कविता : जिन्दगी नै समर्पण

~मोहनशरण देवाचार्य~

निश्वार्थ मनमा मेरो , राष्ट्र नै थियो जीवन।
हे बत्सल्यमयी आमा, जिन्दगी छ समर्पण ।।१।।

नेपाली कन अर्काले , उपेक्षा नगरिकन ।
सम्मान पाउँने काम, गरौ नेपाली भै कन ।।२।।

गौरवै गाउँछन आफ्नो, राष्ट्रकै गरि चिन्तन ।
सम्मान पाउँछन आफ्नो, राष्ट्रकै गरी पुजन।।३।।

सर्वस्व जिन्दगी मेरो, मन होस अथवा धन ।
राष्ट्रकै हितमा मुर्दा हुँदा सम्म पनि तन ।।४।।

अयोध्या छोडेर राम, जादाँ लंका तीर जब ।
अयोध्या धाम को माटो, उठाई लिनु भो तब।।५।।

जननी जन्मभूमि हुन स्वर्ग भन्दा पनि ठूली ।
करुणा बर्सियोस आमा मेरा गल्ति सबै भूलीे ।।६।।

राष्ट्रनै जिन्दगी हाम्रो जन्मने मरने भर ।
हुर्कने फर्कने खेल्ने, तपस्या गरने घर ।।७।।

ऋणि छांै जन्मदा हामी पाएर करुणा भरी ।
अन्न पानी दियौ आमा गोर्खाली वीर हौ भनि ।।८।।

विरता नभए सम्म खाएको दोष लाग्दछ ।
देखाई विरता आमा उ ऋणि बन्नु पर्दछ ।।९।।

पौरखी जन्मिए छोरा टिष्टा काङ्गडा लम्किए ।
दुर्भाग्य भन्नु नै पर्छ, खुम्चेर टुक्रने भए ।।१०।।

छोटा राज्य बनाएर भागबण्डा गरे पछि ।
अर्काले खोसेर खान्छ ,साना राज्य भएपछि ।।११।।

जुटेर गर संघर्ष , जुटेर गर शासन ।
लाने छ टुक्रिए तिम्रो, पाएको ठूलो आसन ।।१२।।

फर्कन्छ शत्रुको सेना ठूुलो समरमा पुगी ।
हारी फर्कन्न गोर्खाली, युद्घका माझमा पुगी ।।१३।।

गीताका सारथी कृष्ण, सखा अर्जुनका सरी ।
नेपाली राष्ट्राका वीर, हुनुहुन्न मरे सरी ।।१४।।

झण्डा छ हातमा तिम्रो, खुकुरी स्वभिमानको
देखाउ रणमा सान, गर्जदै राष्ट्र वादको ।।१५।।

जहाँ भए पनि आमा, नेपाली मुटुमा तिमी
बालसन्त भनी स्नेह, पाउँला जहाँ गए पनि ।।१६।।

– जगद् गुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *