कविता : छोरी निहारिकासँग

~चक्रब्यूह क्षेत्री सुवेदी~

छोरी †
देश कहिलेकाँही शिशाको घरजस्तो हुँदोरहेछ
जसले ढुंगा हाने पनि चर्किने
देशको शिरमाथि
एउटा लाटोकोसेरोजस्तो लाटो अँध्यारो
जहिले पनि घोप्टिरहने ।

निहारिका †
देश बनाउन
पहिले मन बनाउनुपर्छ
राष्ट् बाँच्न
पहिले विश्वास बाँच्नुपर्छ
युद्धको धुँवामा कहाँ देश हुन्छ ?
त्यहाँ कुरुक्षेत्र हुन्छ
बारुदको अँध्यारोमा
शिखण्डीहरु सगौरब उभिन्छन्
भिष्मपितामहहरु नतमस्तक
शकुनिहरु बोलिरहन्छन्
विदूरहरु नाजवाफ
अँध्यारोमा अंगुलीमालहरु निर्धक्क हाँस्छन्
बुद्धहरु चुपचाप †

छोरी †
फेरि अँध्यारो हुनुहुँदैन देशमा
अँध्यारोमा दुर्योधनहरु दाइँ गर्छन्
शकुनीहरु रजाइँ
दुःशासनहरु शासन गर्छन्
फेरि युद्ध हुनुहुँदैन देशमा
युद्धले जित्दा त बुद्ध मर्छ
झण्डाहरु डढ्न थाले भने
मुटुले बनेको माटो पनि गल्छ ।

निहारिका †
मानवतालाई पूजेपछि
पूज्न बाँकी कुनै देवता हुँदैन
स्वतन्त्रतालाई भाकेपछि
भाक्न बाँकी कुनै भाकल हुँदैन
देशलाई ढोगेपछि
ढोग्न बाँकी कुनै देवल हुँदैन
एउटा युद्ध खूदै युद्धकाविरुद्ध लडेपछि
लड्न बाँकी कुनै युद्ध हुँदैन ।

(नेपाल प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव २०७० मा प्रथम भएको कविता)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *