कविता : नारायणपुरको पुल

~विमल निभा~Bimal Niva

धन्यवाद
नारायणपुरको पुल
अब म जान्छु
अगाडिको पुलले मलाई बोलाइरहेछ
त्यसभन्दा अगाडिको पुलले पनि
अगाडिको अगाडिको अगाडिको
पुलले पनि
बोलाइरहेछ मलाई

सुन
अनगिन्ती पुलहरु फुसफुसाइरहेका छन्
आउ, आउ, चाँडै आउ
र यो पृथ्वीमा पुलहरु नै हुन्
जसले जीवनलाई
जीवनसँग जोडेका हुन्छन्
तिमीसँग अब भेट हुनु
धेरै गाह्रो छ
धेरै धेरै नै गाह्रो छ नारायणपुरको पुल
तर यदि कुनै मोडमा अनायास
फेरि तिमीसँग भेट भयो भने
मलाई खुसी नै हुनेछ
त्यसबखत म सोधुँला
के हालखबर छ
सबै ठीकठाक त छ नारायणपुरको पुल
कति पानी बगे तिम्रो तलबाट
र कति पाइलाहरु पार भए
तिमी माथिबाट
म हिसाब मागुँला
सङ्घर्षको बाटामा हिँड्दाहिँड्दै
एकाएक भेट भएको
काठको सानो तर बलियो
ओ नारायणपुरको पुल !
यात्रामा अनेकौं पुलहरुसँग भेट हुन्छ
तिमीसँग पनि भयो
धन्यवाद
अब म जान्छु

(२०४०)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *