गजल : चुनाव बेग्लै छ

~भुवन निस्तेज~

मेरो सफर अनि पथको चुनाव बेग्लै छ,
फरक छ मोड सडकको घुमाव बेग्लै छ ।

लगाई हिड्दछु काँडाहरू संधै दिलमा
र फूल बन्दछु मेरो स्वभाव बेग्लै छ ।

सबै तिलिस्म यहाँ बेअसर भएका छन्,
यो बस्तीमाथि कसैको प्रभाव बेग्लै छ ।

बडो अचम्म छ फर्केर घाम हेर्दैनन्,
यहाँ यी सूर्यमुखीको झुकाव बेग्लै छ ।

सम्हाली तर्नु यहाँ नाउ डुब्छ यसपाली,
भदौरे भेल नदीको बहाव बेग्लै छ ।

ऊ जून, फूल अँगाल्दैन के भएको हो,
ऊ आगो रोज्दछ उसको लगाव बेग्लै छ ।

भलाउँदैन कुनै घाउ दाग मेटिन्न
पुराना चोटको यो रखरखाव बेग्लै छ ।

पुग्यो भयो अब चैं सास फेर्न पर्दैन,
ती बाहुपाशको निर्मम कसाव बेग्लै छ ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.