बाल कथा : केबुलकारको कथा

~कार्तिकेय घिमिरे~kartikeya ghimire

नमस्कार ! मेरो नाम रज्जु गाडी हो । मलाई अंग्रेजीमा केबुलकार भन्छन् । कसैकसैले भने मलाई गोन्डोला पनि भन्छन् । आज म तपाईलाई आफ्नो यात्राको कथा सुनाउछु है ।

मलाई मनकामना दर्शन प्रा.लि. नाम गरेको कम्पनीले नेपालमा ल्याएको हो । मानिसहरु नेपालमा मलाई मनकामना केबुलकारको नामले चिन्छन् । मलाई एसडब्लु कमपनीले बनाएको हो । पहिलो सुरुमा नेपाल आउँदा म निक्कै डराएको थिएँ । ठूला–ठूला पहाड माथिबाट दौडदा मेरो जिउ नै सिरिङ् हुन्थ्यो । अहिले मलाई बानी परिसक्यो । मनकामना मन्दिरको दर्शन गर्न जाने यात्रु बोकेर वारिपारी गर्न मलाई निक्कै मज्जा आउँछ ।

दिनदिनै थुप्रै मान्छे मेरो जिउमाथि चढेर मनकामना मन्दिर जान्छन् । म एक पटकमा ४५० किलोसम्मका ६ जना मान्छेलाई बोक्न सक्छु । मान्छेहरु म माथि चढेर निकै रमाउँछन् । कति मान्छेहरु त आहा ! केबुलकार चढ्दा त प्लेन चढे झै रमाइलो हुँदोरहेछ भनेर एकदमै रमाउँछन् । धेरै वर्षदेखि मान्छेलाई मनकामना पु¥याउने काम मैले गर्दै आएको छु ।

म माथि चढ््न आउने मान्छे थरिथरीका हुन्छन् । कोही मान्छेदेखि मलाई हाँसो उठ्छ । कोही मान्छेदेखि रिस पनि उठ्छ । कोही मान्छे भने मलाई धेरै माया गर्छन् । यस्तै हाँसो, रिस र मायाको मेरो यात्राको कथा सुरु गरुँ है ।

एक दिनको कुरा हो । एउटा मोटो मान्छे लमक्लमक् गर्दै ममाथि चढ्यो । उसले भादगाउँले टोपी लगाएको थियो । उसले त्यो दिन वारि फर्कने बेलामा चारजना केटाएउटी आमैसँगै चढे । म दौड्न सुरु गर्नासाथ तिनीहरु याहु ! केबुलकार हिँड्यो भनेर कराउन थाले । तिनीहरु खुसी भएको देख्दा मलाई पनि खुसी लाग्यो । म पहाडबाट बिस्तारै तलतिर दौडदै थिएँ । ति केटामध्येको एउटा अलि छुच्चो जस्तो देखिने केटाले चुइँगम खाएर मेरो जिउमा ट्याप्प टाँसिदियो । मलाई झनक्क रिस उठ्यो । म चिच्याउँदै कराएँ– ए भाइ तिमीले मेरो जिउमा किन फोहोर टाँसेको हँ ? मैले अचानक कराउँदा ति चारैजना केटा निक्कै डराए । मैले फेरि नरम हुँदै भने– यसरी अर्काको जिउमा फोहोर गर्नु राम्रो हो त ? सबैले होइन अब हामी यस्तो गर्दैनौँ भनी एकै स्वरमा कराए । मलाई ठीकै लाग्यो ।

जाने बेलामा ति चारैजनाले मलाई बाइबाइ केबुलकार दाई भनेर गए । मलाई एकदमै आनन्द आयो । एकदिन त क्या गजब भयो नि ! एकजना दाइ धोती लगाएर पान चपाउँदै म माथि चढे । त्यो दिन उनी एक्लै थिए । मैले दौडाउँदै उनलाई पारीको स्टेशनतिर लग्दै थिएँ । मस्र्याङ्दी नदीको माथिको आकाश मार्गमा पुगेपछि झ्याप्प बत्ती गयो । म ठ्याक्क रोकिएँ । ति त डराए जोडसँग रुन पो थाले बा ! मैले उनलाई सम्झाउँदै भने– ए भाइ साहेब ! नरुनुहोस् । अहिले एकछिनमा जेनेरेटर (बिजुली निकाल्ने मेसिन) चल्छ । अनि म दौडिहाल्छु नि । मेरो कुरा सुनेर ति चुप भए । उनी मेरो जिउमा अडेस लागेर शान्त भइ बसे । पाँच मिनेटपछि म दौडन सुरु गरेँ । ति दाई खुसीले रमाए । मलाई पनि खुसी लाग्यो ।

पारीको स्टेशनमा उत्रने बेलामा ति दाजुले पान खाएको मुखले मेरो जिउमा प्याच्च थुके उनको स्वभाव देखी मलाई झनक्क रिस उठ्यो । धेरै कुरा सोचेर केही नबोली बसेँ । त्यो दिनभरी मेरो ‘मुड अफ’ भयो । त्यसपछि के–के भयो मलाई केही कुरा सम्झना छैन । त्यसको दुई चार दिनपछि भने म फेरि चङ्गा भएँ । मेरो मन फुरुङ्ग भयो । म आज कस्ता यात्रु आउने हुन् भनी उनीहरुको प्रतिक्षामा थिएँ । एउटी सानी बच्ची फुर्किदै म माथि चढिन् । उनीसँगै उनकी आमा पनि थिइन् ।

मेरो जिउमाथि चढ्नेबित्तिकै ति बच्चीले खुसी हुँदै भनिन्– मामु बिस्तारै बसिस्यो, केबुलकार अंकललाई दुख्ला नि ! मलाई अचम्म लाग्यो । मैले ति बच्चीलाई निक्कै नियालेर हेरेँ । उनका साना–साना आँखा थिए । गोलो चिटिक्क परेको हँसिलो अनुहार थियो । म एकटकसँग ति बच्चीलाई हेर्दै दौडिरहेको थिएँ । त्यति नै बेला अचानक आकाश कालो भएर आयो । बादल गुडुङ गुडुङ गर्दै कराउन थाल्यो । ठूलो आँधीबेहेरी आयो । बच्ची रुन कराउन थालिन् ।

‘नरोऊँ नानी तिमीलाई केही हुँदैन । म तिमीसँग छु नि’– मैले भनेँ ।

मेरो बोली सुनेर बच्चीले अचम्म मान्दै मलाई ट्वाल्ल हेरिन् । मलाई चिनिनौँ ? म तिम्रो केबुलकार अंकल हुँ । मैले बच्चीलाई सम्झाउँदै भनेँ । त्यसपछि बच्ची रुन छाडिन् ।

उनले आफ्ना साना आँखाको आँशु पुछ्दै भनिन्–‘अंकल । मलाई डर लाग्यो । छिटो मनकामना मन्दिर लैजानुस् न भन्या ।’

प्यारी बच्चीको आँखामा आँसु देखेर मलाई हावासँग झोँक चल्यो । म पनि के कम, बेतोडसँग हावालाई टेर्दै नटेरी पारि स्टेशनतिर दौडिएँ । बच्ची खुसी हुँदै हाँस्न थालिन् । मलाई पनि खुसी लाग्यो । पारिको मनकामना स्टेशनमा पुगेपछि बच्ची मेरो जिउबाट उत्रिन् । उनी ‘मामु केबुलकार अंकललाई पनि मनकामना मन्दिरमा लैजाने’ भनेर जिद्दि गर्न थालिन् ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : बाल कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *