कथा : त्यो

~मोहनविक्रम सिंह~

त्यो कहाँ बस्थ्यो, के गर्दथ्यो ? यो कसैलाई थाहा हुँदैन ।

बिहान…..

घाम झुल्केको केही पछि त्यो बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो घाम अस्ताएको केही वेरपछि त्यो पिपलका रुखहरूबाट उठेर जान्थ्यो ।

फेरि अर्को दिन बिहानै……

त्यो क्रम चलिरहन्थ्यो ।

जङ्गलमा गएर त्यो कहाँ बस्दछ ? के गर्दछ ? त्यो कुरा कसैलाई पनि थाहा थिएन । यो पत्ता लगाउन कैयौँ गोठालाहरूले कोशिश गरे । शिकार खेल्ने मानिसहरूले रातमा गएर खोजे । तर सारा जङ्गल चाल्दा पनि त्यसको डेरा पत्ता लाग्न सकेन ।

त्यो झन्पछि झन् सबैका लागि रहस्यमय व्यक्ति बन्दै गयो ।

त्यसको उमेर कति वर्षको थियो ? यो भन्न मुश्किल पर्दथ्यो । मुखबाट केही अन्दाज लगाउन सकिन्नथ्यो । त्यो मानिस २५÷३० वर्षको पनि हुन सक्थ्यो, ४०÷५० वर्षको पनि ।

त्यसका शरीरमा केही कपडाहरू थिएनन्, शिवाय एउटा पुरानो टोप र फाटेको दौरा ।

त्यसका साथमा अरू केही सम्पत्ति थिएन, शिवाय एउटा माटाको हाँडी । त्यो हाँडी कैयौँ ठाउँहरूमा फुटेको, पुरानो र कालो मैलो थियो । त्यसले त्यो हाँडीलाई कहिल्यै पनि छाड्दैनथ्यो । त्यसले त्यो हाँडीलाई सधै हातले छातीमा अडाएर ल्याउँथ्यो र त्यसै गरेर फर्काएर लैजाने गर्दथ्यो । पिपलको बोटमुनि आइपुगेपछि हाँडीलाई अगाडि राखेर दिनभरि बस्दथ्यो ।
त्यसका अगाडि बाटामा सयकडौँ मानिसहरू हिडिराख्दथे । तर त्यसले कहिल्ये पनि कसैसित केही थापेर मागेको कसैले देखेको थिएन । उसले बाटामा हिँड्ने प्रत्येक मानिसहरूलाई ध्यानपूर्वक हेर्दथ्यो, कसैलाई खोजे झैँ, कसैलाई चिन्न खोज भै, कसैको जाँच गर्न खोजे झैँ । तर न त्यो कसैसित बोल्दथ्यो, न त्यसले कसैसित केही माग्दथ्यो ।

प्रायशः बाटामा हिँड्ने मानिसहरूले त्यसलाई कही न केही दिइराख्दथे, सैले उसका अगाडि चुरोटका ठुटाहरू फालिदिन्थे । कसैले दहीच्युरा खाएका जुठा पातहरू, कसैले जुठा भात, कसैले १÷२ पैसा ।

यसरी जम्मा भएका चीजबिजहरूलाई त्यसले ध्यानपूर्वक बटुल्दथ्यो कुनै कुरा हाँडीमा हालेर राख्दथ्यो । कुनै कुरा खान्थ्यो । साँझमा हाँडीलाई छातीमा अड्याएर वनतिर जान्थ्यो, कसैसित नबोलिकन । तर सबैका मुखमा ध्यानपूर्वक हेर्दै ।

त्यो त्यसरी त्यहाँ बस्ने गरेको ६ महिना भैसकेको थियो ।

त्यो सबै जनाका लागि रहस्यको पात्र बनेको थियो ।

कैयौँ जनाले त्यो सित कुरा गर्न खोजे । त्यसका बारेमा जानकारी गर्न खोजे । केटाकेटीहरूले चलाउन खोजे । तर त्यसबाट कहिल्यै कुनै कुराको उत्तर कसैले पाउन सकेनन् । केटाकेटीहरूले उसलाई साना माटाका डल्लाहरूले हान्ने गर्दथे । तर त्यसले केही ध्यान दिँदैनथ्यो । कसैले कुरा गर्न खोजे चुपचापसित सुनिरहन्थ्यो ।
प्रायशः बजारमा त्यो मानिसका बारेमा निकै चर्चा चलिरहन्थे । कसैले त्यसलाई भूतपिचास भन्दथे । कसैले महादेवको अवतार । कसैले त्यसलाई कुनै महान् ज्ञानी भन्दथे, कसैले मगज बिग्रेको बहुला ।

कुनै दिन उसलाई साहूसेठहरूले पेटभरि मिठाई, दहीच्युरा खुवाएर ग्रह कटाउँथे भने कुनै साहूसेठहरूले भोजन गराएर महादेवलाई खुसी गराउने कुरा सोच्दथे ।

बजारमा अरू भीखमङ्गाहरू पनि थिए । तर कोहीपनि त्यसका नजिक आउँदैनथे । उनीहरूले प्रायशः त्यसका बारेमा कुराकानी गर्दथे । उसको भाग्यमाथि डाह गर्दथे । यो अचम्मको रहस्यमय व्यक्ति स्वतः सबैको ध्यान, चर्चा र सहानुभूतिको पात्र बनेको थियो । सबैले उसलाई केही न केही दिइराख्दथे । प्रायशः अरू भीखमङ्गाहरूले देख्दथे– उसको भाँडो कहिल्यै पनि रित्तो हुँदैनथ्यो । त्यसैले बिना हातमुख चलाएर नै सबैबाट केही न केही पाइराख्दथ्यो । जबकि अरू भीखमङ्गाहरूलाई कैयौँ दौडधुप गर्दा पनि भोकै बस्नु पर्दथ्यो । अरू सबै भीखमङ्गाहरूका लागि डाहाको विषय थियो ।

त्यही रहस्यमय मान्छे बस्ने पिपलको रुखमुनि देखि तलपट्टी एउटा सेठको महल थियो ।

ती सेठले प्रायशः मानिसहरूका साथमा कुरा गर्दा भन्ने गर्दथे, “यो पिपलको रुखमुनि बसेको मानिस पक्कै पनि महादेवको अवतार हो । पहिले पनि महादेवले महारोगी भएर वा योगी भएर मानिसहरूको पाप र धर्मको जाँच गर्ने गरेको कुरा शास्त्रमा लेखेको छ । यो मानिस साधारण मानिस भए यो मानिस बस्ने ठाउँ पत्ता लगाउन सक्नु पर्ने । यो मानिस रातमा कहाँ गएर बस्छ ? यो अझैसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । महादेव दिनभरि यहाँ आएर बस्छन्, रातमा पार्वतीका साथ बस्न कैलाशमा जाने गर्दछन् ।”

सेठका छोराको केही दिन पहिले मात्र विवाह भएको थियो । विवाह गरेका केही दिनपछि सेठकी बुहारी बिरामी हुन थालिन् । आफ्नी बुहारी बिरामी भएपछि सेठका परिवारले त्यो अनौठो मानिसको झन् ख्याल राख्न थाले । उसलाई लगेर दूध, केरा, च्युरा, मिठाईहरू चढाउन थाले ।
सेठले कैयौँपल्ट उसका अगाडि गएर भन्दथे– ‘हे महादेव दया गर ।’ यसो गर्नु कुनै नयाँ कुरा थिएन । प्रायशः कोही मानिस “सिकिस्त बिरामी भयो र अरू औषधिमूलोले निको भएन भने मानिसहरूले गएर त्यो मानिसलाई फूल, प्रसाद चढाउथे र मनमनै अराधाना गर्दथे । त्यसो गरेर प्रायशः कैयौँ मानिसहरूलाई सञ्चो पनि भैहाल्दथ्यो ।

नभन्दै सेठको बुहारीलाई केही सञ्चो भएर गयो । यो देखेर त्यो मानिसप्रति सेठका परिवारको झन् श्रद्धा र विश्वास बढेर गयो । त्यो मानिसको झन् ख्याल हुन थाल्यो । झन् हेरविचार, दूध, भात, केरा, फलपूmल ।

तर केही दिनपछि….. ।

अकस्मात रोग बढेर सेठकी बुहारीको मृत्यु भयो ।

बुहारीको मृत्युले सेठको मनको पिर उम्लियो ।

उनको ध्यान फेरि पिपलका रुखमुनि बसेको त्यो मानिसमाथि गयो ।

उनका आँखाका अगाडि त्यो रहस्यमय व्यक्तिको तस्विर नाच्यो, फुस्रो, मैलो, फोहर र भयानक ।

‘त्यो मानिसमाथि सेठको कत्तिको श्रद्धा र विश्वास थियो ।’

तर बुहारीको आकस्मिक मृत्युले सेठको त्यो मानिसमाथिको श्रद्धा खतमभयो । त्यसमाथि उनका मनमा क्रोधर घृणा उम्लेर आयो ।

“यही भूतले मेरी बुहारी खायो । घर नजिकै भूतप्रेतको बास भएपछि पनि… । सधै पिपलका रुखमुनि बस्ने राक्षस नभएर को हो ?” सबैले रिसले दाह«ा किट्दै भने– ँयस्तो भयानक, जसको पायो, उसको जुठो खाने, भूतपे्रत नभएर अरू के हुन्थ्यो ? त्यो राक्षस नभएको भए यस्तो अलक्षिन हुन्थ्यो । भर्खरको बैँशमा नै… ।
त्यसपछि सबैले कोठामा भएको आफ्नो सिसौँको लौरो समाते र रिसले मुर्मुरिँदै बाहिरतिर दगुरे ।

बाहिर दगुरेका सबैले आफ्नो लौरो त्यो मानिसमाथि बर्साए ।
एक चोट । दुई चोट…. कैयौँ चोट ।
“एैया” भन्दै त्यो मानिस पल्टियो ।

सेठका अर्को एक चोटले त्यसका नजिकै रहेको हाँडी फुटेर १०० टुक्रा प-यो । लौराको चोटले त्यो मानिसको शीरमा गहिरो चोट प¥यो । त्यसबाट रगतका धाराहरू सबैतिर पुगे । त्यसको सारा शरीर रगतले मुछियो ।
बजारका मानिसहरू पनि सबै जना त्यहाँ दगुर्दै जम्मा भए ।

पहिला ता सबै जना अल्लमल्ल परे । तर पछि सेठको कुरा बुझेर सबैले एकै स्वरमा भन्न थाले– “यो पक्कै पनि भूत हो । राक्षस हो । यसलाई यहाँ बस्न दिन हुन्न ।”

मानिसले घोक्राउँदा त्यो केही पर गयो । तर फेरि फर्केर आफ्नो ठाउँमा आयो र यताउता छरिएका हाँडी टुक्राहरू टिप्न थाल्यो ।

मानिसहरूले त्यसलाई फेरि समातेर घोक्राउन थाले । तर त्यो आफ्ना फुटेका हाँडीका टुक्राहरूलाई छातीमुनि च्यापेर तिनीहरूको रक्षाका लागि मोर्चा कसे झैँ गरेर सुत्यो ।

मानिसहरूले त्यसलाई केही परसम्म घोक्राएर सबैका घरतिर गए । त्यसले हाँडीका सबै टुक्राहरूलाई टिपेर दौराको फेरामा पोको पा¥यो ।

त्यही बेला….

सेठका घरबाट बाहिर लाश निस्क्यो ।

लाश नदीतिर गयो, पछाडि पछाडि सयकडौँ मलामीहरू ।

अगाडि सेतो कपडामा लाश बेरिएको थियो । पछाडि मानिसहरू रुँदै कराउँदै गैरहेका थिए ।

सेठकी बुहारीको मृत्युमा सबै जना दुखी थिए ।

‘त्यो’ मानिसलाई त्यो हाहाकार जुन बेला ठीक त्यही बेला पिपलको रुखमुनिबाट उठेर एउटा भीखमङ्गा वनतिर हिँड्यो । उसले हाँडीका टुक्राहरूलाई दौराको फेरामा पोको पारेर लगिरहेको थियो । ऊ चिन्तित थियो । उसका शरीरबाट बगिरहेका रगतका धाराहरूका लागि होइन, उसको फुटेको हाँडीका निमित्त । त्यो एक्लै थियो । त्यसका साथमा मिलेर रुने अरू कोही थिएन ।
त्यसको एक मात्र सम्पत्ति, साथी त्यही हाँडीको टुक्रो थियो ।

तर ‘त्यसको हाँडी अब फुटेको थियो । अब फुटेको टुक्राहरू मात्र बाँकी थिए । त्यो सधै नै घाम अस्ताएपछि वनमा पस्ने गर्दथ्यो । तर आज त्यो वनमा पस्ने बेलामा सूर्यका तेजहरू अझै पनि चम्किरहेका थिए ।

सधैभरि त्यो निष्फिक्रीका साथ कदम बढाउँदै जान्थ्यो, तर आज उदास थियो ।

त्यो गयो… ।

एक पल्ट पनि पछाडि नहेरिकन, दायाँबायाँ नहेरिकन ।

त्यो सधैका लागि गयो, त्यसपछि बेपत्ता भयो । त्यसपछि कहिल्यै पनि फर्केर आएन ।

एक दिन मानिसहरू देखे–
खोलाको तिरमा

जहाँनेर सेठकी बुहारीको दाहसंस्कार भएको थियो, त्यही ठाउँमा खोलाले एउटा लास बगाएर ल्याएर पल्टाइदिएको थियो ।

पिपलको रुखमुनि बस्ने मानिस को थियो ? जसलाई सबैले भूत भनेर पिटेर निकालेका थिए ।

अझ पनि उसका शरीरमा सेठले हानेका घाउहरू थिए, तर कुहेर किरा परेका ।

उसका शरीरमा उनै कपडा थिए ।

कम्मरमा एउटा रुमालमा केही पदार्थ बाँधेको जस्तो देखिन्थ्यो । मानिसहरूले आपसमा मुखामुख गरेर कुरा गरे– ँयस्ता मागी खानेले ता पैसा, सुनचाँदी राखेका हन्छन्।”
सबैले कम्मरको रुमाल फुकाएर हेरे ।

तर त्यहाँ पैसा थिएन ।

त्यहाँ थिए

फुटेका हाँडीका टुक्राहरू…..

पाल्पा जेल, २०१२ मार्ग ८ गते

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *