मनोवाद : जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

~कमल कुमार~kamal-kumar

पत्र लेख्न छोडेको वर्षौंपछि १५ सालको जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

प्यारो म

मलाई औपचारिकतादेखि घृणा लाग्छ । अनि यति भन्दा भन्दै पनि औपचारिक हुने आफ्नै बानीदेखि अनौठो लाग्छ । मन नपर्ने सबै कुराबाट भाग्न सकिँदैन । मन परेजस्तो गरिदिनु । रमाए जस्तो गरिदिनु । थाहा छैन मान्छेलाई के ले बाँधेको हुन्छ । मलाई नि बाँधेकै होला केहीले त ।

मैले आफैंलाई प्यारो भनेर सम्बोधन गरेपछि मलाई माथीका हरफ फुरेका हुन्, सबभन्दा पहिला । अनि माथिका हरफमा धेरै ध्यान दिएर वर्षौं अथवा महिनौंपछि कुन संजोगले लेख्न थालेको पत्रको विषय नै बिर्सेछु । शायद अब यही ‘प्यारो’ को विषयमा थप केही हरफ लेख्नु पर्ला ।

मेरो लेखाइ बिग्रेको हो कि मुड । पहिले जस्तो मजा आइरहेको छैन लेख्दा । जबर्जस्ति लेखेको जस्तो लागिराछ । अलिअलि जबर्जस्ती पनि हो । भाषा पनि बिग्रेछ । अगि जबर्जस्ति ह्रस्व लेखेँ । पछिल्लो लाइनमा दीर्घ ।

सामाजिक सन्जालमा पोखिएका वह साह्रै सस्तो लाग्छन् । त्यसैले मन लाग्दा लाग्दै पनि पोख्न सकिनँ । कतिचोटी लेख्दै मेट्दै गरेँ । हामीलाई सामाजिक मूल्याङ्कनदेखि डर लाग्ने बानी परेछ । लेनादेना केही नभए पनि । पूँजिको समाज । स्टाटस र इम्प्रेसनको समाज ।

अस्ति भर्खर ब्रीज अफ स्पाइज भन्ने फिल्म हेरेको थिएँ । त्यसमा एउटा साधारण संवाद थियो । जसले मलाई छोएको थियो । अँग्रेजीमा अर्कै थियो । नेपालीमा भन्न खोज्दा यस्तो हुन्छ ‘तिमी आफू को हौ भनेर अरुलाई भनिरहनु पर्दैन’ । अँह न्याय भएन त्यो संवादलाई । प्रसङ्ग यस्तो थियो फिल्ममा: रुसले पक्रेको अमेरिकन पाइलटलाई रुसीहरुले चरम यातना दिएर गोप्य सूचनाहरु चुहाउने प्रयास गर्छन् । फिल्ममा उसले सूचना चुहाएको वा नचुहाए दृश्य देखाइँदैन । अन्तिममा एउटा सम्झौता अनुसार उसलाई रिहा गरिन्छ । बाटोमा फर्किरहँदा प्लेनमा उसले उसलाई रिहा गराउने वकीललाई भन्छ ‘मैले रसियनहरुलाई एउटा पनि सूचना दिइनँ’ । त्यसपछि वकिलले भन्छ ‘You know what you did. You dont need to tell others’ । यो अँग्रेजीमा लेखेको पनि ठ्याक्कै त्यही संवाद नहुन सक्छ । तर यस्तै केही थियो ।

केही दिनअघि कसैले केही सोधेको थियो । सोधेको प्रश्न बिर्सिएँ । तर मैले दिएको जवाफ यस्तो थियो ‘मान्छेलाई आफू असल छु भनेर प्रमाणित गरिरहन मन लाग्छ, आफूलाई असल प्रमाणित गर्न मान्छे जतिसुकै खराब हुन पनि चुक्दैन । ‘

मलाई झूठदेखि घृणा लाग्छ । झूटो बोल्नु र झूठमा धेरै फरक छ। कसैले मलाई कस्तो मान्छे मन पर्दैन भनेर सोध्दा मैले तुरुन्तै भनेको थिएँ ‘ढोँगी’ । ढोँगि भनेको के हो मलाई व्याख्या गर्न आउँदैन । अझै भन्नु पर्दा मलाई यो शब्दको एउटा पनि पर्यायवाची शब्द आउँदैन । (उमङ्गले सँधै आफूलाई नेपालीमा कमजोर भन्थी । तर भर्खरै मैले उसलाई synonym को नेपाली के हो भनेर सोधेँ । उसले नै पर्यायवाची भनेर सम्झाइदिई) ।

मेरो बुझाइमा झूठमा रमाउने मान्छे ढोँगी हुन् । आफूलाई असल प्रमाणित गर्न खराब हुने मान्छे ढोँगी हुन् ।

मलाई औपचारिकता मन नपरेजस्तै उदेश्य र लक्ष्य पनि मन पर्दैन । बडो बोझपूर्ण लाग्छन् मलाई यी शब्द । त्यसैले त निरुदेश्य लेखिरहेको छु । यति भन्दा भन्दै पनि कहिलेकाहिँ केही केही गरुँ गरुँ जस्तो चाहिँ लाग्छ । मलाई थाहा छ मैले सोचेका ती कुरा गर्ने आँट बटुल्न मैले थुप्रै सामाजिक मूल्याङ्कनलाई भत्काउनै पर्ने हुन्छ । ती कति टाढाका कुरा हुन् मैलै नापेको छैन । तर मनमनै कल्पेर बडो रमाइला रोडम्यापहरु बनाउँछु कहिलेकाहिँ ।

ह्या । कस्तो अमूर्त कुरा गरेको । त्यो ढोँगीपन ममा पनि होला अलिअलि ।

मेरा मनका सबै कुराहरुलाई व्यक्त गर्न सक्दिनँ । कत्ति कत्ति कुरा मनमा मात्र हुन्छन् । ती कुराको स्वरुप मनमा मात्र हुन्छ । बाहिर निकालेपछि जिरो ग्राभिटीमा हावा हराएजसरि हराउँछन् मात्र । मन प्यारो लाग्छ । म चाहिँ कुन्नि!

पछिल्ला दिनमा मलाई रोडम्यापहरुले साँच्चै सताइरहेका छन् । ती रोडम्याप कुनै दस्तावेज र भिजन नभएर केवल रोडम्याप नै हुन् । अर्थात् सडकका नक्सा । मलाई त्यस्तै नक्सामा भएका अथवा नभएका सडकै सडक । सडकै नभए पनि भीरै भीर, जंगलै जंगल कता कता जान मन्छ । आफूले जानेको काम भएर होला हातमा एउटा क्यामेरा नि बोकेर । आफ्नो कथा बिर्सिँदै, अरुको कथा सुन्दै ।

अफशोच । सामाजिक मूल्याङकनलाई भत्काउन यति सजिलो भएको भए सबै मान्छे गौतम बुद्ध हुन्थे होला ।

म पछिल्लो समय जागीर खोजीरहेको छु । म जागिरे हुँ । तर पनि । हिँडेर जाने बाटो अफ्ठ्यारो छ । चौतारामा कतिन्जेल बसुरहुँ, चौतारालाई पनि झ्याउ लागिसक्यो होला ।

फेरि पनि मूल्याङ्कन कै कुरा । इदर उदर ।

त्यही नक्सा भएका नभएका सटकमा भाग्न मन लाग्छ । तर पनि के ले रोक्छ केले । जागिर भन्ने कुरा यस्तो चुतिया लाग्छ । झन् नयाँ जागीरमा दरखास्त हाल्नका लागि लेखिएका बुँदाहरु यस्तो घटिया लाग्छ । जीवनका वास्तविकता अनुकुल हुँदै हुदैनन् । पुरा फेक ।

टेम्प्लेटमा बाँच्छन् कि क्या हो सबै जना ।

संसार यसमै रमाएको छ । आफू काम गर्ने सँस्थाको नाम सुनाउँदा नातेदार छिमेकीहरु ‘प्रगति भएछ’ भन्थे । मलाई प्रगति भन्ने सब्द सुनेर जरो आउँछ । (शब्द पनि अशुद्ध लेखेछु) । सँगै काम गर्ने एक जना कम ढोँगी दाइ छन् । अस्ति फोनमा उनलाई नि कसैले यस्तै प्रगतिको कुरो सुनाएछन् क्यारे । उनी भन्दै थिए ‘प्रगति र दूर्गतिसँग खासै सरोकार राख्दिनँ’ । चित्त बुझेको थियो मलाई नि ।

लेख्दै थिएँ । अरु धेरै लेख्थेँ होला । उमङ्गले भात सेलायो भनेर धेरै चोटि भनीसकी । यो चाहिँ पारिवारिक मूल्याङ्कन हो ।

दाल, भात, अालु भुजिया, गोलभेडाको अचार र अमलेट । हाम्रो डिनरमा यति धेरै भेराइटी दुर्लभ हो । आज शनिबार हो ।

आफैंलाई लेखेँ कि अरुलाई लेखेँ । अरुलाई लेखेँ कि तिमीलाई लेखेँ । कति ठाउँमा ठीक्क पार्न लेखेँ होला ।
सामाजिक मूल्याङ्कनदेखि नडराउने प्रयास गर्दैछु ।

‘You know what you did. You dont need to tell others’

तिम्रो म
२०१५ जनवरी २३
८:४८ साँझ

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
विधा : पत्र साहित्य, मनोवाद | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *