पुस्तक अंश : लोग्नेका नाममा कलंक

~रामकुमार एलन~

स्याउलीबाङ गाविसका दुःखसँग मकवानपुर जोडिएको छ । अधिकांश तामाङ जातिको बाहुल्य भएकाले गरिबी, दुःख, अभावमा उनीहरू नै पिल्सिएका छन् । त्यसमाथि चेपाङ, मगरहरू पनि छन् । विकट र दुर्गमले सिङ्गो जिल्ला पिसिएको छ । शिक्षा केही हुनेखानेको पहँुचमा छ । सुविधा उनीहरूकै काबुमा । गाउँका स्कुल र तिनका मास्टर तिनकै पहुँचमा । स्वास्थ्यचौकी र औषधि पनि । हुलाक उनीहरूकै । गाउँमा पुगेको देखिने विकास यही हो । बाटोका अध्यक्ष र चामल बाँड्ने भान्छे उनीहरूकै । कुनै तालिम, सुविधा आए मान्छे उनीहरूकै । त्यसैले गाउँका निम्छराका दिन फेर्न सकिएको छैन । थुप्रै गाविसमा यही समस्या छ । समस्या देखाएर डलर पचाउनेहरू पनि छन् ।

वेश्यालयको कोठरीबाट फर्किएपछि पार्वतीका दिनहरू झन् दुःखमा परे । अहिले सहकारीको कुरा गर्नुअघिका उनका काला दिनहरू मकवानपुरकै प्रतिनिधि नियति हो । यही नियतिका सिकार छन् अझै सयौँ पार्वती । धेरैले खोलाको भलमा हाम्फालेर ज्यान फालेका छन् । कैयौँ लालझाडी वनमा झुन्डिएका छन् । कैयौँ फेरि वेश्यालय फर्केका छन् । नियतिका घट्टमा पिसिएर गाउँमा बाँच्न कति गाह्रो छ, पार्वतीलाई राम्रो थाहा छ । उनी त्यही नियतिलाई जितेर आज सहकारी नानी भएकी हुन् । कोठीबाट फर्केपछिका काला रातहरूको एउटा चलचित्र नै बन्छ ।

गाउँ फर्केपछिका पार्वतीका दिन झन् समस्यामा परे । वरपरका सखीहरू बोलेनन् । घर थिएन । लोग्ने थिएन । माइतमा आमाबाबुले बाहिर एउटा कोठामा राखिदिए । दाइभाइको विवाह भइसकेको थियो । भाउजू र बुहारीहरू नै मुख बोल्दैनथे । प्याच्च वचन लगाउँथे । आमाबाबु पनि गाउँलेका कुरा सुन्न नसकेर हत्तु भएका थिए । हो, गाउँमा बस्न कहाँ सजिलो छ र ? तल्लाघरे काकाले सुनाए, ‘म भए यस्ती कुलङ्घार्नीलाई जिउँदै आगो लगाइदिन्थँे । कुन मुख लिएर गाउँ आएकी तिम्री छोरी । शरम जति कोठीमा बेचिछे । बरू त्यतै रेलका पट्टामा सुतेर मरेकी भए हुन्थ्यो जाति ।’

कट्टेलले कोठीमा बेचिएकी छोरी पालेर गाउँकै इज्जत फाले । हाँडीगाउँको नाम नै लिन्न भन्न थाले । पानी बार्न पर्छ कि कट्टेलसँग । गाउँका चोक, चौतारामा र मेलापात अनि कुवा र पँधेरामा कुरा काटियो । फनबोर्डले धारा बाँड्दै छ गाउँमा । सबैले भने, ‘त्यो कट्टेललाई एउटा छुट्टै धारा दिऊँ । हाम्रोमा नमिसाऊँ ।’ गाउँमा किसान समूह बन्दै थियो । कुरा काटियो, कट्टेललाई सदस्यमा हाल्ने होइन नि ? त्यसका छोरीले हाम्रो नाक राप्तीमा बगाइदिई । कस्ता छिमेकी परे भने । अब लाठेहरू सब एड्सले मर्ने भए । गाउँमै कोठीकी ठिटी छन् । जोगाऊँ है ठिटाहरूलाई । झुक्केर घोडा चढ्लान् र होला एड्स ।

कति गाह्रो छ बाँच्न । समाजका टाठाबाठा नै यस्तै करौँतीले रेट्छन् । कति सहने ? कति सुन्ने ? कान पाके । गाउँलेका के कुरा भाउजूबुहारी नै घरमा गाल लगाउँथे । आमाबाबु धुरूधुरू रून्थे । बुढेसकालमा छोराबुहारीको हेला सहनुपर्ला भनेर चुप रहन्थे । घाँटीसम्म आउने गरी भन्थे । गाउँले बाहिर कतै निस्कनै हुन्थेन । गौँडा, मकैबारी र कान्लामा पाए केटाहरू हाकाहाकी भन्थे, ‘ओइ भालु, मसँग सुत्छेस् । हुन त के मान्थिस् । आइसीका बिटा लिने बानी परेको ।’ आँखाबाट तप्प आँसु चुहिन्थे । फनन घुमाएर ल्याउँथ्यो । ज्यान फतक्क गलेर भक्लक्कै ढल्लाजस्तो । हे आमा, किन कोठीमै झुन्डेर मरिन ? किन मलाई डो¥याएर ल्यायौ गाउँमा, पार्वती दुईहातले आँखा छोपेर घोप्टो पर्थी । उसलाई मर्नु निको लाग्थ्यो त्यतिबेला ।

गाउँमा कोही कोठीबाट फर्केकालाई राम्रो मान्थेनन् । भएभरको रिस थोपरिन्थ्यो । त्यही गाउँमा वर्षौँ बसेका बूढा आमाबाबु पनि पापी ठहरिन्थे । मेलापात, पानीपँधेरोमा समेत पानी बारेर साँच्चैको पछौटेपनमा बाँचेको छ समाज । गाउँलेका कुराले आप्mनो भनेकाहरू पनि टाढिन्थे । पीरैपीरमा आमाबाबु डुबेका थिए । फर्केको दुई महिना गाउँमा बस्न पार्वतीलाई निकै गाह्रो भयो । बरू उनलाई कोठी निको लाग्यो । त्यहाँ खुरूखुरू आउँथे÷जान्थे । बरू पिट्थे, चुरोटले पोल्थे । तर, वचन लगाउँदैनथे । साँच्चै पार्वतीलाई गाउँ फर्केकोमा पछुतो भयो । गाउँमा फर्केका थुप्रै युवती फेरि किन गाउँ छाडेर सर्कस, गलैँचा र कोठीमै गए ? पार्वतीलाई राम्ररी थाहा भयो ।

बारीको गिँदरीको रूखमा झुन्डिन मन लाग्यो पार्वतीलाई । बाढी आउँदाको राप्तीमा झ्वाम्म फाल हान्न मन लाग्यो । दलिनमा आमाले सिउरेको मुसाको दबाई खाएर लालझाडी जङ्गलमा सुत्न जाऊँजाऊँ लाग्यो । सान्नानीटार आएर गुडिरहेको गाडीअघि सुतिदिउँजस्तो लाग्यो । जीवनदेखि हरेश खाइन् पार्वतीले । उनलाई आमाबाबु सुकेर मर्लान् भन्ने पीर लाग्यो । त्यसपछि भाउजू र बुहारीका भएका दाइभाइले पनि गाउँ निकाला गर्लान् भन्ने डर लाग्यो । बिचरा दाजुभाइ के गरून् । मजस्ती बेचिएकी बहिनी च्यापेर छिमेक छाड्न सक्दैनथे । त्यसमाथि छुराजस्ता भाउजू र बुहारीका मुखका अगाडि थर्थर । बरू पार्वतीलाई नै गाउँ मात्र होइन धर्ती छाडेर भगवान्को प्यारो हुन मन लाग्यो ।

वेश्यालयमा बेचिनु ठूलो थिएन । गाउँका थुप्रै बेचिएका छन् । कोही–कोही पार्वतीजस्तै भागेर गाउँ फर्किएका छन् । कोही–कोहीलाई एचआईभी भएपछि कोठीले नै निकाल्छ । गाउँ फर्केका थुप्रैले बिहे गरेका छन् । बिहेपछि जन्मेका दुइटा छोरामा, लोग्नेमा पनि एचआईभी देखिएको छ । साँच्चै गाउँमा एड्स सङ्क्रमण बढेको छ । जातीय छुवाछुतपछि गाउँमा अहिले एड्सछुवाछुत फैलिएको छ । कोठीबाट फर्केकाको यो पीडा छ । एचआईभी-एड्सको सिकार भएकाको के हालत होला ? साँच्चै बाँच्न कति गाह्रो छ गाउँमा ।

गाउँले कुरा काट्छन् । एड्स भएकाको घरको धुवाँ आए पनि अरूलाई सर्छ । एड्स भएकालाई गाउँबाट लखेट्नुपर्छ । एड्स सङ्क्रमण भएका युवा स्वास्नीलाई पिट्थे । तँलाई बिहे गरेर म अकालमै मर्ने भएँ । बच्चाबच्ची पनि मारिस् । कुलवंश सिध्याइस् । तलाई मारेर मर्छु । साँच्चै एचआईभी÷एड्स लुकाएर मात्र बाँच्न सकिन्छ । एचआईभी-एड्सको सङ्क्रमण बढेको छ । गाउँभरि विदेश जाने फर्किएका छन् । तिनले पनि सारे पत्नीलाई ।

एक दिन गाउँमा एउटा टोली आयो । टोलीले यस्तै कुराको उठान ग¥यो । भ्रममा गाउँ बाँचेको छ । अपमान होइन माया गर्नुपर्छ भने उनीहरूले । गाउँलेले गाली गरे । ‘गति फालेर मुतुनो जोत्दै हिँड्ने । अहिले एड्स बोकेर फर्किएकालाई हामीले माया गर्ने ? लैजानुस्, तपार्इंहरू र गर्नुहोस् माया,’ गाउँका टाठाबाठाकै स्वर यस्तो थियो । भन्थे, ‘थुतुनो र मुतुनो जोगाउन नसक्ने मान्छे होइन कुकुर हो ।’ गाउँको अन्धविश्वास, रूढिवादी गतिलै समाचार हुन्थ्यो । तर, पत्रकारहरू हेटांैँडामै हराइरहेका थिए । गाउँका कुरा ओझेलमै थियो । उनीहरूकै साथ लागेर पार्वती काठमाडौं गइन् ।

ठुल्दिदी भन्ने संस्थाले लगेको हो पार्वतीलाई । ठुल्दिदी भारतका कोठी, सर्कस र गलैँचामा बेचिएका दुःख पाएर घर न घाट भएका चेलीको आश्रम रहेछ । त्यहाँ पार्वतीले आफूजस्ता थुप्रै दुःख पाएका फेला पारिन् । पढेलेखेका पनि लोग्नेमार्फत बेचिएका । बच्चाका आमा बनाएर बाबु बेपत्ता भएका अनाथ, आश्रयहीनका लागि ठुल्दिदीले काम गरेको रहेछ । पार्वतीले त्यहाँ पुगेपछि अर्कै संसार पाइन् । उनलाई आफ्ना अतीत बिर्सन सजिलो भयो । आँसु अब झर्दैैन कि भन्ने लाग्यो । अस्तिसम्म गाडीमा ठोक्किएर मर्ने सोच्ने पार्वती परिवर्तित भइन् ।

ठुल्दिदीका कक्षा चल्न थाले । बिहान नुवाइधुवाइ गरेर सेतो कपडा लगाउँथे । लाग्थ्यो, सबैका पोइ मरेर बरखीमा छन् । हुन पनि कारूण र दारूण कथा त्यही थियो । पहिलो कक्षामा जीवन किन महत्वपूर्ण छ भनेर बाँच्ने उत्प्रेरणा जगाउँथे । ठुल्दिदीका साना ठुल्दिदीहरू । त्यसपछि अर्को कक्षामा औपचारिक शिक्षाहरू हुन्थे । त्यसपछिको कक्षा अबको जीवनको रोजाइ भन्ने थियो । यो कक्षामा सीप के सिक्ने, रहरका विषय हुन्थे । सिलाइबुनाइ, कपाल काट्ने, पसल थाप्ने, सहकारी, पशुपालन । चौथो कक्षा गाउँमा किन जाने र के गर्ने ? थियो । त्यसमा गाउँ गएर बाँच्ने, इलम गर्ने, हामीजस्ता दुःखमा परेकालाई साथ दिने र त्यो हविगत बनाउनेलाई दण्डको मुखमा पु¥याउने थियो ।

दिउँसो खाना खाएपछि घुमघाम, गफगाफ, टीभी, पत्रिका, फिल्म, खेलकुद हुन्थे । हरेक दिन पार्वतीजस्ता नयाँ युवती ठुल्दिदीमा थपिन्थे । नयाँ जुनीमा बाँच्ने कला सिक्ने र सिकाउने क्रम चलिरहन्थ्यो । माया, प्रेम, सद्भाव, बाँडिन्थ्यो त्यहाँ । रिस, आवेग, वितृष्णा हटाउन भनिन्थ्यो । ठुल्दिदीका ठूलीदिदीले शनिबार सबैलाई भेट्थे । गालामा म्वाइँ खान्थे । अब राम्रो गर्नुपर्छ भन्थिन् । जीवन सुन्दर छ, मर्नुहुन्न यत्तिकै भन्थिन् । सँगै खाना खाएर सबै बराबर भन्थिन् । त्यहाँ कसैको थर थिएन । घर नभएपछि थर के काम । सबैका नाम फरक थियो । घरमा पार्वती, कोठीमा स्विटी भएकी पार्वती ठुल्दिदीमा आशा भइन् । जीवनको नयाँ बाटो सुरू भयो ।

करिब ६ महिनापछि आशा फेरिइन् । औपचारिक पढाइ । व्यवहार परिवर्तन । नेतृत्वमा अवसर । उनी सहकारी, आयआर्जन र महिला सशक्तीकरणको विभागमा अगुवा भइन् । अब काठमाडौंमा थुप्रेर काम थिएन । गाउँमा गएर आमाबाबुलाई नै छोरी कोठी, सर्कसमा नपठाऊ भन्नु थियो । घर फर्केर अवहेलनामा बाँचेकालाई उद्धार गर्नु थियो । गाउँमा राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक र सामाजिक परिवर्तन पु¥याउनु थियो । त्यसैले आशा सहकारीको कुरा लिएर गाउँ फर्कने भइन् ।

भारतको वेश्यालयको पीडा मकवानपुरमा थियो । त्यसमाथि हाँडीगाउँ आसपासका पदमपाखा, लालझाडी, चुरेमाइला गाउँमा पनि विवाहका नाममा छोरीहरू बेचिन्थे । मनाचुरी, स्याउलीबाङ उस्तै समस्यामा थियो । यिनै गाउँमा काम गर्ने गरी ठुल्दिदीले शाखा खोल्यो मकवानपुरमा । पाँच कर्मचारी थिए । आशा दुई नम्बरकी कर्मचारी थिइन् । जहाँ उनको फूलजस्तो जवानी लुटियो । फर्केर आउँदा मृत्युको मुखमा धकेलियो । त्यही गाउँमा परिवर्तनका सुर्काहरू खन्न, आशाका घाम देखाउन र चर्चरी पाकेर रगत र पीप बगाइसकेकालाई मल्हमपट्टि लगाउन आशा सहकारी नानी बनेर फर्किन् गाउँ ।

पार्वती कट्टेलका फेरिएको चक्र यही थियो । अब उनी आशा क्षेत्री भएकी थिइन् । उनका काला दिनहरू अतीत र इतिहास बनेका थिए । उनलाई भारतमै मजदुरी गर्ने उत्तम नेपाली र ठुल्दिदीले अर्को जुनी दिएका थिए । बाँकी जुनी अब उनले मुक्ति र उन्मुक्तिका लागि बिताउने प्रण गरिन् । झोलाबाट निकालेको फोटो हेरेर दाँत किट्किटाइन्, ‘तँलाई एक दिन कसो फेला नपारूँला ?’ जेलको हावा नखुवाई कहाँ मरूँला ? लोग्नेको नाममा कलङ्क । यही सिलसिला जोडियो गाउँ जाने उनको ।

उनलाई कोठीको लालीको याद आयो । उत्तमदाइ भेट्टाउने लालीलाई सम्झेर आशा धेरै टोलाई । स्याउलीबाङकै म्हेन्दो थिई लाली । स्याउलीबजारमा जाँड छान्दै र डबका माझ्दै हुर्केकी लालीले गाउँको धेरै कुरा गरेकी थिई आशासँग । उसले पनि बाबुले भनेको एउटा केटोसँग हतारमा राति बिहे गरेर स्याउलीबजार छाडेकी थिई । उसले बाबुको कर हार्न सकिन र आफ्ना सारा रहर मारी । उसले आशालाई भनेकी थिई, ‘घरछेउमै एउटा ठिटो थियो । सलामसिंह उर्फ पिचुर । भर्खर माया बस्दै थियो दोहोरो । धोका भयो उसलाई ।’ उसले थपेकी थिई, ‘गाउँ फर्कनुभयो भने खोज्नुस् स्याउलीबाङमा । म यस्ती अगतीमा परँे । नभनिदिनु होला । हुन त अर्की बिहे गरेर आप्पा भइसक्यो कि ? अझै सपनामा देख्छु लगुलाई,’ लाली लजाई । आशाले लालीको गुन पनि तिर्नु थियो । त्यसैले गाउँगाउँमा जानु नै थियो । उसलाई लालीलाई पनि फर्काउने धोको थियो । संस्थामा भनेकी पनि थिइन् ।

गाउँ फेरिएको छ बिस्तारै । परारभन्दा पोहोर, पोहोरभन्दा यसपालि । अस्तिभन्दा हिजो । हिजोभन्दा आज । सङ्घसंस्थाहरू गाउँ छिरेका छन् । दलाललाई गाह्रो भा’छ । गाउँका ठिटीहरू पनि विद्रोही भा’छन् । माओवादीमा गा’छन् । माओवादी बढेकाले गाउँमा चौकीहरू छैनन् । गाविस भवन जलेका छन् । गाउँ जनसरकार घोषणा हुन थालेको छ । एनजीओहरू पनि फिर्ता भएका छन् । केही चलेका छन् । पदमपाखाकै मान्छे हेटौँडा आउँदा प्रहरीले दुःख दिन्छ । माओवादीलाई भात खुवाएर पाल्न चौकीमा हामीलाई बस्न दिइनस्, आगो झोसिस् भन्छ । गाउँ र सहरबीच दूरी बढेको छ ।

विद्रोहको लप्का बढ्दै छ । अनेक बहानामा प्रहरी राति गाउँ छिर्छ । बन्दुक पड्काउँछ । अरूका छोरीबुहारी समाउँछ । बलात्कार गर्छ । लोग्ने, छोराहरू समातेर ल्याउँछ । थुन्छ, पिट्छ । फर्केर गाउँ जान्छ । गाउँमा ठिटाहरू आउँछन् । विद्रोहको रगत उमाल्छन् । अनि माओवादी हुन्छन् । अपमान, यातना, पीडा, श्रीमती र छोरीमाथि दुव्र्यवहार । साँच्चै नफेरिएको जुनी, राजनीतिक दलमा फटाहाहरूको जगजगी । परिवर्तन, विकास उनीहरूकै पेवा । हतियार छ माओवादीसँग । फकाउँछन्, सपना देखाउँछन् ।

हो, गाउँमा माओवादी गतिविधि ह्वात्तै बढेको छ । नयाँ मान्छेलाई गाउँ जान गाह्रो छ । गाउँका मान्छेलाई सहर आउन झन् गाह्रो छ । गाउँको स्रोतमाथि शोषक–सामन्तीको कब्जा हट्दै छ । अस्ति राति ठकुरी बडाबाकहाँ नै माओवादी गए । तीनवटा बन्दुक खोसे । धान लुटेर गाउँलेलाई बाँडे । जग्गा बेच्न पाइन्न भनेर झन्डा गाडे । गाउँमा बस्ने भए सामन्त हुन छाड्नु भने । बडाबालाई गाउँले ठाडो शिरले हेर्न सक्दैनथे, तर माओवादी ठिटाहरूको चड्कन खाए । ‘कम्युनिस्टको विरोध गर्छस् बूढा,’ गाउँका सब थरथर । बडाबाकहाँ पनि माओवादी छि-यो ।

मान्छेलाई निकै सकस भएको छ । गाउँबाट सदरमुकाम आउँदा पाँच ठाउँमा हिँड्नुपर्छ । झोला बोकेर आधा घन्टा हिँडाउँछन् । छामछुम पार्छन् । तनाव छ । शङ्का लागेका सोझासाझालाई झन् बढी दुःख छ । उठबस गराउँछन् । पिट्छन् । थुन्छन् । बुढीचौरका प्रकाश भण्डारीलाई ससुरालीबाट फर्कँदा बाटोमै समातेर सेनाले कति दिन बेपत्ता पा¥यो । एमालेका कृष्ण दाहालले चासो नदिएका भए र पत्रकारले समाचार लेखेर जीवन बचाउन अपिल नगरेका भए मारिने थिए सेनाबाट । स्याउलीबाङको बडाबाकहाँ माओवादी पसेपछि बूढा हेटौँडातिर बस्न थाले । उनी गाउँ जान डराइरहेका थिए । मार्छन् होला । बालबच्चा पनि हेटौँडा सार्ने सुरमा थिए । साँच्चै उनलाई माओवादी शत्रु लागेको थियो । सहरमा बसेर सेना र प्रहरीसँग उठबसमै बिताउन थाले दिन । साँझ टिल्ल रक्सी धोक्थे । कोठामा सुत्थे । घर किन्नका लागि पैसा बटुल्दै थिए । गाउँको जग्गा बेच्न माओवादीले रोकेको थियो ।

(उपन्यास “स्याउली सिम्फोनी” को अंश ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in पुस्तक अंश and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *