निबन्ध : प्लास्टरको पीडा

~निर्मोही व्यास~Nirmohi Vyas

तन ठीक नभए मन पनि ठीक हुँदो रहेनछ र मन ठीक नभए तन पनि ठीक हुँदो रहेनछ, अनि तन र मन दुबै ठीक नभएपछि त झन् अरू केही पनि ठ्याम्मै ठीक हुँदोरहेनछ । अहिले आजका मितिमा म त्यही दशा भोगिरहेको छु । साँच्चै शारीरिक दुर्दशाले उब्जाएको मानसिक दुर्दशा अनि यी दुबै दुर्दशाले संयुक्तरूपमा जन्माएका यावत दुर्दशै दुर्दशा तर जे-जस्तो र जतिसुकै दुर्दशा आइलागे पनि जीवन त आखिर बाँच्नै पर्दोरहेछ, रोएर होस्, हाँसेर होस् वा रुञ्चेहाँसो नै हाँसेर किन नहोस् । मन त भुलाउनै पर्दोरहेछ बाँच्नलाई, चाहे जतिसुकै रेक्टर स्केलको भुइँचालोलाई छातीभित्र दबाएर भए पनि र जतिसुकै विकराल ज्वालामुखीलाई मुटुभित्र पचाएर भए पनि । त्यसैले आज अहिले यतिबेला म त्यस्तै भुइँचालो र ज्वालामुखीलाई दबाउने-पचाउने सक्दो प्रयासमा लागेको छु, आफ्नो मनको सदाबहार साथी कलमलाई फकाएर ।

अँ, भवितव्यवश जीवनमा अहिले चौथोपटक घाइते भएर ओछ्यानमा पल्टेको छु म । ‘ओछ्यान परेको छु’ चाहिँ भनी हाल्न अलि मिल्दैन, वैशाखीको सहाराले शयनकक्षदेखि शौचालयसम्मको १०/१२ पाइलाको यात्रा गर्न सक्छु, गर्दैछु ।

हिजो दिउँसो आफ्नो कार्यस्थल अनुसन्धान महाशाखा त्रि.वि.केन्द्रीय कार्यालय, कीर्तिपुरबाट बासस्थान चाबेल सरस्वतीनगरतर्फ र्फकने क्रममा मर्मान्तक रोगले थङ्थङएिका बयोवृद्ध ससुरा बालाई हेर्ने-भेट्ने अभिलाषाले उहाँको निवासस्थलमा जानका लागि बल्खुचोकमा कान्तिपुर यातायातको बस चढेर बसुन्धराचोकमा ओर्लंदा धर्तीमा पहिलो पाइलो टेक्नासाथ टेकिएको त्यो देब्रेगोडा गोलीगाँठोनेर क्याराक्क भएर भाँच्चिई मरणान्त पीडा झेल्न पुगेँ म बसुन्धरा (धर्ती) मातालाई मेरो पाउस्पर्श क्षम्य भएन भनन्न रिङ्गटा चल्यो, मुख, ओठ, तालु सुके । आँखामा पूरै अन्धकार छायो । वाक्वाकी लाग्यो । मुहारदेखि लिएर सर्वाङ्गमा चिट्चिट् पसिना आयो खुट्टा सुन्निएर जुत्तामा नअटाउने भयो र सरदरमा म मूर्दातुल्य भएँ छिनको छिनमै । ‘के भयो ? के भयो ?’ भन्दै कन्डक्टर भाइले च्याप्प समाए मलाई । केही छिन भीड लाग्यो मेरो वरिपरि र केही बेरमै छाँटियो भीड । मलाई बल्खुदेखि त्यहाँसम्म ल्याउने बस आफ्नो गन्तव्यतर्फ लम्कियो अरू यात्रीहरूलाई ओराल्दै र चढाउँदै । त्यसपछि त्यहाँ संज्ञा शून्य अवस्थामा एक्लै मिल्किएको र शारीरिक एवं मानसिक बल ध्वस्त भएको म केही छिनमा आफैँ बौरिएर व्यस्त ट्राफिक भएको अतिव्यस्त चक्रपथलाई अर्धबेहोसी अवस्थामा कुनै तरहले नाघी धङ्धङदिै ससुराली निवासमा पुगेँ सिकिस्त बिरामीलाई हेर्न हिँडेको मान्छे त्यसरी अप्रत्याशितरूपले आफैं सिकिस्त बिरामी भएर ।

त्यो ठाउँ त्रि.वि.शिक्षण अस्पतालको नजिकै भए पनि मेरो उपचार तत्कालै सम्भव भएन । त्यहाँ ससुरालीतर्फका अनेक आफन्तजन बुवालाई हेर्न आउनुभएको थियो । असाध्य रोगका कारणले हलचलहीन हुनुका साथै वाणहीन र लिपिहीनसमेत भइसकेका बुबा बर्बरी आँसु झार्दै भक्कानिँदै र घुँक्किँदै विदीर्ण अनुहार लिएर परिवारजन र आफन्तजनलाई टुलटुल हेर्दै हुनुहुन्थ्यो । रोगशय्यामा लम्पसार परेर । उहाँको अवस्था दारुण र करुण थियो अनि पीडा अबयक्त थियो । यस प्रकार त्यहाँको वातावरण नै आफैं हृदयविदारक थियो अनि त्यस्तोमा दुर्दान्त पीडाको कालो छायाँले फुङ्ग उडेको निर्जीवतुल्य अनुहार लिएर म त्यहाँ पुगेको थिए । जेका लागि जान खोजेको थिएँ त्यसका विपरीत आफैं के के भएर तर त्यति हुँदाहुँदै पनि त्यहाँ मैले सासूआमा र साहिंली साली शीला ढुङ्गानाको व्यग्रतापूर्ण तत्परतामा घरेलु प्राथमिक उपचार पाएँ ।

त्यसपछि झन्झन् घनीभूत हुँदै गएको पीडाको सघन उपचारको प्रक्रिया थाल्न आतुरिँदै अर्को उपायका अभावमा रेन्बो इन्टरनेसनल कलेज, डल्लु-स्वयम्भूमा पढाउँदै गरेका युवा साहित्यकार स्नेही भाइ अमर त्यागीलाई फोनमार्फत आफ्नो अवस्था बताउँदै बोलाएँ । उनी पनि पढाइरहेको कक्षा त्यतिकै स्थगन गरी हुरी भएर हुर्रिंदै बसुन्धरा आइपुगे । अनि शीलाले खर्चको जोहो गरिदिनुका साथै आफ्नो मोटरकारमा अमरभाइका साथ मलाई त्रि.वि.शिक्षण अस्पताल, महाराजगञ्जमा पुर्‍याउने व्यवस्था मिलाइ दिइन् र उपचारका लागि त्यहाँको आकस्मिक कक्षमा भर्ती भए । तीन वटा एक्सरे गरेर त्यसको रिपोर्टअनुसार बेलुका ७ बजे मेरो गोडामा औंलाको फेददेखि लिएर घुँडाको कापसम्म प्लास्टर गर्‍यो । चिकित्सकको टोलीले आठ साता जति पछि काटिने गरी । त्यसपछि काठमाडौँमै अति विशिष्ट र अतिव्यस्त जागिरमा रहेका साहिँला साढुभाइ गेहनाथ ढुङ्गानाजीका साथै जागिरबाटै र्फकंदै गरेका कान्छी साली उर्मिला पोखरेल र साला विमल पोखरेल अनि अमर भाइसमेतको संयुक्त सहयोगमा उही गाडीमा राति साढे ८ बजे सरस्वतीनगरस्थित आफ्नो बासस्थलमा ल्याइएँ म । यो थियो मेरो घाइतेपनको पृष्ठभूमि र हिजोको त्यो अलच्छिना मिति थियो २०६६ साल माघ १२ गते मङ्गलबार ।

आफ्नो घाइते अवस्थाले त मलाई पिरोल्नुसम्म पिरोलेको छ, छ तर त्यसभन्दा कता हो कता बढी मलाई औंलाको फेददेखि घुँडाको कापसम्मको कठोर प्लास्टरले पिरोलेको छ । बन्धनका नाउँमा ‘ब’ सम्मलाई पनि ठ्याम्मै नरुचाउने पूर्णतया निर्बन्ध स्वभाव र रुचिको मान्छे हुँ । म फगत एउटा स्नेह र सद्भावको बन्धन अनि विवेक, कर्तव्य, नैतिकता र अनुशासनको बन्धनबाहेक । त्यसैले कट्टर सनातनी ब्राहृमणको वंशज मैले साढे ६ वर्षको उमेरदेखि लगाउँदै आएको जनैलाई उहिल्यै बिदा दिसकेको छु । आफ्नो धर्म र संस्कृतिप्रति अगाध श्रद्धा र स्नेह हुँदाहुँदै पनि । जनैपूणिर्माका दिन पुरेतले नाडीमा बाँधिदिने र गाईतिहारका दिन फुकालेर गाईको पुच्छरमा बाँधिदिनुपर्ने परम्परा, संस्कृति, संस्कार र मान्यतामा हुर्के-बढेर पनि मैले नाडीमा रक्षाबन्धन बाँधिदिएर पुरेत घरबाट बिदा हुने वित्तिकै मेरै रक्षाका निम्ति बाँधिएको त्यस रक्षाबन्धनलाई आफ्नो नाडीबाट सरक्क खोलेर वा छिनालेर, काटेर फालिदिने गरेको छु र त्यसो गर्न थालेको पनि हालसालै आएर नभई किशोर कालदेखि नै पो हो त । अनि उस्तैगरी सानैदेखि घाँटीमा लगाइँदै आएको अनेकथरी जन्तरलाई पनि । भावना र उद्देश्य पवित्र हो भन्न राम्ररी बुझ्दाबुझ्दै, जान्दाजान्दै पनि र आफ्नो संस्कार र संस्कृतिलाई चौपट्टै माया गर्दागर्दै पनि । ‘किन त ?’ भन्दा उही बन्धनको पीडाले रन्थनिएर । प्रतीक मात्र भए पनि आखिर त्यो बन्धनकै प्रतीक त हो । जनै, जन्तर र रक्षाबन्धन मात्र किन र ? मलाई सुनका औँठी, सिक्री, ब्रासलेटले पनि उत्तिकै पीडा दिन्छन् । त्यसैले मैले तिनको प्रयोग आजसम्म गरेकै छैन । आफ्नो ससुराली र छोराको ससुरालीका तर्फबाटसमेत मलाई विवाहका अबसरमा श्रद्धाका साथ सगुनका रूपमा अर्पण गरिएका त्यस्ता सुवर्णका बहुमूल्य आभूषण पनि मेरा निम्ति सम्पूर्णतः त्याज्य रहँदै आएका छन् । मेरै स्वयम्बरको औँठीसम्म पनि । आफूलाई अर्पण गरिएका त्यस्ता अकबरी वा २४ क्यारेट भनिने नम्बरी सुनका आभूषण मैले परिवारका सदस्यहरूलाई तात्तातै बाँडिदिएको छु । सत्ते ! नपत्याए मेरो परिवारजनलाई सोधे हुन्छ । केही वर्षअघि मेरा एकजना आत्मीय ज्योतिषी मित्रले मेरा प्रतिकूल ग्रहलाई अनुकूल तुल्याउनका निम्ति सुनको औँठीमा मुगा जडेर लगाउने सल्लाह दिएका थिए र त्यो सुन लगत्तै मेरी श्रीमती वीणाले मेरो शीघ्रातिशीघ्र भलोका लागि हतारहतार स्थानीय बाँडाको ज्यासलबाट किनेर ल्याई दाहिने हातको साहिँली औँलामा स्वयम्बरमा जस्तै गरी बडो प्रेमले पहिराइदिएकी थिइन् तर मैले भने त्यो मुगाजडित छ आनाको स्वर्ण मुद्रा पनि उतिखेरै फुकालेर आँगनमा हुर्‍याइदिएको थिएँ । सुनकै भए पनि यस बन्धनभन्दा मलाई बरू त्यस्ता चर्का ग्रहहरूको प्रतिकूलता नै स्वीकार्य छ भन्दै । जागिरे हुनुको बाध्यताले समयसूचक यन्त्र भिर्नु परेकोमा पनि कम्ती रन्थनिने गरेको छैन म । त्यसैले मैले ‘घडी’ भनिने घाँडोलाई बाहिर हिँड्दा मात्र भिर्ने गरेको छु नत्र त्यस ठाँडोलाई एकातिर थन्क्याइदिने गरेको छु । जागिरको आरम्भकाल २०२९ सालको भदौ १ गतेका दिनदेखि हालसम्म नै । भने, प्लास्टरको पीडा कतिसम्म चर्को भएको होला त मलाई अहिले ? बाबै नि !

त्यसो त जीवनमा अहिले पहिलोपल्ट नभएर दोस्रोपल्ट प्लास्टरको दुर्दान्त बन्धन बेहोर्नुपरेको हो मेरो शरीरले । प्लास्टर गरिने अङ्ग भिन्नाभिन्नै परे । फरक त्यतिमात्र हो । साथै व्यान्डेजको बन्धन पनि मैले गम्भीररूपमा दुईचोटि बेहोरेकै छु । प्लास्टरको पीडाचाहिँ २०२५ साल असोजदेखि कात्तिकसम्म डेढ महिना भोग्नुपरेको थियो । त्यसताका म कल्कलाउँदो १६ बर्षे नवयुवा थिएँ । आमासित मामाघर ललितपुर जिल्लाको माल्टा गाउँमा जान लाग्दा एउटा अक्करे भीरको बाटोमा लडेर देब्रे हात कुहिनादेखि मुन्तिर ठनक्कै भाँचिएको थियो मेरो । दुर्गम पहाडी गाउँघरको स्थानीय उपचार विधिअनुसार सिस्नुका जरा, कुखुराको जिउँदो चल्लो, चिप्लेकीरा आदि नानाथरी चीजबीजलाई खलमा संयुक्तरूपमा पिँधेर भाँच्चिएको ठाउँमा लेपन गरी बाँसका मसिना कप्टेराहरू बुनेर तयार पारिएको काम्रो बाँधिदिनुभएको थियो हजुरबा र मामाहरूले । त्यस काम्रोले कम्ती पिरोलेको थिएन मलाई डेढ-डेढ महिनासम्म र फेरि हात पनि सोझो हुनै सकेन मेरो । कामचलाउ मात्र भयो । सधैँका लागि त्यस क्रूर घटनाको जीवन्त चिनो बनेर तर त्यसो हुँदाहुँदै पनि त्यो अल्लारे बेला थियो, चढ्दो उमेर थियो, त्यसैले त्यस दुर्दान्त पीडालाई पनि मैले रुँदै हाँस्तै खेल्दै र भुल्दै पचाउन सकेको थिएँ । त्यतिमात्र पनि किन र ? अर्को हातले साइकलसमेत कुदाउने गरेको थिएँ ।

अहिले यो दोस्रो चाहिँ प्लास्टरको पीडा चाहिँ साढे ५७ अर्थात् झण्डै झण्डै ६० वर्षको बुढ्यौली उमेरमा बेहोर्नुपरेको छ मैले । त्यसो हुँदा यस पीडाले अत्यन्त अशान्त र आकुलव्याकुल बनाएको छ मलाई । दिन बिताउनै गाह्रो, रात बिताउनै गाह्रो । दिन पहाडभएर ढसमस्स उभिदिन्छ आँखामा र रात त अझ प्रलय नै भएर उर्लिदिन्छ मन-मुटुभरि । हरे कसरी काट्नु ! उफ्……!! कोही भेट्न-बोलाउन आउँदा मन अलि भुलिन्छ नत्र बेतोडसित अत्तालिएको अत्तालियै । दूध किन्ने निहुँमा, जागिरमा जाने निहुँमा, आफन्त र साथीभाइसँगै भेटघाटको निहुँमा प्रायः बिहानदेखि बेलुकासम्म हिँडिराख्नु-डुलिराख्नु पर्ने मान्छे, घरको माथ्लो तलाको एउटा सीमित कोठामा एक्लै डल्लिएको डल्लियै । हिँडेको भन्नु उही बेलाबेलामा शयनकक्षदेखि शौचालयसम्म र शौचालयदेखि शयनकक्षसम्म वैशाखीको भरमा भ्यागुते उफ्राइ । उफ्….त्यही नै यात्रा, देश, अन्तर्देश र महादेशको भ्रमण । बालकृष्ण समले आफ्नो एउटा लघु निबन्धमा कुनैताका लामो समयसम्म रोगले थङथङ्गिएर निकैपछि बल्ल एक दिन घरको मझेरीदेखि पिंढीहुँदै आँगनसम्म घस्रीपस्री कसैगरी सकससाथ पुगेको र मझेरीदेखि आँगनसम्मको त्यस अत्यन्त छोटो हिँडाइ पनि अत्यन्तै कठिन हुनाका कारणले आफ्ना लागि त्यो कुनै दूरदेशको यात्रातुल्य भएको उल्लेख गर्दै त्यस निबन्धको शीर्षक नै ‘यात्रा’ राखेका छन् । मेरो अहिलेको अवस्था समको जस्तो नभए पनि हिँडाइको दूरीका दृष्टिले चाहिँ समको जस्तै छ । त्यसैले अहिलेको मेरो अवस्थामा त्यति जाबो जाँदा र र्फकंदासमेत गरी बढीमा २०-२५ पाइलाको हिँडाइ पनि कष्टका हिसाबले यात्राजस्तै हुने गरेको छ दिनभरि र रातभरिमा गरी १०-१२ पटक ।

उन्मुक्त आकाशमा स्वच्छन्दरूपले विचरण गरी उड्ने चरालाई सोधेहुन्छ पिँजराको बास कस्तो हुन्छ ? निर्वाध र अविश्रान्तभावले कल्कलाउँदै छङछङाउँदै बगिरहने-बगिरहने कञ्चन खोलालाई सोधेहुन्छ बाँधको बन्धनमा जेलिएर दूषित तालमा रूपान्तरित हुनुपर्दाको अनुभव कस्तो हुन्छ ?

अहिले प्लास्टरको कठोर बन्धनमा जकडिनुपर्दा र आफ्नो कल्याणका निम्ति लामो समयसम्म त्यो बन्धन त्यसैरूपमा नबेहोरी नहुने भन्ने सम्बन्धित चिकित्सकको घोषणालाई सिरोधार्य नगरी धर नपाएको र नपाउनेसमेत हुँदा अनि त्यस कठोर बन्धनको आज भर्खर दोस्रो दिन मात्र बितिरहेको हुँदा कठै कसरी नआत्तियोस् त मेरो असहाय मन ! र मनमात्र कहाँ आत्तिएको हो र मेरो तन पनि त बुढिइसकेको छ नि हिजोको आजै । अचम्मसित झ्याउरिइ-चाउरिइसकेको छ मेरो मुखमण्डल कवि माधव घिमिरेकी राजेश्वरीले ‘वैलायो किन आज एक दिनमै अम्लानको फूल यो ‘ भनेर आफ्नो दशाप्रति आश्चर्य मिश्रति विस्मात् प्रकट गरेझैँ म पनि अप्रत्यासित रूपको यस घटनाबाट अत्यन्त विष्मित र विचलित भएको छु ।

त्यसो त शरीरका हात खुट्टा वा अन्य अङ्ग भाँचिएर प्लास्टरको पीडा झेल्ने व्यक्ति संसारमा न त म पहिलो हुँ र न त अन्तिम नै । असङ्ख्य असङ्ख्यले यस्तो पीडा झेलेका छन्, झेल्दै छन् र झेल्लान् । कसैले पनि झेल्न नपरे हुन्थ्यो सबैको कल्याणै कल्याण मात्र भए हुन्थ्यो । यो मेरो हाम्रो उत्कट चाहना र शुभकामना हो तर संसारको सृष्टि र स्थितिचक्र मेरो वा हाम्रो हार्दिक कामनाअनुसार चल्दैन । त्यो त चल्छ आफ्नै मौलिक गतिअनुसार नै ।अँ त, मेरो अहिलेको यस पीडाको जस्तै पीडानुभूति गर्ने असङ््ख्य असङ््ख्य भुक्तभोगीमध्ये मेरो थुप्रै परिचित र आत्मीयजनसमेत छन् । मेरै परिवारभित्रको मात्र कुरा गर्ने हो भने पनि एक हातको औँला भँचाइले भ्याउँदैभ्याउँदैन । पहाडको अर्थात् हाम्रो पुख्र्यौली ठाउँ मकवानपुरको सिस्नेरी गाउँको बसाइका अबधिमा दैनन्दिन घर-व्यवहार थाम्ने, लेकबेसी र घर-ससुराली आउजाउ गर्ने क्रममा कुलेखानी खोलाको ढुङ्गे बगरले मेरा पिताजीको दुबै हात मणिबन्ध अर्थात् हत्केला र नाडीको जोर्नीमा ठनक्कै पारिदिएको थियो पालैपालो गरी । त्यो दुर्दान्त पीडा बाबाले कसरी सहनुभयो होला लामो समयसम्म र भाँच्चिएका जोरहातले घर-व्यवहार कसरी चलाउनु भयो होला ? त्यसको कल्पना मात्रले पनि मलाई कहाली लागेर आउँछ । त्यो प्रसङ्ग मेरो जन्मभन्दा एक दशकअघिको हो । ठूलो भएपछि उहाँबाट एकदिन सुन्न पाउँदा । मेरो छाती त्यसैत्यसै भक्कानिएको थियो । मेरी दिदी सावित्रीको पनि ११ वर्षको उमेरमा मामाघर नै गएको बेला बाटामा भैँसीले लखेटेकाले घरछेउको भीरबाट गुल्टिई पुल्टुङबाजी खाँदै मुन्तिरको बाग्मतीको तीरमा पुग्दा दाहिने हात ठनक्कै भएको थियो र उही मेरै उपचारको रीतिले काम्रो बाँधिएको थियो उहाँको हातमा पनि डेढ महिनासम्म ।त्यस्तै मेरो जेठो छोरो शरदका पनि दुबै हात एक-दुई वर्षको अन्तरालमा पहिले देब्रे र पछि दाहिने गरी भाँच्चिएका थिए केटोले उमेरमा साथीसङ्गतीसित खेल्दा कुनै दुच्छर साथीले पछारिदएर । पछिल्लोचोटि भाँच्चिएको हात देब्रे नभएर दाहिनेचाहिँ भएको भए उसको एउटा शैक्षिक वर्ष त्यतिकै खेर जान्थ्यो किनभने त्यसताका ऊ वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दै थियो, उसको आई.कम.दोस्रो वर्षको परीक्षा चल्दै थियो र ऊ मणिबन्धदेखि कुहिनोसम्म डम्म प्लास्टर गरिएको हात लिएर सम्पूर्ण विषयका परीक्षामा सम्मिलित भएको थियो ।

प्लास्टर चाहे गाउँले पुरानो प्रविधिले गरिएको होस् वा सहरीया आधुनिक प्रविधिले, लामो समयसम्म राख्नुपर्दा गुम्सिएर सम्बन्धित अङ्गमा विस्तारै पसिना र फोहोर मैलो जम्दै गई चिलाउन थाल्छ । त्यो चिलाइ खप्न नसकेर निरूपाय घाइते रन्थनिन्छ, चिच्याउँछ, क्वाँ….क्वाँ….डाको छोड्छ र प्लास्टरमाथि मुडकी बजारेर नियन्त्रणबाहिर हुन पुग्छ । उसको मनोदशा त्यसरी बिग्रिनसम्म बिग्रिन्छ । परिवारजन र आफन्तजनको स्नेहले लफक्क भिजेको सान्त्वना र फकाइफुल्याइले कसैगरी शान्त हुन सकेसम्म प्रयास गरिरहन्छ ऊ त्यस लामो अबधिसम्म । कसैकसैको प्लास्टरभित्र त अझ लटरम्मै जुम्रा र उडुस पनि पर्ने गर्छ । तिनको संयुक्त टोकाइको दुखाइ र चिलाइको पीडा बेग्लै । त्यस्ता घाइतेको मनोदशाको कल्पना मात्र पनि कहाली लाग्दो हुन्छ भने भोगाइ झन् कस्तो हुँदो हो । त्यसमाथि चिकित्सकको अयोग्यता, लापरवाही वा हेल्चेक्र्याइँ या अन्य कारणले कुनै कुनै घाइतेको प्लास्टर एक, डेढ वा दुई महिना अर्थात् आवश्यक पूरै अबधिपछि काट्ता पनि यथोचितरूपमा उपलब्धि नभएर फेरि दोहोर्‍याएर प्लास्टर गरिन्छ उत्तिकै अबधिसम्मका लागि । अब, त्यस्ता घाइतेको शारीरिक र मानसिक दशा झन् कस्तो होला ?

मेरो छोराले त्यस्ता विकराल त्रासदी झेल्न नपरे पनि चिलाइको तोड खप्न नसकेर दिनरातमा कैयौँपल्ट ‘चिलायो…..’ भनेर ऊ रुन्थ्यो, छटपछाउँथ्यो र बहिनी नीलिमाले स्नेह र सहानुभूतिको पल्लो फालमा पुगी सुइटर बुन्ने सुइरो प्लास्टरभित्र छिराएर बिस्तारै उसले भने-भनेका ठाउँमा यथासम्भव कन्याइदिने प्रयास गर्थी । नीलू आज पनि बेलाबेला आफ्नो दाइको त्यस विगत मार्मिक अवस्थाको सम्झना करुणा विगलित भएर गर्ने गर्छे ।

उसैगरी मेरो कान्छो छोरो आकाश साढे दुई वर्षको हुँदा एकरात मसँगै सुतेको अवस्थामा सवाफिट होचो पलङबाट लड्यो र उसको दाहिने हात कुमैनेरबाट भाँचियो ।

एक महिनासम्म प्लास्टरको पीडा झेल्यो भखर्ंर तोतेबोली बोल्दै गरेको त्यस अबोध बचेरोले पनि । उसको पीडाको एकमात्र अभिव्यक्ति रुवाइ नै हुन्थ्यो र त्यसबाट कल्पना र म अनि अन्य वयस्क सबै परिवारजन हुनेसम्म मर्माहत हुन्थ्यौं तर पनि निर्बोध शिशु हुनाका कारणले ऊ बेलाबेला मझेरी, पिंढी र आँगनतिर एक्लै वा दाजु र दिदीसित खेल्दै पीडा भुल्थ्यो र त्यसै भुलाइका क्रममा पिंढीको भित्तामा झुण्डिएर घन्किरहेको ट्रान्जिस्टरमा बजेको रेडियो नेपालबाट बेलाबेला प्रसारित हुने ‘एभरेस्ट टुथपेस्ट’ को विज्ञापन गीतमा रमाउँदै त्यसलाई आफ्नो तोते उच्चारणमा पछ्याउँथ्यो-‘एब्ले तु ते’ । अहिले जापान, टोकियोमा बसेर पढिरहेको छ ऊ र उसले उमेरको तीसौँ खुँड्किला टेकिसकेको छ । मेरा आँखामा भने अहिले पनि उसको उही कुमदेखि कुहिनासम्म प्लास्टर गरेर उझिण्डो लगाइएको दाहिने हात लिएर मेरो काखमा बसी पीडा मिश्रति तोतेबोलीमा ‘एब्ले तु ते’….भनेर खेल्दै-भुल्दै गरेको विम्ब झल्झलाइरहेकै छ ।

मभन्दा चार वर्षले कान्छी कल्पना ठ्याम्मै सत्र वर्षसम्म पहिले क्षयरोग र पछि हृदयरोगले थङ्थङ्गिएर क्रमशः कलैया, वीरगञ्ज, काठमाडौँ, दिल्ली र पुट्टपर्तीका अस्पतालहरूमा उपचार गराई अन्त्यमा रक्सौलको डङ्कन अस्पतालको ए.सी.यू कक्षको शय्यामा २०५४ साल असोज २० गते सोमबार नौरथाको पञ्चमी तिथिका दिन सूर्योदयसँगै परमधाम गइन् । यसरी २०३२ साल वैशाख ७ गते रामनवमीका दिनदेखिको उनीसँगको दाम्पत्य जीवन साढे बाईस वर्षमा ध्वस्त भयो । त्यस दारुण घटनाको छ वर्षपछि मैले पुनर्विवाह गरेँ वीणासँग र विवाहको तीनवर्ष नपुग्दै २०६२ साल माघ ४ गते आइतबारका दिन काम विशेषले सँगै घर (कलैया) बाट काठमाडौँ जाँदा गजुरीमा बसले किचेर उनको दाहिने गोडा किचिमिची भयो । जसको उपचार क्रमशः काठमाडौँका वीर अस्पताल, नेपाल मेडिकल कलेज, मोडेल अस्पताल र कलैयाको अस्पतालमा समेत गरी झण्डै दुई वर्षसम्म चलिरहृयो र अचेल बल्ल कामलायक भएको छ उनको त्यो गोडा । मेरा दुबै धर्मपत्नीले दीर्घकालसम्म अस्पताल र घरका रोगशय्यामा शारीरिक र मानसिक दुबैरूपले बिताएका कष्टपूर्ण दिन र छिनहरू मेरो स्मृतिमा आलै छन् र जीवनपर्यन्त आलै रहने छन् पनि ।

त्यसैले मलाई राम्ररी थाहा छ अहिले अप्रत्याशितरूपमा भवितव्यवश यो पीडक घटना-प्रसङ्ग भोग्नुपर्नाले अत्तालिएको मेरो मानसिकता सामान्यतया नितान्त सहज र स्वाभाविक नै हो र उसैगरी यस भोगाइबाट सिर्जित मेरो वैयक्तिक चिन्ता र चिन्तन पनि सहज र स्वाभाविक नै हो तर जीवन र जगत्सम्बन्धी सापेक्षिक र यथार्थपरक दृष्टिले हेर्दा मेरो यो चिन्ता र चिन्तन अत्यन्त कमजोर कुरा हो किनभने अहिलेको मेरो यो पीडा त यथार्थतः तिल मात्र हो । तिललाई नै मैले पहाड ठान्ने हो भने पहाडलाई चाहिँ के ठान्ने नि ? आफ्नो आत्तिएको मनलाई सान्त्वना दिन अरू पनि बलिया उदाहरणहरू झल्झली सम्झन्छु म र तिनलाई ब्युताउँछु स्मृतिको स्वप्नशय्याबाट ।

हो! मैले यस्ता कैयौं घाइतेहरूलाई अस्पताल र घरमा देखेको छु जो हवाईजहाज, बस वा मोटरसाइकल आदिको सवारी दुर्घटनामा वा अन्य कुनै दुर्घटनामा परी अङ्गभङ्ग हुँदा शरीरभित्र स्टिलको रड राखेर नटबोल्ट कसेर र घाइते अङ्ग खुट्टा वा हात माथि फर्काई उझिण्डो लगाएर महिनौँसम्म ओर्कन-र्फकन त के ठ्याम्मै चल्न-चटपटाउनसमेत नसक्ने गरी उत्तानो वा घोप्टो अवस्थामा मरणान्त पीडा भोग्दै जीवनका छिनछिन काटिरहेका हुन्छन् । कोही महिनौँ महिनौँसम्म पिसाबको नली लगाएर स्लाइन चढाएर हृदयगति मापक यन्त्र लगाएर, अक्सिजन चढाएर वा भेन्टिलेटरमा राखिएर र कोही चाहिँ त्यही भेन्टिलेटर पनि घाँटीमा प्वाल पारी लगाएर र दिनभरिमा कैयौँपल्ट भित्रको खकार झिक्ने यन्त्र मुखमा लगाएर राखिएका हुन्छन् । अनि अर्धबेहोसी अवस्थामा पनि जताततै असजिलो अनुभव भई कहिले पिसाबको नली, कहिले अक्सिजन/भेन्टिलेटरको नली त कहिले हृदय गतिमापक र रक्तचापमापक यन्त्रको नली आदि जिउमा यता पनि उता पनि तर्लाङतुर्लुङ झुण्डिएका नलीहरू हातले तान्ने / फुस्काउने / चुँडाल्ने गरेको र चिकित्सक र परिचारिकाले वा आफन्तले नै पनि तिनका हातलाई शय्याको डण्डीमा बाँधिदिएको र त्यसबाट उत्पन्न थप उग्र शारीरिक एवं मानसिक पीडाद्वारासमेत रन्थनिएर ती रोगीहरूले ‘के गरुँ’ र ‘कसो गरुँ’ को घनघोर मर्मान्तक, अब्यक्त मनोदशा झेलिरहेका जस्ता ती मैले अति नजिकबाट देखेका असङ्ख्य रोगीका त्यस्ता अनगन्ती दृश्यविम्ब र स्मृतिविम्ब पनि मेरा आँखामा सजीवरूपले झल्मलाइरहेकै छन् ।

प्लास्टरकै पीडाको कुरा गर्ने हो भने पनि हिजो शिक्षण अस्पतालको आकस्मिक कक्षमा मसँगसँगै प्लास्टर गरिएका दुई-तीनजना रोगीको स्थिति पनि मेरोभन्दा कता हो, कता बढी मार्मिक रहेको मैले आफ्नो शय्याबाट प्रत्यक्ष र अझ त्यो पनि टुलुटुलु हेरेर थाहा पाएकै हुँ । तीमध्ये एकजना बूढाबाको एउटा हात औँलाको टुप्पादेखि लिएर कुमसम्मै र खुट्टाको पनि त्यसैगरी औँलाको टुप्पैदेखि लिएर तिघ्राको कापसम्मै प्लास्टर गरिएको थियो । मैले हेर्दाहेर्दै, त्यस्तै कुर्ता-सुरुवाल लगाएकी एउटी पैंतीस-चालीस युवतीको पनि देब्रे खुट्टाको औँलाको टुप्पैदेखि जाँघको कापसम्मै प्लास्टर गरिदिएको थियो । मेरो प्लास्टर त घुँडाको कापसम्म न हो । त्यसैले म मजैले घुँडा दोब्य्राउन सक्छु आफैँ सुत्न, उठ्न र वैशाखीकै सहायताले भए पनि शौचालयसम्म जानसक्छु तर ती बिचराबिचरीहरू त ओछ्यानमा उत्तानोको उत्तानै लम्पसार परिराख्नुबाहेक अरू केही गर्नै सक्तैनन् । तिनको लघु-दीर्घ शौच पनि ओछ्यानमै अरूले गराइदिनुपर्छ भने अरू व्यवहार त झन् धेरै परको कुरा भइहाल्यो र अब त्यसैगरी ठ्याम्मै दुई महिना बिताउनुपर्नेछ । उनीहरूले कठै ! तिनीहरूको तुलनामा म त धेरै भाग्यमानी पो त । यी हुन् मैले आफ्नो पीडा बिर्सन र वेदनाबाट तीब्र अधीरता र असंयमको उत्ताल तरङ्गमा तरङ्गिएर नियन्त्रणदेखि बाहिर भएको मनलाई थुम्थुम्याउन, सान्त्वना दिन उधिनेका स्मृतिको भण्डारमा सञ्चित केही यथार्थ उदाहरणहरू तर मन त मनै न हो थुम्थुम्याउँदैमा कहाँ थुम्थुमिन्छ र यो जति सुकै र जस्तासुकै पापा, चाचा, नाना देखाउँदैमा कहाँ फकिन्छ र यो! र वर्तमानमा आफूलाई पोलिरहने पीरलाई सानो-ठूलो भनी छुट्याएर ‘सानो’ भनी कहाँ सन्तोष मान्न सकिहाल्छ र यो ? यो पनि त अयथार्थ होइन । बरु यो त झन् मापाको मनोवैज्ञानिक यथार्थ हो । अनि मनभन्दा आफ्नो सबभन्दा नजिकको आत्मीय सुहृद् पनि त अरू कोही कहाँ हुन्छ र ? र त उसको पक्षमा नै खनिएका छन् । अहिले मेरो चेतना बुद्धि र ज्ञान नाउँका अन्य आत्मीयहरू पनि । त्यसैले म चाहन्छु, मेरो यो कठोर पीडक बन्धनको आगामी आठ साताको अबधिमा कृपया मलाई शारीरिक-मानसिक पीडाको बोध र अनुभूति पटक्कै नहोस् । बीचको यो लामो अबधि म कुम्भकर्ण र विष्णु भएर मस्तसित इन्तु न चिन्तु हुँदै बिताउन पाऊँ र म त्यसै दिनमात्र त्यस सुदीर्घ निद्राबाट ब्यूँझूँ जुन दिन मलाई यस बन्धनबाट मुक्ति दिलाउने होस् र अझ सम्भव भए म त्यस दिन पनि बन्धनमुक्त भइसकेपछि मात्र ब्यूँझूँ । अथवा सिर्जनको लागूले साफसित लठ्याओस् मलाई र त्यसैमा समाधिमग्न भइरहनसकूँ म त्यस लामो अबधिसम्म । अहाँ कस्तो हुन्थ्यो यो कुरा कल्पनामा मात्र नभएर यथार्थमा नै पनि सम्भव भइदिए !

(स्रोत : मधुपर्क २०६७ मंसिर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *