व्यङ्ग्य निबन्ध : ‘बन्द मन्त्रालय’ खोल्ने कि ?

~राजकुमार रेग्मी~

 एकजना सनकी मानिस आफ्नो अजंगको कुकुर लिएर बाटोको बीचमा बसिरहेको थियो। एकजना वटुवाले डराउँदै सोधेछ, ‘तपाईको यो कुकुरले टोक्ने त होइन?’ त्यो मानिसले कुकुर च्याप्प समातेछ, मुख तन्काएर हेर्दै भनेछ, ‘यसको मुखमा दाँत छ, कुकुर मेरो हो तर दाँत मेरो होइन। टोक्छ कि टोक्दैन यसैलाई सोध्नु नि !’

साँच्चै, आफ्नो दाँतको पो जिम्मा लिन सकिन्छ, कुकुरको दाँतको जिम्मेवारी कसरी लिनु, होइन त? यस्तैयस्तै खाले कृत्य मोरङमा भएको छ। मोरङमा प्रमुख राजनीतिक दलहरु एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको सहमति अनुसार अब बन्द कार्यक्रममा ‘लोडसेडिङ’ हुनेछ। बन्दको लोड धेरै भयो रे, त्यसैले ‘सेडिङ’ गर्ने रे ! मोरङमा अब बन्द पनि विद्युत लोडसेडिङकै शैलीमा हुने रे !

सहमति अनुसार अब मोरङमा नेपालबन्द, तराई बन्द या जिल्ला बन्दजस्ता कार्यक्रम आठघन्टा मात्र गर्न दिइनेछ, विहान आठदेखि अपरान्ह चार बजेसम्म मात्रै बन्द, त्यसबाहेकको समयमा खुल्ला नै खुल्ला। सहमति गर्ने यी सत्तासीन र अर्धसत्तासीन पार्टीले सीतिमिति बन्द आव्हान गर्दैनन्। बन्द आव्हान गर्ने पार्टी र समूह अरु नै छन्, तीचाहिँ सहमतिमा समेटिएका छैनन्। सत्तासीन ठूला दल र  प्रसनप्रशासन भन्दा कता हो कता बलियो हुन्छ बन्दको आव्हान। ‘फलानो दिन बन्द’ भनी एउटा चिर्कटोमा लेखेर सडकमा फाले पनि बन्द हुन्छ। यस्तो मनोविज्ञान नतोडि ‘बन्द’लाई बन्द गर्न सकिएला र?

मोरङमा दलहरुको सहमतिको मसी नसुक्दै जिल्लाका सम्पूर्ण निजी विद्यालय १५ दिन बन्द घोषणा गरिएको छ। लगातार बन्द घोषणा गरिएकाले १५ दिनका लागि विद्यालय बन्द। कुनैखाले सहमतिले पनि बन्दलाई छेकबार लाउन नसक्ने बुझेरै विद्यालय बन्द गरिएको हुनुपर्छ। अझ अनौठो सहमति के भने जिल्लामा बन्द गर्नपर्दा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने। यसै हो भने अब हरेक जिल्ला प्रशासन कार्यालयको एउटा काम बन्दको अनुमति दिने हुन्छ, बरु बन्दको प्रकोपको बहानामा सिंहदरबारमा एउटा नयाँ ‘बन्द मन्त्रालय’ खोल्ने कि? यसो गरे एकजना नेताले काइदाको रोजगारि पाउछ।

तर, चीलले चल्ला या चितुवाले बाख्रा खाइदिएको तोडमा पनि बन्द आव्हान हुने ठाउँमा प्रशासन या ‘बन्द मन्त्रालय’सँग अनुमति लिएर बन्द आव्हान गर्लान् र? बन्द मन्त्रालयको मन्त्रीपद पाउनुपर्ने माग राख्दै नेपालबन्द आव्हान हुनचाहिँ बेर छैन। संविधान बनाउने बेलामा संविधानसभा वैठक नै लगातार बन्द भएपछि बाँकी कुरा खुल्ला कसरी हुन्छ? संविधानसभामा सहमति गर्ने हो भने यसरी जिल्लाजिल्लामा बन्द कटौतीको प्रयाश गरिरहन पर्दैन, बन्द एकमुष्ट रुपमा बन्द हुनसक्छ। होइन र?

काठमाडौं, नेपाल

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.