कथा : नेता मोहनप्रसादले देखे डरलाग्दो सपना

~विश्वराज अधिकारी~

भगवानको अप्रत्याशित आगमनबाट प्रसन्न हुँदै तर अलि डराएर नेता मोहन प्रसादले भने–“प्रभु, मेरो घरमा बडो कृपा गरिपाल्नु भयो, म धन्य भएँ, हजुर यसरी आउनुहोला भनी मैले कहिले चिताएको थिइनँ। नेताको कुरा सुनेर भगवानले हाँस्दै भन्नुभयो–“नेता मोहनप्रसाद, तिमी त नास्तिक व्यक्ति, भगवानप्रति तिम्रो आस्था छैन रे, भन्दै हिंड्छौ सारा संसारलाई। तिमी यति बढी आस्तिक हुँदाहुँदै पनि किन म नास्तिक हुँ भन्दै हिंड्छौ त जनतालाई, हँ नेता मोहनप्रसाद ?”

भगवानको कुराबाट नेता अलि लज्जित भए। नेताले आफ्नो लज्जामा हाँसो मिसाउँदै भने–“प्रभु, म के को नास्तिक हुनु, म त एक नम्बर खाँटी आस्तिक मान्छे हो। हजुरलाई थाहा भएकै कुरा हो, भगवानमा मेरो पूरा विश्वास छ। म नास्तिक हुँ भनेर त केवल जनतालाई भनेको हो मैले। जनतालाई आजभोलि साँचो कुरा भने पछि पत्याउँदैनन्। जुन नेताले जति बढी झूट बोल्यो उसलाई त्यतिकै बढी पत्याउँछन्। असल गरेर, सत्य बोलेर राजनीति गर्नेको दिन गयो अब, प्रभु। अनि, यस्तो स्थितिमा जनताको मन जित्न झूटको सहारा नलिएर के गर्नु त ? आउने चुनावमा उनीहरूको मत कसरी बटुल्ने त, हजुर ? कुनै अरू उपाय छ भने आज्ञा होस, प्रभु। झूट न बोलेर पनि चुनाव जित्न सकिने तरिका छ त अर्को कुनै, प्रभुको नजरमा ? भगवानले फेरि हाँस्दै भन्नुभयो–“हेर नेता मोहनप्रसाद, मभन्दा बढी जान्ने–सुन्ने त तिमी नै छौ। दाउपेंचमा तिमीलाई कसैले जित्न सक्छ र ? हामी भगवानहरूले त थाहा पाउन सक्तैनौं तिम्रा भित्री मनका कुराहरू। तर यसरी सँधै झूट बोल्यौ भने एक दिन पत्याउन छाडने छन् है, जनताले तिमीलाई, बुझ्यौ।”

भगवानको कुरा सुनेपछि नेताले हात जोड्दै अलि लाज मानेर भने–“प्रभु, सधैं एकै किसिमको झूट बोले भने पो न पत्याउला जनताले, सधैं नयाँ–नयाँ किसिमको झूट बोले भने हामीले झूट बोलेको थाहा नै पाउँदैनन, यी सोझा साझा जनताले। फेरि अर्को कुरा प्रभु, झूट पनि अलि पत्यारिलो किसिमले आत्म विश्वासका साथ भन्नुपर्छ। प्रभु, जनताको पनि अब झूटो कुरा सुन्ने बानी परिसकेको छ। कहिले काहीं झुक्किएर हामीले साँचो कुरा गर्दा पत्याउँदैनन्, झूटो कुरा सुन्दा सुन्दा। जस्तै, सधैंभरि शुद्ध भनी पानी मिसाएको दूध खाएको व्यक्तिले यथार्थ मा शुद्ध दूध खायो भने पचाउन सक्तैन रे, पेट खराब हुन्छ उसको, अनि त्यस्तो दूध खाने व्यक्तिले शुद्ध दूध दिनेलाई गाली गर्दै भन्छ रे, कस्तो नराम्रो दूध दियौ तिमीले, मेरो त पेट नै खराब भयो। अस्ति–अस्ति तिमीले नियमित रूपले दिने दूध नै ठीक थियो, शुद्ध थियो ।”

नेताले थपे–“हजुरलाई त सबै कुरा विदित नै छ। म ठूलो आस्तिक मान्छे हुँ । हजूरबाट कुनै कुरा लुक्न सक्छ, कहीं, प्रभु ? हजूरलाई त छर्लङ्ग नै छ मेरो बारेमा।”

नेताले फेरि थपे–“प्रभुको कृपा सधैंभरि यसै गरी रहिरहोस् ममाथि। अनि नि प्रभु, अब आउने चुनावमा मैले जितें भने प्रभुको सुनको मूर्ति बनाई स्थापना गर्नेछु, एउटा सुन्दर मन्दिर निर्माण गरेर त्यो मूर्तिलाई त्यसभित्र राख्नेछु, प्रभु। त्यसैले अहिले प्रभुको आराधना गरेको, प्रभुलाई आह्वान गरेको, यो कुरा बिन्ती गर्न।”

नेताको कुरा सुनेपछि भगवानले अलि रिसाएको जस्तो गरेर भन्नुभयो– “हेर नेता मोहन प्रसाद, तिमी जनतासँग त सधैं झूट बोल्छौ नै, मसँग त झूटो न बोल। मेरो कृपाले तिमीले आउने चुनाव जितेपछि मेरो मन्दिर बनाउने छौ भन्ने कुराको कुनै ग्यारन्टी छैन। तिमी सधैं झूट बोल्ने मान्छेको के विश्वास १ गएको चुनावमा नै तिमीले भनेका थियौ, यो चुनाव जिते भने मेरो निर्वाचन क्षेत्रमा हजुरको एउटा सुन्दर मन्दिर बनाउने छु भनेर, खोइ बनाएको ? चुनाव जितेको पनि कति वर्ष भइसक्यो। हो कि होइन, ल भन त ?”

भगवान अलि क्रुद्ध भएको हो कि भन्ने अनुमान गर्दै नेताले भगवानको हात माथि आफ्नो शिर राख्दै भने–“के गर्नु प्रभु, हजुरको कृपाले नै चुनाव जितेको हो। हजुरको दया ममाथि त थियो नै, तर मेरा कार्यकर्ताहरूको हात पनि कम थिएन, मलाई त्यो चुनाव जिताउनमा। उनीहरूले मलाई चुनाव जिताउन हर सम्भव प्रयास गरे। के गरेनन् मेरा कार्यकर्ताहरूले, बुथ कब्जा गरेनन् कि फर्जी मत हालेनन् ? जायज–नाजायज सबै काम गरे। तर चुनाव जितेर पनि के गर्नु, प्रभु ? मेरो पार्टी नै यस्तो पर्‍यो, कहिले सरकारमा जान न सक्ने । सरकारमा जान पाएको भए, हजुरको मन्दिर बनाउनु कुनै ठूलो कुरा थिएन। सरकारमा जान नसक्ने पार्टीमा बसेर के गर्नु, त्यसैले मैले त्यो पार्टी नै छाडिदिएँ, र अर्को एउटा छुट्टै पार्टी खोलें, प्रभु। आफू त्यो पार्टीको हालीमुहाली हुने विश्वासमा, सरकारमा जान पाइएला भन्ने आशमा।”

नेता मोहनप्रसाद एकै छिन घोरिए। त्यसरी घोरिएको केही क्षणपछि भने– “हुनत मैले समय –समयमा उचित निर्णय लिएको छु, प्रभु। कतिवटा पार्टी फेरिसकें मैले, त्यसैले जहिले पनि म शक्तिशाली छु। तर कस्तो मेरो भाग्य १ धेरै पार्टी फेरे पनि, नयाँ पार्टी खोले पनि कहिले सरकारमा पुग्न सकिएन। धन्य मलाई विजयी गराउने ती जनता, आफू रहेको पार्टी फुटाउँदा पनि, नयाँ पार्टी खोल्दा पनि र यी सबै कुरा केवल आफ्नो स्वार्थ र अहम्का लागि गर्दा पनि पत्याएको छ, मलाई। मैले गर्ने विरोध सभा, आमसभामा कस्सिएर भाग लिएको छ। मेरो साथ दिएको छ। अविश्वास गरेको छैन जनताले। मैले उठाएको मुद्दा गलत छ भन्ने बरु मलाई लागेको हुन्छ तर जनतालाई भने पत्तै हुँदैन, त्यो कुराको। त्यति मात्र हो र, मैले केवल आफ्नो स्वार्थका लागि कुनै राजनैतिक दल वा नेतामाथि झूटो आरोप लगाउँदा, गाली गर्दा समेत मेरा कार्यकर्ता र जनता मसँगसँगै लागेर गाली गरेको छ, ती नेता र राजनैतिक दलहरूलाई, मैले गाली गरेको उचित छ भन्दै। जनताले मलाई निकै साथ दिएको छ। फलानो व्यक्ति प्रधानमन्त्री हुँदा, मैले आफूलाई चर्चामा ल्याउन उनले गरेको एउटा जनहित कार्यको विरोध गर्न मैले उनको र उनको पार्टीविरुद्ध जुलुस निकालें, आमरण अनसन बसें, मेरा कार्यकर्ताहरू जोशका साथ जुलुसमा सहभागी भए, मसँगै आमरण अनसनमा बसेर विरोध गरे। भारतको अन्ना हजारेका समर्थकहरू झैं, ठूलो सङ्ख्यामा समर्थकहरू ओइरिएका थिए मैले गरेको त्यो आमरण अनसनमा। कति विश्वास छ ममाथि उनीहरूको। तर उनीहरूको म प्रतिको त्यस्तो विश्वास देख्दा कहिले काहीं भने ग्लानिबोध हुन्छ, मलाई। सधैं जनतासँग झूट बोलेकोमा मेरो अन्तर्आत्माले मलाई धिक्कार्छ। तर धिक्कारेर, ग्लानि गरेर के गर्नु ? ग्लानि गरेर, आफूलाई आफैंले धिक्कारेर चुनाव जित्न सकिंदैन, सत्तामा पुग्न सकिंदैन, प्रभु। हुन त जनता पनि सबै असल कहाँ छ र, अपराधी, स्वार्थी र लोभीपापीहरू पनि उत्तिकै छन्। तर के गर्नु प्रभु, त्यस्ता खराबहरूको सहयोग नलिए चुनाव जित्न सकिंदैन। असल मतदाताहरूको सहयोगले जित्न गार्‍हो छ, बरु उल्टो चुनाव हारिन्छ, असल मतदाताले प्रचार प्रसार गरे भने। चुनाव हारेपछि भएन त फसाद १ कहिले शक्ति हातमा लिएर त कहिले सत्ताको वरपर नै बसेको धेरै समय भयो प्रभु, अब त शक्ति र सत्तामा नभए त बाँच्न नै नसकिने जस्तो भइसक्यो । शक्ति र सत्ता त चुरोट, चियाको अम्मलजस्तो भएको छ। त्यसैले अनेक किसिमका झूटा मुद्दा उठाएर जनतालाई ती मुद्दाहरूको पछि लगाउनु परेको छ, मैले। कहिले जनकपुरको त कहिले टनकपुरको, कहिले पानीको त कहिले खानीको अनेक किसिमका हावादारी मुद्दाहरू उठाउनुपरेको छ। त्यसो नगरे जनताले बिर्सिदिन्छ, प्रभु १ फिल्ममा खेल्न नपाएका, चर्चाबाट हराएका हिरो–हिरोइनलाई दर्शकले बिर्सेजस्तो। जनताले बिर्सिदिए कसरी शक्तिशाली हुन सकिन्छ, प्रभु १ त्यसैले कुनै न कुनै मुद्दामा अल्झाउनुपरेको छ जनतालाई। कहिले दमनको विरोध भन्दै त कहिले शोषणको विरोध भन्दै। कहिले विभेदको विरोध भन्दै त कहिले के को…। र जनतालाई सडकमा उतार्ने सबैभन्दा सजिलो तरिका भनेको प्रभु, क्षेत्रवाद, राष्ट्रवादको नारा चर्काउनु हो। हामीले यो तरिका प्रयोग गर्दा जहिले पनि हजारौं मानिस आएका छन् सडकमा। त्यसैले यो नारा हामी बढी प्रयोग गर्छौ। हिन्दी फिल्ममा काम गर्ने विवाहित हिरोइनले बजारमा आफ्नो माग बढाउन पत्रकारहरूलाई बोलाएर मेरो फलानो हिरोसँग रोमान्स चलिरहेको छ भन्ने हल्ला बजारमा फैलिएको छ भन्दै आफैंले अन्तर्वार्ता दिएजस्तो।”

नेताको कुरा भगवानले गम्भीरतापूर्वक सुनेरको देखेर उत्साहित हुँदै उनले भने–“प्रभु, सधैंभरि हामीलाई पनि खुराफाती काम गर्न कहाँ मन लाग्छ र ? के गर्नु, राम्रो काम गर्न दिँदैन जनताले। कहिले यो गरिदे, कहिले त्यो गरिदे भन्दै आइपुग्छन समर्थकहरू, कार्यकर्ताहरू। दबाब दिन्छन् जायज नाजायज काम गर्न। एकचोटी मलाई यति रिस उठ्यो, प्रभु, के भन्नु। एकपटक एउटा मेरो अति नै समर्पित कार्यकर्ता आयो र भन्यो–“मैले हजुरलाई जिताउन केही गर्न बाँकी राखिनँ, नेताजी। ज्यानकै बाजीसमेत लगाएको थिएँ, बुथ कब्जा गर्न तपाईंको चुनावमा। अहिले हजुरको पालो आएको छ मेरो लागि केही गरिदिने । मैले एसएलसी दिएको छु तर मेरो जाँच बिग्रेको छ, दुईवटा विषयमा पक्कै फेल हुन्छु। कसलाई हुन्छ भनेर हजुरले मलाई ती विषयहरूमा पास गराइदिनुपर्‍यो। त्यो कार्यकर्ताको त्यस्तो कुरा सुनेर बैठक कोठाबाट त्यसलाई घाँटीमा हात हालेर निकालीदिउँ जस्तो लागेको थियो मलाई, तर के गर्नु, गएको चुनावमा उसले गरेको सहयोग र आउने चुनावमा उसले गर्न सक्ने मदद झल्झली सम्झें मैले। आफ्नो पिएलाई बोलाएर उसको समस्या लेख्न लगाएँ। उसलाई जसरी पनि एसएलसी पास गराइदिने झूटो विश्वास दिलाएँ। अनि यस्तो स्थितिमा झूट नबोलेर के गर्ने त प्रभु ? पढ्ने बेलामा अल्लारिएर हिंड्ने, अनि फेल भएपछि पास गराइदिन भन्ने, के त्यस्ताहरूसँग साँचो बोलेर काम चल्छ ? तर प्रभु, त्यस्ताको काम गर्न मेरो नैतिकताले दिएन। हामीले जनताको काम गर्ने हो भन्दैमा जस्तोसुकै घटिया काम लिएर आइपुग्छन मान्छेहरू, के भन्नु त्यस्तालाई। म आफूले कम मेहनत गरेर पढेको हुँ, एसएलसीको परीक्षामा दिनको ८ घण्टा पढेको छु। एसएलसी पास गर्न सकिएन त्यो बेग्लै कुरा हो। के गर्ने प्रभु, यसलाई यसो भनिदेऊ, उसलाई त्यसो भनिदेऊ भन्नेहरूको कथा बयान गरेर साद्धे नै छैन। एकचोटी एउटा केटो यसरी नै मेरो घरमा आयो। त्यतिखेर म एउटा पार्टीमा प्रवेश भएको थिएँ, पहिलेदेखि जुन पार्टीमा थिएँ, मप्रति त्यो पार्टीले अन्याय गर्‍यो भन्दै। पुरानो पार्टी छाडेर नया पार्टीमा प्रवेश गरे पछि म मन्त्री हुने हल्ला चलेको थियो, काठमाडौंमा मात्र होइन, बाहिर पनि। त्यो केटाले के भन्यो, प्रभुले सुनेर पनि अचम्म मान्नुहुनेछ। त्यो केटोले भन्यो एउटा ऐलानी जग्गा उसको नाममा दर्ता गराइदिनुपर्‍यो। त्यस्तो गराइदिने हो भने उसले त्यो जग्गाबाट आएको पैसामध्ये आधा मलाई दिने रे १ त्यो सुनेर म यति रिसाएँ कि उसले चुनावमा मलाई गर्न सक्ने सहयोग पनि बिर्सें अनि बेस्सरी गाली गरें त्यसलाई। रातो मुख लगाएर त्यो केटो हिंड्यो, त्यसपछि त्यो कहिले देखा परेन मेरो घरको वरिपरि । अलिअलि तल–माथि गर्नु भनेको अर्को कुरा हो, तर त्यस्तो घटिया काम कसरी गर्नु ? त्यस्तो घटिया काम गर्नु त आफ्नो नैतिकता नै बेच्नु हो। त्यो पनि त्यति थोरै पैसाका लागि, त्यस्तो घटिया कामको लागि। मान्छेहरूले हामीमाथि आरोप लगाउँछन्, हामीले विकासको काम गरेनौं भनेर। यस्ताहरूले फुर्सत दिए पो विकासको काम गर्नु, राष्ट्र निर्माणको काम गर्नु, होइन त प्रभु ?”

नेताको लामो कुरा सुनेपछि भगवान दिक्दार मुद्रामा देखिनुभयो। भगवानले अलि खिन्नता भाव मुहारमा ल्याउँदै भन्नुभयो–“नेता मोहनप्रसाद, मैले छिटै स्वर्ग फर्कनु छ। आज धेरै देवगणको उपस्थिति छ, एउटा गम्भीर विषयमा छलफल गर्न। मलाई सबै देवगणले अनुरोध गर्ने भएका छन् एउटा इमानदार नेताको अवतार लिएर यो पृथ्वीमा आउनका लागि। पृथ्वीमा नेता, उनीहरूको विचार र राजनीति सबै अति दूषित भयो रे। राजा रामको पालामा जस्तो राजनीति जनमुखी रहेन अहिले यो पृथ्वीमा। राजनीति नेतामुखी हुन पुग्यो। नेपाल खण्डमा त झन् अति नै । नेताहरूलाई सद्बुद्धि प्रदान गर्न र राजनीतिलाई पवित्र तुल्याउन मैले नेताको रूप धारण गरेर यो मृत्युलोकमा आउनै परेको छ रे, देवगणको विचारमा। त्यसैले म अब जान्छु। तिम्रो लामो गफ कति सुन्नू १”

भगवानको कुरा सुनेपछि नेताले मुहारमा प्रसन्नता ल्याउँदै भने–“प्रभु, हजुर युवकको रूपमा आउनुभए हुन्थ्यो, यो धरतिमा। बालकको रूपमा आए त म हिंडिसकेको हुन्छु, माथितिर। अनि अर्को चुनावमा मलाई प्रभुको आशीर्वाद प्राप्त होला भन्नेमा म पूर्ण विश्वस्त छु ।”

नेताको कुरा सुनेर भगवान अलि क्रुद्ध हुनुभयो र भन्नुभयो–“नेता मोहनप्रसाद, म तिमीलाई कुनै किसिमको सहयोग गर्दिनँ। तिमीजस्तो जहिले पनि झूट बोल्नेलाई किन सहयोग गर्ने ? मैले त तिमीले जनताको भलाई गरेको होलाऊ, ठूलो त्यागका साथ उनीहरूको सेवामा समर्पित भएका होलाऊ भनी अहिलेसम्म सहयोग गरेको थिएँ। तर तिमीले त केवल आफूलाई र आफ्नो परिवारलाई सहयोग गरेको रहेछौ। जनताको पैसाले महल बनाएका छौ। झोपडीमा बस्ने मान्छे तिमी..। तिम्रो सबै चर्तिकाला मैले धर्तिमा आएपछि मात्र देखें। तिमीले अहिलेसम्म झूटो बोलेर ढाँटेको रहेछौ मलाई। अँ हँ अब म तिमीलाई सहयोग गदिर्नं।”

नेताले डराउँदै भने–“हजुरको दया दृष्टि नभए त म बरबाद नै हुन्छु। म जस्तो मान्छे, सधैं गफ गरेर जीवन बिताएँ, अब राजनीतिभन्दा बाहिर गएर मैले के काम नै गर्न सक्छु र, प्रभु १ दाउपेँच गरेर नै जीवन बित्यो, अब के काम गर्न सक्छु होला त मैले ? ममाथि दया गर्नुपर्‍यो प्रभुले। आउने चुनावमा मलाई जिताउनुपर्‍यो। नत्र म बरबाद हुन्छु, घरको न घाटको हुन्छु। प्रभु दया होस्, दया होस, ममाथि।”

बोली प्रस्ट हुन नसकेको आवाज मुखबाट निकाल्दै पलङ्गमा काम्दै गरेको देखेर नेता मोहनप्रसादकी पत्नी कमलाले दिक्क मान्दै भनिन्–“होइन, दिउँसै डरलाग्दो सपना देख्नुभए जस्तो छ, नेता ज्यू। उठ्नुस्, के के भइसक्यो के के, थाहा छैन। तपाईं चाहिं सुत्नमैं मस्त…। अलि पहिले नै पार्टी कार्यालयतिर गएर कुरा मिलाएको भए हुन्थ्यो नि। बरबाद भयो नि त १”

पत्नीको कुरा सुनेपछि अर्धनिद्रामा रहेका नेताले डराउँदै भने–“के भयो र, त्यस्तो, हँ ?”

पार्टीको नीतिविपरीत काम गरेको, पार्टी फुटाउने उद्योगमा लागेको भनी तपाईंलाई पार्टीबाट निष्कासन गरे, पार्टीमा बलियो पकड भएका तपाईंका विरोधीहरूले, संस्थापन पक्षले रे। अहिले भरखरै समाचारले भन्यो। त्यो समाचार आउनुभन्दा पहिले बैठकमा थुप्रै कार्यकर्ताहरू तपाईंलाई भेट्न बाटो कुरिरहेका थिएँ, त्यस्तो समाचार सुनेपछि ती सबै उठेर हिंडे, तपाईंलाई भेट्दै नभेटी । मैले तपाईंलाई भनेको त थिएँ नि, त्यो पार्टीमा नजानुस् भनेर, मान्नुभएन। मन्त्री बन्ने सुरमा त्यो पार्टीमा जानुभयो हानिएर, दायाँ–बायाँ विचारै नगरेर। देख्नुभयो त अब। खानु भयो नि धोका।”

पत्नीको कुराबाट आश्चर्यचकित हुँदै नेताले भने–हँ ऽऽऽऽ।

समाप्त

br2063_adhikari@yahoo.com

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *