व्यङ्ग्य निबन्ध : राष्ट्रिय सहमति

~रुद्र खरेल~

मुलुक लुटिएको खबरले मेची महाकाली हल्लियो । यसले मेरो मथिंगलमा पनि आठ रेक्टरको भुँइचालो ल्यायो । पालेपिलो सरकारमा बस्नेहरु जम्माजम्मी दुई थरिका थिए । एकथरिले भाग्य, पुनर्जन्म र ईश्वरमा विश्वास गर्दथे भने अर्काथरिले चाहिँ यस जन्ममा मात्र विश्वास गर्दथे । मलाई लाग्यो यी दुवै थरिसँग किन संवाद नचलाऊँ ?
मैले सबैभन्दा पहिले ईश्वरवादी–पुनर्जन्मवादीसँग संवाद अघि बढाउने निधो गरेँ । यसका लागि मैले केही प्रश्नहरु बनाएँ । संवाद अघि बढ्यो ।

प्रश्न :  ईश्वरवादी–पुनर्जन्मवादीज्यू, कुर्सीमा चढेपछि तपाईँले दसै नंग्रा मुलुकको ढिकुटीमा गाड्नुभयो, कमिसन र घुसमा ज्यान फाल्नुभयो । के यो घृणित कुरा भएन र ?

ईश्वरवादी–पुनर्जन्मवादी :

हेर्नोस्, म ईश्वरमा विश्वास गर्छु । भाग्य र पुनर्जन्ममा विश्वास गर्छु । चौरासी लाख जुनी बिताएर बल्लबल्ल मैले यो नरदेह धारण गरेको हुँ । मैले यो नरदेह ठट्टामा पाएको छुइनँ । जन्म जन्मान्तरका छोरानातिहरुले मेरा लागि थुप्रै गरुड पुराण लगाएका छन्, पिण्डहरु लडाएका छन्, थुप्रै थुप्रै बैतर्नी र शैयादानहरु गरेका छन् । त्यस पुण्यको फल अहिले भोग्दैछु म । पुपर्पुरामा भावीले धस्काइदिएपछि कसको ईश्याले के नाप्छ ? फेरि भोलि म कुकुर, सँुगुर, अजिंगर, गुहेकीरो जे पनि हुन सक्छु । बल्लबल्ल, त्यो पनि अघिल्लो जन्मका स्वास्नी छोराछोरीहरुले मेरा नाउँमा गरिदिएको पुण्यको प्रतापले मेरो भाग्य छापावाल सुनझैँ टलक्क टल्केको छ । यस्तो मूल्यवान् मनुष्य जीवन पाएको बेला किन म मोज नगरूँ ?

ईश्वरवादीको उत्तर मलाई मनासिवै लाग्यो । किर्ना, गँड्यौला, जुम्रा, उपियाँ, साप, विच्छी, गँगटा, जुका, चुर्ना, भ्यागुतो, छेपारो आदि आदि हुँदै उनीहरुले मनुष्य देह धारण गरेका छन् । फेरि, उनीहरुका अहिलेका क्रियाकलाप हेर्दा सुँगुर, अजिंगर र गुहेकिरा बाहेक अर्को माथिल्लो जुनी पाउने छाँट पनि छैन । जन्म–जन्मान्तरको यो मूल्यवान् जुनीमा पनि मोज नगर्ने हो भने कहिले गर्ने ? उनीहरुको प्रतिप्रश्नले त मेरो मुखमा पाडकै ठोकिदियो ।

मेरो पालो त्यसपछि अनीश्वरवादीको घरतिर लागेँ । उनलाई पनि उही पुरानै प्रश्न सोधेँ – अनीश्वरवादीज्यू, तपाईंले मुलुकको ढुकुटीमा गोहीझम्टा किन मार्नुभयो ? कमिसन र घुस तपाईँका लागि कसरी शिष्टाचार भए ?
अनीश्वरवादीले गम्भीर मुद्रा बनाए । उपेक्षाको फिस्स हाँसो मतिर फ्याँक्दै आफ्ना तर्कहरुको एम्बुस मतिर फर्काए ।

अनीश्वरवादी :

यति नाथे कुरा बुझ्न नसक्ने तपाईँ पनि साँच्ची नै लठपुङ हुनुहुँदो रहेछ । तपाईंले सोधिहाल्नुभो । कुरा के छ भने म भाग्य, पूर्वजन्म, पुनर्जन्म, ईश्वर केहीमा पनि विश्वास गर्दिन । तथाकथित छोरानातिका बासी पिण्ड खाएर मैले यो नरदेह धारण गरेको पनि होइन । मेरो यो एकबारको चोला हो । हिजो पनि म थिइनँ, भोलि पनि म यस संसारमा हुन्नँ । त्यसैले म घुस, कमिसन त के जे पनि खान्छु । बरु पूर्वजन्मका छोरानातिहरुको पिण्ड हसुर्ने साथीहरुले यतिविधि हतार नगरेको भए हुन्थ्यो । उनीहरुले हतार गर्नुपर्ने कुरै थिएन । उनीहरु त भोलि पनि जन्मिन्थे, पर्सि पनि जन्मिन्थे, जन्मजन्मान्तर जन्मिइरहन्थे । छोरानातिहरुले यताबाट डकुमेन्ट गरी पठाएका पिण्ड घिचेर यमलोकमा समेत ड्याउ–ड्याउ डकारिरहन्थे । यता आफ्ना पेटमा चाहिँ हिजोझैँ भोलि मरेपछि पनि मुसा कुदिरहनेछन् । एकबारको नरदेह धारण गरेर गतिलो कुर्सी बसिएको छ । मर्ने कुरा पक्कै छ तर मरिसकेपछि जन्मने कुरामा विश्वास छैन । त्यसैले, म त भन्छु लुटेर हुन्छ कि थुतेर हुन्छ कि सारा मोजमज्जा आजै गरौँ । मरेपछि डुमै राजा । भोलि कसैले मरेपछि खा बाबै केरा भनेर मानमनितो, पजेरो, रेड लेभल, विदेशी हुस्की घाटाँ पुर्याइदिँदैन । चिहानमै हालिदिए पो के गर्नु ? अब भन्नोस् त एकबारको जुनीमा राष्ट्रिय ढिकुटीमा गोहीझम्टा नमारेर के गर्नु ?

अनीश्वरवादीको कुरा पनि मलाई मनासिबै लाग्यो । पुनर्जन्मवादी भाग्यवादीहरुले नै संयमित भएर पर्खनुपर्ने हो । उनीहरुको के बिग्रेको थियो र ? छोरानातिहरुले बागमतिको वगरमा पिण्ड लडाइहाल्थे । भुस्याहा कुकुरले क्वाप्प खाएर कुप्लुक्क निलेपछि भोलि उनीहरुले त्यो डकुमेन्टझैँ स्वर्गमा पाइहाल्थे । समस्या त अनीश्वरवादीलाई पो छ, जो पुर्पुरामा पटक्कै विश्वास गर्दैन । तिनीहरुले यस जुनीमा मोजमज्जा नगरेर के गरुन् ?

जुनसुकै वादी प्रतिवादी किन नहुन् दुवैको सार एउटै निस्कियो । पुर्पुरामा विश्वास गर्ने कि नगर्ने, ईश्वर र पुनर्जन्ममा विश्वास गर्ने कि नगर्ने, यी कुरा रुखा बहसका विषय हुन् । दुईटैको साझा सहमति एउटै कुरामा भयो, त्यो हो – खानु । राष्ट्रिय सहमति यसैमा भयो । हाम्रो चित्तमा खाओवादले बलियोसँग जरा गाड्यो ।

(स्रोत : इ-मुल्यङ्कन डट कम)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : निबन्ध, हास्य - व्यङ्ग्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *