कथा : ल्यापटपको बाबा

~सरगम भट्टराई~Saragam Bhattarai

आज शरद अरब भाँसिएको ठ्याक्कै चार पुगेर पाँच वर्ष लागेछ। यसबीच जिन्दगीका आरोह-अवरोह सबै लेखेर लेखिन्नन् उसका। समयको चक्र घुमिरहँदा कति रात रोएर बिते ऊ आफैंलाई थाहा छैन।

आज शरदको बिदाको दिन। तितामिठा यादहरु फनफनी घुमिरहेका छन्। घर छाड्ने रातभरि ऊ र उसकी श्रीमती सीमा हुँक्क हुँक्क रोएको ती भित्ताहरुले भुलेका छैनन्। ती भित्ताहरु अहिले पनि सीमाको आँशुको साक्षी भइरहेकै छन्। तर आँशुका साक्षी ती भित्ताहरु भोलि न्याय चाहिने बेला केही बोल्ने छैनन्। त्यस्तै त्यो मरुभूमिमा शरदले आँशु बगाएको हेर्ने भित्ताहरु पनि केही बोल्ने छैनन्।

घर छोड्ने त्यो रातपछि धेरै दिनहरु उदाए होलान्, तर सीमाको जिन्दगीको सूर्योदय कहिल्यै भएन। आफ्नो आधा शरीर आफैंबाट अलग गरेर खुशीले को बाँच्न सक्थ्यो र? छ महिनाकी गर्भिणी सीमाले आफ्नो पेटमा हुर्किएको मायाको निशानी सुमसुम्याएरै रातहरु बिताई, आफ्नो आँशु आफैं पुछेर।

सीमाका लागि जिन्दगीका सबै अभावका अघि शरदको भौतिक अभाव सबैभन्दा अर्थपूर्ण रह्यो। जब जब चाडवाड आउँथे तब तब मुटुमा परेका गाँठा फुक्न महिनौँ लाग्थ्यो। यस्तो लाग्थ्यो ती चाडपर्व उसका लागि आएकै होइनन्, प्राणप्रिय शरदको अनुपस्थितिमा सबै चाडपर्व गलपासो जस्तै लाग्थ्यो उसलाई। रुवाउने चाडपर्व नआएकै जाती लाग्थ्यो!

उता परदेशको चाडवाड पनि त त्यस्तै थियो: मन अमिलो बनाई बनाई दसैं तिहारकै दिन काममा जानुपर्ने! त्यसमाथि दुई जीउकी श्रीमती छाडेर आउनुको ब्यथा त के ले नापोस् बिचरा!

आखिर समयलाई स्थिर बनाउने तागत कस्को हुन्थ्यो र! नौ महिनापछि काटीकुटी शरदकै अनुहार लिएर यो बियोगी जोडीको आशाकी चम्किलो नक्षत्र जन्मिन्, खुशी। त्यही नै भगवानको अतुल्य उपहार थियो, गर्भ र प्रशवका पीडा र आफ्नो खसमसँगका बिछोड भुलाउने अचुक ओखती बनेर उदाईन छोरी ‘खुशी’।

शुक्लपक्षको चन्द्रमाजस्तै खुशी बढिरहिन्, पसिनासँग साटेका पैसाहरुले धिपधिपे गतिमा भौतिक पूर्वाधार त बनाइरहेका थिए, तर भावनाका धरोहरहरु कमजोर बनाइरहेका थिए। सम्बन्धका तारहरु कमजोर बनाइरहेका थिए, जसलाई समयको परिवर्तनसँगैको प्रबिधिले थामेको थियो। प्रत्येक दिन जसो हुने टेलिफोनका वार्तालाप र फेसबुक मेसेन्जर तथा स्काइपकै सहारामा आँखाहरु सम्मिलित भइरहे भने मायाका सगरमाथाहरु झन् झन् चुलिँदै गए, विश्वासका सागर झन् झन् गहिरिदै गए।

दिनदिनै ल्यापटपमा हेर्दाहेर्दै छोरी खुशी बामे सर्दै बाबा, मामा भन्दै स्कुलसम्म जाने हुँदा शरदलाई यस्तो लाग्थ्यो म र मेरो खुशी सँगै भएको भए… आफ्नै मुटुको टुक्रालाई मायाको स्पर्शले सुमसुम्याउन पाए…

छोरीसँगका ती मेसेन्जरका साक्षात्कारपछि हरेक दिन भक्कानिएर रोएको रोयै छ शरद। यता बोल्ने भएपछि खुशीका झन धेरै प्रश्न अनुत्तरित भइरहेकै छन्। छोरी बोल्न थालेदेखि आज जान्ने बेलासम्म एउटा अनौठो उपाधि पाएको छ शरदले: ल्यापटपको बाबा!
उता सीमाका आँशुको कुनै मूल्य छैन, शरदसँग छुट्टिएका कयौं शिसिर ऋतुहरु निरस र एक्लो भएर बाँचिरहेकी छे। परिवारमा अरु कोही सदस्य भइदिएको भए पनि यस्तो उदास मन हुने थिएन होला। कहिल्यै मनमोहक शरद र वसन्त ऋतु आएनन् यो बेला उसका ।

त्यही एउटी खुशी हो जसले सुखमा हाँस्न र दुखमा रुन काम लागेकी छे।

सीमा सम्झन्छे: एक दिन जब ऊ ज्वरोले थलिएर बिछ्यौनामा पीडाले कराउँदा, महिनाले जम्मा दस पुगेकी खुशी लुटुपुटु गर्दै उसको ओठमा चुमेर छातीमा लुपुक्क पर्दाको क्षणमा आधा पीडा ह्वात्तै घटेको थियो। दैनिकजसो हुने शरदसँगको भलाकुसारी भन्दा साक्षात् खुशीले दिएको खुशी नै सीमाको बाँच्ने आधार भएको थियो।

सीमाको रुपमा आरिस गर्नेहरु धेरैले अनायास फोन गर्छन्:

‘हेलो! को बोल्नु भएको?’

‘हजुर भन्नुस कसलाई खोज्नुभएको? केही काम थियो कि?’

‘हैन हैन! मैले त सरितालाई फोन गरेको, तपाईंलाई पो परेछ है! क्यै छैन यसो कुरा गरौँ न है!’

‘मैले नचिनेको मान्छेसँग कुरा गर्ने गरेको छैन,’ सीमा अलि रिसाएको पारामा कुरा गर्छे।

‘मलाई चिन्नुभएन? बुटवल जाँदा एउटै सिटमा थियौँ नि हामी पोहोरको दसैंमा!’ फोन गर्ने मान्छेले हडबडाएजस्तो गर्यो।

‘माफ गर्नु होला मलाई याद छैन र याद पनि गर्नु छैन। तर मेरो नम्बर कसरी पाउनु भो त?’

‘ए ! त्यो त तपाईंकै मुखबाट सुनेको हो नि! तपाईले कोही आफन्तलाई आफ्नो नम्बर बताउँदै हुनुहुन्थ्यो।’

सीमाले फोन राख्न खोजी।

‘हैन! एउटा कुरा भन्नु थियो,’ फोन गर्नेले सोध्यो।

‘छिटो भन्नुस के कुरा हो ? मलाई फ़ुर्सद छैन।’

‘भो नभनौँ होला,’ फोन गर्ने मान्छे अनकनायो ।

‘भन्ने भए भन्नुस नत्र म फोन राख्छु।’

‘खासमा के भने … …म तिमीलाई एकदम मन पराउँछु।’

‘ए मिस्टर! तपाई होशमा त हुनुहुन्छ? म म्यारिड हो र मेरी ४ बर्षकी छोरी छिन्।’

उताबाट जवाफ आयो: ‘के भो त तपाईको श्रीमान पनि बिदेश हुनुहुन्छ क्यारे! म पनि अनम्यारिड छु। यसो रमाईलो गरौँ न!’

‘अब आइन्दा फोन गर्नुभयो भने म पुलिसमा रिपोर्ट गरिदिन्छु,’ रुपाले फोन काटिदिई।

यस्तै यस्तै फोन र फेसबुकमा म्यासेजहरु धेरै आइरहे। अनेक बहाना बनाएर। तर सीमा आफ्नै सीमारेखाभित्र शरदप्रति समर्पित छे, मेसेन्जरमै कलकलाउँदो बैँस शरदसँग साटेरै पुगेको छ उसलाई, लोग्ने नभएकै आधारमा छड्के नजर हेर्नेहरुप्रति वाक्क भएरै कतिपय फोननहरु त उठाउँदिन अचेल सीमाले।

शरद नभएको बेला छोरी, घर ब्यवहार र आफ्नै स्वास्थ्यको ब्यवस्थापन् गर्दाको पीडा त छँदैछ।

उसको एउटै सुर्ता छ: प्राणप्रिय शरद र दुवैकी भर्खरै टुसाएकी कोपिला खुशी। त्यो मधुर मिलनको प्रतिक्षामा क्षितिज नियालिरहेकी छे सीमाले।

हरेक दिन मोबाइलको स्क्रिन देखिने मान्छेलाई सीमाले चार वर्षअघि दिएको त्यो ‘ल्यापटपको बाबा’ भन्ने नाम अझै ओजपूर्ण लागेको छ। आफ्नै साथीहरु बाबुहरुको काँधमा लडिबुडी गरेको देखेकी खुशीले एक वर्ष हुँदादेखि आजसम्म दिनदिनै ल्यापटपको बाबासँग कुरा गर्छिन्, एक दिन मात्र कुरा भएन भने सीमालाई सोधिहाल्छिन्: ममी ल्यापटपको बाबासँग कुरा गर्छु नि है!

अचेल खुशीलाई कोही छोरा मान्छे देख्नै हुन्न मायाले लुटपुट गरिहाल्छिन्, आफूसँग नभएको चिज यति बिघ्न प्यारो हुने रहेछ, सीमाले खुशीले नदेख्ने गरी धेरैपटक आँशु पुछेकी छे।

अचेल खुशीलाई उसका साथीले आफ्ना बाबाले हात समातेर हिँडेको देख्नै हुन्न। सीमालाई असीमित प्रश्नको ओइरो लाग्छ: ममी ! हाम्रो ल्यापटपको बाबा किन आउनु हुन्न? किन आश्मीको बाबाजस्तै मलाई स्कुलमा ल्याउन आउनु हुन्न? किन मेरो बर्थडेमा आष्मीको जस्तै हात समातेर केक काटिदिने बाबा हुन्नुहुन्न?

दसैंमा मलाई मोटरसाइकलमा आष्मीजस्तै अगाडि र पछाडि हजुरलाई बोकेर हिँड्ने बाबा किन हुनुहुन्न?

मलाई ल्यापटपको हैन साँच्चैको बाबा चाहियो मामु! किन हजुर एक्लै एक्लै रोएर मैले देख्नेबित्तिकै आँशु पुछिरहनु हुन्छ? किन नि हामीलाई छाडेर जानुभएको बाबाले? के बाबा हामीसँग रिसाउनुभएको हो?

खुशीका धेरै प्रश्नको जवाफ एउटै शब्दमा दिन्छे सीमाले: आउनुहुन्छ छोरी तिम्रो बाबा! तिमीलाई सबै कुरा म बुझाउन सक्दिन। ठूली भएपछि आफै जान्नेछौ।

आज खुशी धेरै बेर असमन्जसमा परी। उही ल्यापटपको बाबाको कुरा लिएर, उसकी साथी आष्मीको कुरालाई लिएर: तेरो त बाबा पनि छैन क्यारे! कहिल्यै स्कूल छोड्न पनि आउनुहुन्न! मेरो बाबा त मलाई सधैं आइसक्रिम ल्याइदिनुहुन्छ, हिजो मात्र हामी भृकुटीमण्डपमा दिन भरि पिंग खेल्यौँ ! यस्तै यस्तै…

खुशीले प्रतिकार गर्दै जवाफ दिई: “मेरो बाबा ल्यापटपमा हुनुहुन्छ, तिम्रो पनि त ल्यापटपको बाबा हुनुहुन्न नि! हाम्रो घर आऊ त दिनदिनै ल्यापटपमा आउनुहुन्छ, मलाई दिनदिनै कति माया गरिरहनुहुन्छ मेरो बाबा! मामु र म दिनदिनै कुरा गरिरहन्छौं।”

‘अँ होला! त्यस्तो ल्यापटपमा देखिने मान्छे पनि बाबा हुन्छ? बाबा त आफ्नै घरमा पो हुन्छ त! तिमीसँग र तिम्रो मामुसँग! त्यो मोबाइलको बाबा त ढाँटेपाटेको पो त! बाबा त मेरोजस्तै पो हुनुपर्छ त सधै सँगै हुने!’
आश्मीले दृढ भएर असहमति जनाइरहेकी थिई।

खुशी रिसले आगो भई। घर आएर धेरै बेर रोइरही।

आज गहभरि आँशु लिएर शरदलाई सबै कुरा सुनाई सीमाले।

पश्चातापको आगोले भत्भती पोल्यो शरदलाई। त्यो रातभरि निदाउन सकेन। उसले आफैंलाई अपराधीको संज्ञा दियो। आफूजस्तै धेरै मान्छे आफ्ना मुटुका टुक्रा छाडेर परदेशिएका सबैलाई विवश अपराधी देख्यो, आफ्नो नियति र देशको परिस्थितिसँग वाक्क भयो।
एउटी सानी छोरी खुशीका ज़िद्दी र निरन्तर प्रश्नले शरदको मनभित्र ज्वारभाटा ल्याइदियो।

अब एकछिन पनि परदेशमा बस्न मन लागेन उसलाई। जिन्दगीका सबै अभाव सहन राजी भए पनि आफ्नै मुटुको टुक्रासँगको बिछोड सहन नसक्ने ठहर गर्यो।

भोलि बिहानै आफ्नो मेनेजरसँग कुरा गरेर आफ्नो परिवारसँग कहिल्यै नछुट्टिने गरी छिट्टै नेपाल जाने कुरा बतायो। एक हप्ताभित्र घर फर्कने पक्का भयो।

उता सीमाको खुशीको सीमा रहेन, मुहारमा धेरै वर्षदेखि हराएको खुशी पलायो। यसपालिको दसैं मिलनको दसैंका रुपमा मनाउने भइयो भन्दै साथीभाइलाई सुनाउँदै हिँडी।

एक हप्तामा शरद घर आइपुग्यो! खुशीलाई बाबा भन्ने के हो भन्ने थाहै थिएन। उ शरदको नजिक पर्न पनि डराउँथी ।

‘मेरो बाबा त ल्यापटपमा आउनुहुन्छ, हजुर त होइन,’ खुशी पर पर सर्थी।

‘छोरी मै तिम्रो बाबा हो नि! अब कहिल्यै ल्यापटपमा आउँदिन तिम्रै अगाडि आउँछु छोरी। अब कहिल्यै टाढा जान्न, तिमीलाई स्कुल पुर्याउन र लिन आउँछु दिन दिनै। अब बाबा मामु र छोरी सधै सँगै।’

‘साँच्चै !अब ल्यापटपको बाबा आउनुहुन्न?’ खुशीले सीमाको आँखामा हेरेर सोधी।

‘हैन छोरी ! तिम्रो बाबा वहाँ नै हो। अब तिम्रो बाबा आउनुभो, सधैंका लागि।’

खुशीलाई सबै कुरा बिश्वास लाग्यो क्यारे! ल्यापटपको बाबाभन्दा साँच्चैको बाबा राम्रो भन्दै वल्लो पल्लो घरतिर दगुर्दै सबैलाई भन्दैथिई: मेरो ल्यापटपको बाबा आउनुभयो! साँच्चैको बाबा आउनुभयो!

‘आष्मी ! आष्मी ! हेर त मेरो बाबा पनि आउनुभयो। अब मामु र म पनि बाबाको बाइकमा बसेर दशैँमा मामा घर जान पाउँछौ नि!’

अचेल खुशीको खुशी धेरै चुलिएको छ। यो सानो परिवार दुख सुखमा आनन्दले बाँचेको छ।

अझै पनि धेरै सीमा र खुशीहरु कयौँ शरदहरुको बाटो कुरेर बसेका छन्। तिनीहरुले पनि मिलनको दसैं यसैगरी मनाउने दिन आउन कति कुर्नुपर्ने होला?

शरदले निधारमा हात राखेर सोचिरहँदा खुशी उसको काँधमा चढेर कपाल मुसार्दै आँखाभरि आँशु टिलपिल पारेर भन्दै थिई: बाबा अब मामु र मलाई छाडेर कहिल्यै टाढा नजानुस है।

शरदले आँखामा आँशु टिलपिल गर्दै स्वीकृतिको टाउको हल्लायो।

खुशीले आँशु पुछिदिई।

(स्रोत : Janamanch Dot Com)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *