कविता : बालक

~भीमनिधि तिवारी~

देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि
दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते !
फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी !
देख्ने को ? नौ महीनाको एउटा बालक चुस्थ्यो दूध मृत माताको !(१)

झुत्राझुत्रा तान्द्रातान्द्रा हा ! वस्त्रविशेष थियो उसको । सारा लट्टा,
जमठ भएको कपिल कपाल थियो उसको । शुष्क ओष्ठ बीचमा
सस्मित दंत थियो उसको, आँखाको डिलमंतिरचाहिं आँसु-थोपा
टप्केको । बामे सर्दै बबुरो बालक चुस्थ्यो दूध मृत माताको ! (२ )

यस दुनियाँमा गरीबहरुको पीरपिराउ हेन को ? निःसहाय
अनाथहरुको आर्त्तनाद सुन्ने को ? मर्नेचाहिं मरिरहेछन् ।
एक वचन बोल्ने को ? सहानुभूति, सहायता गर्ने को ? कस्तो न्याय
विधाताको । रोईरोई विचरो बालक चुस्थ्यो दूध मृत माताको ! (३ )

रात्री झन् झन् चढ्दै आयो, कर्कश स्वर –ध्वनि उलूकको । सब
सडक सुनसान मसान समान भो, बहन्छ वायु हिमगिरिको !
कता कताबाट सुदूर स्यालको आउँछ आवाज प्रतिध्वनिको ।
घाँटी टप्पटप्प सुकाई टुहुरो बालक चुस्थ्यो दूध मृत माताको ।(४ )

उषाकाल भो । चराहरु बोले घण्ट सुनियो मन्दिरको । दूर पूर्व
पहाडमा मधुर लालिमा, रंग बदलियो धरातलको । पहिलो
ज्योति त्यही पाटीमा आयो, हेर्यो , भास्करको । देख्यो के ?-क्षुधित
नग्न, कृशतनु, प्रायः मृत बालक चुस्थ्यो दूध मृत माताको !!! (५ )

(कविता सङ्ग्रह “कविता-‘नन्द’” बाट )

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *