नियात्रा : मस्र्याङ्दी नदीको पानीजस्तै

~भीष्म उप्रेती~Bhishma Upreti_1

हामी हिँडिरहेका थियौँ । जीवनको अर्थ पनि हिँड्नुमा नै छ । जीवनमा अर्थ खोजिरहने र अर्थकै वरिपरि घुमिरहन चाहने मान्छेले त झन् नहिँडी सुखै छैन । उसमाथि पनि हामी त जीवनका भागदौडका यावत् कुराहरूलाई थाँती राखेर हिँड्नकै लागि भनेर यहाँ आएका । त्यसैले मध्याह्नबाट पश्चितमतिर ढल्कँदै गएको घामसँगै हामी हिँडिरहेका थियौँ ।

हामी जम्मा १३ जना थियौँ यो यात्रामा । श्रीओम श्रेष्ठ ‘रोदन’, रमेश श्रेष्ठ, साम्ब ढकाल, दुर्गाबहादुर शाह बाबा, मणि लोहनी, ठाकुर बेलबासे, यज्ञराज पौडेल, उज्ज्वल ओझा र म स्वयं गरी नौ जना त कवि-लेखकहरू नै थियौँ । बाँकी चार जनामध्ये किरण श्रेष्ठ फुटबलको खेलाडी र कोच हो भने साहित्यको असल पाठक र ज्यादै मिलनसार पनि । यामबहादुर गुरुङ र ओमबहादुर गुरुङ भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कर्मचारी । यो यात्रामा रुचिको विविधता, स्वादको विविधता, स्वभावको विविधता, दृश्यहरू एवं अनुभवको समेत विविधता सँगसँगै छ । आहा ! कस्तो रमाइलो कुरा ।

हिँड्न थालेको धेरै बेर भएको थिएन, त्यसैले थकाइ पनि थिएन । घर, आफन्त, साथीसँगी र चिरपरििचतहरूबाट टाढा गएको पनि धेरै भएको थिएन, त्यसैले लेश मात्र पनि न्यास्रो थिएन । बेँसी सहरमा टन्न खाएको खाना घटेकै थिएन, त्यसैले भोक पनि थिएन । धेरै पछि यसरी जम्मा भएका थियौँ मन मिल्ने साथीहरू र कति जनासँग त भर्खरै परचियको हात बढाएका मात्र थियौँ, त्यसैले शोक पनि थिएन । २०६५ सालको तिहारलाई अस्ितको दिन मात्र बिदा गरेर ढुक्कले हिँडेका थियौँ, अफिसमा बिदा स्वीकृत गरविर िहिँडेका थियौँ, त्यसैले कुनै चटारो र जिम्मेवारीको धङधङी पनि थिएन ।

त्यसो भए के थियो त साथमा हामीसँग ?

उत्सुकता थियो, उत्सुकता । विश्वास र अठोट थियो हिमाल नाघ्ने । सपना थियो माथि शिखरमा पुग्ने र आकाशजस्तै फैलिएर हेर्ने चारैतिर । भावना, विश्वास, उत्साह र सपनाले भरएिका थियौँ हामी चुलीचुली भएर हिमालका शिरहरूमाथि चुलीचुली थुपि्रएका दाग नलागेका सेता हिउँजस्तै ।

हामी हिँडिरहेका थियौँ । तर, बाटो सबैतिर बाटोजस्तो थिएन । नयाँ ठाउँमा हिँड्नेले बनाएकै बाटो खोजेर मात्र हुँदैन । बाटो बनाउँदै पनि हिँड्नुपर्छ, खोज्दै पनि हिँड्नुपर्छ । हामी पहिरोले ताछेर अक्करे भीर मात्र बाँकी रहेको ठाउँमा आफू अट्ने बाटो खोज्दै हिँड्न थाल्यौँ । यात्रामा बाटो खोज्दै हिँड्दा थपिने कठिनाइले पनि रोमाञ्चकता थपिदिने रहेछ र यात्रा जीवन्त बन्दो रहेछ ।

“यो बाटो बेँसीसहर चामे जोड्ने मोटरबाटो हो,” यामबहादुरजीले भन्नुभयो ।

“चामेसम्मै मोटरबाटो पुगेको छ ?” ट्रयाकसम्म खोलिएको तर कुपोषण र क्षयरोगले सिकिस्त बिरामीजस्तो ठाउँठाउँमा पहिरोले डसेर थला परेको ‘बाटो’लाई हेर्दै सोधेँ ।

“खनिसकेको छैन तर यो साल सकिन्छ होला,” उहाँले भन्नुभयो ।

“बाटो चामेबजार पुग्दा बेँसी सहरतिर भने बाटो हराइसक्ने रहेछ फेर िखोज्नुपर्ने र खन्नुपर्ने गरी,” ठाकुरजीले भन्नुभयो ।

“हिमाली क्षेत्र हो, विकट भएकाले विकास पनि धेरै समय बसिरहन चाहँदैन क्यार !” बाबाजीले भन्नुभयो ।

हामी हाँस्यौँ ।

हिँड्दाहिँड्दै कोही अघि र कोही पछि पर्नु अत्यन्त स्वाभाविक कुरा हो यात्रामा । यहाँ पनि त्यो संकेत देखिन थालेको थियो । ठाकुर, मणि र म विस्तारै नजानिँदो किसिमले अन्य साथीहरूभन्दा अघि पर्दै गयौँ र हामीबीचको दूरी लम्बिँदै जान थाल्यो । दुई-चारपटक त हामीले पर्ख्यौं र सँगै हिँड्यौँ । तर, यसरी पटकपटक पर्खंदा र आफ्नो गति छाडेर अर्काको गतिमा हिँडिरहँदा दिक्क र थकाइ दुवै लाग्ने रहेछ । हामीले आफ्नो स्वाभाविक गतिलाई निरन्तरता दिने सल्लाह गर्यौँ ।

यामबहादुरजी पेसाले स्वास्थ्य सहायक तर मनाङ र लमजुङको अत्यन्त दुर्गम हिमाली क्षेत्रमा नियमित उपलब्ध हुने एक मात्र डाक्टर । उहाँ यस क्षेत्र
भरि डाक्टर नामले चिरपरििचत हुनुहुँदो रहेछ भन्ने थाहा पाएपछि हामीले पनि उहाँलाई डाक्टरसा’ब नै भन्न थाल्यौँ । यता ओमबहादुर दाइ, यस क्षेत्रमा हिँडिरहने र सबैलाई सक्दो सहयोग गर्न अघि सर्ने सबैका माइलादाइ हुनुहुँदो रहेछ । त्यसैले उहाँलाई हामीले पनि माइलादाइ नै भन्ने निर्णय गर्यौँ ।

डाक्टरसा’ब र माइला दाइ पनि हामीसँगै हिँडिरहनुभएको थियो अघिल्लो पंक्तिमा ।

हिँडिरहेको बाटो त उक्लिएको मात्र थियो, एकैछिनमा सासै बसिहालेजस्तो पो भयो । एकछिन सुस्ताउन उभिएँ र त्यसपछि विस्तारो विस्तारो अघि बढ्न थालेँ । हिमाली क्षेत्रको पदयात्रा गर्दा नयाँ वातावरण र जलवायुमा बानी नहुन्जेल जबरजस्ती गर्नु हुँदैन र विस्तारैविस्तारै बानी पर्दै गएपछि एकनास हिँड्दा पनि केही हुँदैन भन्ने जानकारी यसअघिका यस्ता यात्राहरूबाट थाहा पाइसकेको हुँदा उभिँदै, सुस्ताउँदै र त्यसपछि आफ्नो स्वाभाविक गतिलाई पनि टिप्तै हिँड्न थालेँ ।

हिँड्दै थियौँ गफहरूमा छरएिर, दृश्यहरू हेर्दै रमाउँदै, हतारहतार गर्दै दक्षिणतिर ओरालो झररिहेकी मर्स्याङ्दी नदीको कलकलाउँदो जोवानलाई पनि हेर्दै र उसैले गुन्गुनाएको विरह पनि सुन्दै । यस्ता कति मर्स्याङ्दीहरू दिनदिनै विरहले भक्कानिँदै दक्षिणतिर र्झछन् र भोका मांसाहारीको सिकार भई दर्फरएिर बिटुलिन्छन् । कठै !

“दाइ, खच्चड आयो, बाटो छोड्नूस्,” मणिले भन्यो । हो, यस्तो धागोजस्तो बाटोमा हिँड्दा भावुक बनेर काम चल्दैन, सम्भे“m र सुरक्षित छेउ लागेँ । तर, मणिले एउटा खच्चडलाई च्याप्प समात्यो र भन्यो, “प्रभू, मैले ढोगेँ तिमीलाई । यस दुर्गम हिमालमा तिमी नै भगवान् हो, मानिसहरूलाई बाँच्न सिकाउने तिमी नै सबथोक । मेरो प्रणामलाई स्वीकार गर ।”

हिँड्दा हिँड्दै म छक्क परेर हेर्न थालेँ मणिलाई र त्यो खच्चडलाई । मर्स्याङ्दी नदीको पानीजस्तै भावनाहरू छताछुल्ल भएर आए मनभरि र तिनलाई आफूबाट निकालेर सुरक्षित राख्ने जोहोमा लागेँ म ।

यो हिमालमा
वर्षौंवर्षदेखि मानिसहरूले ढोगिरहेका छन्
ढुंगालाई
माटोलाई
नदीलाई
रूखलाई
पहाडलाई र उनीहरूका देवतालाई ।
तर, हिँड्दाहिँड्दै तिमीले
बाटामा भेटिएका खच्चडलाई
च्याप्प समातेर ढोग्यौ र भन्यौ,
तिमी देवता हौ यस हिमालमा
तिमी छौ र त्यसैले यहाँ अन्न छ, नुन छ, तेल छ
र जीवन छ
म तिमीलाई प्रणाम गर्छु ।
हिँड्दाहिँड्दैको म टक्क अडिएँ र हेरेँ
हिमाललाई
हिमालका मान्छेहरूलाई
प्रकृतिलाई
खच्चडलाई
र तिमीलाई ।
मैले भने तिमीलाई प्रणाम गरेँ ।

“दाइले कविता लेख्नुभा’को हो ?” ठाकुरजीले सोध्नुभयो ।

“हो, मणिको कविता,” मैले भनेँ ।

मणि उसको कविता लेखेँ भनेको हुनाले हतारएिर कविता सुन्न चाहन्थ्यो । तर, मैले भनेँ, “अहिले होइन । भोलि गाउँलेहरूलाई सुनाएको बेलामा सुन्ने है । अहिले त कविताले अलिकति परष्िकार पनि मागेको छ ।”

मणि र ठाकुर दुवैले मेरो कुरा माने ।

कुरा के भने हामीलाई यो यात्राको अवसर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जुटाइदिएको थियो । पदयात्राको यो क्षेत्र उक्त कार्यालयको कार्यक्षेत्रभित्र पर्दथ्यो र हामीले साहित्यको कुनै पनि विधाको माध्यमबाट यस क्षेत्रका जनतामा वातावरणको महत्त्व, उपयोगिता तथा संरक्षणका उपायहरूको प्रचारप्रसार गर्नुपर्ने थियो । यसका लागि यात्रा गर्नु, मानिसहरूसँग कुरा गर्नु, जानकारीहरू लिनु, कविता, कथा वा गीत लेख्नु र ठाउँठाउँमा साहित्यिक गोष्ठी गर्नु हाम्रो यस यात्राको कार्यक्षेत्रभित्र पर्दथ्यो । यस किसिमको यात्रा गर्नु मेरा लागि पहिलो अनुभव पनि भएकाले म ज्यादै रोमाञ्चित भइरहेको थिएँ । र, भावनालाई बहनेबित्तिकै खेर नफालीकन कुनै आकार दिइहाल्नुपर्ने अवस्थामा पनि थिएँ ।

बाटोमा सानो खोल्सो भेटिएकाले काठको साँघु तरेर हामी अघि बढ्यौँ । हामी जतिजति अघि बढ्दै थियौँ, हाम्रो जीउमा थकाइ पनि चढ्दै गइरहेको थियो । गफ गर्दै यसरी हिँडेको पनि झन्डै तीन घन्टा भइसकेको थियो । हिँड्नलाई चाहिने अभ्यास भइसकेको थियो तर पहिलो दिनको हिँडाइ भएकाले थकाइ पनि जीउमा ज्वरो चढेजसरी नै चढिरहेको थियो । हामी मात्र हिँड्दै गइरहेका थिएनौँ, साँझ पनि हाम्रो नजिकनजिक आइरहेको थियो । घडीमा ५ बजिसकेको थियो । हिउँदको याम हो, चाँडै रात परहिाल्छ भन्ने जान्दाजान्दै पनि बाटोमा बल्लबल्ल भेटिएको एउटा सानो पसलमा आइपुग्दा भने एकछिन बस्न र तातो चिया पिउन मन लागिहाल्यो । मनको आदेशलाई शिरोधार्य गरेर हामी कुर्सीमा बस्यौँ र थकाइलाई निकाल्दै फाल्न थाल्यौँ, बाटोतिरै । साथीहरू पनि आइपुगे । हामीले चिया बनाउन लगायौँ र पियौँ ।

“यहाँबाट अझै साढे दुई घन्टा हिँड्नुपर्छ बास बस्ने ठाउँमा पुग्न,” डाक्टर सा’बले भन्नुभयो ।

हामी सबै तस्र्यौं उहाँको कुराले किनभने ७ बजेभन्दा बढी समयसम्म हिँड्नुपर्ने प्रस्ट थियो । कात्तिकको महिना, ६ बज्दानबज्दै झमक्क साँझ परहिाल्छ । “यो अँध्यारोमा कसरी हिँड्ने ?” केही साथीहरूको डराएको स्वर एकैचोटि निस्कियो ।

“तर, बाटोमा अन्त बस्ने ठाउँ कहीँ छैन । विकल्पै छैन,” डाक्टरसा’बले पुनः तर शान्तसँग भन्नुभयो ।

यसपछि कोही बोलेन तर आफू चाउरएिको मरीच भएको अनुभूति भने सबैले गरेकै थिए । हामीले अबेर नगरी झोला बोक्यौँ र अघि बढ्यौँ ।

ठाउँठाउँमा पानी बगिरहेको थियो बाटोमा । बाटो ठाउँठाउँमा फुकेनासले अस्वाभाविक फैलेर भुँडे भएको जसरी कतै फुकेको र कतै भने सुकेनासले खाएर सकिनै लागेको जस्तो गरी सुकेको थियो । कतैकतै त मर्स्याङ्दीमा हाम्फालेर आत्महत्यासमेत गरेको देखिन्थ्यो बाटोले । घाम डाँडापार िपुगिसकेकाले दृश्यहरू भने निकै धमिलिएका थिए, हरयिालीहरू कालाम्य हुँदै गएका थिए । जीउमा जति थकाइ बढिरहेको थियो, प्रकृतिको सुन्दरता पनि त्यति नै घटिरहेको अनुभव भइरहेको थियो । अँध्यारोमा, अप्ठ्यारो बाटोमा खुट्टाहरू पनि ठेगानमा टेकिन छाडेका थिए ।

केही साथीहरूले टर्च लाइट बाल्नुभयो । उहाँहरू बुद्धिमान हुनुहुँदो रहेछ । आफूलाई त टर्चलाइट बोक्नुपर्छ भन्ने होस पनि आएन हिँड्ने बेलामा । त्यसैले हामी टर्चलाइट नभएकाहरूले मोबाइल निकालेर बाल्यौँ । तर, मोबाइलको मधुरो उज्यालोभन्दा वातावरणको गाढा अँध्यारो निकै बलियो सावित भयो ।

अँध्यारैमा एकाएक रमेश गीत गाउन थाल्यो ः

हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर यो मनमा फेर िभएर आउँछ ।

खै कुन्नि किन हो यही गीत छानेको रमेशले । मलाई पनि यो गीत असाध्यै मन पर्छ र ज्यादै अप्ठ्यारोमा परेका बेलामा अक्सर याद आउँछ ।

बल्लबल्ल झोला बिसाउन पुग्यौँ हामी स्याँगे भन्ने ठाउँमा अँध्यारोसँग झुत्ती खेलेरै भए पनि । मर्स्याङ्दी नदीको किनारमै रहेको सानो गाउँ रहेछ स्याँगे । स्याँगे अन्धकार ओढेर बसेको थियो र टुकीको मधुरो प्रकाशले अँध्यारोलाई काटिरहेको थियो । मर्स्याङ्दी अहिले पनि उसरी नै विरह गाइरहेकी थिई तर त्यो सुन्ने मन भएन अहिले ।

झोलासँगै डङरङ्ग आफूलाई पनि खाटमा बिसाइदिएपछि कतिबेरसम्म उठ्ने जाँगरै भएन । म निकैबेरसम्म त्यत्तिकै बसिरहेँ असरल्ल ।

“निकै चिसो हुँदो रहेछ यहाँ,” अनुभूत गरेँ बसेकै ठाउँबाट ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक ३७३)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नियात्रा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *