कविता : मेरो औसत गुनासो

~भेषराज रिजाल~

मुटु छेडेर वारपार गर्ने
हजार प्रश्नहरु छन्
मुटु सिलाउनुपर्ने
कसैको एकाध शर्त पनि छैन
मन बुझाउनसक्ने
कसैको एकाध तर्क पनि छैन
उत्तर औसतमा हैन
अपवादमा खोज्न चाहन्छु
समाधान औसतमा हैन
अपवादमै खोतल्न चाहन्छु
जिन्दगीलाई पनि औसतमा हैन
अपवादमै नियाल्न चाहन्छु
किनकी,
यहाँ जिन्दगी
अपवादमै बाँचिरहेछ
यस्तो लाग्छ–
जीवनलाई,
सुखलाई,
दु:खलाई
औसतमा खोज्नु मुर्खता हो
दाँज्नै नसकिने सम्पन्नता
भोग्नै नसकिने दरिद्रता
सँगसँगै राखेर
जिन्दगीको नवीन परिभाषा गर्दै
कसैले औसत जिन्दगी बाँचिदिन सक्छ र ?
थकित जीवनयात्रीका लागि
कसैले औसत मृत्यु मरिदिन सक्छ र ?
जीवन शास्वत सत्य हो
मृत्यु शास्वत सत्य हो
हरेकले आफ्नै जीवन जिउनुछ
कहालीलाग्दो भए पनि
हरेकले आफ्नै मृत्यु मर्नुछ
जीवन खहरेखोलो भए पनि
आफै बग्नुपर्छ
जीवन पहाड भए पनि
आफै ठडिइरहनुपर्छ
म औसतमा जिन्दगीलाई नाप्न सक्दिन
जुठे, काले, गोरे, … सबैको दुखाइ होला
तर औसत पीडा हुनसक्दैन

दुखाइ दृष्टि भएर
ओखतीको बाटो हेरिरहँदा
दुखाइ धड्कन भएर
ओखतीको पल गनिरहँदा
तथ्याङ्कोहरु औसतमा
छारो भएर आउलान्
आँखाले छारोसँग
खै कहिले प्रतिवाद गर्नसक्यो र ?
तथ्याङ्कहरु औसतमा
छुरा भएर आउलान्
मुटुले छुरासँग
खै कहिले प्रतिवाद गर्नसक्यो र ?
त्यसैले,
जिन्दगीलाई तथ्याङ्कका तालिकामा नखोज
जिन्दगीलाई औसतका अङ्कहरुमा नजोख ।

रचना समय र स्थान : २०५९/०३/२९, नवलपरासी
प्रकाशित : देश सधैँ रुने छैन, कविता सङ्ग्रह, २०५९

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *