कविता : तिमी मेरो क्यानभासमा

~मनु मन्जिल~

मैले पहिलो पटक यौटा चित्र कोरेँ
र त्यो पनि तिम्रो ।

तिम्रा आँखाहरू
तिम्रै आँखाको रङले सजाएँ
तिम्रो केशराशिको रेशमी कोमलता उबाएँ,
चहक उबाएँ
र तिम्रो केशराशि सजाएँ ।

तिम्रो मुस्कानभन्दा म्रिदु र सुन्दर रङ
कहाँ पाउनु र मैले ?
गुराँस फिक्का लाग्यो,
फिक्का लग्यो गुलाब
र तिम्रै मुस्कानमा कुची चोबेर
तिम्रा ओठहरू बनाएँ ।

सङ्लो झरना,
सबेरैको सुनको हिमाल
र पूर्णिमाको जूनमा
मैले तिम्रो चेहराको स्निग्धता खोजेँ
भेटिनँ कतै
र अलिकता तिम्रै चेहराको चमक
तिम्रो चेहरामा खन्याएँ ।

तिमीले जो दिएथ्यौ
मुटु अल्हादमा नुहाउने न्यानो,
जीवनलाई स्वर्गमा ब्यूँझाउने स्पर्श
त्यही नरम र न्यानो स्पर्शले मैले
तिम्रो समग्रता रङाएँ ।

नजान्दा-नजान्दै
प्रेमले बनाएछु कि क्या हो
तिम्रो चित्र त तिमी आफैँ झैँ अतीव सुन्दर पो बन्यो ।

कसै गरी तलाउ वा सागर बनेको भए ?
म त्यहीँ डुबेको खबर
तिमीकहाँ उहिल्यै आइसक्थ्यो ।

(स्रोत : कविता सङ्ग्रह “ल्याम्प-पोस्टबाट खसेको जुन” बाट)

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *