कथा : के तिमी मेरी श्रीमती बन्छौ र ?

~दिल थापा~

गाँउतिर बाबा आमालाई भेट्न भनेर सवारी भो कि मेरा गोडाले घरको दैलो टेक्न नपाउदै मेरी आमैको प्रवचन सुरु भैहाल्छ मेरो बिहेको बारेमा । कुन्नी कती अध्याय सकाउनु भो सोध्न पनि भ्याको छैन । बिहेको कुराले मलाई वाक्क बनाईसक्यो । पोहोर साल बेसी फाँटको असारे फर्सी गण्टाको तरकारी खाँदा के वाक्क भाको थिएँ र “छोरा तिमीले अब त बिहे गर । ” भन्ने आमाको मुखबाट सुनिने वाक्यबाट वाक्क मात्र होईन दिक्क पनि भाको छु । त्यसैले आजकाल त घर जादाँ पनि प्रहरी चौकिमा तारिक धाउन गए जस्तो लाग्छ । तर मेरो कानमा नसुन्ने यन्त्र जडित गरेर होला मैले आजसम्म सुन्ने कान लाको छैन । कहिले काँही सुन्ने कान नलाउदाँ रुन पनि पछी पर्दिन मेरी आमा । आमाको त्यो चाला देख्दा बिहे गरु कि जस्तो पनि लाग्छ ।

एस. एल. सि पास भएपछी उच्च शिक्षा लिने बहानामा गाउबाट भुस्याहा कुकुरजस्तै यो शहर पसेको पनि धेरै वर्ष भैसक्यो । शहरको गल्ली गल्लिमा, चोक चोकमाआफ्नो सुनौलो भविष्यहरु खोज्दा खोज्दै जीवनको दशकहरु बितेको पत्तै भएन । आजको मितिसम्म न मैले सुनौलो भविष्यहरुलाई भेटाउन सकेको छु ।न सुनौलोभविष्यहरुले नै मलाई। यो शहर मसँग घुलित भयो कि , म यो शहरसँग घुलित भएँ भन्ने उत्तरहिन प्रश्नहरुलाई अर्धचेतन मनमा मानकबिनाको परिक्षणको मेसिनमा घुमाउदै हिडिरहेको छु ।

समाजले चलाई दिएको प्रथा लोग्ने मानिस श्रीमान् बन्नु पर्ने कुनै स्वानी मानिसको लागी , अनी स्वानी मानिस कसैको (कुनै पुरुष्) श्रीमती बन्नु पर्ने कस्तो चलन ? भनु बेलायतको अलिखित कानुन जस्तो । लोग्ने र स्वास्नी बन्ने प्रथा भनु कि चलनबाट मेरी आमाको यो छोरा नेपालको कानुन जस्तो जुन सुकै बेला आकर्षित हुनसकेको छैन ।सयाद मसँग सधै भेट हुने बेरोजगार , मनोहिनता , अरुची जस्ता कुराले हो कि ? तर मेरी आमा आफु जस्ती नारिको श्रीमान वा शिरको स्वामीबनाउन किन मलाई उत्प्रेरित गरिरहनु भएको छ कुन्नी ?

के गर्नु उमेरले त बिहे गर्ने बेला मात्र होईन दुई चार जना छोरा – छोरिको बाऊ हुने बेला पनि काट्न लागी सक्यो । आफूसंगै जन्मेको पल्लो घरको सानो अङ्कलको (काकाका) छोरा सविन भाइले बिहे गरेर पनि उसको छोरा मेरो बिहेको जन्ती जना सक्ने बेलाको भैसक्यो । तर मलाई भने बिहे गर्ने आँट र मनोवल बढ्नुको साटो झन् घट्दै गैरहेको छ । एकदिन अचानक भोटाहितिमा भेटेकी कुनै बेला मेरो दिलमा बसेकी र अहिले अर्कैको लागी हाँसेकी भुतपुर्व गर्लफ्रेन्डकै आग्रहमा कफी सपमा कफी खादै गर्दा मेरो हालखबर सोधी । बिहे गर्नु पर्ला जस्तो छ तर ममा आट्ँबहादुर नै छैन भनिदिए । यो कुरा सुनेर मेरी भुतपूर्व भनिनी गर्लफ्रेन्डज्युले मलाई नामर्द पो भनिन् । कफी सप नै थर्किनी गरि हाँसी दिइन । मलाई कम्टा रिस उठेको होईन । कफी सप नै फनफनी घुम्ने तरिकाले । उसको खबर सोध्न खोज्दै थिए । रिसले फनफनी टाउको घुमाएर शब्द समात्नै सकिन सोधिन पनि । अनि उसले भनी बाबुराजाको तागत मलाई नि थाहा छ के । तिमी म भन्दा पनि कमजोर छौ (हा हा हा हा हा हा) । मनमा आँट र गोजिमा गाँट भाको केटाहरु नेपालमा नभएर होला कोमल वली जस्ती अप्सराले पोई नपाको अहिले सम्म । हरेक वर्षको तीजमा पोइला जान पान भनेर तीज गित गाउन पर्ने अवस्था आको समेत भन्न भ्याई मोरिले । छोडपत्र भैसकेकी भुतपुर्व गर्लफ्रेन्डसँग कती बस्नु जस्तो लागेर मेरो काम छ भनेर उनिसँग बिदा भएर कोठातिर हिडे म पनि ।

मेरी आमाको कोखबाट जन्मेको ४ सन्तानहरुमध्ये म पुरुषको रुप धारण गरेर जन्मेको दोस्रो सन्तान हुँ । मेरी आमाको कोखमा हुँदा देखी नै मैले धेरै दुख दिएँ रे । मेरीआमैको दुखै दुख , जाहान परिवारको हेलै हेलाको बिचमा जन्मेर हुर्केको रे । पोहोर सालको कुल देउताको पुजामा घर जाँदा बेलुकाको खाना खादै गर्दा भन्नु भएको थियो। आमाको त्यो कुरा सुनेर मेरो मुखले खानाको चाहाना नै गरेन । मेरी आमालाई म दुधे बालक हुँदा घर परिवारले निकै हेला गर्नु हुन्थ्यो रे । पेटभरी खाना पनि दिनुहुन्थेन रे । अली धेरै खाना खान्छ भनेर अलिकती त खाली (पेटमा ) ठाँउ पनि राख्नु पर्छ भन्नु हुन्थ्यो रे । यस्तो पिडादायक र कष्टपुर्ण जीवनको बाटो खनी आफ्नो पाहिला हरु चाल्न नसकेकी मेरी आमैलाई मेरा बाबाले कहिल्यै पनि खाना खाइस की, खाइनस अनि कहिल्यै सन्चो बिसन्चो सोध्नु भएन रे । कहिले काँही गुनासो गर्दाउल्तै पिट्न खोज्नु हुन्थ्यो रे । अरुको कुरा सुनेर अनि पुरुषार्थ देखाउन । आमाको ति र त्यस्तो दर्दनाक कुरा हरु आजभोलि सम्झदा के लाग्छ भने उहाँको श्रीमान जस्तै पुरुष भनिने मलाई किन बिहे गर्न दवाव दिई रहनु हुन्छ ? मैले सोध्न सकेको छैन मेरी आमासँग । मैले देखेको छु अनि सुनेको पनि छु मेरो बाबाको समयको पुरुष र आजको समयको पुरुषमा केहि भिन्नता र अन्तर छैन मानसिक हिसाबले । अनि मेरी बुढी आमा र आजको कलिला महिलामा पनि। कथा र व्यथा पनि केहि फरक छैन । हो हिजो मेरा बाबाले मेरी आमालाई यौन तृप्तिको चाहाना मेटाउने ओछ्यान बनाउनकै लागी आफ्नो घरमा ल्याउनु भएको हो । एउटै देशमा बस्ने , एउटै चुलोमा पकाएको खाने , एउटै ओछयानमा सुत्ने , एउटै देशकाल र वातावरणमा बाच्ने र एउटै किसिमको अभावको सामाना गर्ने श्रीमान् र श्रीमतीमध्ये किन श्रीमान् भन्दा श्रीमती छिटो बुढी देख्छे हुन्छे पनि ? अनि श्रीमानको तुलनामा छिटो किन भगवानको प्यारी हुन्छे ? हो मेरी हुने वाला श्रीमती पनि यो विवसता हरुलाई तोड्न सक्दिन । म धन सम्पतिले भाव भाको पुरुष होईन धन सम्पतिले अभाव भाको पुरुष हुँ । तर पनि म दुर बिकतमा जन्मेको लोग्ने मनिसको साक्षर दर , बाँच्ने आयु सरखारी डाटामा बढेको देखाउदा देशकै सुगम शहरको सुख सयलमा बस्ने महिलाहरुको किन बढेको देखाउदैन ?

आज भन्दा ४ महिना अगाडी पुस मागतिर घर जादाँ हो । आमाले पकाएको बिहानि खाना मुखमा गाँस हाल्दै गर्दा आमाले फेरी मेरै बिहेको कुरा गर्नु भो । मुखका भातका सिताहरु बाहिर निस्कने गरी हाँसी दिए । किन हास्छस् तेरो उमेरमा त मैले तिमीहरु ४ जनालाई जन्माई सकेको थिएँ । म केहि बोलिन । सपासप भातका सिताहरु मुखको साहारामा गनिरहे । के गर्नु बोल्न त परो हुन्छ गरुला नि सम्म भनि दिए । भातभित्र (पेटमा) पठाउने र स्वर बाहिर निकाल्ने एउटै साइत जुराएर । मेरी आमैलाई मैले बिहे गरेको हेर्नु छ। मेरी श्रीमाती र मेरो सहवासबाट जन्मेको नाता- नातिना खेलाएर मात्र स्वर्ग जानु छ । सुखको सास फेरी मर्नु छ रे । म पुरुष हुँ भन्ने हैसित हुनुमा मेरा बाबाजिको जती हात छ, मेरी आमाको पनि त्यती नै हात छ । त्यसैले अब त बिहे गर न बाबु भनेर रुन्चे स्वर गरेकी मेरी आमालाई बुहारी र मेरो लागी श्रीमती (केटी) खोज्ने खोज्ने मेगा अभियानमा छु । एकदिन म कान्तिपुर महलबाट धोबी घाट साथिको डेरातिर जादै थिएँ छोटे बसको साहारामा । तर मेरो नजर एउटा परम सुन्दरी महिलामाथि तासियो । आखा पनि जुध्न सफल भयो । हुन त काठमाण्डु शहरमा केटीसँग आखा जुध्नु र आखामा धुलो पस्नु एउटै हो भन्थे मेरा संगै कलेज पढ्ने पवन साथिले । बसमा सिट भन्दा मानिस धेरै थियो । त्यसैले बस्न पनि गाह्रो भैरहेको थियो । ति परम सुन्दरी र म एउटै बसमा भएर होला मलाई त एयर बसमा बसेर यात्रा गरे जस्तो अनुभूति भो । मेरो श्रीमती खोज्ने अभियानको पहिलो नम्बरमा उनि पो परिन । झर्ने ठाउँ आई सकेकोले म झरे । उनले म झरेको बेला मलाई हेरिन कि हेरिन थाहा चाँही आज सम्म पाको छैन । धोबीघाटमा म के झर्न खोज्दै थिए । गाँउबाट आमाको फोन आई त हाल्यो । बुहारी हेर्दै छ रे ? के के कुरा गर्नु भो आमैले । आज पनि केटि हेर्न जादैछु । लगभग कुरा मिल्ला जस्तो छ भनेर गफको सुनामी लडाई दिए । तथापी नतिजा आजसम्म पनि आएको थिएन। आउने वाला पनि थिएन । एक चोटि आफ्नै नाता पर्ने दाईले केटी हेराउन भनेर एउटा गाउमा लैजानु भयो । केटी राम्री पनि रहेछे । मेरो आखाले पहिलो गासमै मन पर्‍यो । केतिको परिवारसँग पनि राम्रै कुराकानी भयो मेरो । कुरा मिल्ला जस्तो भयो पनि । अनी केटीको रूममा गरेर केटीसँग पनि कुरा गरे । छुट्टीने बेलामा मोबाइल नम्बर मागे । दीइन पनि । दुई चार दिनसम्म मायाँ पिरतिका मिठा गफहरु पनि भयो उनिसँग । तर उनिजिको ब्वाइफ्रेन्ड रहेछ । छ दिनबाट वाकयुद्ध नै सुरु भो । उनको ब्वाइफ्रेन्डसँग फोनमा । उनीसँग पनि बिदा मागे । फोन गर्न नै छोडि दिए । आजकाल त श्रीमती खोज्ने घरदैलो अभियानमा हिंड्न लगभग छोडिदिए । तर पनि आमाको बोली पनि त काट्न मन छैन त्यसैले बयरका गिडा जस्ता मेरा चिम्सा आखाहरू आजभोलि पनि तरुना – तरुनीहरुतिर बेसी दुलाई रहन्छु । मेरी हुने वाली सम्भावित श्रीमतीहरु देखिन्छ कि भनेर । हरेक चोक , गल्लि सहर बजारमा देखिने अविवाहित महिलाहरुलाई ( केटिहरु ) मनमनै सोध्ने गर्छु “के तिमि मेरी श्रीमति बन्छौ र” ?

दिल थापा
दमौली , तनहुँ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 64
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    64
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *