छन्द कविता : विभेद

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : शिखरिणी

कतै डाँडाकाँडा असहज भिराला र पहरा
कतै आँधी-बाढी क्षति-विलयका त्रास, नखरा
कुनै शोभादायी कुसुम र कतै तिक्त रजनी
अनेकौँ दर्जाका विविधमय छन् मानिस पनि ।।

मुठी कस्तैकस्तै स्वजनतिर हान्छन् कतिपय
छुरा धस्तैधस्तै थकित पद तान्छन् कतिपय
बसेका छन् कोही अमिरसरि अग्ला महलमा
खिएका छन् कोही जिनिससरि बिक्दै पसलमा ।।

हिँडेका छन् खुल्ला मुख-अधर जोडी जन कतै
गलेका छन् जल्दै हुरहुर वियोगी मन कतै
कसैका गालामै ढकमक फुलेका मखमली
कठै कोही रुन्छन् किन पवनले पेट हुँडली ?

बने नाङ्गा कोही धन-कनकको मात भरिँदा
कठै ! नाङ्गा कोही नियति-विधिले भेद गरिँदा
सबै नाङ्गैनाङ्गा पदकद नियाल्दै दिन गए
कुनै “ठूला नाङ्गा”, कतिपय “ससाना” किन भए ?

जिएका छन् कोही विरह-वहले दैनिक मरी
चढेका छन् श्रेणी दिनदिन कुनै “पूजन” गरी
बने उस्तैउस्तै अवयव, सबै लक्षण-हरू
कुनै फाल्छन् मोती, जहरसित बाँच्छन् किन अरू ?

रचे को स्रष्टाले कलुषित निकम्मा विधिहरू ?
स्वयं अत्याचारी पशु किन बने मानिसहरू ?
बस्यो माछाको झैँ नियम कलिको आँगनभरि
“बडेमा माछा”कै दिनदिन हुँदैछन् मनपरी ।।

– विदुर न•पा• 3 शेरा, नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *