कविता : विश्वबन्धु

~माधवप्रसाद घिमिरे~

चहल पहल ठूलो, आज नौलो जमाना
जल गल नभ जेल्छन् रेल जाहाज नाना
मनुज मनुजलाई खाली छल्ने लखेट्ने
अझ पनि अखडा क्यै ? विश्वका बन्धु भेट्ने

बन शहरहरुका वास बस्ती हजार
नरम गरम नाना भावनाका प्रचार
सफल रंग र रेखा आज छन् एक चित्र
प्रकट भुवनदेवी मुस्कुराइन विचित्र

अघी अघि बढी आयौं खोज संघर्षद्वारा
नव युग अब लाग्यो, भेटियौं बन्धु सारा
अपरिचित छँदाका बिर्सियुन् वैरभाव
सब सहज बसाऔं विश्वमा बन्धुभाव

कति दिन धन-आन्द्रा थुत्छ बेपार-ब्वाँसो
कति दिन बम गोला नाशको हाँस्छ हासो
कति दिन अब छल्ला ज्ञान, हुस्सू बनाई
कति दिन अब खेल्लान भाइ भाइ लडाइँ !

सफल उपर पुरा आज दायित्व भार
जन जन सब होओ विश्वका होशियार ।
अलिक धमिलिंदामा एउटाको विचार
तलबल फिंज काड्ला विश्वकी वारपार,

अणुबम अब हानी जिन्दगानी रहन्न
नर-रगत बहाई शान्ति सङ्लो बहन्न
मनुज मनुव एकै, एउटै प्रश्न हाम्रो—
‘कुन तरह बनाऔं’ विश्व संसार राम्रो

नव नव सुविधाको खोजमा नित्य लागौं
निज हक नपुगेमा भाइका साथ मागौं
अरु अबुझ भएमा खाइ खामोश हारौं
दिन पर दिन ज्यूँदो जाति आफ्नो न मारौं

विपुल छ पृथिवी यो बस्न चाहिन्छ वास
दिनभर लग गर्दछन् खान चाहिन्छ गाँस
जिउनु छ सबलाई स्वच्छ चाहिन्छ वायु
अलभ छ नर-चोला पूर्ण चाहिन्छ आयु

वचन धक फुकाई विश्वमा बोल्न पाऊन्
हृदय हृदय शंका–शून्य भै खोल्न पाऊन्
नव नव प्रतिभाका सत्य सन्देश ब्यूँझून्
अजर अमर आत्मा, दास कोही असंझून्

रहर रहन नौला खोल्न केही नपाई
कहर कहर काटी बोल्न केही नपाई
सकससित नजावस जिन्दगानी रुँदैमा-
मलिन मुख लिंदैमा शोकमा झोक्किंदैमा

दिन सफल सुनौला पूर्वमा मुस्कुराऊन्
रहर रहर नौला जिन्दगीमा जुराऊन्
जल थल नभ जेली शान्ति खोलोस् वयेली
सकल उपर हाँसून् एक तारा उजेली

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *