बाल कथा : सङ्गत गुनाको फल

~ललिता ‘दोषी’~lalita-doshi

सम्पदा र स्नेहा स्कुलबाट घर फर्किंदै थिए । सम्पदाले रुन्चे स्वरमा भनिन्, ‘आज पनि कक्षामा सजाय भोग्नुपर्‌यो । भगवान्‌ले मलाई पनि तिम्रोजस्तै बुद्धि दिएको भए हुन्थ्यो नि मलाई । राम्रो बुद्धि दिएको भए भगवान्को के खेर जान्थ्यो र ? ‘

‘लाटी भगवान्को आशीष हामी सबैमा बराबर हुन्छ । कुरा यतिमात्र हो भगवान्ले पनि मेहनतीलाई मात्र हेर्छन् । कमजोर र अल्छीहरूले भगवान्लाई दोष दिएर पन्छिन खोज्छन्’ स्नेहाले सम्झाइन् ।

‘त्यो त भन्ने कुरामात्र हो । तिमीलाई सबैले जितकुमारी भनेर त्यत्तिकै भनेको हो र ! जे मा पनि सबैलाई जितिदिन्छौ । त्यो भगवान्को कृपा हो ।

मेहनत गर्नेलाई नै भगवान्को कृपा बर्सिन्छ बुझ्यौ ? तिमी पनि मेहनत गर भई नै हाल्छ नि !’ यस्तै कुरा गर्दै उनीहरू एकअर्काबाट छुट्टिए ।

केही समयपछि एक दिन स्नेहा कक्षामा झोक्रिएर बसिरहेकी थिइन् । कक्षामा नेपाली सर आउनुभयो । सबैजना उठे उनी उठिनन् । सँगै बसेकी सम्पदाले चिमोटेपछि झसंग भएर उठिन् । सरले हाजिर गर्न थाल्नुभयो, रोल नं. १, रोल नं. १ आज स्नेहा आएकी छैनन् ?

सरको प्रश्न सुनेर स्नेहा झसंग भइन् । जुरुक्क उठिन् र भनिन्, ‘सरी सर !’ केही विद्यार्थी गललल हाँसे । लाज र संकोचले स्नेहाको अनुहार रातो भयो । ‘स्टप ! हाँसो बन्द गर’ सरले हप्काउनुभयो ।

हाजिरी सकिएपछि सरले सोध्नुभयो, ‘होइन आज तिमीलाई के भयो ? के सोचमा डुबेकी छ्यौ ? ‘ ‘सर र मिसहरू जितकुमारीलाई सधैं फूलजस्तै हाँसिरहने भन्नुहुन्थ्यो । आज त ओइलाइछन् भाइ !’ पढाइमा सँगै प्रतिस्पर्धा गर्ने रोहनले व्यंग्य गर्दै भने ।

सरले भन्नुभयो,’ हो, जितु फूलजस्तै छिन् । सधैं हासिरहन्छिन् । आज एक्कासि …।’

स्नेहाले रुन्चे स्वरमा भनिन्, ‘बुबाले एकजना साहूको पसलमा काम गर्नुहुन्थ्यो । त्यो साहू पसल नै बेचेर कतार जानुभएछ । त्यसैले बाबुको आम्दानी छैन । आमा बिरामी भएर थला पर्नु भएको धेरै दिन भइसक्यो । औषधि खाएन भने खतरा हुन्छ । अब के गर्ने भनेर सोचेकी हुँ त्यसैले ।’

‘तिम्रो ठूलाबाको सहरमा ठूलो पसल छ भन्ने सुनेको थिएँ । होइन र ? ‘ सरको प्रश्नमा उनले यस्तो जवाफ दिइन्,’

‘हो सर, हजुरआमा बित्नु भएपछि ठूलाबाले हामीलाई भिन्दै गरिदिनुभयो । हामी अलग्गै बसेका छौं ।’ स्नेहाको कुरा सुनेर सबै मौन भए ।

सम्पदाले खुसी हुँदै भनिन्, ‘राम्रै भयो । बुबा, आमालाई लिएर तिमीहरू सबैजना हाम्रै घरमा आउन भइहाल्छ नि ! माहिला दाइ आफ्नो घर धादिङबाट नआएपछि फूलबारी, तरकारीबारी अलपत्र नै छ । हामीले काम गर्ने मान्छे पाएका छैनौं ।’
सम्पदाको कुरा सुनेर सबैजना वाल्ल परे ।

सम्पदाजस्ती पढ्नमा अल्छी केटीले स्नेहालाई आफ्नो घरमा काम गर्न बोलाएको सुनेर सबैलाई नमज्जा लाग्यो । सर पनि ट्वाल्ल पर्नुभयो ।

स्नेहाले खुसी हुँदै भनिन्, ‘हुन्छ हामी आउँछौँ । मेरो बुबाआमा त साह्रै मेहनती पो हुनुहुन्छ ।’ स्नेहाको कुरा सुनेर सबै हाँसे सर पनि खुसी हुनुभयो ।

भोलिपल्ट झिसमिसे उज्यालोमा ट्रकभरि सामान हालेर स्नेहाका परिवार कोटेश्वरको डेरा छोडी सम्पदाको घर एकान्तकुनामा पुगे । सम्पदाको बुबा सेनाको उच्च पदमा थिए । उनी कुकुर लिएर पैदल घुम्न निस्किन लागेका थिए ।

स्नेहा र उनका बाबुआमाले उहाँलाई नमस्कार गरे । उनले अचम्म मान्दै भने जितकुमारीको प्रशंसा त सधैंजसो सुन्छु तर एकाबिहानै ट्रकभरि सामान लिएर के हो यो ?

मेजर भीष्मको कुरा सुनेर सबै छक्कै परे । स्नेहाले भनिन्, ‘सम्पदाले हजुरलाई केही भनेकी छैनन् ? उनले नै हाम्रो घरमा बस्न आउनु भनेर फोन गरेकी थिइन् ।’

भीष्मले हाँस्दै भने, ‘ओ आई सी बल्ल बुझेँ । तिमीले घरको सम्पूर्ण कुरा निर्णय गछ्र्यौ भनेर सुनेको थिएँ । सम्पदाले पनि त्यही देखासिकी गरिछन् । पढाइमा पनि तिम्रो देखासिखी गरे त हुने थियो नि ! खैर राम्रै भयो । सँगै बस्यौ भने अवश्य राम्रा कुराहरू सिक्लिन् ।

हाम्रो घर पछाडि बारीमा सानो घर छ । अहिले त्यसैमा सामान राख्नू ।’ भनेर खुसी हुँदै हिँडे ।

मेहनतीले कहीँ दुःख पाउनु पर्दैन भन्छन् । स्नेहाको परिवारलाई पनि मेजरको घरमा पटक्कै दुःख भएन । घर पछाडि प्रशस्तै जग्गा थियो । त्यसमा तरकारी, च्याउखेती, विकासे जातका बाख्रा पाले । उनीहरूले मेजरका परिवारलाई रिझाए र प्रशस्त आम्दानी पनि गरे ।

उता स्नेहासँगको संगतले गर्दा सम्पदाको पढाइ राम्रो हुँदै गयो । उनको आनीबानी पनि सुध्रिँदै गयो । उनले घरको काममा सघाउन थालिन् । बिग्रिन लागेका सन्तान सप्रेको देखेर मेजर मेजर्नी पनि खुसी भए ।

एक दिन स्नेहा स्कुलबाट फर्किंदा मेजरसँग एक जना मानिसले कुरा गरिरहेको देखिन् । त्यो मानिसले मैलो र पुरानो कपडा लगाइरहेका थिए । दाह्री पनि झुम्म परेको थियो । उनलाई त्यो मानिस चिनेजस्तो लाग्यो । उनले कोठाबाहिर ढोकैमा बसेर कुरा सुन्न थालिन् ।

मेजर भन्दै थिए, ‘तपाईंका भाइ, बुहारी र सानी छोरीसमेत साह्रै मेहनती छन् । अनि तपाईं मेहनत गर्न सक्नुहुन्न ?
उनीहरूको मेहनत देखेर मेरो बिग्रिएका छोराछोरीसमेत अहिले राम्रा भएका छन् । संगत गुनाको फल भन्थे अहिले आफैंले भोगेर थाहा पाएँ बुझ्नुभयो ? ‘

लाटोलाटो भाइ र भाइको एकमात्र छोरीको बारेमा मेजरले भनेको कुरा सुनेर त्यो मानिसको आँखाभरि आँसु छचल्कियो । उसले सानो स्वरमा भन्यो, ‘पाप धुरीबाट कराउँछ भन्थे कराइहाल्यो नि । मैले भाइलाई अन्याय गरेँ ।

फेन्सी सामानको ठूलो पसल खोलेँ । पैसा कमाएर के गर्नु छोरा कुलतमा लाग्यो । छोरीको पनि त्यही चाल भयो । भाइकी छोरीले त भन्थी ‘ठूलो बा सबैको बिमा गर्नुपर्छ । हाम्रो स्कुलका सरले भन्नुभएको अहिले सबैको बिमा गर्नुपर्छ रे ।तपाईंले पनि यो पसलको बिमा गर्नुहोस् । पसलमा केही नोक्सानी भयो भने पैसा पाइन्छ रे । मैले उसलाई दुईचार अक्षर पढेर मभन्दा जान्नी हुने भनेर गाली गरेँ । नभन्दै पसलको बत्ती सट भएर आगो लाग्यो । हामी घरको न घाटको भयौं । अर्ती भन्ने कुरा सानाको पनि मान्नुपर्ने रहेछ । बुद्धि पुगेन ।’

त्यो मानिसको कुरा सुनेर स्नेहाले आफूलाई रोक्न सकिनन् । उनले ‘ठूलो बा !’ भन्दै त्यो मानिसलाई अँगालो हालिन् ।
मेजरले सबै दृश्य छक्क परेर हेरिरहे । आफू र आफ्नो परिवारलाई दुःख दिने ठूलो बुबालाई पनि स्नेहाले त्यसरी माया गरेको देखेर उनको पनि आँखा रसायो ।

स्नेहाको ठूलो बाले आँखाबाट झरेको आँसुलाई पुछ्दै भने, ‘मेजर साहेब हजुरकहाँ आएर मैले मेरो हराएको संसार भेट्टाएँ । छोरीले भनेझैं अब बचेखुचेको जे छ त्यसको बिमा गराउँछु ।’

मेजर मनमनै ‘बल्ल तिम्रो घैंटोमा घाम लागेछ’ भने । मुखले चाहिँ ठीक सोच्नुभयो मैले पनि घरको र कुकुरको पनि बिमा गरेको छु भने ।

स्नेहाले ठूलो बुबालाई आफ्ना बाबुआमासँग भेट गराउन घर पछाडिको सानो घरमा लगिन् । सबै एकअर्कालाई देखेर खुसी भए । पाँच वर्षको अन्तरालमा उनीहरूको भेट भएको थियो ।

त्यतिखेरसम्म स्नेहाका परिवारले कमाएको पैसाले मेजरले लुभुमा तीन आनाको जग्गा किनिदिएका थिए भाइले प्रगति गरेको सुन्दा दाइलाई कुनै ईष्र्या लागेन । बरु हर्षको आँसु झर्‌यो । धेरैबेर दुःखसुखका कुरा गरे ।

स्नेहाले ठूलो बुबालाई मनपर्ने आलुको अचार र चिउरा खाजा बनाइदिइन् । सबैले मीठो मानेर खाए । स्नेहाकी आमाले गाईको पनि बिमा गरेको छ भन्दा उनी झनै छक्क परे । जान्नेलाई बाँच्न गाह्रो रहेनछ भन्ने कुरा उनले राम्रोसँग बुझे ।
सबैसँग बिदा भएर ठूलो बा बाटो लागे । सबैले उनी गएतिर हेरिरहे ।

साउन २३, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – अंकुर)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : बाल कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *