नियात्रा : गोर्खाली स्वाभिमान

~भेषराज रिजाल~

—तीनवटा धरोहर उचालेको थुम्कोमा छौँ हामी’,  अशोक कोइराला मतिर फर्किए ।

—गोरखादरबार, गोरखकाली मन्दिर र गोरखनाथको मन्दिर तथा गुफा’, मैले उत्सुक नजरले हेर्न नपाउँदै उनले थपे ।

पृथ्वीनारायण शाहको जन्म गोरखादरबारमा भएको रहेछ । गोरखादरबार निजकै रहेछ गुरू गोरखनाथको गुफा । तिनै गुरूका नामबाट नामाकरण भएको रे गोरखा जिल्लाको । द्रब्य शाहले आर्जेको गोरखा राज्यका केही दरबार राम शाहका पालामा बनेका रहेछन् । दरबारका टुँडाल, छाना, झ्याल, ढोका र भित्तामा देखिन्थे काष्ठकलाका बेजोड नमूना ।

गोरखकाली मन्दिरिभत्र पस्न नपाइने भन्दै ढोकैमा पूजा भइरहेको थियो । एकजना महिला पुजारीले हामीलाई अर्को ढोकाबाट प्रवेश दिइन् । गोरखकाली मन्दिरको भुइँतल्ला भने निकै होचो रहेछ । शायद सयौँ वर्षपहिले बनेकोले दबिँदै गएर होचो भएको होला भुइँतल्ला । दशैँमा काठमाडौंको दशैँघरमा भित्र्याइने फूलपाती गोरखकाली मन्दिरबाटै जाँदोरहेछ ।

वरपर देखिने डाँडा, डाँडाबाट सुस्तरी निस्केर सल्बलाएका नदी र फाँटका सुन्दर आकृति हेरेर रमाएँ म एकछिन । दक्षिणतिर नजिकै देखियो गोरखाबजार । अलिपल्तिर क्षितिजमा गर्वसाथ ठडिएको थियो छिम्केश्वरी डाँडा । दक्षिणपश्चिममा पर्दोरहेछ दरौँदीको फाँट । डाँडापल्तिरै पर्छ रे मनकामना मन्दिर ।

मैले सास नफेरी हेरिरहेको सुनिरहेको देखेर साथीहरू झन् हौसिँदै मलाई बताइरहेका थिए– —त्यता तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको जन्मस्थान खोप्लाङ, खोप्लाङभन्दा माथि द्रब्य शाहले दौड जितेको लिगलिग कोट, पूर्वतिर भीमसेन थापाको जन्मस्थान बोर्लाङ ।’

विश्वमा नेपालीलाई गोर्खाली नामले पनि चिनिन्छ भन्ने सम्झँदै गोरखा पुग्दाको गर्विलो अनुभूतिले रमाइरहेथेँ म । विश्वमा नेपाली र गोर्खालीलाई बहादुरी र इमान्दारिताका पर्याय मानिन्छ भन्ने सम्झिँदा खुसीले उफ्रिरहेथेँ म । वीर, इमान्दार तथा नैतिकवान लाखौँ नेपालीहरू आफ्नै मुलुकमा रोजगारी नपाएर जीवन निर्वाहका लागि परदेसिन परेको यथार्थ सम्झेर भने हिनताबोधले थिचिइरहेथेँ म ।

हामीले घुमेर हेरेथ्यौँ… गोरखादरबारको मजबुत किल्ला, दरबार अगाडिको ठूलो चिम्टा, दरबार प्राङ्गणको पशुपतिनाथ मन्दिर, गुरू गोरखनाथको मन्दिर र गुफा । हेरेथ्यौँ… चौतारोनेरका शिलालेखहरू, दरबार प्राङ्गणभित्रका ठूल्ठूला नगरा, दमाहा र घण्टहरू । ती थिए नेपाली इतिहाससँग जोडिएका पुरातात्विक वैभवहरू ।

ढुङ्गामा पारेका मसिना डोबहरूलाई स्वर्ग जाने बाटो भन्दै थिए कसैले । मैले भने सोचेथेँ- —कालीगढले आफ्ना होशियार हतियारले कुँदेका ती डोबको लर्को औँलाको स्पर्श र मानसिक शक्ति चनाखो बनाउने उपाय होला ।’

यात्रामा निश्चिन्त रहनुपर्छ भन्ने सन्देश दिँदैँ थियो शायद त्यो कालिगढीले ।

साथीले देखाए निर्वाचन आयुक्त दोलखबहादुर गुरूङ सरको जन्मगाउँ ताकुमाझ लाकुरीबोट ।

डाँडाहरूको माछिकाँडे श्रृङ्खलाको कुन कुइनेटोनेर हो खै ?  मैले दोलख सरको जन्मगाउँ नियाल्दै उहाँलाई सम्झन चाहेँ । दोलख सरको नाम लिनासाथ उहाँको मीठो बोली र असल व्यवहारको याद आइहाल्छ मलाई र उर्जा थपिएझैँ लाग्छ उत्साहमा।

दुर्गम क्षेत्रका धेरै प्रतिभाहरू यस्तै डाँडाको छायामुन्तिर हराएझैँ लाग्छ मलाई । केही प्रतिभा भने शहरतिर बसाईं सरेर बिर्सिसके गाउँलाई । मुलुक बिर्सेका प्रतिभाको सम्झनामा टोलाउँदा गाउँघर ढाकेको तुवाँलोको धमिलोमा हराएँछु म पनि केहीबेर ।

—मनाङ र मुस्ताङलाई मात्र नेपालका हिमाल पारिका जिल्लामा गणना गरे पनि गोरखा जिल्लाको ठूलै भू-भाग हिमाल पारि पर्दछ । सामागाउँ, छेकम्पार, पोक, चुम्चेत, बिही, ल्हो आदि हिमाल पारिका गाउँहरू हुन् । ती डाँडाको फेदीमा पर्छ बार्पाक ।’ साथीहरूले जानकारी दिँदै थिए मलाई।

मेरो टाउको मात्र हल्लिएको देखेर अशोकजीले फेरि सोधे… —बार्पाकका बारेमा सुन्नुभएको छ ?’

—बार्पाक गोरखाको होमस्टेयुक्त पर्यटकीय स्थल हो लमजुङको घलेगाउँ र स्याङजाको सिरूबारीजस्तै । त्यहाँबाट हिमाल नजिकै देखिन्छ । बाह्रकिलो भन्ने ठाउँबाट मोटरबाटो जान्छ बार्पाकमा ।’ मैले केही सोध्न नपाउँदै अशोकजीले उत्तरतिर हावामा औँला हल्लाउँदै गर्वका साथ भनिरहेका थिए ।

अनेक रोचक ज्ञान पाएर म पनि मख्ख थिएँ । मनभरि अनगिन्ति जिज्ञासा लिएर गोरखा छिरेको मलाई एउटा तृप्त र सुखद सन्तुष्टि प्राप्त भइरहेथ्यो । त्यही तृप्ति र सन्तुष्टिको चास्नीमा डुबेर मख्ख पर्दै थियो सानो हृदय पनि ।

धुमिल तुवाँलोले हिमालका आकृतिहरू ओझेल भए पनि मनास्लु, गणेश र अन्नपूर्णा हिमालका सुन्दर चुलीहरू मनभरि उभ्याइरहेको थिएँ मैले । सामुन्ने पर्ने ती चुलीका सफा, स्निग्ध र उज्वल दृश्यहरू नानीका पातला पर्दामा पर्न नपाए पनि मनका बाक्ला भित्ताहरूमा टल्किरहेथे । कल्पनाको पङ्ख उचालेर दरौँदीका किनारैकिनार बार्पाक पुगेर ती हिमशैलका शीतल छायामा रमाइरहेथ्यो मन ।

गोरखादरबारको सुन्दर ढिस्कोबाट देखिए वरपरका फराकिला डाँडाहरू । बीचको थुम्कामा थियौँ हामी । हामी अर्थात् काठमाडौँदेखि आएका मेरी जीवन सङ्गिनी राधा, छोरी प्रज्ञा, म र सहयात्री पवित्रा पन्थी । अनि जिल्ला निर्वाचन कार्यालय, गोरखाका अशोक कोइराला, मोहन भट्टराई र केशव रिजाल ।

मोटर बाटोको रहरले कुमारीत्व हरण भएका डाँडाहरूमा कुमारीका रज बगेजस्ता राता धर्साहरू देखिन्थे । सोच्छु, —बिग्रिएका धर्साजस्ता ती रेखालाई कसैले विकासको उपलब्धि ठान्लान् । घाइते योद्धाका रगताम्मे शरीरजस्ता ती धर्सा हेरेर व्यवस्थित विकासमा जोड दिँदै प्रकृतिको दारुण चित्कार कहिले सुन्ला यो दुनियाँले ?’

दरबारको पारिपट्टि फुलेका शिरीषका सुन्दर बोटहरूमा फक्रिरहेथ्यो प्राकृतिक सुन्दरता । उसैगरी प्रकृतिमा हरियो रङ भर्दैथिए चिलाउने, काफल, उत्तिसका पालुवाहरू । पालुवाको रोगन पाएर अलेली बैँस चढिसकेको थियो प्रकृतिमा ।

—पृथ्वीनारायण शाहको गद्दी’, बाहिर बसेका पुजारीले दरबारभित्र देखाउँदै थिए ।

दरबार मर्मत हुँदै गरेकोले भित्र पसेर राम्ररी हेर्न भने पाइएन ।

सिद्धपाइलामा भेटिए पदचिन्ह अंकित ढुङ्गे आकृति र ढुङ्गे मूर्ति । ती मानव निर्मित आकृतिभन्दा सुन्दर थिए ठूल्ठूला प्राकृतिक ढुङ्गाहरू । तिनै ढुङ्गामाथि बसेर, उभिएर, त घरि ढुङ्गो समातेर अनेक पोजमा खिचिएथ्यौँ हामी ।

मैले ठट्टा गरेथेँ- —आखिर गतिलो ढुङ्गो चाहिएको रहेछ हामीलाई ।’

—हो, ढुङ्गा, माटो, पानी, वनजङ्गल आदि प्रकृतिका जुनसुकै स्रोत र सम्पदामा स्वच्छता चाहिएको छ ।’ सहयात्रीको समर्थनले थपिएथ्यो अघ्घोरै खुसी मेरो मनमा ।

साँच्चै मलाई पनि त्यो प्राकृतिक ढुङ्गो औधि मन परेको थियो । मैले त्यसको नामै राखिदिएको थिएँ- ढुङ्गेदरबार । ढुङ्गेदरबारले राजसी दरबारलाई चुनौती दिँदै गर्वसाथ ठडिएको थियो । त्यो ढुङ्गोलाई घेरेर थुम्को सिँगार्न पाए, मेरो मनमा एउटा अपेक्षा पलाएको थियो ।

सवालाख रोट महोत्सवको तयारीमा जुटिरहेका मान्छेहरूले नजिकैको चौतारो देखाउँदै भन्दैथिए- —द्रब्य शाहको पालाको समीको रूख यही हो । गोरखनाथको समीको चौतारो यही हो ।’

शिव प्रसाद घिमिरेले टिपेको काफलको स्वाद लिँदै गोरखादरबारबाट गोरखाबजारतिर ओर्लन लाग्दा मनकामनालगायत सुन्तला फल्ने गोरखा जिल्लाका अनेक ठाउँहरूको स्मरण गर्दै थिए साथीहरू । मैले भने गोरखा र नेपाल राज्यको इतिहास सम्झँदै गोरखा पुग्दाका अनुभूतिहरू खेलाउँदै थिएँ मनमा ।

क्यामरामा कैद भएका जति त कम्प्युटरको भित्तामा फिँजाएर हेर्न सकिएला तर मनमा सजिएर आफ्नै भइसकेका ती चित्र नमेटिउन भन्ने मेरो इरादा थियो । क्यामराले भन्दा बढ्तै आकृतिहरू खिचेको थियो मनले पनि । ती आकृतिलाई चीरस्मृत बनाउन शब्दको सहारा खोज्दै थिएँ । अनि आँखा चिम्लेर सम्झँदै थिएँ गोरखा आउँदा मनमा कोरिएका बाटोका डोबहरू पनि ।

काठमाडौंबाट प्लेनमा पोखरा उत्रेपछि तनहूँ र लमजुङ हुँदै वि.सं. २०६९ साल बैशाख २३ गते हामी गोरखाबजार पुगेका थियौँ ।

आँबुखैरेनीबाट मर्स्याङ्दी तरेर गोरखातिर हानिएका थियौँ हामी । दरौँदी तरेपछि आइपुगेथे- दशकिलो, एघारकिलो, बाह्रकिलो, विरेन चोक, लक्ष्मीबजार । जाँदाजाँदै देखिएथ्यो सुन्दर बस्तीले सजिएको गोरखाबजार । गोरखाबजार झन् सुन्दर देखिएथ्यो शिरको दरबार र जङ्गलको हरियालीले ।

सुरेश वाग्ले स्मृति गेट, पर्यटन वर्ष सन् २०११ को गेट र बूढीआमैहरूले बोकेको घाँसका भारीले स्वागत गर्दै थिए बाटोभर । स्वागतसँगै गोर्खाली सभ्यताका अनेक रहस्यहरू उद्घाटित भइरहेथे एकपछि अर्को गर्दै ।

सुतेर वा थिचिएर नमर्ने बाटो, गुडेर नसकिने पाङ्ग्रा र तरङ्गिएर नसकिने मनको उत्कृष्ट सङ्गम भइरहेको थियो त्यो यात्रा मेरा लागि । प्रियजनसमेत साथमा हुँदा झन् चङ्गिएको थियो मेरो मन ।

त्यहीदिन लमजुङदेखि गोरखा गाडीबाट आइपुगेकोले मेरी सानी छोरी भोक र तिर्खाले आलसतालस परेकी थिई । राधा र मलाई पनि निकै भोक लागेको थियो । होटलमा पिउनेहरूका लागि पेयपदार्थपछि खानासमेत आइसक्दा पनि हाम्रो खाना आइपुगेको थिएन । ज्ञानी बालकका जस्ता शिष्ट सोधाइ र पौने घण्टासम्मको हाम्रो शालीन पर्खाइले शायद उनीहरूलाई पनि असजिलो भएछ क्यारे । मापसेहरूले प्राथमिकता पाइरहँदा हाम्रो खाना आएको थियो ढिलै भए पनि।

मेरो थकित शरीरभित्रको आक्रोशित मनले भन्दैथियो- —मापसेहरूको जमघटमा भेटिँदा रहेछन् मुलुकका ठूला मान्छेहरू ।’

मनको अर्को प्रश्नसँग भने हार खाइरहेथेँ म… —महिनाको पच्चीसतीस हजार तलब खाने कर्मचारीहरू र जनताका लागि राजनीति गरेको भन्ने नेताहरूले कसरी गर्न सक्छन् त एकै रातमा हजारौँ खर्च ?’

तिनका बेसुरा गफका बीचमा फुत्किएका वास्तविक कथनले पनि केही त भनिरहेका थिए । मलाई लागिरहेथ्यो, तिनीहरूले आफ्ना पितृको मात्र श्राद्ध र सम्झना गरे पुग्नेमा मामाको धनले फुपूको श्राद्ध गरिरहेका थिए ।

गोरखासँग खुलस्त चिनापर्ची हुन नपाउँदै भोगिएको वियोगान्त कथाजस्तो त्यो घटनालाई मनको एउटा कुनामा दबाउँदै मनमनै भनेथेँ मैले- —गोर्खालीको ऐतिहासिक वीरता र सामर्थ्यजस्तै पर्यटन पनि फस्टाओस् गोर्खाली भू-स्वर्गमा । सुन्दर प्रकृति हेर्न मात्र होइन गोर्खालीको वीरता, नैतिकता र इमान्दारिताको अनुसरण गर्न पनि ओइरिउन पर्यटकहरू गोरखामा ।’

नेपाली मनको सदिच्छा पाएर गर्वले झन् उँचा भएझैँ लागिरहेथ्यो गोर्खाली स्वाभिमान ।

– छरिएका पाइला कोरिएका डोब (नियात्रा सङ्ग्रह), २०६९

 (स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares
विधा : नियात्रा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *