कथा : एउटा बूढोको अधुरो गीत

~ध्रुव सापकोटा~Dhruba Sapkota

तिनीहरू स्टुडियोमा पुग्दा चित्रकार आफ्नो अधुरो चित्रमा काम गरिरहेको थियो । त्यस स्टुडियोमा ऊ एक्लै थियो । एकाग्र भएर लागिरहेको । चित्रकार एकल चित्रकला प्रदर्शनीको तयारीमा थियो । चित्रकार स्थापित भइसकेको थिएन । सङ्खर्षरत थियो । उत्साहित थियो । उसले यो बाटो अँध्यारो देखेको थिएन । सोचेको पनि थिएन ।

केही समयअघि तिनीहरू दुईदिने पैदल यात्रामा निस्केका थिए । त्यसमा यो चित्रकार पनि सामेल थियो । तिनीहरूले पुग्ने तय गरेको ठाउँ पहाडको चुचुरोको एउटा भग्नावशेष थियो । पहिलो दिन तिनीहरूले तय गरेको ठाउँमा पुग्नुअघि एउटा छाप्रोमा रोकिए । तय गरिएको ठाउँमा पुग्न असम्भव थिएन । हतार गर्नुपथ्र्यो । बल गर्नुपथ्र्यो । एउटा गीतले तिनीहरूलाई रोक्यो । गीतबाट तिनीहरू आकर्षित भए । गीत एउटा बूढो मान्छे गाइरहेको थियो ।

धन मेरो छैन
ज्यान मेरो यही हो
त्यसै रमाइलो ।

‘गीत त मीठो गाउनुहुँदो रहेछ ।’ एउटाले भन्यो ।

‘हो हजुर ! हजुरहरूलाई मीठो लाग्यो ?’ बूढोले भन्यो ।

‘तपाईंको शब्द र लय मीठो छ ।’ एउटाले भन्यो ।

‘स्वर नि हजुर ?’ बूढोको प्रश्न थियो ।

‘स्वर ठीक छैन ।’ एउटाले भन्यो ।

‘मलाई अरूले पनि यसै भन्छन् ।’ बूढोले भन्यो ।

‘तपाईंले कसलाई सुनाउन यो गीत गाएको ?’ एउटाको प्रश्न थियो ।

‘ई, यो तुलसाको मोठ हो । यहाँ हेर्नोस्, बाख्रबहरू छन् । गाई छ । रूख छ । घर छ । यो ढुङ्का हो । यो माटो हो ।  यो ठाउँबाट मुसा आउँछन् । बिरालो उः त्यहाँ झम्टन बसेको छ । त्यो मेरो खेत हो । यो मेरो बारी हो । यी सबैलाई सुनाउन मैले गीत गाएको ।’ बूढो भन्छ ।

‘सब छन् तर मान्छे छैनन् ।’ एउटाले भन्यो ।

‘छैनन् ।’ बूढो भन्छ ।

‘मान्छेलाई सुनाउन नपाई आनन्द आउँछ र ? मूल्याङ्गन त मान्छेले गर्न सक्छन् ।’ एउटाले भन्यो ।

‘त्यो त हो हजुर । गाउन मन लाग्छ । आनन्द आउँछ । गाइयो ।’ बूढो भन्छ ।

तिनीहरूले झोला बोकेका थिए । आँगनमा उभिएका थिए । बूढोले घरको पिँढीमा सुकुल राख्यो । तिनीहरू बसे । आफ्नो झोला भुइँमा राखे । बिहानदेखि नै उकालो चढेका थिए । चर्को घाममा पनि आफ्नो यात्रा रोकेका थिएनन् । पानीमा पनि आफ्नो यात्रा रोकेका थिएनन् । थाकेका थिए । शरीरमा पसिना आएको थियो । तय गरिएको ठाउँमा पुग्न छिटोछिटो हिँडेका थिए । अहिले घाम अस्ताउन लागेको थियो । ठाउँठाउँमा घामको छाया देख्न सकिन्थ्यो । घाम सरिरहेको थियो । कुनै पनि बेला अस्ताउन सक्थ्यो । केही समयमा नै अँध्यारोले तिनीहरूलाई थिच्न सक्थ्यो ।

‘आज यहीँ नै बस्यौँ कि क्या हो ?’ एउटाले भन्यो ।

‘यहीँ बूढाको गीत सुनेर बस्ने ?’ अर्कोले भन्यो ।

‘बाध्यता हामीलाई छैन । फुक्का छौँ । बस्ने भए बसौँ ।’ तेस्रोले भन्यो ।

बूढो तिनीहरूको सामुन्नेमा टुक्रुक्क बसेको थियो । तिनीहरू सुकुलमा थिए । बूढो भने पिर्कामा । त्यसले लँगौटी लगाएको थियो । देखिन्थ्यो । लँगौटीमाथि कछाड फेरेको थियो । कमिजमाथि इष्टकोट पनि लगाएको थियो । मैलो टोपीको घेरा फाटेको थियो ।

‘आज तपाईंको घरमा बस्ने, हुन्छ ?’ एउटाले स्वीकृति खोज्यो ।

‘किन बस्ने हजुर ?’ बूढोको प्रश्न थियो । प्रश्नमा कुटिलता मिसिएको थिएन ।

‘तपाईंको गीत सुन्नु ।’ एउटाले भन्यो ।

‘अघि सुनेर पुगेन ?’ बूढाको प्रश्न थियो ।

‘तपाईंले त्यो गीत कतिपल्ट गाउनुभयो ?’ एउटाले प्रश्न गर्र्यो ।

‘कतिपल्ट, कतिपल्ट ।’ बूढोले भन्यो ।

‘हो । त्यसैले तपाईंको गीत सुन्ने । तपाईंको घरमा बस्ने ।’ एउटाले भन्यो ।

‘हुन्छ । बसे हुन्छ ।’ बूढोले भन्यो ।

‘असजिलो त हुँदैन तपाईंलाई ?’ अर्कोले सोध्छ ।

‘असजिलो हुन्छ हजुर ।’ बूढो भन्छ ।

बूढोको यो खुल्ला कुराकानीबाट प्रभावित त भए । यहाँ प्रश्न भने सोझै  ठडियो । अर्काको घरमा असजिलो पार्ने गरी बस्न मिल्छ या मिल्दैन ? तिनीहरूका लागि यो एउटा नैतिक प्रश्न थियो ।

‘हामी बसेर के असजिलो हुन्छ ?’

‘तपाईंहरूलाई सुत्ने ठाउँ छैन । ओढ्ने छैन । ओछ्यान छैन । चामल छैन । तरकारी छैन ।’

‘त्यसको तपाईं चिन्ता नलिनोस् । हामीसँग सुत्ने ब्याग छ ।’ एउटाले भन्यो ।

‘खानेकुरा ?’ बूढोले सोध्यो ।

‘मकै छ ?’ एउटाले सोध्यो ।

‘छ ।’ बूढोले भन्यो ।

‘त्यही भैहाल्छ नि ।’ अर्कोले भन्यो ।

‘त्यसो भए त ठीक छ ।’ बूढोले भन्यो । बूढोले भित्रबाट अम्खोरामा पानी ल्यायो । तिनीहरूले पालैपालो अम्खोराबाट पानी खाए । त्यो घर निकै पुरानो देखिन्थ्यो । कमसल काठको दलिन मक्किसकेका थिए । घर खरले छाएको थियो । भित्र सानो झ्याल थियो । कहिल्यै रङ नलगाइएको ।

‘गीत तपाईंको यति नै हो कि अझ छ ?’ एउटाले सोध्यो ।

‘यति नै हो ।’ बूढोले भन्यो ।

‘चार पनि होइन, तीन लाइन मात्र छ त तपाईंको गीत !’ एउटाले सोध्यो ।

‘तीन लाइन मात्र ।’ बूढोले भन्यो ।

‘यति तीन लाइन मात्र गीत गाइरहनुहुन्छ ?’ एउटाले सोध्यो ।

‘हो । यति मात्र गाइरहन्छु ।’ बूढोले भन्छ ।

साँझ परिसकेको थियो । तिनीहरू सुकुलमा नै बसेका थिए । हेर्दाहेर्दै अँध्यारो आयो । कीराहरू एकनासले कराएको आवाज आउन थालेको थियो । तिनीहरू घरभित्र पसे । अगेनुमा बूढाकी श्रीमती मकै भुट्न लागेकी थिई । माटोको हाँडीमा मकैका पूmलहरू उफ्रेको देखिन्थ्यो । तिनीहरू घरको भित्तामा अडेस लागेर बसेका थिए ।

‘मेरो क्षमता त यति नै हजुर ।’ बूढोले मकै देखाएर भन्यो ।

‘मीठो खान हामी तपाईंको घरमा बसेको होइन । तपाईंको गीतबाट आकर्षित भएर बसेको ।’ एउटाले भन्यो ।

‘गीतमा त्यस्तो के छ र हजुर ?’ बूढोले भन्यो ।

‘गीतमा सबै कुरा छ । चाहिनेजति कुरा छ ।’ एउटाले भन्यो ।

कुनोमा एउटा टुकी छ । त्यसबाट मधुरो उज्यालो आइरहेको छ । तिनीहरू बूढोलाई हेरिरहेका छन् । बूढो अतीत होइन । वर्तमान हो । बूढो अमूर्त होइन ।

‘यो गीत तपाईं आफैले बनाएको ?’ एउटाले सोध्यो ।

‘तपाईंहरू मलाई जिस्क्याउन बस्नुभएको त होइन ?’ बूढो सोध्छ ।

‘यो प्रश्नले तपाईंलाई जिस्क्याएजस्तो लाग्यो ?’ एउटाले भन्यो ।

‘मलाई त त्यस्तै लाग्यो ।’ बूढोले भन्यो ।

‘मनमा एउटा कुरा मुखले अर्को कुरा ! यही भन्न  खोजेको होइन ?’ एउटाले भन्यो ।

‘त्यही हो ।’ बूढोले भन्यो ।

‘तपाईंले यसरी सोच्नु पनी खराब होइन । अहिले जिस्क्याएको होइन । यो गीतको बारेमा जान  खोजेको ।’ एउटाले भन्यो ।

‘यो गीत कसले बनाएको त ? मलाई अरूले पनि सोध्छन् ।’ बूढाले भन्यो ।

‘हामी पनि त त्यही अरू जस्तै त हौँ नि ।’ एउटाले भन्यो ।

‘त्यसो हो भने म साँचो कुरा बताउँछु । यो गीत मैले मेरो बाबुबाट सुनेको । मेरो बाबु पनि यस्तै लुगा लगाउनुहुन्थ्यो । यसरी नै आँगनमा बसेर गीत गाउनुहुन्थ्यो । यो गीत गाउँदा मलाई मेरो बाबुको सम्झना हुन्छ ।’ बूढोले भन्यो ।

‘बाबुलाई तपाईंले सोध्नुभएन त यो गीतको बारेमा ?’ एउटाले भन्यो ।

‘मैले त सोधेको थिएँ । उहाँले पनि उहाँको बुबाबाट सिक्नुभएको हो ।’ बूढाले भन्यो ।

‘तीन पुस्ता । तीन लाइनको गीत । पुस्ता परिवर्तन । गीतमा कुनै परिवर्तन छैन । धन मेरो छैन । ज्यान मेरो यही हो । त्यसै रमाइलो ।’ एउटाले भन्यो ।

‘मेरा बाबुको स्वर सुन्नु भएको भए तपाईंलाई एकिन हुन्थ्यो । अब त उहाँ बित्नुभएको पनि धेरै भयो ।’ बूढाले भन्यो ।

‘घर नि ?’ एउटाले सोध्यो ।

‘घर पनि यही हो ।’ बूढोले भन्यो ।

‘घर यही ! आँगन यही । गीत यही । तपाईं मात्र फरक ।’ एउटाले भन्यो ।

‘हो, ठीक भन्नु भयो ।’ बूढाले भन्यो ।

तिनीहरू बाहिर निस्किए । अगेनाबाट धुवाँ आएको थियो । त्यो धुवाँमा तिनीहरू निसासिए । बाहिर खुला हावामा निस्कँदा ठूलै मुक्ति मिलेको अनुभव भयो । अहिले तारा आकाशमा देखिन्थे । जून लागिरहेको थियो । बूढो पनि तिनीहरूसँगै निस्केको थियो ।

‘यो घरमा तपाईंहरू मात्र ?’ एउटाले सोध्यो ।

‘हो, हामी दुई जना मात्र ।’ बूढोले भन्यो ।

‘अहिले भने मज्जासँग ढाँट्नुभयो ।’ एउटाले भन्यो ।

‘ढाँटेको होइन हजुर ।’ बूढोले भन्यो ।

‘हामीहरूलाई गाउँका जवान केटाहरू बटुल्न हिँडेका मान्छे ठान्नु भएजस्तो छ ।’ एउटाले भन्यो ।

‘के हजुरहरू साँच्चै त्यस्तै मान्छे हो ?’ बूढोले भन्यो ।

‘तपाईंलाई किन त्यस्तो कुरा मनमा आयो ?’ एउटाले भन्यो ।

‘हजुरहरूलाई यस्तो कुरा बताउन नै पर्दैन ।’ बूढोले भन्यो ।

‘अब तपाईंले हामीसँग नडराए हुन्छ । अब भनोस्,  तपाईंका छोराछोरी कति छन् ?’ एउटाले प्रश्न गर्छ ।

‘एउटा छोरा । एउटी छोरी ।’ बूढोले भन्यो ।

‘यो त पत्याउन सकिँदैन । ढाँट्नुभयो बूढा । फेरि ढाँट्नुभयो ।’ एउटाले भन्यो ।

‘तपाईंसँग म बूढो मान्छेले डराउन पर्दैन । कति नै बाँचिन्छ र ? अहिले तपाईंहरूले हद गरे बाँधेर पिट्नुहोला ।’ बूढोले भन्यो ।

तिनीहरूलाई बूढोले मर्ममा नै प्रहार गरेजस्तो लाग्यो । तिनीहरू त बाहिरिया हुन् । अपरिचित हुन् । उसको घरमा आश्रय लिएका । बूढो त यहाँको रैथाने । पुर्खाको ठाउँमा नै बसेको । पुर्खाको थलो नछोडेको् । उसका त यो ठाउँमा आफन्त छभन् । डराउनु त उनीहरूले पर्ने । डर भने बूढोलाई भएको छ । तिनीहरूबाट नै यो बूढो आतङ्गित छ । यो त बूढोको शब्दबाट नै प्रवाहित भएको छ ।

चित्रकारले आफ्नो सामान पन्छायो । जताततै चित्रहरू थिए । सामान थिए । साथीहरू बस्नका लागि उसको त्यो स्टुडियोमा स्टुलहरू थिए । सोफा थिएन । कुनोमा टेबुल थियो । चित्रकारले सबैको बीचमा राख्यो । यो उसको घर थिएन । यो कोठा उसले भाडामा लिएको थियो । बिहान आठ बजे ऊ आफ्नो स्टुडियोमा आउँथ्यो । बार बजेसम्म चित्र बनाउने गथ्र्यो । त्यसपछि ऊ आफ्नो घरमा कहिले बाहिर होटलमा नै समय बिताउँथ्यो । बिहानको नियमित स्टुडियोमा जाने उसको बानी देखेर साथीभाइ सोध्थे ।

‘तिमी के हरेक दिन चित्र नै बनाउँछौ ?’

‘त्यसै गर्छु ।’ ऊ भन्थ्यो ।

साथीहरूले पैसा निकालेर उसलाई दिए । यो कुनै नयाँ कुरा थिएन । एउटालाई नै पूरै भार नपार्ने योजनाअन्तर्गत नै तिनीहरूले व्यक्तिगत योगदान गरेका थिए । धेरै समय पहिलेदेखि नै उनीहरूले यस्तो चलन चलाएका थिए । कहिलेकाहीँ भने एक जनाले नै पूरै भार उठाउँथ्यो । व्यक्तिगत रूपले कसैले बाहिरी पाहुना बोलाएको छ भने त्यही बोलाउने मान्छेको खर्चको भार उठाउँथ्यो । यो बस्ने थलो थियो ।

‘त्यो बूढोले फरक शैलीको गीत गायो ।’ एउटाले भन्यो ।

‘मलाई त अहिलेसम्म त्यो गीत कण्ठ नै छ ।’ अर्कोले भन्यो ।

‘त्यस्तो थोत्रो छाप्रोमा अहिलेसम्म बसिएको थिएन ।’ तेस्रोले भन्यो ।

‘थोत्रो छाप्रो । बूढो मान्छे । मार्मिक गीत ।’ एउटाले भन्यो ।

मोमो आयो । बदाम आयो । चिउरा आयो । भुजिया आयो । एक बोतल रक्सी आयो । तिनीहरूले चियर्स गरे । यात्रामा जानुअघि चुचुरोको भग्नावशेष तिनीहरूका लागि महत्वपूर्ण थियो । अहिले यात्राबाट फर्केपछि भने तिनीहरूको प्राथमिकता त्यो चुचुरो भएन । प्राथमिकतामा बूढो आयो । छाप्रो आयो । गीत आयो । तीनै जनाले मिलेर गीत गाए । यो  त पप होइन । के हो ?

‘एउटा कुरा भनौँ ?’ एउटाले भन्यो ।

‘भन न । दस कुरा भन तर रोचक कुरा ।’ अर्कोले भन्यो ।

‘रोचक कुरा । सत्य कुरा । झुट्टा कुरा ।’ एउटाले भन्यो ।

‘कुरालाई अमूर्त नबनाऊँ ।’ तेस्रोले भन्यो ।

‘त्यो बूढोले हामीलाई असल मान्छे ठानेन ।’ एउटाले भन्यो ।

‘त्यो त हो । नत्र त्यसले हामीलाई बाँधेर पिट्ने मान्छे किन भन्थ्यो !’ अर्कोले भन्यो ।

‘अब यो विश्लेषण नगरौँ ।’ तेस्रोले भन्यो ।

बूढोलाई तिनीहरूले छोड्न चाहे । सकेनन् । बूढो आयो । नजिक आयो । गीत गायो । नाच्यो । आफ्नो गीतमा कथा नपार्न श्रीमतीलाई घरभित्र राख्यो ।

‘तपाईंलाई ढाँट्न छुट छ । जति ढाँटे पनि हुन्छ । हामीले सोधेको जबाफ दिनोस् । साँचो दिनोस् । ठीक छ । झुट्टो दिनोस् । छुट छ । जबाफ दिनोस् ।’ एउटाले भन्यो ।

‘तपाईंहरूलाई आफ्नो सोचाइअनुसारको जबाफ साँचो लाग्ने रहेछ ।’ बूढोले भन्यो ।

बूढोले आफ्नै गाउँमा धेरै परिवारको अवस्थाको ज्ञान थियो । एउटै आमाबाट, एउटै श्रीमतीबाट एक दर्जन बच्चा जन्मिएको देखेको छ । कोही बारीमा नै जन्मिएका छन् । कोही घरको आँगनमा । कोही ओछ्यानमा । अस्पतालमा कोही जन्मेनन् । दसमध्ये दुइटा मात्र जीवित रहेको उसले देखेको छ ।

‘दुइटा जन्मे । दुइटा नै जीवित छन् । मेरा लागि यो गर्वको कुरा हो । मैले दसवटा भनेको भए तपाईंका लागि साँचो हुन्थ्यो । अब दुइटा भन्दा झुट्टो भयो ।’ बूढोले भन्यो ।

‘त्यसकारण त तपाईं रमाइरहनुभएको रहेछ ।’ एउटाले भन्यो ।

‘मैले हजुरहरूले भनेको बुझिनँ ।’ बूढोले भन्यो ।

‘अघि आँगनमा त्यसै रमाई गाएको होइन ?’ एउटाले भन्यो ।

‘त्यो त हो हजुर ।’ बूढो भन्छ ।

भित्र मकै भुटिसकिएको थियो । धुवाँ बाहिर आएन । तिनीहरूभित्र पसे । एउटा ठूलो भाँडोमा तिनीले मकै राखेकी थिइन् । तिनीहरूका लागि थालमा मकै आयो । भोकाएका थिए । मीठो लागेको थियो ।

‘तपाईंहरू पनि यसरी सधैँ । मकै खाएर रात बिताउनुहुन्छ ?’ एउटाले सोध्यो ।

‘सधैँ होइन । कहिलेकाहीँ ।’ बूढोले भन्यो ।

‘अघिपछि के खानुहुन्छ त ?’ एउटाले सोध्यो ।

‘रोटी, ढिडो यस्तै ।’ बूढोले भन्यो । भोलि तिनीहरूलाई खाना खुवाउने कुरा व्यक्त ग¥यो । तिनीहरू बिहान खाना खाने पक्षमा थिएनन् ।

स्टुडियोमा तिनीहरू मात्र थिए । यात्राका सहभागी । बाहिरिया कोही थिएन । यात्रालाई स्मृतिमा ल्याइरहेका । चित्रकारको आफ्नो स्टुडियोमा एक्लै काम गर्दा सङ्कीत सुन्ने बानी थियो । अहिले पनि सङ्कीत त बजिरहेको थियो । सङ्कीत सुनिरहेका थिएनन् । बूढाको गीतको आकर्षणबाट तिनीहरू मुक्त भएका थिएनन् ।

‘बूढोले त्यसै रमाइयो भनेको शब्द अहिले मलाई भ्रम भयो ।’ एउटाले भन्यो ।

‘कसरी ?’ अर्कोले सोध्यो ।

‘अहिले मलाई लाग्यो, त्यसले रमाइलो भनेको हो ।’ एउटाले भन्यो ।

‘कुरा एउटै हो । बूढो रमाएको छ ।’ अर्कोले भन्यो ।

रक्सी खाँदा बूढो हराएन । बूढो झन्झन् दोहोरिएर आयो ।

‘तपाईंको छोरा खोइ त ?’ एउटाको प्रश्न छ ।

‘छोरा त यहाँ छैन । विदेशमा छ । दिल्लीमा छ ।’ बूढोको जबाफ छ ।

‘सानैमा पठाएको ?’ एउटाले सोध्यो ।

‘धेरै भयो ।’ बूढोले भन्यो ।

बूढोले अन्तै हे¥यो । छोरा उसको आँखामा आयो । छोरा आएको छ । छोरा कम बोल्छ । आफ्नो पुरानो घर हेर्छ । हेरिरहन्छ । आँगनबाट हेर्छ । तल बाटोबाट हेर्छ । माथिको चउरबाट हेर्छ । आफ्नो बारी हेर्छ । धेरै कम छ । आफ्नो खेत हेर्छ । खेतका वरिपरि हेर्छ । त्यो पनि कम छ । बाबुआमालाई हेर्छ । तिनीहरू कुनै न कुनै काममा लागेका हुन्छन् । उसलाई कुनै पनि काम गर्न बाबुआमा भन्यो ।

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *