संस्मरण : राजा ज्ञानेन्द्रसँगको भेट

~एल एन सुवेदी ‘हस्ती’~

मैले ज्ञानेन्द्र शाह राजा हुँदा दुई पटक भेट्ने मौका पाएँ । एक पटक बेलायतबाट आफ्नो उपचार गरी नेपाल फर्कने क्रममा दुबईमा ट्रान्जिट हुदै आएका थिए । दुबईको डेरा स्थित इन्टर कन्टिनेन्टलको होटलको सातौँ तलामा बसेका रहेछन् । नेपाली समाज यूएईका तात्कालिक सभापति चन्द्रप्रसाद सापकोटाले एउटा बिन्ती-पत्र राजाको हातमा चढाएर नेपालीहरूको समस्याको बारेमा जानकारी गराउने भन्दै बिन्ती-पत्र तयार गर्न भन्नुभयो । मैले कागजमा जानी नजानी खेश्रा तयार गरें । वीच वीच प्रसंग मिलाउँदै सरकार ! सरकार ! भन्ने शब्द पनि हालें । जे पी सापकोटाले त्यसलाई शुद्धाशुद्धि गर्दै टाइप गरे । दुई जनाले बिन्ती-पत्रको स्वरुप तयार गर्यौ । राजालाई भेट्न जानेमा केही समाजका गन्यमान्य मानिसहरूको उपस्थिति थियो । त्यति बेला यूएईमा दूताबास थिएन । साउदी अरबले सबै कूटनीतिक सेवाहरू हेर्ने गर्थ्यो । साउदी अरबका कार्यबाहक राजदूत रमेश खनाल आउनु भएको थियो । राजालाई भेट्ने ! अलिक टिपटप बनेर जानु पर्ने कुरा उठ्यो । मसँग औपचारिक पोशाक पनि थिएन, सुट पनि थिएन, नेपालबाट नलिकन आएको थिएँ । तुरुन्तै किन्ने पैसा पनि थिएन । जे त होला जानु पर्यो भनेर कसिएँ । रातो कोठा भएको अलिक ठूलो साइजको सर्ट थियो त्यही लगाएँ र टाई कसें । जे पी जीले उनको बिहेमा सिलाएको सुट रहेछ छोटो लिंडे लिंडे खालको, त्यही लगाए टाई र टोपी सहित ।

घडी हेर्दै समयमा नै होटलमा पुगियो । होटलमा सुरक्षा व्यवस्था निकै कडा थियो । हामीलाई होटलको लबीबाट एक जना भारतीय महिलाले माथि सातौँ तलाको हलमा लिएर गइन् । हामी सबै जना त्यहाँ जम्मा भएपछि सादा बर्दीमा आएका केही सिआईडीहरूले कोठा खान तलासी गरे । एउटा मिसिनबाट हाम्रो शरीर जाँच गरे । हामी सबै गोलो घेरा लागेर उभिएका थियौ । रमेश खनालजी आएर सबैलाई भन्नुभयो, “कसैले पनि महाराजधिराजसँग हात मिलाउने कोशिस नगर्नु होला । सरकारले हात मिलाई बक्सिदैन ।”

ढोकाको छेउमा ईमिरेट्स एयर लाइन्सका सिनियर क्याप्टन पी जे शाह थिए । उनकी श्रीमती अनि राजासँगै पढेका दार्जिलिंगका रोबर्ट विल्डसन (उनी पारसका शिक्षक रहेछन् बुढानिलकण्ठमा पढाउँदा) हुदै अरु थियौं । राजाका एडीसी टिका धमला चन्द्रप्रसाद सापकोटा जीको आफन्त पर्ने हुनाले त्यहाँको सबै काम यता उता मिलाउने सापकोटाजी नै हुनुहुन्थ्यो ।

एक छिन पर्खिएपछि राजा शान्त मुद्रामा क्रिम कलरको कमिज-सुरुवाल, ज्वारीकोट र कालो छालाका जुत्तामा आए । त्यति बेला उनको टाउकामा टोपी थिएन । कपाल पछाडि फर्काएर कोरेका थिए । निधारमा सानो सिन्दुरको टिका थियो । हामी सबै धनुष्टन्कार भएर राजातिर झुक्यौं । सबैभन्दा पहिले चन्द्रप्रसाद सापकोटाले फूलको गुच्छा दिएर स्वागत गर्नुभयो । त्यसपछि पी जे शाहले केही कुरा भने । उनीसँग राजाको व्यक्तिगत चिनाजानी रहेछ । रोबर्ट विल्ड्सनले हात मिलाउदै अंग्रेजीमा भने “How is your health ?, राजाले जवाफ दिए “Now completely feeling well”

एकछिन कुराकानीपछि राजा हामी उभिएतिर अगाडि बढे । सबैले नमस्कार गर्दै आफ्नो नाम र नेपालको ठेगाना बतायौं । मेरा छेउमा एक जना स्याङ्जातिरका साथी हाफ बाउला गरेको सर्ट र कालो भादगाउँले टोपीमा थिए । सायद सूट नलगाउनेमा तिनी र ममात्र थियौं होला । राजा तिनको अगाडि उभिए र सोधे, “यहाँ केमा काम गरिन्छ?”

उनले बताएपछि राजा अगाडि बढे । कसैसँग दोहोरो कुरा गरेनन् । खाली मुन्टो मात्र हल्लाए । पछि चन्द्र सापकोटाजीले हामीले तयार पारेको बिन्तीपत्र दिदै यूएईमा नेपालीहरूको अवसर, चुनौती र समस्याको बारेमा जानकारी गराएर यूएईमा दूताबासको तुरुन्तै व्यवस्था गरी दिन आग्रह गर्नुभयो । राजाले भने – “मैले कुरा बुझें, म मन्त्री परिषदलाई तुरुन्तै निर्देशन दिन्छु ।”

अर्को पटक ज्ञानेन्द्रले शासन हातमा लिएपछि कतारको एउटा सम्मेलनमा भाग लिएर फर्किने क्रममा यूएईको राजधानी अबुधाबीमा आए । शासन सत्ता आफ्नो हातमा लिएपछि समर्थन जुटाउन आएका होलान् । नेपाली दूताबासले यूएईमा भएका नेपाली संघ-संस्था तथा समाज सेवीहरूलाई भेटघाटको लागि औपचारिक रुपमा निमन्त्रणा पठायो । म चन्द्रप्रसाद सापकोटाजी कै गाडीमा दुवईदेखि अबुधाबी गएँ । विश्वकै सुविधा सम्पन्न होटलमा गनिने इमिरेट्स प्यालेस होटलमा राजा बसेका थिए । सामुद्रिक किनारको छेउमा अवस्थित उक्त होटल यति सुन्दर र मनमोहक छ कि साधारण मान्छे त्यहाँ पस्न पनि हिच्किचाउँछ । एक तला मुनि अन्डर ग्राउण्डमा भेटघाट कार्यक्रम राखेको रहेछ । प्राय: हामी सबै समयमा नै पुगेका थियौ । बिदेशी पाउना र कूटनीतिज्ञहरूको ठूलै भिड थियो । धेरै देशका राजदूतहरू त्यहाँ भेला भएका थिए । केही बेरको पर्खाईपछि राजा र रानी वीचमा र अघिपछि सुरक्षाकर्मीहरू लिफ्टको बाटो हुदै आए । त्यति बेला यूएईका लागि का बा राजदूत मधुवनप्रसाद पौडेल हुनुहुन्थ्यो । पौडेलजीले भन्नुभयो, सबै लाईन लागेर बसौ, पहिले बिदेशी पाहुनाहरूसँग भेटघाट गरेपछि हाम्रो पालो आउँछ । तर सरकारसँग हात मिलाउने कोशिस नगरी दिनुहोला भनेर अनुरोध गर्नुभयो ।

राजा बिदेशीहरूसँग बोल्दा पनि निकै तौलिएर मात्र बोल्ने रहेछन् । कति कति बेला म फोटो खिच्ने निहुँ पारेर राजाको छेउछाउ पुगेर हेर्थे । त्यति बेला नेपाली समाज यूएईले एउटा हिम अरब भन्ने मासिक पत्रिका चलाउँथ्यो । म त्यसको कार्यकारी सम्पादक थिएँ, जे पी सापकोटा सम्पादक थिए । मैले पहिले नै चन्द्रप्रसाद सापकोटा जीलाई भनेको थिएँ, “हिम अरबको एक प्रति राजालाई दिएर केही कुरा गर्नुपर्यो ।” वहाँले हुन्छ पत्रिकालाई र्यापिंग गरेर रिबनले बाध्न लगाउनुस्, म समय मिलाउने कोशिस गर्छु । मैले पत्रिकालाई सजाएर उपहार दिन योग्य बनाउन लगाएँ । सापकोटाजीको आफन्त टीका धमला एडीसी भएकोले हामीलाई भेट्न खासै समस्या भएन । राजाले बिदेशी पाहुनाहरूसँग भेटघाट गरुन्जेल मैले तत्कालिन परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेसँग एउटा छोटो अन्तरवार्ता लिएँ । पछि त्यो हिम अरबको अर्को अंकमा छापियो । रमेशनाथ पाण्डे आफैं पत्रकार, त्यसमा पनि नेहरूको अन्तर्वार्ता लिने मान्छे भन्ने सुनेको थिएँ । म निकै असहज महसुस गरी रहेको थिएँ । प्रश्न त सोधौला रे, यदि उनले प्रति प्रश्न गरेमा के गर्ने र क्रस कोइसनहरू गर्न सकिने हो कि होइन भन्ने चिन्ता थियो । तर परदेशमा दुखिजिलो गरी काम चलाउने पत्रकारको समस्या बुझेर हो कि ! उनी आफै सरल मान्छे हुन्, धेरै सजिलो तरिकाले अन्तर्वार्ता लिएँ । त्यहाँ नेपाल टेलिभिजनका समाचार वाचक राजेन्द्रराज तिमिल्सिनादेखिका निकै पत्रकार थिए ।

त्यसपछि हामी लाईनमा बसेका नेपालीहरूसँग राजा र रानीले एक एक गर्दै भेटे । हामीले आफ्नो नाम र ठेगाना बतायौं । हाम्रो भेटघाटपछि टीका धमलाजीले हामीलाई राजासँग भेट्ने समय मिलाए । हामी चन्द्रप्रसाद सापकोटा र म भेट्न गयौं । दौरा सुरुवाल कोट पाल्पाली ढाकाको टोपी, कोटको माथिल्लो गोजीमा रुमाल पनि राखेका रहेछन् । गालाको छेउमा एउटा ठूलो कोठी पनि छ । निधारको वीचमा सानो सिन्दूरको टीका लगाएका, गम्भिर प्रकृतिको स्वभाव, राजाको व्यक्तित्व निकै आकर्षक रहेछ । हामीले शिर झुकाएर नमस्कार गर्दै आ-आफ्नो बारेमा बतायौं । सापकोटाजीले यूएईमा भएका नेपालीहरूका बारेमा र यहाँका नेपालीहरूका संघ-संस्थाका बारेमा बताउनुभयो । मैले हिमअरब पत्रिका राजाको हातमा दिदैँ त्यसको बारेमा बताएँ । राजाले बडो चाख मान्दै सोधे, “यसमा के के कुरा छापिन्छन् ?”

मैले भने “सरकार ! राजनीतिक कुरा र गतिबिधि बाहेक प्राय: सबै छापिन्छन् । शिक्षा, स्वास्थ्य,साहित्य, मनोरन्जन विविध छापिन्छन् ।”

“यसको कस्ट कसरी उठाउने गर्या छ ?”

मैले जवाफ दिएँ, “अलि अलि बिक्रि हुन्छ, केही बिज्ञापन पनि खोज्ने गरेका छौं, नपुगेको हामीले आफ्नै पकेटबाट हाल्ने गरिन्छ ।”

राजा भन्छन्, “गुड थट, राम्रो काम ! नेपाल र नेपालीको शिर ठाडो हुने गरी काम गर्नुपर्छ । भेरी गूड, धेरै राम्रो ! अब नेपाल फर्किनु पर्छ र आफ्नै मुलुकको सेवा काम गर्नुपर्छ ।”

उनी बोल्नु भन्दा बढी टाउको माथि तल गरेर हल्लाउँथे । राजा राष्ट्र र रास्ट्रियताको औधी माया गर्ने रहेछन् । हामीले करिब दश मिनेट जति कुरा गर्यौं । रानी कोमल अझै साधारण रहिछन् । ब्वाइज कट कपाल, निधारमा ठूलो रातो टीका, हातभरी राता चुरा लगाएकी उज्यालो अनुहार, एकदमै साधारण तरिकाले कुरा गर्ने । त्यहाँ भेला भएका नेपाली महिलाहरूसँग खुलेर सरल भाषामा कुरा गरिन् । उनको पनि भनाइ थियो, “अब बिदेशमा धेरै बस्ने होइन है ! नेपाल फर्किनु पर्छ ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *