कविता : दिन आइसकेको छ

~विक्रम सुब्बा~

झयालहरु खोल शान्ति, ढोका उघारेर पर्दाहरु उठाऊ
उज्यालो जुलुसले उज्यालो हातमा बोकेका
उज्याला झण्डाहरुलाई पस्न देऊ
लोकल हिटलरका कसन्ट्रेशन क्याम्प ध्वस्त पार्ने
डेमोक्रेसीका उज्याला नाराहरुलाई कोठामा पस्न देऊ
लर्डाईंका कथा पढिए धेरै युद्धका सिनेमा हेरिए
इन्क्लाबी कविता-गीत धेरै गाइए कोठाभित्र

विशुद्ध गायकहरुका मसाल-स्वर सडकमा सामेल छन्
कथाकारहरुले कथालाई गम्भीर मोड दिएर
खलनायकको गुरुयोजनालाई तिरिमिरी झयाइँ देखाएका छन्
आन्दोलनको डढेलाले लपेट्दैछ सिंहदरबारका जारहरुलाई
कोठा भित्रभित्रै धेरै प्रेम रचियो
रोदीघरदेखि चौतारीसम्म जताततै पिरती खेलियो
हाल आएर गल्ली गल्लीमा देश-प्रेम छताछुल्ला भएको छ
देश प्रेमीहरु मुलुकमाराहरुका छातीमा
फाइनल खेलको निर्णायक प्रहार गरिरहेछन्
ककफाइटमा पनि दुबै पक्षले जित्ने नियम हुँदैन
जनताले हारेको सिठी कहिल्यै बजेको छैन
राम, बुद्ध र इशूलाई पुज्ने जनताले
मानिसलाई उखेलेर फाल्न पनि जानिसकेका छन्
उखेलेर फालेपछि देउता पनि ढुंगा मात्र हुन्छ ।
फिक्रि नगर शान्ति,
हद्द भए अझै केही ज्यान जाला
तर डेमोक्रेसीका सेनाहरुको लस्कर बहुत लामो छ
चिहान भन्दा पनि कालो शासनको आकाशमा
‘शान्ति क्षेत्र’को सेटलाइट छाडेर आँखा छल्ने दिन गए
बन्दुकका वैशाखी टेक्ने व्यवस्थाले देश चल्दैन
फरक फरक डिजाइनका भत्ता ख्वाएर
साइज साइजको हत्या गर्दैमा अत्याचार टिक्दैन
मुलुक सल्काएर चिलिम तान्ने डिक्टेटरहरु
भटाभट ढल्दैछन् दुनियाँबाट
जो बाँकिछन् तिनको पनि दिन आइसकेको छ ।

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *