छन्द कविता : स्वाभिमान

~प्रह्लाद पोख्रेल~

छन्द : मन्दाक्रान्ता

भाषाभक्ति प्रबल छ जहाँ सुस्तरी छन्द रम्छन्
मन्दाक्रान्तासित सरसिला काव्यवाणी वहन्छन्
गाउँ प्यारो हरबखत नै मृत्तिका चुम्छ पाउ
सुस्केरा छन् व्यथित दिलका देशको दुख्छ घाउ

कस्तो रूपान्तरण छ यहाँ संस्कृति प्रेम कस्तो
वैलेका छन् सरल सपना ज्यान पारेर सस्तो
टुक्रेका छौँ किन सबलता सिद्धिई भाइभाइ
खै मान्छेको गहन गरिमा अस्मिताको उचाइ ?

खाडी ताक्छन् जब नवयुवा नित्य जानी नजानी
रुन्छन् घाती विरह दहमा वैलिएका जवानी
कस्तो वातावरण बनियोस् देशको ज्यान भर्न
सुस्ताएको गलित मुटुमा रक्तसञ्चार गर्न ?

भन्छन् प्रेमी प्रिय लबजमा देशलाई बचाऊ
साँच्चै गर्वोन्नत अझ बनी साधनासाथ आऊ
सग्लो आशा, सबल सपनासाथमा होस् इमान
पारी अग्लो शिर सगरझैँ अग्लियोस् स्वाभिमान।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
विधा : छन्द कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *