बाल कथा : गौंथली र खरायो

~उमाशङ्कर द्विवेदी~

कुनै ठाँउमा एउटा विशाल वृक्ष थियो । त्यस वृक्षको टोड्कोमा कपिञ्जल नाम गरेको एउटा गौंथली बस्दथ्यो । त्यसै वृक्षमाथि एउटा काग पनि बस्दथ्यो । साँझ परेपछि काग र गौंथली आपसमा देर्विर्ष, ब्रह्मर्षि तथा ऋषि मुनिहरूका प्राचीन चरित्र तथा आफ्नो दिउँसभरिको भ्रमण कालमा बाटोमा देखिएका विविध आश्चर्यजनक घटनाहरूको वर्णन गरेर अत्यन्त सुखपूर्वक आफ्नो समय बिताउँथे । एक चोटि कपिञ्जल नामक गौंथली अन्य गौंथलीहरूका साथ उडेर आफ्नो आजीविकाको लागि पाकेको धान भएको प्रदेशतिर गयो ।

त्यस राति ऊ फर्कि नआएको देखेर काग मनमनै विचार गर्न थाल्यो–हरे, कपिञ्जल आज किन फर्केन ? कतै ऊ कुनै शिकारीको जालमा त परेन ? कतै कुनै बलवान जानवरले त उसलाई मारिदिएन ? यदि ऊ कुशल भए मबाट अलग्गिएर अन्यत्र एक क्षण पनि बस्न सक्दैनथ्यो । कागले यस प्रकारले सोच्दा सोच्दै कैयन दिन बिते तर कपिञ्जल फर्केर आएन । एक दिन सूर्यास्त भइसके पछि शीघ्रगति नाम गरेको एउटा खरायो आएर कपिञ्जल बस्ने टोड्कोमा छिरेर बस्यो । कपिञ्जलको आगमनबाट निराश भएको कागले पनि त्यसलाइ रोकेन । मनग्य धान खाएर मोटोघाटो भई केही दिनपछि कपिञ्जल आफ्नो पुरानो वासस्थान सम्झी फर्किआयो । किनकि भनिएको छ–न तादृग्जायते सौख्यमपि स्वर्गे शरीरिणाम् । दारिद्रयेपिऽहि यादृक स्यात्स्वदेशे स्वपुरे गृहे ।। अर्थात् जुन सुख मानिसलाई आफ्नो देश, नगर वा घरमा पाइन्छ त्यो सुख स्वर्गमा पनि प्राप्त हुँदैन ।

आफ्नो टोड्कोमा उसले छिरेर हेर्दा त्यहाँ त खरायो गजधम्म आफ्नो निवास बनाएर बसेको पो रहेछ । आफ्नो निवासमा खरायोलाई बसिरहेको देखी रिसाएर उसलाई हकार्दै कपिञ्लले भन्यो–अरे दुष्ट खरायो, तिमीले मेरो निवासमा पसेको कुरा ठीक भएन । यहाँबाट छिट्टै निस्क, नत्र ठीक हुनेछैन । गौंथलीको कुरा सुनेर खरायोले पनि रिसाउँदै भन्यो–ल हेर, म यहाँ बसिरहेको छु, अत: यो मेरो घर हो, तिम्रो घर कसरी भयो ? तिमीभन्दा पहिले यहाँ म बस्दथें त्यसैले यो मेरो घर हो–कपिञ्जलले भन्यो । गौथलीको कुरा सुनेर खरायोले भन्यो– मभन्दा पहिले तिमी यहाँ बसेका होलाऊ तर अहिले म यहाँ बसेको हुनाले यो घर मेरो हो । शास्त्रहरूमा स्पष्ट भनिएको छ–वापीकूपतडागानां देवालयकुजन्मनाम् । उत्सर्गात्परत: स्वम्यमपि कर्तुं न शक्यते ।। अर्थात् इनार, पोखरी, झील, देवालय तथा वृक्षमाथि जीवहरूको अधिपत्य त्यतिञ्जेलसम्म मात्र हुन्छ जबसम्म ऊ त्यहाँ वास गर्दछ । ऊ त्यहाँबाट अन्यत्र गएपछि स्वत: उसको आधिपत्य समाप्त हुन्छ ( किनकि त्यहाँबाट अन्यत्र गइसकेपछि त्यहाँ अर्काको अधिकार स्वत: भइहाल्छ ) । अत: अहिलेलाई यो घर मेरो हो । खरायोको कुरा सुनेर कपिञ्जलले भन्यो–यदि तिमीले शास्त्र पुराणको कुरालाई प्रमाण मान्दछौ भने मसित आऊ । हामीहरू कुनै धर्मशास्त्रीसित कुरा गरिहेरौं, उसले धर्मपूर्वक जसलाई भन्नेछ यो घर उसैको हुनेछ । उनीहरूको यस्तो निर्णय सुनेर कागलाई पनि यस विषयमा के हुने हो भन्ने कुरा जान्न खुल्दुली लागेकोले काग पनि उनीहरूसित हिड्यो । हिंड्दै जाँदा बाटोमा उनीहरूको आपसी विवाद सुनिरहेको तीक्ष्णदन्त नामक बिरालो बाटामा पर्ने एउटा नदीको किनारमा गइबस्यो तथा हाथमा कुश लिएर एउटा खुट्टाले भूमि स्पर्श गरेर आँखा चिम्ली दुइटै हात माथि उचाली सूर्य भगवान्तिर मुख गरेर धर्मोपदेश गर्न थाल्यो–यो संसार तत्त्वहीन हो । प्राण पनि क्षणभ·ुर हो । इष्टमित्रहरूको मिलन पनि स्वप्नझैं अल्पकालिक तथा असत्य हो । यो कुटुम्ब र परिवार इन्द्रजालले बनाएको आकर्षक दृश्यझैं अनित्य तथा असत् छ । अत: यस संसारको मायाजालबाट बच्नको लागि धर्मबाहेक अन्य मार्ग छैन ।

त्यस बिरालोको धर्मोपदेश सुनेर खरायोले भन्यो–अरे कपिञ्जल, नदी किनारमा यस्ता महान् तपस्वी तथा धर्मवादी बसिरहेका छन् । जाऊँ, यिनीसित नै सोधौं । गौंथलीले भन्यो–बिरालो त हाम्रो स्वाभाविक शत्रु पो हो त । अत: टाढै बसेर सोध । हामी नजिक पुग्यौं भन्ने यसको व्रत भ· पनि हुन बेर लाग्ने छैन । ती दुईले टाढैबाट भने–हे तपस्विन्, धर्मोपदेशक महाराज, हामीबीच केही आपसी विवाद छ । अत: तपाईंले धर्मशास्त्रानुसार त्यसको निर्णय गरिदिने कृपा गरिदिनुस् । तपाईंको दृष्टिमा जो दोषी ठहरिने छ त्यसलाई मारेर खाइदिनु होला । यसमा हाम्रो मञ्जुरी छ । उनीहरूको कुरा सुनेर बिरालोले भन्यो–महाशय, तपाईंहरूले यस्तो कुरा गर्नु राम्रो होइन, किनकि म नरक दिने बाटोबाट विरत भइसकेकोछु । अहिंसा नै धर्मको मार्ग हो । म तपाईंहरूलाई खान्न, बरु म तपाईंहरूको जय–पराजयको निर्णय गर्ने छु तर म वृद्ध भइसकेको हुनाले टाढाबाट तपाईंहरूको उत्तर–प्रत्युत्तर स्पष्टताका साथ सुन्न असमर्थ छु । अत: तपाईंहरू मेरो नजिक आएर मेरो सामुन्ने आफ्ना अभियोगहरू भन्नुस जसले गर्दा तपाईंहरूका कुरा सुनी, बुझी आफ्नो धर्मसम्मत निर्णयात्मक जवाफ दिन सकूँ । बिरालोको यस प्रकारको कुरा सुनेर दुवै निडर भई उसको काखैमा गइ बसे तथा आफ्नो आरोप–प्रत्यारोप के सुनाउन थालेका थिए यत्तिकैमा बिरालोले एउटालाई खुट्टाले च्याप्यो तथा अर्कोलाई आफ्नो भयानक दाँतले चिरेर दुवैलाई तत्काल मारेर खाइदियो ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : बाल कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *