कविता : मानिस

~सरण राई~

आदर्शको आकाशमुनि
आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा
बिभिन्न स्वार्थका छाताहरू ओढेर
मानिस अथाह मानिसको भेलमा बगिरहेको छ
मानिस अथाह मानिसको मेलामा हराईरहेको छ
रेशमको किराझैँ
मानिस आफ्नै स्वार्थको कोकिनमा कैदी भएको छ |

आदर्श र यथार्थको दुई समानान्तर रेखाहरु बीच
घडीको पेन्डुलमझैँ मानिस
कहिले आदर्शको रेखामा उभिएर सम्भाषण गरिरहेको हुन्छ
कहिले यथार्थको धरातलमा उभिएर
स्वार्थको बिगुल बजाई रहेको हुन्छ
मानिस कति आदर्श र कति यथार्थको समिश्रण हो
मानिस कति प्रकाश र छायाको रङ्गीन चित्र हो
मानिस कति फूल हो
मानिस कति पात हो
मानिस कति काडा हो | अनि
आदर्शको पारसले छुँदा मानिस कति सुन हुन्छ
स्वार्थ-सिध्दिको अग्नि-कुण्डमा पोल्दा
मानिस कति डरलाग्दो फलामे हतियार हुन सक्छ
प्रेमको मायालु रापमा पग्लिएर
हिउँझैँ कति शीतल हुन सक्छ मानिस |

मानिस अनन्त रहस्य
जीवन असीम कौतुक भइदिनाले
भोग्न रहर लाग्दो हुन्छ
जति भोगे पनि जीवनमा
नौलो आस्वादन प्राप्त भइरहेको हुन्छ
जीवन रुचिकर प्रिय हुन्छ
जीवनको पुर्ण स्वाद थाहा पाउन
हजार ययातिको जीवन पनि अपर्याप्त हुन्छ |

सिध्दि, मोक्ष , मुक्ति
मानब मनको दिब्य आकाङ्क्षा
पक्षीझैँ उन्मुक्त आदर्शको आकाशमा
उड्न चाहान्छ मानिस
शान्तिमय शीतल अनन्तमा
विचरण गर्न चाहान्छ मानिस
प्राप्ति, उपलब्धि
सफलताको साङ्गळोले बाँधिएको मानिस
प्रकृतिसँग सिंगौरी खेल्दै
प्रकृतिलाई परास्त गर्ने बिजेताको सपना देख्छ
जति अघि बदन चाहान्छ
भौतिक प्रगतिको प्रतेक लहरसित
उपलब्धिको डुङ्गा चढेको मानिस
आफ्नै अन्तर्मनको किनारादेखी टाढ़ा गईरहेको हुन्छ |

प्रेम, माया, मोह
जीवनको सर्बोच्च स्थिति
मानिस प्रेम सागरमा पौडी खेल्न चाहन्छ
स्वच्छन्द अतुलनीय गहिराइमा डुबेर
जीवन अनुभब गर्न चाहान्छ
बिलाउँदै पानीको थोपाझैँ
उत्कर्ष , समर्पण, बिलयमा जीउन चाहन्छ
त्यागमा सन्तुष्टी छ
प्राप्तिमा सन्तुष्टी छ
कति त्याग र कति प्राप्तिको जोड हो मानिस
कति सुख र कति दु:खको मेल हो मानिस
मानिस कति प्रेम हो
मानिस कति घृणा हो
मानिस कति सङ्घर्ष हो | अनि
मायाले थपथपाउदा मानिस कति मानिस हुन्छ
मोहको जालमा फस्दा
मानिस कति जनावर हुन सक्छ
पेटको रापिलो भट्टीमा परेर
माकुराझैँ कति स्वार्थी हुन सक्छ मानिस |

भोक शाश्वत यथार्थ
तृप्ति मनोहर आवश्यकता भइदिनाले
मानिस कर्मवीर भइरहेको हुन्छ
अतृप्त जिब्रोझैँ पुर्ण तृप्तिको खोजीमा
दिन रात रातदिन भौतारिरहेको हुन्छ
पुर्ण तृप्तिको बिन्दुमा पुग्न
हजार संसारको सम्पति पनि अपर्याप्त हुन्छ |

सत्य , न्याय, शान्ति
उच्च आराध्य सौन्दर्य
ब्रमाण्ड बिजेता बन्न चाहने मानिस
आफ्नै मूल थलो पृथ्बीलाई क्षेप्यास्त्रहरुले भरेर
अन्तरिक्षमा शासन गर्न चाहन्छ
बिनाश , महा विनाशको सृष्टि गरेर
अमर बन्न चाहान्छ मानिस
बारुदमाथि बसेर
आगो खेलाइरहेछ मानिस
मृत्यु थुपारेर जीवनको गीत गाइरहेछ मानिस | अनि
शस्त्र , शक्ति, सन्तुलन
मानिसको प्रतेक ‘अहम्’सित
सृस्टिभन्दा देरै टाढ़ा
लयहीन प्रलयको निमन्त्रणा गरिरहेछ मानिस
प्रलयको प्रतीक्षा गर्नु
बारुदमाथि बसेर आगो खेलाउनु
मतिभ्रम भएको मानिस
आफ्नै भविष्यको सुन्दरताबाट टाढ़ा भइरहेको छ |

आदर्शको झरीमा नरुझ्न
स्वार्थको रङ्गीन छाताहरू ओढेर मानिस
कति समयसम्म स्वार्थको कोकिनमा कैदी भएर बस्न सक्छ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *