नियात्रा : सहानुभूतिको लोकमार्गमा

~भेषराज रिजाल~

हो, यसरी नै हरेकक्षेत्र मिसिनुपर्छ मुलुकको विकासको गतिमा । तादी खोलो र त्रिशुली नदी मिसिएको देवीघाटमा उभिएर सोचेथेँ मैले ।

देवीघाटको जलमा अनुहार पखालेर स्मरण गरेथेँ नेपाल एकीकरणको इतिहास । आधुनिक नेपाल राज्य विस्तारको थालनी भएको नुवाकोट काठमाडौँको नजिकै भएर पनि दूर्गमजस्तै थियो मेरा लागि । स्थानीय तहको पहिलो चरणको निर्वाचनको अनुगमनमा खटिँदा सम्बत् दुईहजार चौहत्तर सालको वैशाखको अन्तिमसाता नुवाकोटे भूमि टेकेथेँ मैले । स्थानीय तहको निर्वाचनलाई नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था कार्यान्वयनको पहिलोपाइलो ठानेर आफू पनि मुलुकको एकीकरण अभियानमै सामेल भएको सम्झी चौडा छाती बनाएथेँ मैले ।

गोसाइँकुण्डबाट निसृतः त्रिशुलीको प्रवाह हेर्दै अघि बढियो । पिपलटारको फराकिलो फाँट छिचोलियो । गाढा रातो माटोका फाँटहरू हेर्दै गुड्दा सुख्खाले निमोठ्यो मेरो घाँटी । जङ्गबहादुर घोडैसित त्रिशुलीमा हाम्फालेको बहादुर इतिहास सम्झँदै गर्मीले छटपटिएको मन धेरैचोटी हाम्फाल्यो त्रिशुलीको पानीमा ।

रसुवाको केरुङ नाकातिर कुदिरहेका सवारी साधनहरू देखिए । नुवाकोटदेखि रसुवासम्मको पासाङ ल्यामू लोकमार्गलाई सोखिनहरूले ट्राउट मार्ग भनेको पनि सुनियो । भूकम्पपछि भारतले नाकाबन्दी लगाउँदा छिमेकी मुलुक चीनसँग सम्बन्ध बढाएर नेपालीलाई सहानुभूति दिएको सम्झेर त्यसको नाम सहानुभूतिको लोकमार्ग राखिदिएथेँ मैले । र आफैसँग बोलेथेँ, भूकम्पमा ढले पनि, नाकाबन्दीमा थुनिए पनि नेपालीत्वको स्वाभिमान छ मसँग । ढल्दैन नेपाली आस्था मेरो । मर्दैन नेपाली विश्वास मेरो ।

गंगटे पार गरेर बट्टार र विदुरको फाँटमा पुग्दा राजनीतिक दलका चुनाबी र्‍यालीसँग जम्काभेट भएथ्यो । विशाल जनसागर उर्लँदा तिनीहरूले निर्वाचनको भव्य स्वागत र तयारी गरिरहेझैँ लाग्दथ्यो । जतिबेला, डाँडामाथि उदाएको सूर्यको उज्यालो प्रकाश छरिइरहेथ्यो सर्वत्र । हरियो रुखको शितल छहारीले मुग्ध थियो गाउँघर । हँसिया हथौडा देखेर कर्मवीर नेपालीमा सञ्चार भइरहेथ्यो जोश जाँगर । रूपान्तरणको भरोसामा खुसी थियो नेपाली समाज । म पनि आशावादी छु राजनीतिक दलहरूप्रति । पर्खिरहेछु, मुलुक बनाउने सपुतको आगमन । विश्वस्त छु भावी सन्ततिको समृद्धिप्रति ।

चुनाबी रौनकमा रंगीएका मान्छेहरू देखिए । भवन, प्रवेशद्वार, पर्खाल जताततै चुनाब प्रचार सामग्री टाँसेको देखियो । धेरै राजनीतिक दलका झण्डा र चुनाब चिन्ह एकैठाउँ फहराएर मेलमिलाप र सद्भाव प्रचार गरिरहेका सवारी साधनहरू देखिए । जसरी पनि जित्नुपर्छ भन्ने सोच पालेर पक्ष विपक्षमा बाँडिएका मान्छेहरू पनि भेटिए । अन्ध भक्त र आस्थाको लडाईं हुने संस्कारको भने सुधारको अपेक्षा राखेँ मैले । निर्वाचनबाट जनताले जित्छन्, सबैको जित हुन्छ र कसैले पनि हार्दैनन् भन्ने सोच विकास भइदिए मुलुकको समृद्धि कठिन हुने थिएन । निष्कर्ष निकालेथेँ, लोकतन्त्रको सुदृढीकरणका लागि स्वस्थ्य प्रतिस्पर्धात्मक आवधिक निर्वाचन अत्यावश्यक रहेछ । राजनीतिक संस्कार सुध्रेर शान्ति, समृद्धि र विकासको अपेक्षा छ मुलुकमा यतिखेर ।

बृहत् व्यवस्थापकीय परिघटना निर्वाचनका केही प्रक्रियाहरूको अनुगमन गरिहँदा विदुरबाट लागिएथ्यो उकालो । मेरो साथमा थिए सहयात्री आधार शाह र पदमराज पाठक ।

रातमाटे सुख्खड उकालोमा चर्को गर्मीले छटपटिन्छु म । बाह्य ताप सहन भित्री तापले बगाइदिन्छ पसिनाको नदी । आफ्नै सबल खुट्टाका भरमा उक्लिरहँदा ठाडो उकालोमा बहेको सिरसिर बतासको निश्वास पाएर धन्य भएको छु । बट्टार र विदुरको फाँटमुन्तिर शान्त बगिरहेको त्रिशुलीको सरसता हेरेर प्यास मेटाउन खोज्छु । एकमन सोच्छु, रुमाल भिजाएर ल्याएको भए उकालोमा सुकेको घाँटी भिजाउन हुँदोरहेछ । अर्कोमन बोल्छ, बरु घामका सप्तरङ्गी किरण चुस्छु तर कायर विकल्प रोज्दिन म । नेपाल एकीकरणको अभियानमा क्रियाशील स्वाभिमानी सिपाहीझैँ गर्वले टेकिन्छन् पाइला । घाममा सुकिरहेका सालका कलिला बिरुवाहरूको सहनशीलता देखेर मनमा थपिन्छ आत्मबलको उर्जा । थाहा पाएथेँ, प्रतिकूल परिस्थितिप्रति प्रतिरोधको ज्वाला दन्किँदा पनि शक्ति भरिँदोरहेछ शरीरमा ।

पसिना बगिरहेछ निरन्तर । रत्तिभर वास्ता गर्दिन म त्यसको । सुकेका पात पतिङ्गरहरूसँग मितेरी लाउन खोज्छु तर, पैतालामा रोपिएर टाउकोमा चस्का दिन खोज्छन् तिनले ।

यतिबेला कसैले के छ भनेर सोधे मैले भन्थेँहोला– सुखै सुखको चौरास छ ।

साथीहरु मुखामुख गरे– कसरी हुन्छ त सुखको पनि चौरास ?

मैले तर्क राखेँ– पात्र, समय, परिस्थिति र स्थानअनुसार हुन्छ शब्दको अर्थ । सुख अर्थात् सुख्खा र खडेरीको सास्ती ।

एकछिन हँसाएँ साथीहरुलाई मैले । उनीहरु हाँसेको देखेर झन् बेस्सरी हाँसेँ म पनि । शायद यही सोचेँहूँला, यात्रामा सहयोगी साथभन्दा ठूलो कुरा केही हुँदैन । आत्मीय साथी भए जतिसुकै कठिन यात्रा पनि सहज हुन्छ ।

गर्मीले छटपटिएर आकासतिर हेरेँ मैले । आकास सफा भए पनि डाँडामाथि थियो एकधर्सो बादल । बादलमा देखियो एउटा कलुषित टाटो । शायद अधूरो सपना छोडेर असमयमै गइसकेका पृथ्वीको आँसुको दाग होला त्यो । सोचेँ, नेपाली भूगोल एकीकरण गरे पनि नेपाली मन एकीकरण गर्ने सपना अपूरो भएर रोइरहेका होलान् उनी ।

कच्ची बाटोमा धूलो उडाउँदै उकालियो एउटा मोटरसाइकल । मलाई लाग्यो, निर्वाहको एकधर्को मसिनो रेखामा कुदिरहेछ नेपाली वर्तमान । अजङ्गका पहाड हेरेर टोलाउँछु, वर्षौदेखिको अनिँदो पहाडको सपना कसले पूरा गरिदिने होला ।

बुढीआमै भेटिन्छिन् बाटोमा । शायद नेपाल एकीकरणको युद्धमा थाकेका योद्धालाई तात्तातो भात पस्कने बुढीआमै यिनै हुन् । छेउछाउको चिसो भात खाएपछि मात्र बीच थालीको तातो भात खाने काइदा बताएर ती योद्धालाई युद्धको रणनीति सिकाइथिन् रे तिनले । मुलुकप्रतिको तिनको दया, माया, सद्भाव र बुद्धिमत्तालाई नमन गर्छु । शरीरमा मैला र थोत्रा लुगा भए पनि मनमनै भन्छु, यी नेपाली सुपतकी महान आमा हुन् ।

नुवाकोटे दरबार देखियो । पृथ्वीनारायण शाहको नेपाल विजयको आधार इलाकामा उभिँदा गर्वले ठडियो शिर । भूकम्पबाट घाइते भएको दरबारले टेकोको भरमा उभिएर भए पनि नेपाली जातिमा एकताको सन्देश दिँदैथियो । पृथ्वीनारायणले शासन सञ्चालन गर्दै दिव्योपदेश दिएको, गीर्वाणयुद्धले समेत शासन सञ्चालन गरेको दरबार धरासायी भएको देखियो । दरबारको झ्याल र कौसीमा देखिन्थ्यो वास्तुकलाको बेजोड नमूना । दरबार परिसरभित्रका मन्दिर, डबली र चोकमा घुमियो । छेवैको टुडिखेलमा पुगियो । पुराना मन्दिर, भत्केका पर्खाल र संरचना हेरेर फेरि एकछिन विरक्तिन्छु म जसरी मुलुक निर्माणको गति सुस्त हुँदा रनाहा पारिरहेछन् मुलुकबासी ।

तादीको फाँट हेर्छु । त्रिशुलीको सेरोफेरो नियाल्छु । हिमालबाट बगेको चिसो हावाको स्पर्श गर्न खोज्छु । वसन्त पल्लवित वर पिपलका छहारीतिर फर्कन्छु । सामरी भञ्ज्याङतिर तानिन्छु । बेलकोटतिर चियाउँछु । धैवुङकोटसँग चिनजान गर्छु । नेपाल र तिब्बतबीच सन्धि भएको वेत्रावतीतिर नजर लगाउँछु । भैँसेबाट प्रवाहित नहर पच्छ्याउँदै त्रिशुली जलविद्युत आयोजनासम्म दृष्टि फैलाउँछु । विशाल पहरामा रहेको धार्मिकस्थल दुप्चेश्वर महादेव, पिकनिकस्थल ककनी, थानसिङ, जिलिङ जस्ता डाँडाभञ्ज्याङमध्ये केहीलाई आँखाले र केहीलाई मनले छामछुम पार्छु । नौकोट मिली बनेको नुवाकोटका केही डाँडाथुम्का र पर्वतमाला नियाल्दछु । कालीगढी भरेजस्ता डाँडा देखेर रोमाचित हुन्छु । अनगिन्ति टार, बेँसी र पर्वतमालामा उनिएको नुवाकोटका केही भूभाग टेक्न पाएकोमा रमाउँछु ।
उहिले मालिका र कालिकाबाट आक्रमण गरेथे रे पृथ्वीले । भग्नावशेष भएर ढल्न लागेको मल्ल दरबार हेरेर मनमा एउटा सदीक्षा पाल्छु, नेपालमा असल नेतृत्व चुनिई कुशासन भत्किन सकोस् छिटै ।

फर्कँदा नेपालको इतिहास र भर्खर चिनजान भएको नुवाकोटे सुन्दर प्रकृतिसँग आत्मालाप गर्दैथिएँ, तारुका मुस्कुरायो । माघे संक्रान्तिमा गोरु जुधाएर रमिते बन्नेगरेको तारुका देख्दा नेपालीलाई जुधाएर अनेक फाइदा लिन पल्केकाहरूलाई सम्झियो । तारुकाको निर्दोष मुस्कानसँग मुस्कुराए पनि मन पोलिरह्यो ।

अनेक सम्भावना भएर पनि नुवाकोटले तिनको वेवास्ता गरेको देखेर मन अमिलिएथ्यो । दुईचार दिनपछि परदेशीसरि त्रिशुलीको प्रवाहतिर हुइँकिएर विदा भए पनि मेरो यात्राको एउटा चीरस्मृत पाइलो भएर टेकिएथ्यो नुवाकोट ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares
विधा : नियात्रा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *