कथा : सतिस मर्‍यो !

~जीवन देवान गाउँले~

मलाई साक्षी राखेर उसले जुन कुराको घोषणा गर्यो, त्यस कार्यलाई मैले हर्कतको संज्ञा दिए । किनभने उ जे भन्थ्यो हुदै गरेको चै अर्कै लाग्थ्यो मलाई ।

‘पट्याउदैछु ।’ भन्नलाई त उ यसो भन्थ्यो । तर अरूहरू उ स्वयम पट्टिदै गएको देख्थे । अरूहरू जस्तो देख्थे म पनि तेस्तै देख्थे । नत्र केटीको निर्देशनमा चल्नु उसलाई के कर ?

कुनै समय विदेशी भएर ढोंगीहरूले मात्रै विदेशी केटीसित प्रेम गर्छ भन्ने मान्यता राख्थ्यो उ । त्यसैले ईन्डोन र फिलिपिना गर्लफ्रेण्ड च्याप्ने नेपालीहरूलाई भन्ने गर्थ्यो,- गुन्द्रूकको झोलमा जात फाल्नेहरू । मलेनी केटीको प्रेममा परे पछि भने उसको मान्यता भत्किसकेको थियो । तैपनि उ आफ्नो मान्यता उपर तर्क गर्थ्यो,- लोकल ईज लोकल । नफाल्नु जात फालिसके पछि चोक्टा कै खातिर फाल्ने हो ।

‘चोक्टाको लोभमा झोलमा डुबि मर्लास् !’- अरूहरू भन्दा म संग अलिक बेसी अन्तरंग सम्बन्ध राख्ने हुनाले बेलाबखत उसलाई सचेत गराउथे । चोक्टा खानु उसको एकल दम्भ मात्रै पनि त हुन सक्थ्यो नि !

मलेनी केटी संगको प्रेममा लहसिन थाले पछिका दिनमा भने उसको फुर्ती चढ्न थालेको थियो । रवाफ यस्तो दिन्थ्यो, मानौ: उसको नाममा Maycard (मलेसियन आईसि) फस्यो ।

असलमा उ आप्रवासी कामदार थियो । अलि खुलाएर भन्दा भगौडा कामदार थियो । अझ खुलस्त भन्दा ईलिगल थियो । त्यसैले भिषाकपीमा हुने र उसले परिचय दिदा भन्ने गरेको नाम अलग अलग हुने गर्थ्यो । यसो हुनुको कारण उसले रोजगारदाता र डुलिखाने पुलिसको ऑखामा छारो हाल्नलाई भिषा भएका कसैको भिषाकपीको फोटोकपी बोक्नु नै थियो । त्यसैले उसले बोक्ने फोटोकपीको नाम उल्लेख गर्नुको कुनै तुक नरहने हुदा भन्ने गरेको नाम नै यहा खुलाईयो – सतिस ।

सतिस मलेसिया आउनुको कथा अरू धेरैले गर्ने कथनी भन्दा फरक थिएन । देश माओवादी गृहयुद्धमा फसेको, शान्ती सुरक्षा अमनचैन नभएको, जिउधनको सुरक्षा ग्यारेन्टी नभएको, रोजगारको बन्दोबस्त सरकारले गर्न नसकेको जस्ता कारण नै बताउने गर्दथ्यो । घरको आर्थिक स्थितिलाई चै उसले साहयक कारण बताउदथ्यो । भन्थ्यो,- दुईछाक खानु र एकसरो लाउनु पुग्ने परिवारको हुँ ।

पढ्ने उमेरमा यो केटो विदेशमा गुलामी गर्न किन आएको होला ? -यो सवाल सतिसलाई भेट्ने बितिकै मेरो मनमा उठेको थियो । र, जिज्ञासा राख्दा उसले भनेको थियो,- स्कुल हिडेको मान्छे किताब बाटोमा फालेर बन्दुक बोक्नु पर्ने समय आईलाग्यो त्यही भएर विदेशको बाटो रोजियो ।’

‘निम्न आर्थिक अभावको कारण शिक्षाबाट अझै पनि धेरैको संख्यामा बन्चित छन्’ भनेर भनेको सुन्दा म सतिस जस्ताहरूलाई सम्झिने गर्थे, जो आर्थिक रूपमा सवल हुदाहुदै पनि राजनीतिक कारणले शिक्षा बाट बन्चित हुन बाध्य भए । र, सोध्थे,- ‘तिमी जस्तै परिबन्दमा परेर मलेसिया आउनेहरूको संख्या कति होला है ?’

‘धेरै’ – सतिससंग पनि ठ्याक्कै यतिको संख्या भन्ने जवाफ थिएन ।

‘अनि विदेशको बाटो चै सहज रै’छ त ?’- म सोध्दथे ।

‘विदेश झन गन्जागोल रै’छ ।’ भन्दै गोलचक्करमा फिनिनि भएको कथा सुनाउथ्यो,- ‘गाउँमा बसिखानै नदिए पछि पासपोर्ट बनाईयो । टाढाको नाता पर्ने एजेन्टलाई समातियो । मलेसियाको भिषा चॉडो लाग्ने र फर्निचरको काम सजिलो हुने भन्दै उसले म्यानपावरमा बुझाई दियो । म्यानपावरले उडाउनु दूई महिना लगायो । एयरपोर्टमा लिन आउन कम्पनीको मान्छेले दूई हप्ता लगायो । र, दूई घण्टा बेसी कुदाएर जंगलै जंगलले घेरिएको अनाकन्टार ठाउँमा मिनीवसबाट ओराल्दै चिनायो यहीको हो तिमेरले काम गर्ने कम्पनी ।’

विदेश भन्ने बितिक्कै विकसित मुलुक, गगनचुम्बी घर, रातमा पनि दिनको झल्को दिने झिलिमिलि शहर, सम्पन्नता, सुकिलामुकिला मान्छे …आदि जस्ता कुराहरू नै विदेश नदेखेको नभोगेको मान्छेको सोचाईमा विम्वित हुन्छ । सतिसलाई पनि यस्तै लागेको थिएछ कि उसले काम गर्ने कम्पनी गगनचुम्बी घरहरूले घेरा हालेको शहरमा हुनेछ । एसी जडित कोठामा बसेर कुर्सी, टेवल, दराज बनाउने काम गर्नेछ । र, महिना मरे पछि म्यानपावरले भनेको जति तलब थाप्नेछ । तर, सतिसको भनाईलाई मान्ने हो भने कम्पनीको वास्तविकता उसले सोचेको अवस्थाको थिएन । गर्नु पर्ने कामको प्रकृति उसले सोचेको जस्तो थिएन । तलव पनि म्यानपावरका मान्छेले भने झै ठ्याक्कै थिएन । थियो त तीन पखेटे पंखा मुनि उभिएर बडेबडे मेसिनमा बडेमानको काठ चिराना गर्नु नै उसको काम थियो ।

कम्पनीमा काम गर्नु सासले हिक्न छोडेपछि म्यानपावरको मान्छेलाई सिकायत गर्न फोन गरेको कुरा पनि सतिसले सुनायो,-
‘सर ! एउटा काम भनेर अर्को काममा पठाउने ?’ -उसले कडा स्वर गरेछ ।

‘किन ? के भो र भाई ?’- म्यानपावरको मान्छेले नरम बोलीमा जिज्ञासा राखेछ ।

‘अनि फर्निचर भनेर मुढा चिर्ने कम्मनीमा पठाउने ?’- उसले हल्का धम्कीको भाषा पनि बोलेछ,- ‘तुरून्त भनेको काममा सार्दिनु नत्र…!’
‘तेती महंगो कल गरेर आवेसमा कुरा नगर्नुसन ।’ तेलसरी बोलीमा म्यानपावरको मान्छेले उल्टो सवाल गरेछ,- ‘भाई ! फर्निचर के को बन्छ ?’
– काठको ।
‘काठ के को हुन्छ ?’
– रूखको ।
‘अनि ति मुढाहरू पनि रुखैका होलान् त ! भाईले खै कुरा बुझेको ?

म्यानपावरको मान्छेले कुरा बुझाए पछि सतिसको मुखमा बुचो लागे झै भएछ । तर अवेवस्थित होष्टल र कम तलवको बारेमा चै कम्पनीमा कुरा गर्दिन्छु भन्दै टारेछ ।

कम्पनीको निसासिदो दैनिकी देखी नैरश्यता जागेको अवस्थामा कसैले सतिसको कान फुकेछ- कम्पनी छाडेर भाग्ने, अन्तै काम खोजेर गर्ने । यसो गर्न सकेमा कम्पनीमा भन्दा बढी कमाई हुने पनि फुकिदिएछ । कान फुक्नेले नै भाग्ने र कामको प्रबन्ध मिलाई दिने भएछ । त्यसपछि कान फुकिदिनेको साथीको पनि साथीको पनि साथीको सम्पर्कमा पुगेछ । र, काम दिलाई दिए वापतको अारएम तीनसय एजेन्ट फिस बुझाएर सुरक्षा गार्डमा भर्ती भएछ ।

‘तेसपछि कम्पनी छाड्दै भाग्ने कार्य जारी छ ।’ भनेर हाल कार्यरत कम्पनीमा पॉचौ पटकको पालोमा आईपुगेको मलाई सुचित गरेको थियो । यसरी सेक्युरिटी कम्पनी पनि छाड्दै हिड्नु पर्ने कारण सतिस भन्ने गर्थ्यो,- समयमा तलव नपाईने, दुई-तीन महिनाको तलव होल्ड गर्ने, माग्दा पुलिस लगाई दिन्छु भनेर धम्की दिने , अनावस्यक वहानामा तलव काट्ने, आदि आदि ।

‘अहिले काम गर्दै गरेको कम्पनीमा चै टिकिएला त ?’- म सोध्थे ।

‘काम ठिकै छ, कम्पनी पनि ठिकै छ, तलव पनि ठिकै समयमा दिदैछ ।’ भनेर भने पनि सतिसको जवाफ अनिश्चित हुन्थ्यो,- ‘चित्त बुझिन्जेल गरिन्छ, नबुझेको दिन छाडेर हिडिन्छ ।’

ईलिगल भएको हुदा एउटै कम्पनीमा बसेर, अनेक दु:ख कष्ट सहेर भएपनि बस्नै पर्ने गरिको सतिस बाध्यकारी थिएन । तर, काममा नियमितता नहुदा कमाईमा असर पर्ने हुनाले सकभर गर्दै गरेको कम्पनीलाई चै उसले नछाडोस भन्ने म चहान्थे । किनकी जस्तो परिस्थितिमा परेर उ विदेशिएको भए पनि ‘विदेशीनुको अर्को अर्थ पैसा कमाउनु हो’ भन्ने मेरो ठम्याई हो । फेरी उसकै कुरालाई मान्ने हो भने कम्पनी ठिकै थियो । मैले काम गर्ने बंगलोको सामुन्यको बंगलोमा उसले डिउटी गर्ने हुदा राम्रै काम भएको म जान्दथे । तसर्थ ब्यवहारिक हुन र समयलाई चिन्न म सुझाव दिने गर्दथे ।

सतिस पनि मेरो सुझावमा गम्थ्यो । कहिलेकाही घर-परिवारको पीर गर्थ्यो,- ‘बा-आमाले दूईछाक कसरी जुटाउदै होलान् !’
‘दुई छाक खान र एकसरो लगाउन दुख छैन भनेको हैन ?’- उसैले भनेको कुरा म सम्झना गराई दिन्थे ।

‘थिएन तर उब्जनी हुने खेत बन्दकी राखेर मलेसिया आईयो । यता आफ्नो हालत भने यस्तो छ ।’- सतिस आफैलाई बन्दकी खेत उकास्न नसक्ने नालायक सम्झन्थ्यो ।

उ सहित दुई भाई र एक बहिनी रहेको उसको परिवार पूर्णत खेतीपातीमै निर्भर रहेछ । त्यही खेत बन्धकी परे पछि दुई छाक खानुको लागि परिवारले संघर्ष गर्नु परेको दुर्दशा सतिस सुनाउथ्यो ।

‘कम्पनी पनि ठिकै रै’छ, काम पनि राम्रै छ, ईलिगल भए पनि सेफ्टी नै छ, तलव पनि समय मै दिदो रहेछ । यहा चै दिगो काम गर । एकदुई साल टिक्यौ भने खेत उकास्ने पैसा भै हाल्छ नि !’ – म उसलाई ढडस दिदै भन्थे,- ‘मलेसिया नआएकै भए तिमीलाई जाति थिएछ ।

जस्तो परिबन्दमा परेर सतिसले मलेसिया आउनु परेको थियो त्यसप्रति विस्मत लागेको हुनु पर्छ ठानेर ‘आफ्नै खेतबारी खनजोत गरेको भए हुने’ आसयको जुन भाव मैले ब्यक्त गर्थे उसमा तेस्तो असर देखिन्थेन । बरू उल्टै सतिस प्रश्न गर्थ्यो,- ‘जिन्दगीको अर्थ दूईछाक खानु मात्रै होर ?’

‘भनेपछि जिन्दगीको अर्थ बुझेकै र’छौ । भविश्यको बारेमा पनि चिन्तन गरेकै होला । बा-आमा र भाईबैनीलाई दु:खबाट पार गर्ने दायित्वबोध भएकै होला । बन्धकी खेत उकास्ने जिम्मेवारी कॉधमा भएको मनन गरेकै होला । यि सव कुरालाई सम्झेर मनलाई कावुमा राख्नु । मलेनीसंग हिमचिम बढ्दै गको देख्दैछु, साया को पछि लागेर यौवनलाई सार्वजानिक नगर्नु ।’ – म अर्ती दिई टोपल्थे । किनभने मलाई डर थियो – साया को घुम्टो भित्र घुस्रेर उसले एउटा छोराको कर्तव्य बिर्षिने छ, दाजुको कर्तव्य बिर्षिने छ । अरू त अरू सायाङको घुम्टोबाट बाहिरिनु परेको दिन उ नंगेझार अवस्थामा हुनेछ ।

तर, ‘अर्ती भनेको आफू भन्दा सानाको पनि सुन्नु पर्छ’ भन्ने त उखान मात्रै त र’छ नि ! बोल्दा तिमी बोलाबोल गरे पनि उमेरले सतिस भन्दा म जेठो नै थिए । रै’पनि उसले मेरो अर्ती सुनेन । मैले देखेको समस्या प्रति गम्भिर देखिएन । बरू विदा बसेर सायाङ संग डेटिङ जाने, तलव थापेको बेला सायाङ संग डिनर गर्ने गर्न थाल्यो । त्यही भएर पट्याउदै छु भन्ने मान्छे आफै पट्टिदै गएको भान म लगायत अरूहरूलाई पर्न गएको थियो ।

‘मधौराले माड खाईदिए पो ओखतीले छुन्छ, जॉड खाईदिए यत्रो छुन्छ !’ मेरो वाणीहरूले सतिसको चेतनाको वीणा झन्कराउनु सकेन । जसरी उसले आफूलाई कावुमा राख्नु सकेन उसैगरी काम प्रतिको लापारबाहीलाई नजर अन्दाज गरेर कम्पनीले पनि डिउटी दिएर राखिराख्न सकेन । उ आफ्नै कारणले कामबाट निकालियो ।

त्यसपछि सतिससंग भेट भएन । तर कहिले काही फोन सम्पर्क भने हुन्थ्यो । फोनमा कुरा हुदा म सोध्ने गर्थे,- कस्तो चल्दैछ जिन्दगी ?
‘कस्तो भन्नु ! उही भागदौड त हो ।’- सतिस मलेनीसंगको रेस जारी रहेको संकेत गर्थ्यो । यसो भन्दा उसको आवजमा कहिले उत्साहित त कहिले निरूत्साहित भाव आउदथ्यो ।

‘सतिसलाई यो भागदौडले कहा पुर्याउला ?’- म आफैलाई सोध्ने गर्थे ।

यस्तैमा सतिसले भेट गर्न चाहायो र उसकै रूममा आउन आग्रह गर्यो । म उसले दिएको लोकेसनमा ट्याक्सी लिएर पुगे ।

हामी लगभग एकसाल पछि भेटियौ । रूमको अवस्था हेर्दा ठिकैको बन्दोबस्ती रैछ भन्न सकिन्थ्यो । तर सतिसले भन्यो,- ‘डिउटी पनि दिगो छैन, बसाईको पनि टुंगो हुदैन, यस्तै लिसिङफिसिङमा काम चलाई राखिएको छ ।’

सतिसले फ्रिजबाट कोकको जम्बो बोतल निकाल्यो । दूईटा गिलासमा खन्यायो । र, एउटा म पट्टि सार्यो, अर्को उसको लागि राख्यो । कोक पिउदै, गफिदै मैले रूमको अवस्थिति अवलोकन गरे । हेगरको एकछेउमा लेडिज ड्रेस झुण्डिरहेको देखियो । सोधे,- ‘केटी राखेको छौ ?’
‘छैन ।’-सतिसले छोटो जवाफ फर्कायो ।

‘अनि उ त्यो लुगा ?’- औला ताक्दै फेरी सोधे ।

‘ए… त्यो त्यै केटीको ।’ तेति भन्दिए पछि केटीको बारेमा अरू खुलाउनु उसले जरूरी ठानेन ।

‘भनेपछि भागदौड यहासम्म पुगिसक्यो है !’ भनेर मैले ऑखाको चालले सोधे,- ‘अरू कति भाग्ने ?’

‘यो रेसमा खुट्टा हालि हालियो । अव भविष्य सम्झेर पनि सकिन्जेल भागिन्छ ।’ भनेर सतिसले मलेनीसंग विहे गर्ने योजना रहेको रहस्य खोल्यो । अझ रहस्यमय कुरो त मलाई तव लाग्यो जव उसले मुस्लीम धर्म ग्रहण गरिसकेको बतायो ।

‘धर्म परिवर्तन…!’- मैले अाश्चार्य ब्यक्त गरे । सतिसले मुस्लिम भए भन्दा पत्यारै लागेन ।

‘मेरो कुन चै आफ्नो धर्म थियो र ? मैले भन्दै आएको धर्म त शासकहरूले हाम्रा पूर्खाहरूलाई थुपरी दिएको र पूर्खाबाट विरासतमा पाएको न हो ।’- सतिसले धर्म परिवर्तन भनेको प्रति नै आपती गर्यो र सोध्यो,- ‘पूर्खाले खुन-पसिना सिंचेर जोडेको बिर्ता गुमाउनु जतिको अपराध त गरिन होलानी धर्म अंगिकार गरेर ?’

सतिसलाई उसको बैयक्तिक जीवन जिउने स्वतन्त्रता थियो/छ । त्यसैले अनेकन तर्क गरेर उसलाई भड्काउनु र उसको योजनामा भॉजो हाल्नु उचित थिएन । मैले अवरोध गर्दैमा सतिस अडिने या पछाडी फर्किनेवाला पनि थिएन ।

सतिस बोलिरहयो, मैले उसको कुरा सुनिरहे । विहेको योजना बतायो । मलेनीसंग विहे गर्नुको उदेश्य बतायो । भविश्यको लक्ष्य पनि भन्न भ्यायो । ‘तिमीलाई यहा बोलाउनुको पनि कारण छ ।’- सतिसले भेट्न चहानुको भेद खोल्यो,- ‘बाहिर अलिकती काम छ, जाउ न ।’
हामी रूमबाट निस्कियौ । सतिस अघि लाग्यो । मैले पछ्याए । भर्खर भर्खर बस्तै गरेको नयॉ वस्ती छिचोलेर झाडी फैलिएको खाली ठाउँमा पुग्यौ ।

‘यता आउन ।’- झाडी भित्र पसेर सतिसले बोलायो ।
झाडी भित्र किन बोलाउदैछ ? -भन्ने चै मनमा चस्स पस्यो तर मन डराउनु पर्ने गरिको चिसो भएन । म सतिसले बोलाए तिर बढे । म पुग्दा सानो एकबित्ता जति गहिरो खोबिल्टा उसले खनिसकेको थियो । उसले गोजीबाट सानो बट्टा निकाल्दै भन्यो,- ‘यहा सतिसको लास छ ।

सतिसले अल्लाहको नाममा चढाएको आफ्नो लिंगको छाला बट्टामा राखेर गाढ्नु ल्याएको रहेछ । उसले बट्टालाई खोबिल्टामा राख्यो र माटोले पुर्यो । चप्लेटी परेको ढुंगाले थिच्यो । त्यसपछि खोबिल्टा खन्न प्रयोग गरेकै काठको छेस्कोलाई चिनो भनेर गाड्यो । म हेरेको हेर्यै भए ।

सतिस ! जिन्दगीको रेसमा भागेर यति पर सम्म पुग्छ भन्ने मलाई पत्यार लागेकै थिएन । पुगेपनि आफैलाई मार्ने सम्मको हर्कत गर्ला भन्ने लागेको थिएन । तर, उसले त मलाई नै साक्षी राखेर घोषणा गर्यो – सतिस मर्यो ।

लेखकको संछिप्त जानकारी: धनकुटा जिल्ला,बोधे निवासी जीवन देवान “गाउँले” विगत लामो समय देखि मलेसियामा बसेर कलम चलाइ रहनु भएको छ। हालसालै उहाँको नयाँ कथा संग्रह “पार्सल” प्रकाशनमा आएको छ।

(स्रोत : हाम्रोदमक डट कम)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *