कविता : ती कमरेड कहाँ छन् होला ?

~दिल थापा~

कालो पाइट र सेतो कमिज लगाएको
सेतो कमिजको गोजीमा लालीकिल्ला
जस्तो देखिने गरी कलम
पनि राखेको
खुट्टामा गोलिष्टरको जुत्ता लगाएको
पछाडीपट्टि कालो झोला भिरेको
मध्यम कद भएको
चिम्सा आखा र थेप्चो नाक भएको
मंगोलियन अनुहारको
एउटा आब्रहम लिङ्‌कनजस्तै ख्याउटे मानिस
हाम्रो घरमा आई
लालसलामको साटो
दुई हात जोडी नमस्कार गरेको
ती कमरेड कहाँ छन् होला ?

खाना पकाई दिनु पर्यो हजुर
मुखबाट शब्दबोली निकाली
अरु साथीहरु वल्लो पल्लो घरमा खाना खानलाई जानु भाको छ । शब्द बोली ओकली
मैले किताबहरु बिस्कुन सुकाएको गुन्द्रीमा बसी
आफ्नो झोलाबाट मार्क्सवादको पुस्तक झिकेका
ती कमरेड कहाँ छन् होला ?
बाबु तिम्रो नाम के हो ?
कति कक्षामा पढ्छौं ?
भनी सोधेको
तिमीले पढी राको शिक्षा वुर्जुवा शिक्षा हो भनी भनेको
जनवादी शिक्षा यस्तो उस्तो हो भनीभनेको
मैले पढेको शिक्षालाई वुर्जुवा सुर्जुवा शिक्षा हो भनी खुबै विरोध गरेको
तर जाने बेलामा राम्रोसंग पढ्नुपर्छ भनेको
ती कमरेड कहाँ छन् होला ?

बाझो बारी जोत्दा जत्दै
गोरु नै नफुकाईकन ।
भरिया बनी साहुँको भारी बोक्दा बोक्दै
या
मुग्लानबाट प्रियसीलाई अंगालोभरिको मायाँ लिएर आउदा आउँदै बीच बाटोबाटै
सामान्तीको नसा काट्न
पुजीवादको सञ्जाल टोट्न
विस्तारवादलाई छेक्न
साम्राज्यवादलाई थेग्न
हिजो आजबाट कमरेड बनेको जस्तो लाग्यो ।
उसको डायरीको बाङ्‌गो तिङ्‌गो गरी उसको लेखेको अक्षर देख्दा मैले भाईलाई सानोमा अक्षर लेख्न सिकाउदाको याद दिलाउने
ती कमरेड कहाँ छन् होला ?

सायद ती कमरेडले
लालध्वजको गिदी सापटी लिएन छन् क्यारा
मैले प्रश्न सोध्दा
मैले स्कुलमा घोकेर भनेको जस्तै गरी
विस्तारवाद र साम्राराज्यवादको बारेमा
डराई डराई
हो की होइन !
दोधारे पाराले
उत्तर दिएको
ती कमरेड कहाँ छन् होला ?

उसको मनोविज्ञानको एक्सरे गर्दा
अझ भनु प्रयोगशालामा परीक्षण गर्दा
क्रान्तीकारी हुँ की होइन जस्तो
अनुहार र हाउभाउ देखाउने
ती कमरेड काँहा छन् होला ?

मकैको च्याख्ला र कर्कलोको तिहुनलाई
उसको पेटले स्वागत गरिसकेपछि
आफ्नो यात्राको साइत जुराउन
जुत्ताको तुना कसी
हाम्रो घरबाट बिदाई हुने बेलामा
तिमी पनि सर्वहारामुक्तिको यो महाअभियानमा आउनु पर्छ भन्ने
ती कमरेड कहाँ छन् होला ?

गरिबीको मानसिकता हेरी
वर्गीय मुक्तिका कुरा गर्ने
एक योद्धा जस्तो लाग्ने
आज सम्म मेरो स्मुतिमा आईरहने
ती कमरेड कहाँ छन् होला ?

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.