कविता : छोरा हो!

~प्रणिका कोयु~pranika-koyu

स्पर्श,
“छेमा तिमीले किन भेष्ट लगाएको?”सोध्ने तिमी
मेरो त्यत्तिकै मायालु छोरा हौ
जत्ति तिम्रो मामा र ड्याडीकोहौ

निषाद,
म गएको दिनौं पछि ब्युँझिएको रातमा
“खोइ छेमा” भनेर सोध्ने तिमी
निषाद, तिमी मेरो प्यारो छोरा हौ

श्लोक,
मेरी साथीकी प्यारो छोरा तिमी
तिमीलाई मैले फोटोमा मात्र भेटेकी छु
तिम्री मामुले हाम्रो चिनजान चाँडैनै गराउनेछिन्

स्पर्श, निषाद, श्लोक
तिम्रा आमाबाबाले जस्तै
म अर्थात तिमीहरूकी छेमाले पनि एउटा सपना देखेकी छु
दिनै बताउनेछु म तिमीहरूलाई त्यो सपना
सधैं सुनाउनेछु म तिमीहरूलाई त्यो गित
जसमा
तिमी हुनेछौ, अरू हुनेछन्
अरू अर्थात तिम्रा साथीहरू
तिम्रा साथीहरू जसलाई तिमी प्रेम गर्नेछौ
अरू अर्थात ति जो तिम्रा साथीहरू नहुन सक्छन्
तर पनि तिमीले उनीहरूलाई हेप्नेछैनौ
उनीहरूले तिमीलाई दुत्कार्न सक्छन्
तर तिमीले उनीहरूलाई सताउने छैनौ

हाम्रा जस्तै तिम्रा सपना हुनेछन् आफ्नै
ती सपना तिम्रा साथीहरूका पनि हुन सक्छन्
ती सपना तिमीलाई दुत्कार्नेका पनि हुन सक्छन्
भत्कँदा सपना तिम्रा तिनका दुत्कारले
चोइटिंदा तिम्रो मन तिनका प्रहारले वा अस्विकृतिले
छोरा तिमीलाई रिस उठ्न सक्छ
तिमी बहुलाउन सक्छौ
तर पनि तिम्रा हातले
एसिड नछोउन्
छुरा नबोकुन्
तर पनि तिमी एक्कासी “विर्यधारी” नबन्नु
तिमी समाचार नबन्नु, अरूलाई पनि नबनाउनु

स्पर्श, निषाद, श्लोक
तिमीलाई लिएर
हाम्रा सपना यही नै हुन्

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *