

~दिव्यचन्द्र आचार्य~

छन्द : मन्दाक्रान्ता

तोते बोली अति छ रसिलो लठ्ठ पार्ने गला छ
हिँड्दा गोडा टुकुटुकु अहा चालभित्रै कला छ ।
गोडा साना नयन चतुरा मन्द मुस्कान दिन्छन्
हेर्दाहेदै मनबिच पसी झन् खुसी ल्याइदिन्छन् ।।१।।

मोती सानो तर पनि उही छर्छ आभा सुनौलो
बच्चा सानो भइकन सबै काम गर्दैछ नौलो ।
बच्चा नै हुन् गहन गहना सृष्टिको दिव्य रूप
छोरा छोरी सकल नमुना ईशकै हुन् स्वरूप ।।२।।

हामी खोज्छौ सुख र सुविधा चाहना छन् अनेक
साना बच्चा कति सहजमै ज्ञान बोल्छन् अनेक ।
ढुड्गा माटो अलिकति मिलोस् खेल्नमा मग्न मस्त
थोरैमा नै सुख र सुविधा मिल्छ भन्छन् प्रसस्त ।।३।।

धेरै गर्छन् कसरत कलाकार नौलो रियाज
ज्यादै भर्दा लय, नियमले बोझिलो भो रिवाज ।
बोल्छन् बच्चा कति सरलता छन्दको गन्ध छैन
कस्तो रोमान्चक र दरिलो दम्भ दुर्गन्ध छैन ।।४।।

कालो धागो सुनसरि बनी उच्च सम्मान दिन्छ
जाबो त्यान्द्रो किन र कसरी स्वर्णकै भान दिन्छ
जस्तो लाए पनि चहकिलो देखिँदै छन् चुटुक्क
सादा नै हुन् तर पनि तिनै पार्न सक्छन् भुतुक्क ।।५।।

छैनन् केही अनुभव भनूँ ज्ञानको पूर्णता छ
सानो नै हो तर नि शिरमा राख्न सक्दैछ ताज ।
नाच्दै गर्छन् अभिनयहरु लाग्दछन् पूर्ण पक्व
जाने कैले यतिविधि कला पर्छु धेरै म छक्क ।।६।।

दिव्यचन्द्र आचार्य
अग्निहोत्रशाला, म्हैपी, काठमाडौँ

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
विधा : छन्द कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *