कथा : पार्टी चलिरहेछ

~विश्वराज अधिकारी~

“पार्टी चलिरहेछ, तिमी एक्लो यहाँ ?” नीताको यो प्रश्नले रविलाई झस्क्यायो ।

“किन एक्लै बसेको?” यो अर्को प्रश्नले अलि असहज स्थितिमा नै पुर्‍यायो, रविलाई । आफूलाई अलि व्यवस्थित पार्दै रविले भने–“त्यता अलि हुने खानेहरूको मपाइँ गफ सुन्न मन नलागेर यता आएको । त्यता कि त ठूलो पदमा पुगेका घुस्याहा कर्मचारीहरू छन् कि त टन्न कमाएका व्यापारीहरू, अनि उनीहरूको म यस्तो म उस्तो, मेरो यस्तो मेरो उस्तो किसिमका गफहरू । तिनीहरूका झ्याउ गफ सुन्न नसकेर यसो वाइन खाँदै सोच्दै बसेको यता ।”

“अनि, तिमी किन यता आएकी नि? सोमेश आइपुग्ला, मेरो वाइफ कता हराई भन्दै, यता”– रविले हल्का मजाक गरे ।

“के को यता आउनू ? एउटी केटीसँग गफ गर्नमा मस्त छ । दुई घण्टा भइसक्यो गफ गरेको उसले, म छेउमैं थिएँ, एकचोटी फर्केर पनि मतिर हेरेन, झुक्किएर नै भए पनि । पार्टीमा आए पछि, वाइफलाई पनि समय र साथ दिनुपर्छ नि । त्यसरी लठ्ठिनुहुन्छ केटी देख्ने बित्तिकै । बानी यस्तै हो जहिले पनि उसको, जहाँ पनि । उसको त्यस्तो चाला देखेर म पनि हिंडे यसपटक”– नीताले रवि नजिक आउनुको कारण प्रस्ट पारिन् ।

रवि उठे । नीताको काँधमा हात राख्दै भने–“वाइन ल्याइदिऊँ, आधा गिलास ? दिमाग अलि हल्का पार्छ ।”

“के को वाइन ? ल्याउने हो भने ह्विस्की नै ल्याइदेऊ, दुई पेग ।”

***

ल्याएको ग्लास रविले नीतालाई दिए अनि भने पनि “ह्विस्की नै हो, अलि विस्तारै खानु, झ्याम्म लाग्ला फेरि ।”

“लाग्न देऊ, त्यसरी नै लाग्नुपरेको छ पनि ।”

“होइन, आज किन तिमी अलि फरक देखिएकी हँ, नीता ।”

“यस्तो स्थितिमा पनि कसैले सामान्य भएर व्यवहार गर्न सक्छ त ? हेर त, यहाँ आएर मैले तिमीसँग गफ गर्न थालेको पनि तीन घण्टा भइसक्यो, सोमेश एकचोटी फर्केर आएको छैन यता, मलाई खोज्दै । त्यता नदेखेपछि यता आउनुपर्ने होइन, ऊ ?”

रविले भने– “म त्यता गएर भनौं, सोमेशलाई, नीता बाहिर, मेन गेटको नजिक छिन् भनेर ।”

“भयो, भन्नुपर्दैन । बरु एउटा कुरा भन्छु, मान्छौ ?”

तिमीजस्तो घनिष्ठ साथीले भनेको नमाने कसले भनेको मान्ने ? भनेर हेर ।”

“आज म तिम्रो कोठामा सुत्छु, हुँदैन ? तिमी अविवाहित मान्छे, एक्लै त होलाऊ नि, कसो ।”

नीताको यो प्रस्तावले रविलाई अलि असहज स्थितिमा पुर्‍यायो । केही सोच्न तल्लीन भएजस्तो देखिए उनी ।

“सोमेशले मसँग त्यस्तो गर्न हुने, अनि मैले किन नहुने ऊसँग त्यस्तो गर्न ? अझै बढी नै गरेर देखाइदिन्छु उसलाई ।” नीताको यो भनाइले रविलाई केही प्रभाव पार्‍यो । उनले भने “हुन्छ हिंड जाऊँ, मेरो डेरा नजिकै छ यहाँबाट, पाँच मिनेटको बाटोमा । एउटा कुरा चाहिं याद राख तर, म तिमीहरू–हसबेन्ड वाइफको टसलमा पर्न चाहन्न, है ।”

***

पार्टी चलिरहेको घरबाट अदृश्य भएका रवि र नीता, रातिको करिब बार्‍ह बजे रविको डेरामा प्रकट भए । दुई बजेसम्म एउटै बेडमा रहेर उनीहरू बीच धेरै कुराहरू भए । स्कूल जीवनदेखि कलेजबाट छुट्टिने बेलासम्मको, वर्तमान समयदेखि मौजुदा परिस्थितिसम्मको । कुरा गर्दा गर्दै कुन बेला निदाए, दुवैले पत्तो पाएनन् । त्यस्तो हुनुमा अल्कोहलको हात पनि थियो ।

***

नीता चार बजे बिहान रविको डेराबाट फर्किंदासम्म पार्टी चलि नै रहेको थियो । र त्योभन्दा पनि अचम्मको कुरा सोमेश पूर्ववत् गफ गर्नमा तल्लीन थिए, उही व्यक्तिसँग जोसँग घण्टौं पहिलेदेखि गफ गरिरहेका थिए । गफ गर्ने पात्रहरू उही थिए, केवल समय बदलिएर साँझबाट बिहान भएको थियो । तर यो बदलिएको समयमा धेरै अरू कुराहरू पनि बदलिएका थिए ।

नीता आफू नजिक उभिएको देखेर सोमेश झस्किए । नीतालाई एकपटक हेरे तर बोलेनन्, पूर्ववत् रहे । तर एक छिनपछि कुरा गरिरहेको व्यक्तिको काँधमा हात राख्दै भने–“रन्जु, पछि फेरि फेटौंला । यसो मलाई फोन गरे हुन्छ नि, है ।”

सोमेशतिर हेर्दै नीताले भनिन् “बल्ल सकियो कुरा, बाँकी भए अझै गरे हुन्छ । छया· विहान भएको छैन क्यारे ।”

रवि चर्किए–“शड्ढाको घेराभन्दा बाहिर निस्केर पनि कुरा गर्ने गर न कहिलेकाहीं, नीता ।” सोमेशले थपे–“हामीले गरेको कुरा कति गम्भीर थियो थाहा छ तिमीलाई ? अन्दाजसम्म पनि गर्न गार्‍हो हुने छ तिमीलाई ।”

“के थियो त्यस्तो, के थाहा हामीलाई ? मैले सुनेकी भए पो.” ।

मैले जोसँग रातभरि कुरा गरें उनको नाम हो कमला । हामी कलेजमा सँगै पढ्ने गथ्र्यौ । उनलाई क्यान्सर भएको छ, ब्रेस्ट क्यान्सर । एउटा ब्रेस्ट काटेर फाल्नुपर्छ, डाक्टरको भनाइ अनुसार । अविवाहित छिन् । निराश भएर, आत्महत्या गर्छु भन्छिन् । रातभरि सम्झाएपछि अलि आँट बढेको छ उनको । कमलालाई मैले राति नसम्झाएको भए. त्यही रात आत्महत्या गर्ने सुर थियो उनको, बुझ्यौ ?”

रविको भनाइले सत्य बोल्न उत्प्रेरित गर्‍यो नीतालाई । नीताले पश्चात्तापबोध गर्दै भनिन्– “मलाई माफ गर, सोमेश । मैले रातभरि अनेक कुराहरू सोंचिरहें, उल्टो उल्टो, तिम्रोबारे । तिमीले रातभरि त्यसरी कुरा गरेको देखेर मैले नसोच्नु पर्ने कुरा सोचें अनि तिमीले गरेको त्यस्तो कार्यको बदला लिन म पनि हिंडे रविसँग ।”

“अनि, कहाँ नि.. ।”

“एक छिन पार्टीमैं रहेर हामी लाग्यौं ।”

“कता नि ।”

“रविको कोठामा ।”

सोमेशले अलि झोक्किएर भने–“साँझ देखि नै रविको कोठामा बस्यौ त?”

“होइन, म र रवि उसको कोठामा राति बार्‍ह बजेतिर पुगेका थियौ । हामी त्यहाँ चार घण्टा जति बसेर पार्टी चलिरहेको ठाउँमा, यहाँ आयौ फेरि ।”

“रविको कोठामा बस्नुबाहेक अरू पनि काम गर्‍यौ । के गर्‍यौ..?”

“सोमेश, म तिमीलाई सत्य कुरा भन्न चाहन्छु । रवि र म, एउटै खाटमा सुत्यौ अनि.. ।”

“भो, भो, त्योभन्दा अगाडि सुन्न चाहन्नँ म । शायद अब हामी सँगै बस्न सक्तैनौं होला ।”

“मैले सत्य बोल्नुको यत्रो ठूलो सजाय ? खासमा, मेरो यसमा कुनै गल्ति नै छैन, सोमश ।”

नीताले आफ्नो भनाइ अझै प्रस्ट पार्न भनिन्–“तिमीले त्यति लामो कुरा कमलासँग नगरेको भए मैले तिमीहरूबीच यस्तो त्यस्तो कुरा भइरहेको भन्ने शड्ढा नै गर्नेथिइनँ । अनि तिमीले पनि त मलाई, कमलासँग कुरा भइरहेकै क्रममा, एकै छिनका लागि भए पनि, आएर भनेनौ कि हामीबीच कुनै अरू कुरा होइन, जीवन मृत्युको कुरा भइरहेको छ । तिमीले पनि शड्ढा लाग्नेगरी कमलासँगै कुरा गरेको गर्‍यै गर्‍यौ, मलाई चटक्क पार्टीमा एकातिर एक्लै छाडेर । पार्टीमा त्यसरी एक्लिएर बस्ता रिस उठ्दैन त? अरूसँग कति कुरा गर्नू ? हुनत अरूसँग कुरा गर्न नै भनेर म रवि नजिक पुगेकी थिएँ । रवि नजिक पुगेपछि नै, झन् मलाई पनि ड्रिंक गर्न मन लाग्यो । ड्रिक गरेपछि, त्यो ड्रिंकले कता कता पुर्‍यायो, यो बरालिने मन कता कता गयो, कता कता, मातसँगै बहकेर ।”

सोमेश मौन भएर सुन्दै थिए । प्रतिक्रियामा उनले कुनै पनि भनाइ राखेनन् । नीताले नै भनिन्–“एउटा कुरा भनौं सोमेश, यस्तो हुनुमा न मेरो, न तिम्रो, न रविको नै कुनै गल्ति छ । रविलाई त मैले नै उसको डेरामा मलाई लिएर हिंड भनेको हो, तिमीले त्यस्तो गरेको रोषमा, आफूले ड्रिंक गरेको झोंकमा । त्यसैले रवि, म र तिमी यस्तो हुनुमा समय दोषी छ ।”

नीताले थपिन्– “हेर रवि, समय पनि एक व्यक्ति सरह हो । यसले पनि गल्ति गर्छ । अर्थात् समयले व्यक्तिहरूलाई परिबन्दमा पार्छ । समयको दबाबमा आएर व्यक्तिहरू नचाहँदा नचाँहदै पनि गल्ति गर्न पुग्छन् । तर मानिसहरूले समयलाई दोष दिनुको साटो दोष व्यक्ति विशेषमाथि नै थुपारिदिन्छन् । समय चोखिएर बस्छ । त्यस्तो होइन । समय दोषी हुन्छ । समयलाई हामीले सजाय दिन सक्तैनौं, समयलाई नियन्त्रणमा राख्न पनि सक्तैनौ, समयले जे भन्छ त्यो गर्न बाध्य हुन्छौं, त्यो बेग्लै कुरा हो तर समयलाई हामीले प्रस्टरूपमा भन्न सक्छौं, र भन्नुपर्छ पनि, एक व्यक्तिलाई भने जस्तो– समय, तँ दोषी होस् र तेरो दोष यो हो । समयले नै तिमीलाई मैले शड्ढाको घेरामा राख्नुपर्ने स्थितिमा पुर्‍यायो, मलाई परपुरुषकसँग रात बिताउन बाध्य तुल्यायो । त्यति मात्र होइन, रविलाई समेत पनि समयले गलत काम गर्न उत्प्रेरित गर्‍यो । त्यसैले यो सारा घटनाको दोष समयमाथि लाग्नुपर्दछ । म निर्दोष माथि होइन । हामी सबै निर्दोष घोषित हुनुपर्दछ ।” ।

लामो समयको मौनता पछि सोमेशले मुख खोले । क्रोध मिश्रित स्वरमा भने “भो बन्द गर तिम्रो यो पट्यारलाग्दो लामो भाषण । भो.. भो.. ।”

नीताले रुँदै भनिन्– “अहिलेको यो घटनालाई हटाएर हेर, मैले कहिले पनि यस्तो त्यस्तो काम गरेको छु, योभन्दा पहिले ? छैन । मैले गरेको यो समयले गराएको हो । त्यसैले म भन्छु, यस्तो हुनमा पूर्ण दोषी समय नै हो ।”

यता सोमेश र नीताको कुरा चलि नै रहेको थियो, टुँगिएको थिएन । उता पार्टी पनि चलि नै रहेको थियो, बिहान हुँदासम्म पनि, रोकिएको थिएन ।

समाप्त

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *