कथा : बिहान हुनु अघि

~कुमार काफ्ले~kumar-kafle

आफूले हृदयदेखि नै मन पराएको युवकसँग बिहे गर्न पाउने थोरै भाग्यमानीमध्ये पर्थिन् शारदा।हुन पनि उनको रोजाईमा परेको सागर खाईलाग्दो,लोभलाग्दो,मिजासिलो र उनको हरेक भावना बुझ्ने खालको थियो।दुवैजना शिक्षित थिए।एकअर्कालाई पाएकामा दुवै खुशीले आल्हादित हुदैं भावी जीवनका मीठामीठा सपना बुन्थें,रमाउँथें र त्यसैमा हराउँथें।शारदा सागरमै विलीन हुन खोज्थिन् भने सागर पनि शारदाम‌ै आफ्नो सार्थकता खोज्थ्यो।

रमाइलोसँग समय बित्दै गयो।योजना मुताविक उनीहरू पहिलो सन्तानलाई जन्म दिने तयारीमा थिए।शारदाप्रतिको माया अझ बढाएको थियो सागरले।छिनछिनमा मेरी शारूलाई कस्तो छ भनेर सोधिरहन्थ्यो।कुनै गाह्रो काम गर्न दिदैनथ्यो।फुर्सद पाउनासाथ शारदाको पेटमा कान थापेर आफ्नो भावी सन्ततिको चाल सुन्थ्यो,कुरा गर्थ्यो।शारदा पनि सबै दु:ख बिर्सेर मुस्कुराउँथिन्।मलाई सधैं यस्तै ख्याल गर्नु है मेरो राजा भनेर खुशी थाम्न नसकी आँखाबाट झारिदिन्थिन्।

उनीहरूको घरमा नयाँ मान्छेको आगमन भयो।आमाको गर्भबाटभर्खरै धरतीमा झरेकी तिनी अत्यन्तै मायालु र कोमल देखिन्थिन्।सबै खुशी नै देखिन्थे तर सासूआमाले चाँहि बेलाबेलामा प्याच्च भनिहाल्थिन् “यी अर्काको घर पोत्ने जात जस्ता भएनि के गर्नु?”
आमाको भनाइलाई शारदा बाहेक कसैले गम्भीर रुपले लिदैंनथे।शारदाको मन भने कटक्क खान्थ्यो तैपनि चुपचाप रहन्थिन्।अरुले जे सोचेपनि मेरो सागरले पक्कै त्यस्तो सोच्दैन भनेर चित्त बुझाउँथिन् र मौन बस्थिन्।नत्र त भन्न मन लागेको थियोे “आमा तपाईं आफै छोरी भएर के यस्तो कुरा गर्नुभएको?छोरा र छोरी पाउँदा के व्यथा छुट्टै लाग्छ र?”तर सम्हालिएर बस्थिन्।

छोरी यति मायालु र हेरिरहुँ लाग्ने थिईन् कि तिनैसँग खेलेर,बोलेर शारदा दिनरात बिताईदिन्थिन्।सागर पनि बेलाबेलामा आउँथ्यो र आमाछोरीसँग जिस्कन्थ्यो।तथापि सागरले छोरी जन्मेपछि शारदाले आफूलाई कम वास्ता गरेको आभास गरिरहेको थियोे।जतिबेला हेर्दा पनि छोरीसँगै हुन्छिन्, कहिले काखमा राख्थिन् कहिले मुसार्थिन्,मालिस गरिदिन्थिन् भने धेरैजसो त बोली नफुटेकी छोरीसँग घण्टौं कुरा गर्थिन्।निधारमा,गालामा चुम्बा गर्थिन्।सागरसँग पनि छोरीकै बखान गर्थिन्,हाँसो र रुवाईको कुरा गर्थिन्।

छोरी तीन वर्ष लागिन्।सागर शारदालाई अर्को सन्तानको लागि आग्रह गर्न थाल्यो।प्रत्येक रात कचकच हुन थाल्यो।शारदा भन्थिन् “हामीलाई यही एउटी छोरी भए पुगिहाल्यो नि सागर! धेरै जन्माएर के गर्नु? उचित शिक्षा दीक्षा नि दिनै परिहाल्यो!यसैलाई हुर्काउन त कति गाह्रो भईराखेको छ।”

“जे भए नि एउटा छोरो त चाहिन्छ नि शारदा!तिमीले त्यो के खाईरहेकी छ्यौ आजैदेखि खान छोडिदेऊ ल?”

यस्तो धेरै दिन,धेरै हप्ता चल्यो।

सागरको मन राख्नकै लागि भए पनि उनले अौषधी खान छोड्ने विचार गरिन्।फेरि यो छोरीलाई साथी पनि हुन्छ भनेर चित्त बुझाईन्।
त्यसपछि शारदाले अौषधी खान छोडिदिईन्।
तर उनको मनमा सागरले भनेको एउटा छोरो त चाहिन्छ नि भनेको सम्झेर छटपटाउन थालिन्।अब हुने सन्तान पनि छोरै हुन्छ भन्ने के ग्यारेन्टी छ र!आफूलाई मन लागेको चीज बनाएर थपक्क राख्ने कुरा होइन यो सन्तान भन्ने कुरा!आस्तिकहरूले ईश्वरको वरदान ठानेर स्वीकार्नु पर्ने र नास्तिकहरूले छोराछोरी कसरी जन्मन्छन् भनेर यसको वैज्ञानिक कारण बुझ्नुपर्ने!शारदाको मनमा यस्तै अनेक कुराहरू मडारिन थाले।

सागर यता सुन्नु त!
अँ भन सुनिरा’छु।
अब हामीले जन्माउने सन्तान पनि छोरी नै भईन् भने के गर्ने भन्नू त?

शारदा अर्को बच्चा जन्माउन राजी भएको बुझेर उसले खुशी हुदैं भन्यो-

तिमी त्यसको चिन्ता नगर न शारदा!छोरी नै भए पनि ठीकै छ,अनि अहिले त अनेक प्रविधि आएका छन् नि छोराछोरी चिन्ने!

हजुरले के भन्न खोज्नुभएको?के छोरी रहिछे भनेचाँहि नजन्माउने हो?

ह्या छोड्देउ न यस्ता कुरा अहिले!

पछि फेरि किचकिच गर्न पाउनु हुन्न नि!

तीन महिनापछि दुवैजना स्वास्थ्य संस्थामा गए।परीक्षण गराए।आमाबच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो देखियो।सागरले स्वास्थ्यकर्मीसँग भ्रुण पहिचानबारे जिज्ञासा राख्यो तर उसले त्यो यहाँ संभव नहुने र आवश्यकता पनि नभएको कुरा संझायो।भ्रुण पहिचान गर्नैपर्ने भए ठूला अस्पतालमा जान भन्यो।

घर फर्कदाँ बाटामा सागर शारदालाई एकदुई दिनमा शहर जानुपर्छ भनेर कहर गर्न लाग्यो।शारदाले सागरको अन्तरमनको भावना बुझिसकेकी थिईन्।
छोरा भए नि छोरी भए नि के गर्नु भन्नु त? चिनेर केही फाइदा छैन बुझ्नु भो?शारदा उसलाई सम्झाउदैं भन्थिन्।

हैन जे भए नि सन्तोष हुन्छ नि!मेरो पनि कुरा बुझ्ने प्रयास गर न!

सन्तोष रे!मैले तपाईंको कुरा बुझिसकेको छु।यदि छोरा भए त तपाईंलाई सन्तोष होला रे!छोरी रहिछन् भने के गर्नुहुन्छ?भन्नुहोस् त मलाई।

सागर अनकनायो।

जिन्दगी नै एक अर्कामा समर्पण गर्ने भनेर बन्धनमा बाँधिएकाले त्यति शहर नगएर उसको मन किन दुखाउनु भन्ने सम्झेर शारदा सागरसँग शहर गईन्।नाम चलेको महङ्गो अस्पतालमा परीक्षण गरायो उसले।तर नतिजा सागरले चाहेजस्तो आएन।उसको अनुहार हेर्दै प्रष्ट हुन्थ्यो खुशी नभएको कुरा।निराश भएर शारदाको छेउमा आएर बस्यो।
शारदा तिमीले ठीकै भनेकी रहिछ्यौ!हामीलाई त्यही एउटी छोरी भए पुग्छ,अब अरु नजन्माअौं।राम्रो हस्पिटलमा आईपुगेका छौं एबोर्सन गरेर जाअौं है?
के भन्नुभएको रे?फेरि भन्नुहोस् त एकपटक!तपाईंले नै मरिहत्ते गर्नुभएको हैन?अहिले आएर के भयो हँ?मेरो पेटमा छोरी छ हैन त?तपाईंलाई यही मन परेन,मलाई सब थाहा छ तपाईं के चाहनुहुन्छ भन्ने कुरा!
शारदा कुरा बुझ न!
मैले सब बुझिसकें।पहिला कहर गरेर खाईरहेको अौषधी छोड्न लगाउनुभयो।मैले मानें।सब मान्दामान्दै पनि के मा चित्त बुझेन फेरि!छोरा चाहियो हैन तपाईंलाई?अब यसमा तपाईंको भन्दा मेरो अधिकार बढी छ।म जसरी पनि यसलाई जन्म दिएरै छाड्छु।
यो संसारमा हाम्रो भन्दा बढी आवश्यकता अब जन्मनेहरूको छ।तपाईं हामी त अब डेट एक्सपायर हुन आँटिसक्यौं।यो विश्व उनीहरूकै हो अनि यो आकाश यो धरतीमात्र होइन मंगलादि ग्रहहरूमा समेत अब जन्मिनेहरूको वर्चस्व हुनेछ।

त्यसोभए हाम्रो अस्तित्व त के रह्यो र शारदा?
यहाँ पनि सकरात्मक सोच भएकाहरूको त काम छ नि तर बाहिरबाट हेर्दा राम्रो देखिने कुरा भित्रैसम्म राम्रो नहुदोंरैछ।टाढा किन जानू!यहीँ हेर्नुस् न यस्तो पढेलेखेको,ज्ञानी,विवेकशील श्रीमान पाएँ भनेर मक्ख परेकी म छोरा र छोरीमा विभेद गर्ने,आफ्नै रगतलाई भेदभाव गर्ने शिक्षितको खोल ओढेको तर कठैबरा!भन्नुपर्ने व्यवहार भएको लोग्ने पाएछु।तपाईं मात्रै होइन शिक्षित वुद्धिजीवि भनाउँदाहरूको खोक्रो आडम्बर र देखावटी आवरण नच्यातेसम्म समान अस्तित्व र समानुभूति कसरी कायम हुन्छ र!

अनि अहिलेको विज्ञान प्रविधिको युगमा समेत माकुराले झैँ स्याउँस्याउँती बच्चा जन्माउने हो त शारदा!यस्तै बेला काम लाग्छ भनेरै त ती प्रविधिहरू विकास गरिएका हुन् नि हैन र?
अँ, एउटा कुरा भन्नुहोस् त श्रीमान् महोदय,यदि मेरो पेटमा छोरो भईदिएको भए तपाईंले यो एबोर्सनको कुरा ल्याउनु हुदों हो? गहिरिएर सोच्नुस् त!अहँ ल्याउनुहुदैनथ्यो।तपाईं जेसुकै भन्नुहोस्,तपाईंका बाआमाले जे भनून्,जति नै हेला गरून्, सारा संसार एकातिर लागोस् तर म मेरो पेटको छोरीलाई जन्म दिएरै छाड्छु।

शारदा नमानेपछि एबोर्सन नगरी उनीहरू घर फर्के।

राती खाना खाएर सुतेपछि सागर फेरि एकपटक शारदालाई सम्झाउने कोशिस गर्दै थियो।

शारदा!

भो अब धेरै बोल्नु पर्दैन सागर।मलाई थाहा भईसक्यो कि अब मेरा अगाडिका दिनहरू सजिला छैनन्।पहिलेदेखि नै हेलाहोचो गर्ने सासूससुराका बचनवाण अझ कडा हुनेछन्,कामको चाप अझ बढाईनेछ।दु:खसुखमा साथ दिन्छु भन्ने श्रीमान् पनि नजानिदों पाराले विस्तारै टाढाटाढा हुनेछ।जस्तोसुकै दु:ख पीडा सहेर भएपनि मैले यो समाजलाई देखाउनुछ, छोरी छोराभन्दा कुनै कुरामा कुनै हालतमा पछाडि छैनन् भनेर। त्यति मात्रै हैन आईन्सटाईन र न्युटनहरूलाई माथ गर्न सक्ने छोरी बनाउनु छ।
हो मलाई यो पनि थाहा छ,जन्माउन भन्दा उचित शिक्षादीक्षा दिन र संसार बुझ्ने बनाउन झन कठिन छ तर अहिले बिहान हुनुअघि अँध्यारो र उज्यालोबीच लडाइँ भइरहेको छ।म उज्यालोको पक्षमा युद्धमैदानमा छु।मलाई विश्वास छ, केही क्षणमा कालो रातलाई परास्त गरेर बिहान हुनेछ, घाम झुल्किने छ।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *