कथा : बानेश्वरमा सडक नाटक

~भूपिन~

साहित्यमा झैं अभिनयप्रति पनि मेरो विशेष प्रेम र लगाव थियो, तर गाउँमा अभिनयको लागि कुनै मञ्चहरू उपलब्ध थिएनन्। एउटा पनि साहित्यिक संस्था स्थापना नभएको गाउँमा नाटकमा समर्पित संस्था नहुनु कुनै अनौठो कुरा थिएन।

नाटक मञ्चन र अभिनय मेरा लागि एक सुन्दर सपनाबाहेक केही थिएन। यदाकदा समाजवादी गायक जीवन शर्मा र झोकेन्द्र थापाहरू आएर गायनमार्फत मेरो गाउँको लत्रिन लागेको विद्रोहको शिरलाई उठाएर जान्थे। दुखीजन र जागरणको पक्षका गीत र नृत्यको बीचमा लघु नाटकहरू पनि प्रस्तुत गरिन्थे। तर ती नाटक ठ्ट्यौली र ठाडा सन्देशहरूमा मात्र सीमित हुन्थे। म तिनमा खासै गम्भीरता पाउँदैन थिएँ।

२०४८ सालको जाडोयाम। तिहार वरपरका दस–दस रात भैलो खेलेर स्थापना गरेको प्रगतिशील पुस्तकालयमा आइपुगेका नाटकका कृतिहरूले मलाई मोहित पारिरहेका थिए। विशेषतः अशेष मल्लका सडक नाटकहरू र सरुभक्तका प्रयोगशील नाटकहरूको संयुक्त प्रभावले मभित्र फरकखालको छटपटी पैदा गरिदिन्थ्यो। खुल्ला सडकलाई मञ्च बनाउन सकिने र स्थानीय स्रोत साधनको प्रयोगबाट प्रदर्शन गर्न सकिने सडक नाटकको विशेषताबाट म बढी तरंगित थिएँ। सिने मासिक ‘कामना’को नियमित ग्राहक, मलाई पर्दाको जादुयी दुनियाँमा प्रवेश गरेर हलचल ल्याउन मन हुन्थ्यो। नायक बनेर नेपाली सिनेमामा हिट फिल्महरू दिने सपनाहरू देख्थेँ। ज्यान थियो– दुब्लो। हावाको सानो झाँेकामा पनि बत्तिन्छ कि जस्तो! आफ्नो दुब्लो शरीरप्रति गहिरो गुनासो थियो तर लामो कपाल बतासमा उड्दा वा कपडा हावामा फर्फराउँदा पनि हेरेको पछिल्लो फिल्मको नायकजस्तो कल्पना गर्थें आफूलाई। नायकहरूको छविले मलाई आवश्यकताभन्दा बढी नै गाँजिसकेको समय थियो।

पृथ्वीनारायण क्याम्पसबाट आइएस्सीको परीक्षा सकेर गाउँमा फ्रिज भएको बेला गणेश दाइले दिल्ली गएर कम्प्युटर पढ्ने प्रस्ताव राख्नुभयो। दाइ भारतीय सेनामा हुनुहुन्थ्यो र त्यो समय पोस्टिङमा दिल्ली बस्नुहुन्थ्यो– भाउजू र बच्चाहरूसहित। पहिलो अन्तर्राष्ट्रिय भ्रमणको अनुभव बटुल्न म तयार नहुने कुनै कारण थिएन। दाइको पछिपछि लागेर म दिल्ली पुगेँ। पालम एयरपोर्ट, लालकिल्ला, कुतुब मिनार, गान्धी स्मृति भवन आदिको भ्रमणले मलाई एकातिर भारतीय इतिहास, कला र राजनीतिको प्रत्यक्ष ज्ञान दियो भने अर्कातिर गणतन्त्र दिवसको अवलोकनले भारतीय सैन्य शक्तिको विकासलाई मेरोअगाडि ल्याइदियो। मैले क्रिकेट सिकेँ। तर दिल्लीका सडक र गल्लीहरूमा हुने फिल्मस्टार सम्बन्धी गफले मभित्रको लुरे नायकलाई झनझन झक्झकाइरहे।

हाजिपुर लाइनको सैनिक क्वाटरमा दाइ–भाउजू र प्यारा बच्चाहरूसँग थिएँ तर कहिलेकाहीँ आमा, बा, परिवार र गाउँको न्यास्रोले गहिरोसँग सताउँथ्यो। यस्तो बेला मिटर बटारेर रेडियो नेपाल सुन्ने तीव्र इच्छा हुन्थ्यो। तर टाढाको दिल्लीमा रेडियो नेपालको प्रसारण एकदम अस्पष्ट सुनिन्थ्यो।

साँझपख लाहुरे रमको रमझमले तान्न थालेको थियो। कहिले नब्बे दाइ र कहिले बयालिस दाइले म चौबीसको भाइलाई बढो प्रेमपूर्वक डिनरको लागि निम्ता गर्थे। डिनरमा सिएसडीबाट किनिल्याएको लाहुरे रम नहुने कुरै भएन।

एक साँझ स्याङ्जाका नब्बे दाइको क्वाटरबाट रमको झमझमले लरबरिँदै आएर रेडियो बटार्न सुरु गरेँ। रेडियो नेपालमा ‘प्रहरी कार्यक्रम’ आइरहेको रहेछ। त्यसमा प्रसारण हुने नाटक खुब सुन्थेँ। तर त्यो दिन नाटकले भन्दा एक सूचनाले बढी आकर्षित गर्यो्। त्यो थियो असइको लागि गरिएको विज्ञापन।

म झोला बोकेर एक्लै नेपाल फर्किएँ। कवि बनेर जीवन बिताउने ठूलो रहर थियो तर कविहरूको आर्थिक स्थितिका दर्दनाक कथाहरू पढेपछि वा सुनेपछि सधैं असुरक्षित जीवनमा आर्थिक सुरक्षाका लागि म कुनै सरकारी सेवामा प्रवेश गर्न चाहन्थेँ। प्रहरी सेवामा असइ बन्नु रोजाइका केही विकल्पमध्ये एक थियो।
भूपिले चिसो एस्ट्रे मानिदिएको काठमान्डूमा जाडो महिनामा असइको परीक्षा सुरु भयो। म र स्कुलमा मभन्दा तीन ब्याच सिनिएर नेपाने बुद्धे दाइले प्रारम्भिक शारीरिक परीक्षा पास गर्यौंय। लिखित परीक्षाको रिजल्ट भने ढिला आउने भयो।

भूपू सैनिकका छोराहरू भएकाले सोह्रखुट्टेको सैनिक निवासमा सस्तोमा बस्न पाउँथ्यौं बुद्धे दाइ र म। धनबहादुर खत्री भानिज त्यहीँ कार्यरत हुनुभएकाले हामीलाई झन् सजिलो थियो। दिनभर काठमान्डू घुम्नु र राति अबेला सैनिक निवास फर्किनु हाम्रो दिनचर्या बन्यो।

एक दिन नेपाने रामबहादुर खड्का दाइलाई भेट्न नयाँ बानेश्वर गयौं। स्कुलकालीन मेरो निकट मित्र राजकुमार जिसी पनि सपरिवार त्यतै कतै बस्थ्यो। एसएलसीपछि राजकुमारसँग निकै पातलिएको थियो भेटघाट। स्कुलमा ऊ मेरो धेरै निकटको साथी थियो। हाम्रा धेरै इच्छा साझा हुन्थे। भलिबल खेल्ने, धापे खोलामा पौडिन जाने, माछा मार्ने, आरु खान रोकाथरसम्म पुग्ने, नुवाउन पुलामी पधेँरासम्म पुग्ने, पढ्ने आदिआदि। ऊसँग भेटेर धेरै समयपछि लामै कुराकानी गर्ने चाहना पनि थियो। तर राम दाइले चिया पिउँदै गर्दा एक अनौठो प्रस्ताव पेस गरे– सडक नाटक मञ्चन गर्ने। त्यसमा प्रमुख अभिनेताको भूमिका मैले निर्वाह गर्नुपर्ने। मैले चित खाएँ। नाटकको प्रमुख पात्र थियो– जीवन नामको टेलिफिल्म डाइरेक्टर। सहायक निर्देशकको भूमिकाको लागि बुद्धे दाइ तयार भए।

राम दाइको स्त्रि्कप्ट सुनेपछि मलाई चियाको कप छोडेर भागौं भागौं झैं लाग्यो। जीवनमा नाटक खेल्ने त ठूलै सपना थियो तर यस्तो नाटक खेल्ने कुनै इरादा थिएन।

‘म खेल्दिनँ यस्तो नाटक। मलाई राजकुमारसँग भेटाइदिनुस् राम दाइ,’ मैले धम्क्याएर भनेँ।

बुद्धे दाइलाई मेरो अभिनयप्रतिको गहिरो रुचि थाहा थियो। उनले मलाई सन्काउन थाले, ‘यस्तो अवसर कहिल्यै आउँदैन साले। नगुमा। तेरो सपना पनि त हो नाटक खेल्ने।’

एकदमै अप्रत्यासित रूपमा एक यस्तो अवसर मिलेको थियो जीवनमा, जो प्राप्त भएपछि कोही पनि असल मानिस खुसी हुन सक्दैनथ्यो। म काम्न पो थालेँछु। राम दाइ, उनको एक साथी र बुद्धे दाइ भएर मेरो सपनाको भेट्नोमा विषादीयुक्त सुई हानिरहेका थिए, म विषादीले फुल्ने तरकारीजस्तो हर्लक्क भइरहेको थिएँ। केही डोज सुई पाएपछि मैले आफूलाई ‘जीवन’ नामको डाइरेक्टर सम्भि्कन थालेँ। काँप्ने त हल्का वस्तु पो हो, गह्रुँगो वस्तु कहाँ काँप्छ? म अब विषादी पिएको लौकाजस्तो वजनदार भएको थिएँ। नकाँप्ने भएको थिएँ। बिस्तारै मभित्रको नाटक निर्देशक र नायकले टाउको उठाउन सुरु गरेको महसुस भइरहेथ्यो। मनको दायाँ कुना भन्थ्यो, ‘नायक बन्न साहस चाहिन्छ केटा। साहसी बन्। तेरो अभिनय क्षमताको आज परीक्षण हुनेवाला छ। राम्रो गरिस् भने स्याबासी पाउने छस्।’

मुटु भएर होला, बायाँ कुनातिरबाट एक लाछी आवाज आउथ्यो, ‘अभिनय सशक्त भएन भने अनुहारभरि सइन पल्टेको घाउ लिएर गाउँ फर्कनेछस्। तेरो असइ हुने योजना भत्किनेछ। तँ अपराधी हुनेछस्।’

म सोचको भुमरीमा कुनै पातझैं फनफनी घुमिरेको थिएँ। मलाई रिंगटा लाग्लाझैं भएको थियो। राम दाइले फोन डायल गरी त सकेछन्। मैले रोक्न सकिन उनलाई।

‘हेल्लो!’

‘सीताराम दाडीवाल बोल्नुभएको?’

‘…’

‘तपाईं जीवनजीको टेलिफिल्ममा खेल्न इच्छुक हैन? ल तुरुन्तै आउनुस्। जीवनजी यहीँ हुनुहुन्छ।’

‘…’

‘जीवनजी बिजी हुनुहुन्छ रे। अलिक छिटो आउनुस् है।’

मतिर एक कुटिल मुस्कान उडाएर राम दाइले फोन राखिदिए। बुद्धे दाइ खिलखलाएर हाँस्न थाले। म बिलखबन्दमा परेँ।

सुई घोपेको लौका बिस्तारै चाउरिन थाल्यो। तर मैले आफूलाई नसम्हाली धरै थिएन।

‘डाइरेक्टरले पनि यस्तो स्वेटर लाउँछ? ल बुद्धे तेरो लेदर ज्याकेट भूपिन भाइलाई दे त,’ राम दाइले बुद्धे दाइलाई आदेश दिए। मेरी आमाले बढो प्रेमपूर्वक बुनिदिएको हरियो स्वेटर मैले विवशतापूर्वक फुकालेर बुद्धे दाइलाई दिएँ र उनको लेदर ज्याकेट शरीरमा उनेँ। मलाई लागिरहेको थिएन कि म अझै डाइरेक्टर जीवनको भूमिका निभाउन पूर्ण रूपमा तयार छु।

सिताराम दाह्रीवालको फोन आयो। उसले राम दाइलाई सोधेछ, ‘डाइरेक्टर जीवनसँग भेट्ने कुरा साँच्चै हो र?’
सहायक निर्देशक यानेकि बुद्धे दाइ आँखाका कापकापबाट आँसु निकाल्दै हाँसिरहेका थिए। म हाँसु कि रोऊँ भइरहेको थिएँ।

चियाको दोस्रो कप सकेर हामी सडकमा निस्कियौं। नाटक मञ्चन गर्नु थियो। मैले अशेष मल्लका सडक नाटकका केही दृश्य र पात्र सम्भि्करेको थिएँ। केही छिनमा सडकमै सूत्रधारको प्रवेश हुनेवाला थियो। म अब परिस्थितिको सामना गर्न तयार थिएँ तर कामना गरिरहेको थिएँ– दर्शकहरू कोही पनि नआउन्। नत्र बर्बाद हुनेवाला थियो।

मनमा आँधीहुरी चलिरहे पनि एक नवीन अनुभूतिको लागि त्यसलाई जसोतसो थामिरहेको थिएँ। आमाले बच्चाकालमा बर्सिन लागेको पानी र असिना तर्काएर पारी पुर्यािइदिने ‘ओली’को कहानी सुनाउनुहुन्थ्यो। म त्यस्तै ओली बनेर आतंकका असिना–पानी पन्छाइरहेको थिएँ।

यही बेला देखेँ– सिताराम दाह्रीवाल कालो र बाक्लो दाह्री मुसार्दै हामी नजिक आइरहेका थिए। दाह्रीवालले राम दाइलाई नमस्ते गरे। राम दाइले ‘उहाँ डाइरेक्टर जीवनजी’ भनेर मेरो परिचय दिए। म फेरि अलिक हतोत्साहित भएँ। मलाई लाग्छ– एक दुब्लो र आफूभन्दा निकै कलिलो केटोलाई टेलिफिल्मको निर्देशक मानिहाल्न दाह्रीवाललाई निकै कठिन भयो। आँखाले निकै केरकार गर्योो उसले। तर मलाई विनम्रतापूर्वक नमस्ते गर्योर। हात मिलाउन खोज्दै थियो, मैले त्यस्तो अवसर उसलाई तुरुन्त दिन चाहिन। आखिर म नामी डाइरेक्टर जो थिएँ।

अब उसको सम्पूर्ण शरीरको केरकार गर्ने पालो मेरो थियो। मैले आँखा हल्का चिम्सो पारेर बढो तन्मयले उसलाई शिरदेखि पाउसम्म हेरेँ र भनेँ, ‘सितारामजी, टेलिफिल्म खेल्ने नै हो त?’

दाह्रीवालले अब दाह्री होइन हात मल्न थाल्यो। उसको कालोकालो अनुहारमा अचानक चमक देखियो।
‘तपाईंजस्तो डाइरेक्टरको टेलिफिल्ममा खेल्न पाए त्यो मेरो सौभाग्य हुनेछ,’ ऊ पुलकित थियो।

राम दाइको भनाइअनुसार सिताराम दाह्रीवाल मधेसतिरको बासिन्दा। यसअघि उसले आफ्नै देहाततिर विशेषतः चाडबाडहरूमा मञ्चन गरिने धार्मिक नाटकमा सानोतिनो भूमिका निर्वाह गरेको रहेछ। टेलिफिल्मको सफलताको लागि त्यो प्लस प्वाइन्ट थियो।

‘म तपाईंलाई टेलिफिल्ममा मूख्य भिलेनको भूमिका दिन्छु। तयार हुनुहुन्छ?’ मैले उसको शरीर एकफेर फेरि केरकार गर्दै अघि बनेको योजनाअनुसार सोधेँ। ऊ नेगेटिभ रोलको लागि तयार नहुने हो कि भन्ने मलाई ठूलो शंका थियो। ऊ तयार होस् कि नहोस्, मलाई बाल मतलब! यदि नमानेको खण्डमा मैले अर्को काल्पनिक भूमिका दिनको लागि कुनै तयारी गरेको थिइनँ। तर ऊ सहज पेस आयो।

भन्यो, ‘हजुरको टेलिफिल्ममा म जस्तोसुकै भूमिकाको लागि पनि तयार छु।’ उसको भनाइको खास आशय के थियो? आफूलाई ठूलो कलाकार मानेको हो कि डाइरेक्टर जीवनलाई सशक्त निर्देशक? म अलमलिएँ। तर मलाई अलमलिइरहने समय थिएन। म नाटकको मूख्य भागतिर केन्द्रित हुन चाहन्थेँ।

‘अनि राम खड्कासँग फोनमा केही कुरा भाथ्यो?’

यो नै नाटकको क्लाइमेक्स थियो। यो नाटक बनेको नै यत्तिको लागि। सिताराम दाह्रीवालले वालेट निकाली त हाल्यो। मानौं उसलाई राम खड्कासँग भएको सम्झौता सम्पन्न गरिहाल्ने हतारो थियो। यही उदार चरित्रले मात्रै डाइरेक्टर जीवनको विश्वास जित्न सकिन्छ भन्ने उसको सोझो बुझाइ पनि हुँदो हो।

‘राम सरले भूमिकाको लागि दस हजार माग्नुभएको थियो। तर अहिले जम्मा दुई हजार बुझाउनुस् भन्नुभएको छ। अरू पछि दिने गरी ओके गरौं कि?’

सिताराम दाह्रीवालले पैसा मेरो हातमा थमाउन खोज्यो। सडकको बीचतिरै कसैले घुस दिएको शैलीमा पैसा बुझाउन खोज्नु जीवन डाइरेक्टरलाई मन नपर्नु स्वाभाविक थियो। मैले त्यो पैसा राम खड्कालाई दिन भनेँ। नाटकको यत्रो योजना बनाएका राम खड्काले बढो प्रेमपूर्वक त्यसलाई पेन्टको खल्तीमा घुसारे। यो सडक नाटकका असली निर्देशक राम दाइ नै त थिए। मेरो हरियो स्वेटर लगाएर सडकछेउमा उभिएका सहायक निर्देशक मुसुमुसु गरिरहेका थिए।

सिताराम दाह्रीवालले कतै रेस्टुराँमा छिरेर बिजुलीपानी चढाइहाल्ने कि भनी सोधे। टेलिफिल्मको प्रमुख भिलेनमा छनोट भएकाले उनी पार्टीको मुडमा थिए सायद। यता खड्का दाइहरूको दुई थान अनुहारमा आभा थपियो। तर मैले सिताराम दाह्रीवालको यो प्रस्ताव ठाडै अस्वीकार गरिदिएँ। म अब यो नाटक जतिसक्यो छिटो टुंग्याउन चाहन्थेँ। खासमा, बानेश्वरको चिसो साँझमा म आन्तरिक गर्मीले पसिनाम्य भइसकेको थिएँ।

‘अर्को कुनै साँझ बसौंला सितारामजी। आज म टेलिफिल्मको स्त्रि्कप्टको लागि लेखकसँग बस्नुछ। अब छुट्टिऔं,’ मैले हात बढाउँदै भनेँ। बिदा माग्दै गर्दा मैले सितारामलाई भनेँ, ‘सुटिङको डेट फिक्स भएपछि म फोन गरूँला।’

दुःखको कुरा सुटिङ कहिल्यै सुरु हुनेवाला थिएन।

दाइहरूले भने, ‘नाटक बेहद सफल भयो।’ मैले लाइभ अभिनय र डाइलगका लागि दाइहरूबाट प्रचुर बधाई र धाप पाएँ। मेरो अभिनय कौशल देखेर विशेषतः बुद्धे दाइ बढी खुसी भए। गोजीमा हात घुसारिरहेका राम दाइ पनि मख्ख थिए।

सिताराम दाह्रीवाललाई बिदाइ गरेको केही समयपछि सडकमा अँध्यारो झर्न सुरु गर्योो। अघि प्रशंसा गरिरहेका बुद्धे दाइले अब मलाई हाँस्दै उडाउन पो थाले। यो उनको स्वभाव नै थियो। भन्न थाले, ‘सुबेदार सर्वजीत मामाको नाक काटिस् भाइ तैंले आज। कसैले यो नाटकबारे थाहा पाए महाबेइज्जत हुनेछ।’
सडकमा अँध्यारो झरेझैं मेरो मनको सडकमा पश्चातापको अँध्यारो बुरबुर–बुरबुर झर्न थाल्यो। असइ बनेर अपराध मास्ने इरादा बोकेको एक युवकले सिताराम दाह्रीवालको सपनामाथि खेलवाड गरेर एक भयानक अपराध गरेको थियो।

राम दाइले हामीलाई नजिकैको एक भट्टीभित्र छिराए। मात्ने गरी बियर खुवाए। ट्याक्सी चढाए। भाडा दिए। र, मुस्कुराउँदै बाइबाइ गरे।

सैनिक निवासको सुविधासम्पन्न कोठाबाट आकाशमा विचरण गरिरहेको जून चहकिलो देखिन्थ्यो। खुसीमार उदासीमा त्यही जून हेर्ने बानी थियो। राति अबेरसम्म अपराधबोधको हथौडाले दिमागमा प्रहार गरिरहेकोले निद्रा गायब भइरह्यो। राम दाइको उट्पट्याङ रहर पूरा गरिदिन मैले जीवनमा सबैभन्दा ठूलो अपराध गरेको थिएँ।

मेरो दुःख–सुखको साथी जूनले पनि मलाई धिक्कारेझैं लाग्यो। आँखाको डिलबाट दुई–चार दाना आँसुका थोपा खसे। ‘अब कहिल्यै यस्तो कुकर्म गर्ने छैन,’ प्रतिज्ञा गरेँ।

मलाई पटक्कै थाहा छैन– टेलिफिल्ममा नेगेटिभ रोल गर्न त्यति पैसा लुटाउन तयार मिस्टर दाह्रीवाल के गर्दै छन् अहिले! म उनीसँग गहिरो माफी माग्दै कामना गर्छु– उनी फिल्म क्षेत्रमा सफल भएको समाचार कुनै दिन सुन्न पाऊँ।

१३ मंसिर, २०७१

(स्रोत : नागरिक – शनिबार)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *