अनूदित बाल कथा : एउटा सुगाको कथा

~रबिन्द्रनाथ टेगोर~

एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो, तर किताब पढ्न भनेपछि कोसाँ टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर उसलाई नियम–कानून भनेको कुन चरोको नाम हो, पटक्कै थाहा थिएन ।

एक दिन राजाले सोचे, ‘यस्तो मूर्ख चरोको के काम ? यसबाट फाइदा हुनु त परै जाओस्, घाटा मात्रै भइरहेको छ । यसले वनजंगलका सबै फलफूल खाइदिन्छ र फलफूलको बजारमा अभाव मात्रै सिर्जना गरिदिन्छ ।’

त्यसैले राजाले मन्त्रीलाई बोलाए र आदेश दिए – ‘यस सुगालाई पढाउने व्यवस्था गर ।’

पण्डितहरुको सभा बोलाइयो । गम्भीर विचार विमर्श गरियो । र, यस जीवको मूर्खताको कारण के हो भन्ने विषयमा धेरै दिनसम्म मगज खियाइयो । लामो वादविवादपछि एउटा निष्कर्ष निकालियो । निष्कर्ष थियो – यो सुगाले आफ्नो गुँड सामान्य झारपात र छेस्काहरुले बनाउने भएकाले यसलाई श्रेष्ठ विद्याको वातावरणबाट वञ्चित रहनुपरेको छ । त्यसैले यसको लागि एउटा सुन्दर आवास बनाउनुपर्छ । यसका लागि सुनको पिँजडाको व्यवस्था गर्नु आवश्यक छ ।

सभा विसर्जनपछि पण्डितहरुलाई समुचित सम्मान दिइयो, मोटो रकम दक्षिणाको रुपमा दिइयो । उनीहरु प्रशन्न भएर आ–आफ्नो घरतिर गए ।

अनि सुगालाई शिक्षित गर्ने दायित्व राजाका भान्जालाई सुम्पियो ।

सुनारलाई सुनको पिँजडा बनाउन राजाको आदेश पठाइयो । महिनादिनभित्रै उनले एउटा अत्यन्त सुन्दर पिँजडा बनाए । पिँजडा यति अनौठो र भव्य थियो कि त्यसको बयान गरी साध्य नै छैन । त्यस पिँजडाको प्रसिद्धि देश–विदेशमा फैलियो । त्यो पिँजडा हेर्न मानिसहरुको ओइरो लाग्यो ।

कसैले भन्यो – ‘लौ, अब शिक्षाको अन्त्य भो !’ अर्को कसैले भन्यो – ‘राजाको हुकुम हो, सानोतिनो कुरा हो र ?’

यो सुगाको भाग्यै बलियो रहेछ । पढोस् नपढोस्, बस्न त यसले सुनकै पिँजडामा बस्न पाउने भयो । सुनारले पनि प्रशस्तै पैसा पायो । ऊ राजाको जयजयकार गर्दै घरतिर लाग्यो ।

त्यसपछि सुरु भयो, सुगाको पढाइ । पण्डितजी उसलाई विद्या दान दिन थाले । उनले जोडजोडले नस ताने अनि फर्माइस गरे – ‘यस्ता थोत्रा–पुराना पोस्तकहरुबाट यति महान काम हुन सक्दैन ।’

राजाका भान्जाले तत्कालै नयाँ पुस्तक लेख्ने विद्वानहरुलाई बोलाउन पठाए । तुरुन्तातुरुन्तै एकसेएक नयाँ पुस्तकहरुको थुप्रो लाग्यो । हेर्नेहरुले टिप्पणी गरे – ‘आम्मै ! विद्याको यत्रो पहाड कहाँ अटाउला र ?’

पुस्तक लेख्ने विद्वानहरुले पनि ठूलै इनाम पाए । ती सबै इनामहरु उनीहरुले गोरुगाडामा खाँदाखाँद भरेर घर लगे । त्यसपछि त उनीहरुका गरिबी र अभावका दिनहरु पनि सकिए ।

राजाका भान्जाको त कुरै छोडौँ, उनी अति व्यस्थ थिए । अत्यन्त मूल्यवान पिँजडाको रेखदेख गर्दैमा उनलाई फुर्सद हुँदैनथ्यो । कहिले पालिस लाउने, कहिले पुछपाछ गर्ने, कहिले यताउति मरमत गर्ने काम पनि आइपथ्र्यो । जजसले यस्तो देख्ने, उनीहरु प्वाक्क भनिहाल्थे – ‘लौ, उन्नतिको काम शिखरमा पुगेको छ ।’

कामको चाप थुप्रै बढ्यो । त्यसैले अनेकथरी कामदारहरुको खाँचो पर्यो । तीमध्ये केहीलाई काममा लगाइयो, केहीलाई का मगर्नेहरुको काममाथि निरीक्षण गर्नका लागि खटाइयो । र, केहीलाई चाहिँ यी सबै कामहरुको रेखदेख र सेवा सुश्रुषाका लागि राखियो ।

अझ मज्जाको कुरो त के छ भने उनीहरु सबैले मोटो रकम तलबको रुपमा लिएर आ–आफ्नो सन्दूस भर्नतिर लागे । राजाको भान्जाका दाइ, भान्दाइ, दिदी, भान्जीदिदी, काका–भतिजा, फुपु–फुपाजु, आदिइत्यादि खाँदाखाँदा सुँगुरझैँ मोटाघाटा भए । अनि उनीहरु ठूलाठूला बैठक कोठाहरुमा मोटा, बाक्ला र नरम डसनाहरु बिछ्याएर आरामसँग बस्न थाले ।

संसारमा अनेक वस्तुको अभाव भए पनि निन्दा गर्नेहरुको भने कुनै कमी छैन । त्यस्तो व्यक्ति एकजना खोज्दा हजार जना भेटिन्छन् । त्यस्ता निन्दकहरुले आफ्नो काम थाले – ‘पिँजडाको त ठूलै उन्नति भइरहेको छ, तर विचरा सुगाको चाहिँ सन्चोविसन्चो बुझ्ने समेत कोही छैन ।’

त्यस्ता निन्दकहरुको निन्दा उड्दैउड्दै राजाको कानसम्म पुग्यो । उनले भान्जालाई शाही फर्मान जारी गरेर तुरुन्तै बोलाए । र, भने – ‘मैले के सुन्नु परिरहेको छ ? के हो वास्तविकता ?’

भान्जाले जवाफ दिए – ‘वास्तविकता बुझ्न चाहिबक्सिन्छ भने सुनारहरुलाई बोलाइस्योस्, पण्डितहरुलाई बोलाइस्योस्, र पुस्तक लेखकहरुलाई बोलाइस्योस् । रेखदेख गर्ने र मर्मत संभार गर्नेहरुलाई बोलाइस्योस् । सत्य कुरो के हो भने निन्दकहरुलाई लाभको अंशियार नबनाइएकोले उनीहरुले बिनासित्ति चारैतिर भाँजो हाल्दै हिँडेका छन् ।’

राजा त राजै थिए । उनी आफ्नो भान्जाको शब्दजालबाट सम्मोहित भए । उनको घाँटीमा बहुमूल्य सुनको हार पहि¥याइयो, किनभने उनले राजालाई सबै कुरा छर्लङ्गै पारेर बुझाइदिएका थिए ।

एक दिन राजाको मनमा सुगालाई दिइएको शिक्षाको सबै प्रक्रिया आफ्नै आँखाले हेरेर उन्नतिको रफ्तारसँग परिचित हुने चाहने उब्जियो । त्यसैले उनी एकाएक आफ्ना दलबलसहित शिक्षास्थलको भ्रमणमा निस्के । राजाको सवारीको मौकामा उनका हुक्के, छाते, मन्त्री र मित्रहरुको लावालस्करले गर्दा वातावरण नै झकिझकाऊ भयो ।

राजाको सवारीको खबर सुन्नेबित्तिकै मूलद्वारमा शंख, घण्ट, नगरा, नर्सिङ्गा, सनही, मृदङ्ग, मुर्चुङ्गा, मुरली र करतालजस्ता बाजागाजाहरु आफसेआफ बज्ने थाले । पण्डितहरुले गला नै सुक्ने हदसम्म चिच्याई–चिच्याई स्वस्ति गर्न थाले र लामालामा टुप्पीहरु हल्लाईहल्लाई मन्त्र पाठ गर्न थाले ।

काममा डुबेर लागिपरेका धेरैधेरै कालीगढहरु, उनीहरुको निरीक्षण र रेखदेख गर्नेहरु, उनीहरुमाथि पनि रेखदेख गर्नेहरु तथा उनीहरुका पनि मामा, काका, भाइ–भान्जा र भतिजाहरुले सबै राजाको जयजयकार गर्न लागे ।

भान्जाले गर्वसाथ भने – ‘राम्ररी हेरिस्या’हो महाराज, आफ्नै आँखाबाट सबै कुरा दर्शन गरिस्योस् ।’

राजाले भने – ‘ओहो … कति आश्चर्य ! तर सर्वत्र शब्द नै शब्द मात्रै भइरहेको छ ।’

भाज्नाले तत्काल जवाफ दिए – ‘अर्थ पनि कम भइरहेको छैन नि महाराज । हजुर हेरि मात्रै बक्स्योस् न !’

प्रसन्नचित्त राजा महलतिर फर्कन लागे । हात्तीमाथि सवार भई उनी हिँड्न मात्रै के लागेका थिए, नजिकैको झाडीमा लुकेर बसेका निन्दकले भने – ‘महाराज, आफ्नो सुगालाई पनि दर्शनभेट दिएर गइस्योस् न ।’

राजा एकछिन झस्के, भीडतिर फर्किए, अनि असजिलो मान्दै भने – ‘ए साँच्चै, सुगालाई हेर्न न झन्ने भुलेको ।’

राजालाई पण्डितकहाँ लगियो । उनले पढाउने तरिका जान्न खोजे । उनलाई सबै कुरा प्रष्टै देखाइयो । राजा खुसीले गदगद भए । सुगा तुच्छ अस्तित्वको तुलनामा उसलाई पढाइने तरिका कति महान, प्रक्रिया पनि कति विशिष्ट । त्यसैले त्यस्ता महान तरिका र विशिष्ट प्रक्रियाका अगाडि सुगाको अस्तित्व कहिँकतै देखिएन, कहाँ हरायो कहाँ । साँच्चै भन्ने हो भने राजाले सुगालाई हेर्नुपर्ने जरुरत नै ठानेन् । उनले राम्ररी बुझे – पढाउने व्यवस्थामा कहीँकतै पनि त्रुटि छैन ।

तर पिँजडामा भने सुगाको निम्ति दानापानी थिएन । त्यहाँ केवल शिक्षाको महाड, केल चाङ्का चाङ पुस्तकहरुको शिखर मात्रै थियो । पुस्तकका सबै पानाहरु च्यातेर कलमको टुँडोले सुगाको मुखमा कोच्ने काम गरिन्थ्यो । दानापानीको सट्टा किताबकै अक्षरहरु जबर्जस्ती कोचीकोची खुवाइन्थ्यो । तयसैले उसको गाउने सीप दुईचार दिनमै हटिसकेको थियो । उसको मुख किताबका पन्नाहरुले बूजो लगाइएको थियो । त्यसैले ऊ रुन–कराउन र चिच्याउन समेत नसक्ने भएको थियो । उसको स्थिति हेर्दा देख्नेहरुकोजीउ नै सिरिङ्ग हुन्थ्यो ।

राजाले हुकुम दिए – ‘निन्दकको ज्रिो कान काटियोस् ।’

यस्तो कुलीन शिक्षा व्यवस्थामा निरीह सुगा दिनदिनै मरणासन्न हुँदैगयो । अभिभावकहरुको बुझाई हेर्नुस् त । उनीहरुलाई लागिरहेको थियो, आशा गरिए अनुरुप प्रगति हुँदैछ ।

यति हुँदाहुँदै पनि पक्षीसुलभ स्वभावको सहजता सुगामा अझै बाँकी नै थियो । बिहान हुन नपाउँदै ऊ घामका किरणहरु एकटकले टोलाएर हेरिरहन्थ्यो र परिवेशविरुद्ध प्रतिवाद गर्ने ढंगले आफ्ना पखेटाहरु फ्याटफ्याट चलाइरहन्थ्यो । यति मात्रै होइन, कहिलेकाहीँ त केसम्म देखियो भने ऊ आफ्नो निर्बल भइसकेको रोगग्रस्त चुच्चोले पिँजडाका डण्डीहरु काट्ने काममा जुटिरहेको हुन्थ्यो ।

उसको यस्तो अशिष्ट चरित्र प्रहरीका हाकिमलाई पटक्कै सह्य भएन । उनी गर्ने – ‘लोहारलाई तुरुन्तै यहाँ हाजिर गर ।’

लोहार आफ्नो सम्पूर्ण सरसामानसहित तुरुन्त उपस्थित भयो । दनदनी आगो बालियो, फला तताइयो र भकाभक पिट्न थालियो र छिटै एउटा बलियो साङ्लो तयार पारियो । र, साङ्लोद्वारा बाँधिएपछि सुगाका पखेटाहरु पनि मुठारियो । राजाका आसेपासेहरुले तुरुन्तै अँध्यारो मुख लाएर रिस पोखिहाले – ‘यो राज्यका चराचुरुंगीहरु मूर्ख मात्रै हाइन रहेछ, नूनको सोझो पनि नगर्ने हराम पनि रहेछन् ।’

त्यसपछि पण्डितहरुले एक हातमा कलम र अर्को हातमा भाला लिएर जुन कर्मकाण्ड सुरु गरे, त्यसलाई उनीहरुले शिक्षा भने ।

लोहारको कलालाई सबैले मुरीमुरी प्रशंसा गरे । लोकारकी पत्नीको शरीर स्वयं–आभूषणहरुले सुशोभित गरियो । अनि प्रहरीका हाकिमको कुशलताको निम्ति उनलाई पनि शिरोमणि पुरस्कारले सुशोभित गरियो ।

अन्ततः सुगाको मृत्यु भयो । ऊ कुन दिन कसरी मर्यो ? कसैलाई केही पनि थाहापत्तै भएन । बदमास निन्दकहरुले नै उसको मृत्युको हल्ला चारैतिर फैलाई दिए । राजाले फेरि एकपटक भान्जालाई बोलाउन पठाए । महलमा आउनासाथ राजाले सोधे – ‘फेरि के यस्तो अशुभ खबर सुन्नुपरेको, भान्जा ?’

भान्जाले सहज रुपमा जवाफ दिए – ‘महाराज, साँच्चै भन्ने हो भने सुगाको शिक्षा–दिक्षा पूरा भएको खबर हो यो ।’

राजाले फेरि सोधे – ‘ऊ अहिले पनि पहिलेजस्तै उफ्रीउफ्री हाँगाहाँगा चहार्छ कि चहार्दैन ?’

भान्जाले भने – ‘अहँ, त्यसको त नामै नलिनुस् ।’

‘अहिले पनि भुर्रर्र भुर्रर्र उड्ने गर्छ कि ?’

‘पटक्कै गर्दैन ।’

‘गीतसीत गाउँछ कि ?’

‘अहँ, गाउँदैन ।’

‘खान–पिउन नपाएपछि चिच्याउँछ कि ?’

‘चिच्याउँदैन, महाराज ।’

राजाले भने – ‘त्यसो भए म एकपटक सुगालाई हेर्न चाहन्छु, भान्जा । उसलाई मेरो सामु पेश गर ।’

त्यसपछि मृत सुगालाई महलमा ल्याइयो । ऊसँगै आए, प्रहरीका हाकिम, प्रहरीहरु र घोडचढीहरुसहितको फौज ।

राजाले सुगालाई हातमा लिएर यस्सो थिचेर हेरे, तर उसले चाइँचुइँसम्म गरेन । हो, त्यतिखेर उसको सिंगो पेट पुस्तकका सुख्खा पानाहरुले भरिएको देखियो । जब राजाले सुगालाई हल्लाएर हेरे, हिँड्डुल गराएर पनि हेरे, तब सुख्खा पातहरुको खस्य्राकखुस्रुक आवाज मात्रै आयो ।

त्यतिखेर बाहिर भने वसन्तलाई स्वागत गर्न दक्षिणतिरबाट बग्ने हावाले आफ्नो पछ्यौरा फैलाइरहेको थियो । नयाँ पालुवाहरुले लामालामा उच्छ्वासहरुद्वारा फूलहरुले भरिएका वनहरु र विस्तृत रुपमा फैलिएको आकाशलाई विव्हल पारिरहेको थियो ।

स्रोत : उद्भावना, नई दिल्ली, अंक ५९–६०

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : अनूदित कथा, बाल कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *