कथा : बिनाबाउको छोरो

~सञ्जीवनी शर्मा~

‘सुत्केरी सुस्मालाई सन्देशले स्वीकार गरेन रे !’ ‘के भयो त्यस्तो गडबडी ?’ दिदीले सोध्नुभयो । ‘स्वीकार पनि गरोस् कसरी ? सरु दिदीका ससुराको बच्चा हो रे नि त ! उनले त्यो बच्चा आफ्नो भएको अस्पतालमै दावी गरेको सुरेन्द्रका दाजुभाइले थाहा पाएका थिए । जानाजान अर्काको गर्भबाट जन्मेको सन्तान स्वीकार्न सन्देशलाई कहीं बहुला कुकुरले टोकेको छ र ! बेलैमा सही निर्णय गरेछ सन्देशले । कमसेकम कतै केटी नपाएर आफ्नी काकीसँग बिहे गरेको भन्ने बदनाम त कमाएन । धन्न त्यस बाइफाला आइमाइको जालमा परेन सन्देश । सोच्नुहोस् त त्यो दिन कस्तो हुन्थ्यो होला जुन दिन सन्देशले आफ्नै माइला काका सुरेन्द्रसँग पार गरेकी स्त्रीलाई बधु बनाएर भित्र्याएको क्षण । अनि समाजमा त्यसले पार्ने प्रभाव कस्तो हुन्थ्यो होला ?’ मैले दिदीलाई भनेँ ।

‘सुस्माले सरु दिदीका ससुरा र भिनाजु सुवासलाई धोखा दिएको परिणाम हो यो । कतिसम्म लूट गर्न सकेकी सुस्माले ! सुरेन्द्रसँग पारपाचुके गर्दा त्यत्रो ३५ लाख सिउँदो रकम बुझी । बिहे गर्दा कमाएका त्यति बेलै लगभग तीन लाख भन्दा बढी मूल्यका त सुनका गहना उसकै साथमा छन् । दिदीका ससुरा कल्याणसँग भएको दस लाख नगद र चल्तीको मोलमा दुई करोड रुपैया भन्दा बढी पर्ने पोखरा कुँडहरको जमीन हत्याउन के के प्रपञ्च रचिन ! अझ भिनाजुसँग पचास लाख नगद र बाटुलेचौर मैदानस्थित एक करोड बराबरको जग्गा पनि हत्याएकी हो । आफू सुत्केरी हुनुपूर्व सुस्माले सन्तानको लागि आवश्यक सम्पत्ती र सम्मान बटुल्न सम्भव भएका सबै हत्कण्डा अपनाए पनि आज उ एक्लै त्यो बच्चाको लालनपालन गर्दैछे । न त माइततिरको साथ छ न मनले जितेको सन्देशले उसलाई आफ्नी बनाई साथ र सम्मान दिने प्रतिज्ञा पूरा गरेको छ । सुस्माले अत्यन्त पीडाका दिन बिताउँदै छ । केबल त्यो नवजात शिशु छोराको अनुहार हेरेर मन शान्त पार्दैछे, सुस्मा । आज कसैको साथ नपाएकोमा सुस्माको कुनै गुनासो छैन न त भिनाजुको परिवारलाई दिएको धोका नै उसले प्रायश्चित गर्न चाहन्छे ।

सुस्मा भन्छे, ‘भन्नुहुन्छ मेरो क्षतिपूर्ती अझै पुगेको छैन । त्यो परिवारबाट मैले जति लिएपनि मैले धेरै भयो भन्नैपर्दैन । मेरो कुमारित्व लुट्ने देखि एक्ली अबलाको अस्मिता लुट्ने ति कल्याण र तिनका छोरा सुवासलाई म कहिल्यै क्षमा दिन सक्दिन । आफ्नी दिदीका पति र ससुरा हुन् भन्दैमा मैले तिनका सबै इच्छा र चाहना पूरा गर्न किन बाध्य हुनुपर्ने ? महिलाको सतित्व र स्वाभिमानमा खेलवाड गर्ने ति नरपिशाचहरूको सम्पत्तिका आडमा मेरो अज्ञात बालापन, चञ्चले, चुलुबलेपनामाथि डरलाग्दो आक्रमण भयो । मेरो कुमारित्व र अस्मिता पटकपटक लुटियो । मेरो सम्मानमा आँच पु¥याउने धेरै हर्कत भए । मधुसमास मनाउँदै गर्दा नचाहिंदा शंका उपशंका सिर्जना गराएर मेरो पतिलाई मबाट छुट्टयाइयो । यो उर्लंलो उमेरमा मेरो घरजम राम्रो हुन पाएन । अभिभावकत्व पाउनुपर्ने पुरुषहरूबाटै बलात्कृत हुनुपर्दा मलाई अत्यन्तै रिस उठेको थियो । म बदला लिने अवसरको प्रतिक्षामा थिएँ । अबसर आयो र सबैको सामु ति दुबै बाबुछोराको बदनाम गरेँ । त्यहाँ भन्दा मैले के गर्न सक्छु र ?

छोराको जहान परिवारको हेरविचार गर्ने निहुँमा सहरमा बुहारी र नातिनीहरूसँग बसी छोराको वंश धान्ने उत्तराधिकारी भएन भन्दै बुहारीसँग संसर्ग गरी बजिया जन्माउन लाज नमान्ने ससुुरालाई पनि सबक सिकाएकै हुँ । अनि ‘गुन्द्रुकलाई पकाउनै पर्दैन र सालीलाई फकाउनै पर्दैन’ भन्ने नेपाली उखानलाई चरितार्थ पार्न भनेर दिदीलाई बिहे गरेर लगेकै निहुँमा बहिनीको बैंसमाथि आँखा लगाउने भिनाजु भनाउँदाहरूको कर्तुत पनि सबैका सामु मैले उदघाटन गरेकी छु । यदि मैले हालसालै उठाएका कदमहरूलाई मेरो कमजोरी ठान्छ भने यो समाजले हामी महिलाको लागि केही लछारपाटो लगाउँदैन ।

हुर्कंदै गरेकी सालीलाई महंगा मोबाइल फोन उपहार दिने, त्यहाँ चाहिंदा नचाहिंदा भिडियो हालेर उसलाई ‘मैले पठाएका उपहार राम्ररी हेर्यौ ? कस्तो लाग्यो ? अरु पनि पठाइदिऊँ ?’ भनी सोध्ने, मोबाइलमा ब्यालेन्स सकिएको बेला पहिले रिचार्ज गरिदिने अनि पछि पछि मोबाइलको साथसाथै मान्छेकै रिचार्ज गर्न लाज शरम नमानी अघि सर्ने भिनाजुका हर्कत सबै सालीहरूले थाहा पाउन सकेनन् भने ति सबैको हालत मेरो जस्तो हुनेछ ।

हुर्केका छोरी भिनाजुसँग झ्याम्मिंदा पनि अब बाबुआमाले विचार नगर्ने हो भने कतै तिनको भविष्य यस कथाकी सुस्माको जस्तो त हुने होइन ? अवश्य विचार गर्न नभुल्नुहोला । यो भिनाजु भन्ने मान्छे नै त्यस्तो मान्छे हो जसले सालीलाई बिटुलो पारी तिनलाई कदापि चैनको सास फेर्न दिंदैन । भिनाजु भन्ने पुरुषले पुरानो सम्बन्धकै कारण विभिन्न निहुँ पारेर सुपारी चाख्न लगाएर हैरान पार्छ ।

♣ ♣ ♣ ♣ ♣ ♣ ♣

सुस्माको बच्चाको न्वारन हुने दिन उसको डेरामा धेरै अधबैंसेहरू आए । सुस्माको जवानी देखेर र भोगेर लोभिएका ति पात्रहरू एकअर्कालाई अचम्मित मानेर हेरिरहेका थिए । उनीहरू एकआपसमा चिनाजानी र बातचित गर्नुको साटो शंकाको दृष्टिले अरुलाई हेर्दै थिए । त्यसरी आउनेहरूमा सहरका ढनाढ्य व्यापारी, ठूला घरानाका उत्तराधिकारी, उच्च सरकारी अधिकारी, युवा नेता, वरिष्ट पत्रकार, शैक्षिक प्रतिष्ठानका सञ्चालक लगायत देखिन्थे । सबैको सम्मानमा तीन तारे होटलको क्याटरिङ र बफे डिनरको भव्य आयोजना गरिएको थियो । सबै आफू किन आइयो होला यस्तो भोजमा भनेर अनौठो अनुभूति गर्दै गरेको जस्तो प्रतित हुन्थ्यो ।

पण्डितले सुस्मालाई सोधे, ‘यो बच्चाको बाबु कहाँ हुनुहुन्छ, नानी ? को हुनुहुन्छ ? यो कुन गोत्रको बच्चा हो ? कसरी नामकरण गरुँ, नानी यस शिशुको ?’ ‘सुत्केरी सुस्माले कसलाई आफ्नो बच्चाको बाउ भनेर सबैको सामु सार्वजनिक गर्ली ? यसरी नाम खुलासा गर्दा कता आफूलाई पोल्ने त होइन ?’ न्वारन भोजमा निम्त्याइएका पाहुनाको मनमा हुरी चली सबै एकअर्काको अनुहारमा हेर्न थालेका थिए । यस्तो लाग्थ्यो सबैले को रहेछ त्यस्तो अजीब पात्र भनेर तत्काल सुस्माको मुखबाट जान्न चाहन्थ्यो । त्यसैबीच एकछिन सन्नाटा छायो ।

सुत्केरी हुँदा हुँदै पनि सहरकी कुनै सुन्दरीको रूप र तेजले मलिन पार्न नसकेकी सुस्माले उपस्थित सबै पाहुनालाई भनी, ‘मेरो छोराको न्वारन कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु । म जस्ती एकल महिलाको प्रजनन अधिकारलाई सम्मान गर्न यहाँ पाल्नुभएकोमा म अत्यन्त आभार व्यक्त गर्न चाहन्छु । म आज कति खुशी छु भन्ने कुरा कसरी भनुँ ! तर यहाँहरूको यो अत्यन्त गरिमामय उपस्थितिले मेरो खुशीले सगरमाथाको शिर चुम्न पुगेको छ । मलाई अब रत्तिभर पिर चिन्ता छैन किनकी यहाँहरू सबै यस बच्चाको अभिभावकको रूपमा आज यहाँ उपस्थित हुनुहुन्छ । पछि दुःख परेको बेला मेरो र यस छोराको सम्मान र संरक्षण अवश्य नै गर्नुहुनेछ । यसलाई म नेपाल आमाको गोत्र र थर दिन्छु । यो मेरो सन्देस हो । यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई सन्देश नेपालीको न्वारनको उपलक्ष्यमा आयोजित भोजमा सहभागी हुन अनुरोध गर्दै यहाँ उपस्थित भई एकल महिलाको सन्तानको न्वारन सफल पारिदिनुभएकोमा पुनः एकपटक हार्दिक आभार व्यक्त गर्न चाहन्छु । धन्यवाद !’

सुस्माको शिशुको न्वारन भोजको आयोजना र निम्ता पनि रहस्यमय थियो किनकी त्यसमा सहभागी हुन दुई चार जना महिला बाहेक अधिकांश पुरुष नै आएका देखिन्थे भने बालबच्चाको भने उपस्थिति नै थिएन । आफन्त र माइती कुनै देखिंदैनथे । सुकिलामुकिला, सुट टाइमै सजिएका, महंगा निजी गाडीमा सवार भइआएका पुरुषहरू सहभागी रहेको उक्त समारोहमा धन्न कसैलाई पोलेर सबैको बाटो बन्द गर्छे कि भन्ने शंका गर्ने धेरैजसो अधबैंसे र नवजवान पुरुषहरू न्वारन भोजमा सहभागी भई अत्यन्त हुँदै आफ्नो घर फिरेको थाहा पाएपछि दिदीले भन्नुभयो, ‘सुस्मा त साँच्चिकै सुस्मा रहिछे । आफ्नो महत्व सबैका लागि राखी । अब कुनै एक पुरुषको दमन र शोषणको सिकार हुन त उसले परेन । छुनुमुने खेलाउने रहर जोसँगबाट पूरा गरेपनि आफ्ना शुभेच्छुक र सेवाग्राहीसँग उसले सन्देशको अभिभावकत्वको लागि आग्रह गरी । बाबु जो सुकै होस्, सन्देशका अभिभावक आज न्वारन भोजमा सहभागी सबै भए ।’

मलाई पनि सुस्माको निर्णय सही लाग्यो । आखिर सन्देशले सुस्मालाई स्वीकार नगर्दा दुबैलाई राम्रो हुने भयो । तर सन्देशले साथीहरूसँग खेल्दा अनि बालझगडा पर्दा ‘तँ बिनाबाउको छोरो होस् । तेरो बाउ छ भने ल देखा हामीलाई !’ भनेपछि आफ्नो बाबु को हो भन्ने तथ्य जान्न चाहेर ‘खोइ मेरा बुबा ? मेरा बुबा को हुनुहुन्छ ? उहाँ कहाँ हुनुहुन्छ ?’ भनी आमा सुस्मासँग बारबार सोध्न जाँदा उसले त्यसको के भनी र कसो गरी सन्देशको चित्त बुझाउली !?’ मलाई जान्न उत्सुकता लागेको छ ।

-पोखरा १७, बिरौटा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *