कथा : यो कथाको अन्त्य छैन !

~रजित ओझा~Rajit Ojha

फेरि मेरो ढाडले दुख दिन थालेको छ । मैले मेरि सुधालाई सुनाउन सक्दिन मेरो ढाड दुखाइको बारेमा । किन आइमाई मान्छे साना साना कुराहरुलाई ठुलो इस्यु बनाउँछन् खोई ! उसलाई नभनेकै ठिक छ मलाई रोग भन्दा उसको चाकर देखी डर लाग्छ ।

दुध दुहुँदा दुहुँदै कहिले काहिँ बाल्टी नै हुइँक्याइदिउँ जस्तो लाग्छ ।त्यति नै खेर हो ढाड दुख्ने ज्यादा !

“आ गाई बेचीदिउँ !” मैले भान्छा मा चियाको लागि पानी तताउँदै गरेकी सुधालाई हेर्दै प्रस्ताव राखेँ ।उसले मेरो हातबाट बाल्टिन लिने बेलामा पुलुक्क हेरी ।

“तँपाइले नभने पनि मलाइ थाहा छ ,मैले त अस्ति बेचौँ भनेको ! आखिर के कमी छ र अब ? ” उसले मैले नबोलिकननै मेरो ढाडको रोग पत्ता लगाई ।

हो हुन पनि , के कमी छ र अब छोरा पढुन्जेल गाई पाल्दा साइड जब भएको थियो टिचिंग बाहेकको जसले हाम्रो घरलाई सघाउने भएको थीयो । अहिले त किन नै पो चाहियो र गाई ?

उ चिया लिएर बाहिरको बरण्डा मा निस्की , म उसको पछि पछि लागेँ । आज घाम चर्केला जस्तो छ । धान सुकाइदिनु पर्ने छ मिल को चट्टालमा लगेर ! बाटो पानी नपरेर धुलै धुलो भएको छ । अम्बक का बोट मा गिठ्ठा अम्बक झुण्डिन थालेछन् । कान्छो छोरालाई सम्झेँ अम्बक खुबै मन पराउँथ्यो ।

“ आज सपना नराम्रो देखेँ , कान्छा लाई फोन गरेको लागेन !”

सुधाले गुनासो पोखी ।त्यहि भएर रहेछ उसको उज्यालो अनुहार मलिन् । बिहा गरेको बेला थोरै काली छे भनेर धेरैले भने तर आज छब्बिस बर्ष पछि पनि मलाई उ उस्तै उज्याली उस्तै फरासिली लाग्छे ।

“अब सँधै त कहाँ बाट गर्न सक्छ त विदेशबाट तिमी पनि !”

फेरि उसको गुनासो ,हामी एक अर्काको गुनासो पेटीका भएका छौँ , म उसको गुनासो बोकिदिन्छु उ मेरो गुनासो बोकिदिन्छे ।फरक यति छ उ गुनासो लाई दोहोर्याइ तेहेर्याई कन भनिरहन्छे , म भन्दिन तै पनि उ बोक्छे । उसले मेरो मौनता बुझेकी छे ।

“हैन नी , आज त छुट्टिको दिन सँधै गर्थ्यो ,फेरि तिन दिन पनि त भयो !”

“आउला नि त !” म माया देखाउन चाहन्न ,फेरि सुधा जिस्क्याइहाल्छे तँपाइलाई पनि त खरो भइहाल्ने रैछ नी खाली मलाई मात्र भन्नुहुन्छ भनेर !

“एक चोटी तँपाइले ट्राई गर्नु न लागिहाल्छ कि !”

मैले कल गर्ने लाइसेन्स पाएँ अब म जति पनि ट्राइ गर्न सक्छु लगाएरै छोड्नेछु ।

फोन लागिरहेको रहेनछ ,यो नेटवर्क मलाई रिस पनि उठ्छ ,बिचरा कान्छो पनि त ट्राइ गरिरहेको होला !उसलाई पनि त थाहा छ उसकी आमाको वानी !

“ कि जेठो लाई फोन गरेर चित्त बुझाउँछ्यौ त !” मैले उसलाई जिस्क्याएँ । हिजो जेठोले मसँग गफ नगरिकन फोन राखेको थियो !

“छ्या हिजो राति गरेको हैन !”

“तिमीले यसपाली आउँदा सुन्तला लिएर आइज भन्यौ त ! भनेनौ भने त ल्याउँदैन त्यसले ।”

“आँफै फोन गरेर भने भइहाल्यो नि खाली मलाई अराउनुहुन्छ !” उसले साग पखालेको पानी मा आफ्नो हात भिजाउँदै भनी ! उसको हातको घडी पुरानो भएको छ ,अर्को ताली बजार गएको बेला उसले थाहा नपाई घडी ल्याइदिनुपर्ला !

“खाली आमा खोज्छन् केटाहरु !

फोन को घण्टी बज्यो ,सुधा जुरुक्क उठी ।थोरै उज्यालो फर्कियो , म पछि पछि लागेँ उसको । कान्छोको फोन हैन रहेछ म बाहिर निस्केर आफ्नो मेमोरिकार्डका गितहरु सुन्न थालेँ ! बरण्डाको खाटमा गर्मिमा घाम आएर बस्न गाह्रो हुन्छ । भित्र गएर कुर्सि झिकेँ । अम्बकको छायाँ मा राखेँ !

“गोपाल बाजेको पो रैछ ,आफू त कान्छोको होला भनेर उठेको !” उसको अनुहारको उज्यालो हराएको थियो । म पनि त विवश नै थिएँ नी फोन लागिराखेकै थिएन ।

“टाढा पठाएपछि त्यस्तै हो !” उसको अनुहारमा रिस नदेखेको धेरै भएको छ तर उ रिसाउँदा पनि राम्री लाग्छे ,मेरै आफ्नि लाग्छे ।

“मैले पठाएको हो ?” उ थोरै झर्किई !

“आजको चिया साह्रै मिठो थियो !” मैले कुरा मोडे

“पर्दैन खान फेरि ,त्यसै त ग्याष्ट्रिक ले खाना नरुच्ने भइसकेको छ !” उ झर्किए जस्तो गरी मलाई थाहा छ उ किचन भित्र छिरेर बनाएर लिएर आउनेछे अब चिया !

“तिमीले बनाएको खाना मलाई नरुचेको छ र कहिल्यै !” उसलाई किचन भित्र छिराउन यी शब्द पर्याप्त थिए ! बाटोमा मेरै बिध्यार्थी गन्जी र हाफ पाइन्ट मा साइकलको ट्युब गुडाउँदै थियो ।

“सुवाष अम्बक खान्छस् ?” मैले बोलाएँ ।उ लुरुलुरु आयो मलाई नमस्ते गर्यो मैले गिठ्ठो अम्बक टिपेर दिएँ । मेरो कान्छोलाई पनि पाकेको अम्बक मन पर्दैन !

सुधा चिया लिएर आई ।

“फोन लागेन है !”

मैले टाउको हल्लाएँ !

“ट्राइ नै गर्नु भएको छैन की के हो ?”

“तिमीलाई माया लाग्छ नि छोरा छोरीको !” म पनि झर्किए जस्तो गरेँ !

“मैले त्यहि नै त है भनेको ,अहिले को चिया चाहिँ कस्तो छ नी !” उसलाई थाहा रहेछ मैले अघि चियाको नाममा कुरा मोडेको थिएँ भनेर !

“आज खाना चाँडै खानुपर्ने ,छुट्टिको दिन !”

“परेको छैन है तास खेल्न जान !” उ कसरी मैले पुर्ण नगरेका वाक्यहरु बुझ्छे ,मेरा शब्दभित्रका अर्थहरु बुझ्छे !

“दाजुले अघि फोन गरीसक्नुभयो !” मैले दोष दाइलाई देखाइदिएँ , दाजुले पनि मैले बोलाएको भन्नु भएको होला घरमा पक्कै पनि !

“कस्तो माया नलागेको छोरोको ,फोन गरेको छैन तँपाइलाई पनि !” उसले मलाई सँधै इमोसनल ब्ल्याकमेल गर्न खोज्छे । छुट्टिको दिन घरमा एक्लै बस्न उसलाई पनि मन छैन तर उ भन्न पनि त सक्दिन !

फेरी फोनको घण्टि बज्यो

“कान्छा के छ तेरो खबर।।।हेर न हिजो सपना कस्तो कस्तो देखेँ ।।।।।।।।।।।।“ उसको अनुहारको मलाई सबैभन्दा मन पर्ने उज्यालो फर्कियो । म फोनको छेउ तिर लम्किए उसले धेरै बेर गफ
गरेपछि मलाई पनि एकछिन गफ गर्न दिनेछे भनेर ! आज ढुंगानाको तास खेल्न पनि जान पाइने भो !!!!!!!!!!!!

यो कथा यति नै ,शायद यस्ता कथाहरुको अन्त्य हुन्न !

11-14-09 12:46 AM

(स्रोत : साझा डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *