कथा : मृत्यु भर्सेज म र हामीहरू

~शर्मिला खडका दाहाल~Sharmila Khadka Dahal

हे निर्दयी मृत्यु,
यो अकल्पनीय क्षण सायद कतै बर्सदैन होला
यो कठोर बज्र सायद कतै बज्रदैन होला
थोकमा लागेको यो चोट विगत कहिल्यै हुँदैन होला
नियतिको यो मूल्य सायद आँसुले चुकाउन सक्दैन होला

पशुपतिको आर्यघाटमा मेरी आमा यसरी आलापविलाप गर्दै रोएको मैले देख्नुपर्छ भनेर मैले सपनामा पनि कल्पना गरेकी थिइनँ । मेरी आमा मात्र नभई सम्पूर्ण मेरा आफन्तहरू यसरी भावविहल भएर रुने दिन आउँछ भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ । मेरी जेठी भाउजू आफ्नो पति परमेश्वरको मृत्युमा यसरी हातखुट्टा फ्याकेर विलाप गर्दै रुनुहोला भन्ने कसैको पनि कल्पनाको सीमारेखाभन्दा धेरै टाढा थियो किनभने हामी सुनसरीका बासिन्दा यो सम्भावनाको सुइको समेत नहुनु स्वभाविक थियो । तर अहिले मेरा अति भलादमी, मिलनसार र आमाबुबाका आज्ञाकारी छोराको भौतिक शरीर आर्यघाटमा जलेर खरानी हुँदैछ । म कसरी विश्वास गरुँ ? यो हृदयविदारक दृश्य देखेर सायद विधाता पनि रुँदो होला ! हे मृत्यु तिमी कति कठोर रहेछौ ! जन्मपछि तिमी अकाट्य हौ तर पनि यो अकल्पनीय र असोचनीय सत्यभन्दा धेरै टाढा थियो ।

हे मृत्यु ! तिमीले आज मेरो दाजुलाई हामी सबैबाट खोसेर लगेका छौ । यो संसारबाट उहाँको अस्तित्व समाप्त पार्दै छौ । म कसरी सत्यलाई स्वीकार्न सक्छु र ? यो एउटा दुःस्वप्न भइदिए हुने नि ? तर यो अयथार्थभन्दा धेरै भन्दा टाढा थियो ।

दाजूभाइ मध्ये सबैभन्दा असल, सबैका प्रिय आमाबुबाका रोज्जा छोरा, ईश्वरप्रति परमभक्त भएकी मेरी भाउजूको पति परमेश्वरको अकल्पनीय निधनमा मेरी आमा विलाप गर्दै भन्दै हुनुहुन्थ्यो – “अब उप्रान्त ईश्वरलाई कसैले पूजा नगर्नू । मेरो यति प्रिय छोरालाई अकालमा नै मबाट चुडाएर लग्यो मेरो सर्वस्व लुट्यो ।” भगवानप्रति ठूलो आस्था र विश्वास राख्ने मेरी आमा साइली छोरीको घरमा पूजा लगाउने भनेर बुबासहित काठमाडौँ आउनुभएको थियो केहीदिन अघि । तर ईश्वरले मेरी आमाको तीनदिनदेखिको प्रार्थना सुन्ने फुर्सद नै भएन । त्यसैले नियतिले यति ठूलो खलनायक भई मुटु आघात पार्ने खेल खेल्दा पनि उनी मर्कदर्शक बनेर हेरिरहेँ । आमाको विलाप सुनेर मेरो मुटु हल्लियो मस्तिष्कमा वेदनाको हजारौँ किरणहरू झिल्का बनेर उड्न थाले । आजीवन ईश्वरप्रति आस्था राख्ने मेरी आमा बारम्बार लामो यात्रा हिँड्दा होस वा घरमा वस्दा पनि ईश्वरको पूजा गरिरहनु भन्ने उपदेश दिईरहनु हुन्थ्यो । यस्ती आस्तिक मेरी आमाले ईश्वरलाई गाली गर्नुहुँदा मेरो मुटुको नशा चुटिएझै भयो । म सोच्ने र सम्झने अवस्थामा थिइनँ । आमालाई अँगालो हालेर रोएको थाहा भयो, त्यसपछि के भयो मलाई थाहा भएन । मेरो सुन्ने शक्ति क्षिण हुँदै गएको थियो । अचानक मेरा खुट्टा लुला भएर उभिन नसक्ने भएँ । केमा हो टाउको बजारिएको मात्र थाहा पाएँ । हातखुट्टाहरू र आँखाहरू मेरा हुकुम मान्न तिरस्कार गरिरहेका थिएँ । म भुइँमा पछारिएँछु । मानिसहरू कताकता कराएको सुन्छु तर आँखा मरे उघ्रेनन् । निकै पछि अरुले हातखुट्टा उचालेर माडिदिएको थाहा पाएँ । टाउकामा पानी छिट्तै थिए । मुश्किलले धमिलो धमिलो देख्न थालेँ । म बेहोशमा फेरि कराउन थालेँ “मेरो दाजुसँगै मलाई मर्न देओ । मेरो दाजुको मुख हेर्न देओ ।” मलाई घिसार्दै दाजुभए ठाउँमा लगे । दाजुको मुखमा मेरो हात समाएर पानी हाली दिए । दाजुको पहेलो अनुहारमा रहरलाग्दो जुगाबाहेक अरु मैले केही देखिनँ । मलाई घिसार्दै त्यहाँबाट टाढा पु¥याए । पशुपतिको आर्यघाटमा कोलाहल मच्चिएको थियो । समयको निकुशताले हाम्रो परिवारमाथि ठूलो बज्र हानेको थियो । हामी निरीह भई सब सहन बाध्य थियौँ ।

यो आर्यघाटमा म निकै पटक आएकी छु । मलाई सबैभन्दा हृदयविदारक क्षण शारदा अधिकारको मृत्युको समय भएको थियो । तर अरुको मृत्युमा संवेदनशील हुनु र अफूलाई नै पर्नुमा धेरै फरक हुँदो रहेछ । अरुप्रति संवेदनशीलता केही क्षणको लागि हुँदोरहेछ । घरको भित्तामा लगाइएको रंगजस्तो केही समय रहन्छ फेरि उडेर गई जान्छ । तर आफूलाई पर्दा मन र मस्तिष्क लाई संवेदनशीलताले हथकडी लगाएर बाधिराख्दो रहेछ अनि वेदनामय जेलमा लगेर थुन्दोरहेछ कहिल्यै नउम्कनेगरी । प्रत्येक पल हृदयलाई गहिरो तलाउमा लगेर डुबाइरहन्छ निस्सासिनेगरी । जीवनले जतिसुकै उन्मुक्ति खोज्दा पनि उही सम्झनाका छालले वल्लो किनार र पल्लो किनारा पछारिरहन्छ । कुनै पनि कुरा आफूले भोग्नु र अरुको भोगाइमा अनुभूतिको काल्पनिक लेपन लगाउनु आकाश जमिनको फरक पर्दोरहेछ । हाम्रो परिवारमा हाम्रा दुई आमाका दसजना सन्तानका परिवारमा अहिलेसम्म यस्तो दुर्नियतिको घटनाको सानो झिल्को सम्म पनि भोग्नुपरेको थिएन । विमारसम्म पनि कहिल्यै नपरेको दाजुको लागि यस्तो सम्भावनाको एक अँश पनि हामीले सोचेका थिएनौँ । तर अहिले नियतिले खुद्रामा नभई थोकमा नै ठूलो चोट हामीलाई दिएको थियो । जुन चोट असहय र पीडादायी थियो ।

हे मृत्यु ! मैले जीवनमा मेरा बुबाआमाको चित्त कहिल्यै दुखाइनँ । किनकी म आमाबुबालाई दुःिखत भएको देख्न सक्दिनथेँ । त्यसैले पनि मैले आमाबुबाको खुसीका लागि आफ्नै जीवनसँग धेरै कुराको सम्झौता गरकी छु । तर आज ईश्वरले मेरा बुबाआमालाई पुत्रशोकको यति कठोर बिडम्बनाको भारी बोकायो । यति कठोर सजाय दियो । जुन सजाय आधा हिस्सा बनेर मेरो भागमा आएको थियो । दाजुको मृत्युपश्चात मेरो मस्तिष्कमा धेरै नकरात्मक असर प¥यो । म जीवनको सबै कुराबाट मुक्ति लिन चाहन्थेँ । वास्तवमा पहिलापहिला यस्तै वैराग्य, वितृष्णा, निराशा र कुण्ठाले मनलाई जलाउँदा आत्महत्याको सजिलो बाटो मस्तिष्कमा उम्रने गर्दथ्यो । यस्तो विचार मलाई धेरै चोटि आइसकेको थियो । तर अहिले त किन हो तिमीलाई नै म ुश्राप दिन चाहन्थेँ । अहिले तिम्रो नै यो संसारबाट मृत्यु होस् भन्न चाहन्थेँ । दाजुलाई तिमीले गरको प्रेम देखेर म जीवनप्रति मोहित बनेकी थिएँ । मेरो दाजु तीन दिनदेखि आइसियुमा तिमीसँग लडिरहनुभयो । अन्तिममा तिमीसँग उहाँ पराजय हुनुभयो । ब्रेसस्टोक भएर उहाँ अचानक बाटोमा लड्नु भएको थियो । त्यसपछि बेहोशको बेहोश आँखा नखोली यस संसारबाट बिदा हुनुभयो । तिमी कति कठोर र क्रुर रहेछौ । भर्खर बनाएको बजारको दुईतले घर, श्रीमतीको माया, छोराछोरीप्रतिको दायित्व, आमाबुबाको स्नेह र सम्पूर्ण दाजुभाई, दिदीबहिनी र आफन्तको शुभचिन्तन केहीकोे अगाडि तिमी गल्न सकेन । मैले यस्तै संस्मरणमा समाजसेवी बिष्णु गौतमका दूई छोराको मृत्यु भएको घटनालाई सबिस्तार आफू भावुकभई लेखकी थिएँ । तर अरु प्रतिको संवेदना असिनाझै हुँदोरहछ । केही क्षणमा बिलाएर जाने । आफूलाई पर्दा आँधीवेरी आएजस्तो हुँदोरहेछ । आफ्नो भाग्यमा ठूलो बज्र परेर आफूलाई हजारौँ मनको बोधले थिचेजस्तो हुँदुोरहेछ । संसार रित्तो भएझैँ, आफ्नै छातीबाट मुटु झिकेर अरु कसैले नचाइरहेको तर आफू चाहिँ निरीह, लाचार र विवश भई नियतिको निरकुशतामा आँसु बगाउन सिवाय अरु केहीगर्न नसकिदो रहेछ । सम्पूर्ण सम्झनाहरू आत्मामा लिउन लागेर टास्सिझैँ हुन्छ । जति नै उखेलेर फ्याक्न खोज्दा पनि नफ्याकिने स्मृतिबिम्बहरू छाया बनेर आफनै शरीर भरी सल्बलाउँदो रहेछ । मानौँ आफै जीवनदेखि हारेर दुर्भाग्यको कमारो भई लुरुलुरु उसैको पछिपछि जीवन दौडेझैँ लाग्दोरहेछ । अनेकौँ अनुभूति र सोचाइले मनलाई जनि नै विरेचन पारुभन्दा पनि अझ बढी वेदनाको गहिरो खाडलमा भासिदो रहेछ । सम्झनाको ढुकढूकीले बारम्बार स्मृतिबिम्बहरु आँखामा उघार्दा मस्तिष्क नै विक्षिप्त भएझैँ लाग्दो रहेछ । कसरी हराउन सक्छ यति लामो सम्झनाका कोशेलीहरू जुन हरदम जीवनले पोको पारेर बोकेर हिँडिरहेको हुन्छ । जुन विना जीवनको आधा काल खण्ड नै अधुरो हुन जान्छ । कहाँ बिर्सन सकिन्छ र भावनासँग खेलेका ती आकृति र बिम्बहरू जो सधैँ आँखा अगाडि झलझली नाचिरहदो रहेछ । विश्वास नै अविस्वास भएझैँ । सत्य नै असत्य भएझैँ ।

हे निर्दयी मृत्यु, तिमीलाई हाम्रो आलापविलाप, प्रार्थना, आँसु केहीले जलाउन सकेन । बरु उल्टै तिमीले दाजुको कोमल शरीर जलाएर क्षणभरमा नै खाग बनायौ । तिम्रो यो निर्दयीपना माथि मलाई प्रश्न गर्न मन लाग्यो । के तिमीे मेरो दाजुको एकाउन्न वर्षको लामो इतिहास जलाउन सक्छौ ? हामी दाजु बहिनी बीच लामो इतिहास थियो । त्यो बेला दाजुको भर्खर बिहे भएको थियो । दाजुको विहेमा हामी रमाईरमाई जन्ती गएका थियौ । दाजु काठमाडौँमा शंकरदेव क्याम्पसमा विएको अन्तिम वर्षको छात्र हुनुहुन्थ्यो । भाउजूलाई विवाह गरेर घरमा छोडेर आउनुभएको थियो । भाउजू र म खुबै मिल्थ्यौ । दाजु भाउजूलाई प्रणयपरक पत्र गीतहरूले भरिएको पठाउनुहुन्थ्यो । भाउजूलाई गीतहरू त्यति आउँदैनथ्यो । भाउजू सबै पत्र मलाई देखाउनु हुन्थ्योर प्रतिउत्तर लेखिमाग्नु हुन्थ्यो । म दाजुले थाहा पाउनु होला भनी डराईडराई गीतहरूले भरिएको प्रणयपरक पत्रहरू अझ चित्रसमेत कोरेर पठाउथेँ । भाउजू र म नङ मासुजस्तै थियौ । नन्दभाउजू दोस्तीको नमूना नै थियौँ । ती रमाइला क्षणहरू के तिमी सजिलै जलाउन सक्छौ ? त्यसपछि पनि इटहरीमा दाजुभाउजु र हामी वल्लोघर र पल्लोघर भएर वर्षौदेखि बस्दै आएका थियौँ । हामी र हाम्रा छोराछोरीबीच बाहिरको भन्ने थिएन एउटै भान्साजस्तो थियो । म जागिरे दाजुभाउजूले मेरा पछिल्ला छोरा र छोरी जन्मेपछि हुर्काइदिनुभयो । म पनि उहाँहरुलाई आफनै किसिमको सहयोग गर्दथे । दाजुको छोराछोरीको स्कुलीय पढाइ म जिम्मा लिइदिन्थेँ । म हरदम पढाइमा व्यस्त रहनुपर्ने दाजुभाउजूले नै पर्दा सबै गरिदिनुहुन्थ्यो । के ती इतिहासका पाना तिमी सजिलै जलाउन सक्छौ ?

दाजुभाउजूको जोडी कति सुहाएको थियो । गाउँघर आफन्तकोमा केही कार्य हुँदा दाजुभाउजू नै दुवै कस्सिएर काम सघाउन लाग्नुहुन्थ्यो । कुनै पनि काम गर्न दाजु कहिल्यै पछि सर्नु हुन्नथ्यो । फिल्मको कुनै हिरोझै दाजु जस्तोसुकै पहिरन पनि सुहाउँथ्यो । बोल्दा उखानटुक्का मिलाउँदै नहसाई कहिल्यै नबोल्ने दाजुभाउजूलाई जिस्काउँन पनि एक नम्बरमा पर्नुहुन्थ्यो । भाउजूपनि दाजुको कुरामा कहिल्यै असहमति जनाउनुहुन्नथ्यो । दाजूसँग बितेको यति लामो समय के तिमी जलाउन सक्छौ र्? तिमीलाई सोध्न मन लाग्यो ।

तीनदिन अघि दाजुलाई आइसियुमा राखिएको थियो । ब्रेनमा भित्रपटिको नशा चुँडिएको र हल्का होश आएमा अप्रेशन गर्ने डाक्टरहरूले सल्लाह दिएका थिए । पछि ब्रेनबाट पानी निकाल्नुपर्ने भन्नेकुरा डाक्टरहरूले गरे । यसको लागि मन्जुरनामा दिुनपर्ने रहेछ । हामीले दियौँ । तर पछि होश न आइ दाजुको ब्रेनडेथ भएको समाचार डाक्टरले दिए ा नयाँ वर्षको दिन ब्रेनडेथ भएको समाचार डाक्टरले दिए । दाजुलाई भेन्टिलेटरमा राखिएको थियो । यो समाचार बुबाआमालाई कसरी दिने होला ? हामी छोरीजुवाईँहरुलाई ठूलो आपत परेको थियो । बुबाआमालाई बहिनीकोबाट ल्याएर मेरै घरमा राखिएको थियो । दिनभर हामी तनावमा रह्यौँ । आमाबुबालाई यो समाचार कसरी दिने भनेर । समय निर्दयी भएर हामी माथि ठूलो अत्याचार गरेको थियो । बहत्तर वर्ष पुग्नुभएको मुटुको रोगी बुबालाई छोराको मृत्यु खबर कसरी सुनाउने ? जीवनमा यति ठूलो पीडादायी क्षण आउँदो रहेछ भनेर मैले कहिल्यै कल्पना पनि गरेकी थिइनँ । हामीले काठमाडौँमा नै रहनुभएको काका, मामाहरूलाई आइसियुमा रहेको छोरालाई जे पनि हुनसक्छ भनेर भनेर सम्झाउन लगायौँ । मीनाबहिनीको जेठाजु डा.रंग बस्नेत जो दाजुको बिमारताका हस्पिटलमा डाक्टर बसन्त पन्तसँग सम्पर्कमा रहनुभएको थियो उहाँलाई पनि आमाबुबालाई सम्झाउन बोलायौँ । दिनभर घरमा यति ठूलो तनाव भयो सायद यो शब्दमा व्यक्त गर्न पनि कठिन हुन्छ । यही घर थियो जहाँ एकवर्षअघि छोरीको विबाहमा दाजुभाउजू आएर रमाइरमाइ काम सघाउनुभएको थियो । घरभरि आफन्तले भरिएको थियो । चारैतिर खुसीयाली थियो । हाँसो र रौनक घरको कुनाकुनामा च्याउ उम्रेझै लाग्दथे । तर आज यही घर हो जहाँ प्रत्येक कोठाचोठाबाट रोदन र विलापले आफ्नो तानाशाही साम्राज्य फैलाइरहेको थियो । मानिसको जीवनमा कस्तो कस्तो समय आउँदोरहेछ ‘भगवान तिम्रो लीला पनि कस्तो अपरम्पार रहेछ ।’ दाजुको मृत्युको घटनापछि पनि अरु कुनै घटना घट्ने होकि म त्रसिद हुँदै इश्वरको कामना गर्दथे । बुबा मुटुको बिमारी हुनुहुन्छ, कसरी सहनु हुन्छ होला ? म बारम्बार ईश्वरसँग प्रार्थना गर्दथे । नयाँ वर्षको दिन भएको हुनाले दाजुको मृत्युको खबर नदिने भोलिपल्ट भेन्टिलेटरबाट निकालेर दिने सल्लाह भएको थियो । ‘हे भगवान् भोलिको बिहानको समय कस्तो होला ?’ म कल्पना पनि गर्न सक्दिनथेँ । रातभर निद्रा लागेन । भाउजू र हामी अरु आफन्त सँगै सुतेका थियौँ । भाउजू राति उठेर एक्कासि रोएको रोयै गर्नुभयो । हामीले झुटो आश्वासन दिँदै राखेका थियाँै । अब त मसँग झुठो बोल्ने शक्ति पनि थिएन । मलाई लाग्थ्यो भोलिको बिहान कहिल्यै नआएपनि हुने नि हे प्रभु ? तर समय आफनै गतिमा हिँडिरह्यो । रात निकै बितुन्जेल भाउजू रोइरहनुभयो । समयले बिहानको आभास दियो । पल्लोकोठामा आमा विलाप गर्दै रुदैहुनुहुन्थ्यो –“राति मेरो छोरा यही छेउमा आएर नबोली हिँड्यो । मेरो छोरा छैन तिमीहरू मलाई ढाटिरहेका छौ ।” आमाले यसो भन्दा मेरो भक्कानो फुटेर आयो । अब केही समयपछि अस्पताल जानेले मृत्युको खबर पठाउँदा के होला ? मलाई थामिनसक्नुभयो । आमालाई सान्त्वाना दिने शब्द मसँग थिएन । म आमालाई के भनेर सम्झाऊ ? आफैले आफैलाई सम्हाल्न सकेको थिइनँ । औषधिको नाममा सन्चो र भिक्सबाहेक केही प्रयोग गर्नु नपरेको छोरा एक्कासि यो संसारमा छैन भन्दा कुन आमाको छाति चिरिदैन होला ?

हे निर्दयी मृत्यु, तिमीले यति ठूलो तान्डव नृत्य रचाई हाम्रो घरमा एउटा आतंक र विरहको ज्वालामूखि फुटाइरहेको थियौ । कतै थामिनसक्नु थियो । हेर्दाहेदैँ केही समयमा सब वेदना पीडाको भेल बनाएर बगायौ । सबैको हालत दयनीय र पीडादायी थियो । घरमा कोलाहल मच्चिएको थियो । केहीसमयमा सबै सकिएको आभास भयो मलाई । भाउजू आमाबुबालाई अरु आफन्तले अस्पताल लगे । मेरो सानो छोरीको अवस्था पनि नाजुक थियो । ऊ यो सब सहन सकिरहेकी थिइनँ । ऊ मानसिक रोग ीबनेकी थिई । उसको अगाडिपनि मैले आफूलाई सामान्य राख्नुपर्ने बाध्यता थियो । मभित्र अनेकौँ पीडादायी अनुभूतिले अनेकौँ आकार लिँदै बिलाउँदै गर्दै थियो । मानिसले जीवनमा भोग्ने सबैभन्दा पीडादायी क्षण तिमी नै रहेछौ । यो एउटा ठूलो बिडम्बना रहेछ । हामी जन्मेदेखि नै सर्वप्रथम तिमीसँग नै लडिरहे्का हुन्छौँ । तिमी भर्सेज हामी र हाम्रो लामो जीवन यसैमा बितिरहेको हुन्छ । जन्मपछि मृत्यु अकाट्य हो तर अल्पायुको मृत्यु कल्पनाभन्दा धेरै बाहिर हुन्छ । हाम्रो जीवन प्रत्येक पल तिमीसँग जीवनभर लडिरहेको हुन्छ । जीवनको मैदानमा तिम्रो र हाम्रो सघर्षको युद्ध चलिरहेको हुन्छ । तिमी आफ्नो पोस्टमा गोल गर्न लागिपरेको हुन्छौ । हामी भने तिमीबाट छलिँदै भाग्दै जोगिइरहेका हुन्छौ तर थाहा हुन्न कुनै दिन मिनेट वा सेकेन्डमा हेर्दाहेदैँ हाम्रो जीवनलाई तिमी आफ्नो पोस्टमा लगेर गोल गरिसकेको हुन्छौ । अनि निर्विकल्प हामी यसरी नै शून्यमा हराउन बाध्य हुदाँ रहेछौँ ।
हे मृत्यु तिमीलाई मेरो एउटै निवेदन यो छ कि शकुनीले पासामा छकाएझै हाम्रो जीवनलाई छकाएर आफ्नो पोष्टमा गोल गरी जीतको गर्व कहिल्यै नगर है ।

उही पीडित आत्मा

२०६९–१–२०

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *