संस्मरण : स्मृति एकालापमा कवि कटुवाल

~अविनाश श्रेष्ठ~

समय बित्दै छ, कटुवाल दाइ। आफ्नो सम्पूर्ण निर्ममता र निष्ठुरतासाथ समय बित्दो छ। समयको अर्को मुखुन्डो ‘काल’ हो। कालको औपचारकि मुखुन्डो भिरेको समयले तिमीलाई बिताएको ३४ वर्ष पुगिसकेछ। कति छिटोछिटो कुदेको यो मेरो काल ! कहाली लाग्छ। यसले कुनै दिन मिति पुर्‍याइदिनेछ, मेरो पनि। म पर्खेर सुन्ने कोसिस गर्दै छु, कालको पदचाप। चुपचाप। उपायविहीन, निस्तेज, निरस्त बन्नैपर्छ सबैले, महाकालको सम्मुखमा। त्यसो भन्दैमा बाँच्नेले बाँच्न छोड्न त कहाँ मिल्छ र ! कि कसो कटुवाल दाइ?

तिमीलाई सम्झना होला नि कटुवाल दाइ, तिमी बाँचिरहँदा नै बितेका थिए देवकोटा। बितेका थिए लेखनाथ, गोपालप्रसाद रमिाल। शंकर लामिछाने, भिक्षु र सम पनि त तिम्रै आँखाअगाडिबाटै अनन्त यात्रामा हिँडेका थिए। तिमीले मृत्युको सत्यलाई बुझेका थियौ राम्ररी। फेरि पनि फुच्चे झ्यालिन्चा अजंगको लाखेसँग जिस्केझैँ तिमी मृत्युसँग जिस्किरह्यौ। जिस्किरह्यौ घरीघरी मृत्युसित निहुँ खोजीखोजी। त्यसैले तिमी जानुपर्ने बेला नभई पहिल्यै गइदिनुपर्ने भयो। र, हामी रमिते मात्र बनेर रहन बाध्य भयौँ कटुवाल दाइ। तर, तिमी बाँचेका भए यति वर्षका हुन्थ्यौ होला, यस्ता यस्ता काम तिमीले गरसिकेका हुन्थ्यौ होला भनी तिम्रो विरुदावली गाउनुको पनि अब कुनै तात्त्विक अर्थ म देख्दिनँ। तिमी जिउँदो छँदा नेपाली साहित्यका निम्ति जे जति योगदान तिमीले पुर्‍याउन सक्यौ, त्यही तिम्रो कृतित्व हो। परचिय हो, इतिहास हो, मेरो बुझाइमा।

सुरुदेखि सुरु गर्न मन लाग्यो। तिमीलाई जान्न थालेदेखि कटुवाल दाइ। भित्री मान्छे बोल्न खोज्छ तिम्रो पहिलो कवितासंग्रह र पूर्वकिरण तिमीले सम्पादन गरेको सामूहिक कवितासंग्रह घरमै फेला पारेको हुँ। बुबाले भेला पार्नुभएका किताब र पत्रपत्रिकाहरूमाझ तिमी पनि थियौ। सिक्ने, जान्ने, बुझ्ने उत्सुकता र कुतूहलले भरएिको कोमल किशोर वयमा तिम्रा कविताहरूका औँला समातेर मैले तिमीसित सहयात्रा थालेँ। यसरी तिमीलाई मैले चिनेँ। यसरी तिम्रा बारेमा मैले जानेँ। त्यसपछि अरू-अरूका मुखबाट तिम्रा बारेमा सुन्दा मलाई तिमी अझ चिनिएका जस्ता लाग्न थाल्यौ। आफ्नो लाग्न थाल्यौ। केही वर्षसम्म तिमी दन्त्यकथाको, एकादेशको चरत्रिनायकजस्ता बनेर रह्यौ, मेरो मानसमा। सन् १९७३ को फरबरी-मार्च महिनाको शिशिर निख्रन थालेको याममा कुनै एक दिन तिमी भौतिक स्वरूपमा सशरीर मेरो सामु थियौ। अब तिमी मेरा निम्ति भर्चुअल यथार्थ मात्र रहेनौ। दन्त्यकथा र किंवदन्तीहरूबाट निस्केर तिमी मसँग बोल्ने, म सँगसँगै हिँड्ने मजस्तै हाडमासुको मान्छेमा फेरयिौ।

कुनै मान्छे कथा, दन्त्यकथा वा खिस्सा-कहानीको आवरणमा रहुन्ज्याल उससँगको सहयात्रा, सहअस्तित्व सुखद नै हुन्छ। अझ आल्हादजनक नै हुन्छ, स्वैरकल्पनाजस्तै। तर, स्वैरकल्पनाको त्यही मान्छे मांसल यथार्थ बनेर आफूअगाडि प्रकट भइसकेपछि भने समस्याहरू निम्तिन थाल्दा रहेछन्। कटुवाल दाइ, तिम्रो सशरीर भौतिक उपस्थित मेरा निम्ति परचियको क्षणसम्म वा भनूँ तिम्रो बानी-बेहोरा र जीवनशैली थाहा नपाउन्जेलका केही दिनसम्म मात्र पि्रयत्तर, स्निग्ध र सुगन्धित रहन सक्यो। तिम्रो आफ्नो स्वभाव थियो- जसलाई तिमी फेर्न सक्दैनथ्यौ। तिमीमा तिमी हुनुको अहम् थियो, जसलाई तिमीबाट अलग्याउनु नदीलाई पानीबिनाको देख्ने कल्पनाजस्तै असम्भव थियो। तिमी फुक्का थियौ। हुरी-बतासजस्तै जता मन लाग्यो उता बग्न, ठोक्किन, बहकिन। ती दिनहरूमा धेरैपटक मलाई लाग्थ्यो, तिमी तिम्रै नियन्त्रणमा छैनौ। तिम्रो आफैँमाथिको नियन्त्रणसमेत गुमाइसकेका छौ तिमीले। तर, अघिल्लो रातको दुःस्वप्नजस्तो आँधीबेहरी, अन्धवेगमा उच्चारति फोहरी शब्दहरू, आपत्तिजनक दुर्दान्त व्यवहार- भोलिपल्ट बिहान भने तिमी तुफान गुजि्रसकेको सामसुम्म समुद्रमा फेरएिको देख्दा आफैँलाई भ्रम हुन्थ्यो, हिजो रातीका सबै अपि्रय दृश्यहरू झूटा थिए। तिमी त्यति निर्दोष देखिन, आफैँलाई अबोध दर्साउन सक्थ्यौ। त्यस्तो विशेष खुबी थियो तिमीमा। अघिल्लो राती उग्र अहंमा हुंकार गर्दै मर्न-मार्न तयार भएका तिमी भोलिपल्ट बिहान भने गाईको बाच्छोजस्तो सोझो बनी मायाको हकदाबी गर्दै ढुनमुनिँदै शरणागत हुन आउँदा- को पो नझुक्किएला? म पनि झुक्किएँ कतिपल्ट। पछि-पछि भने जानी-जानी झुक्किएको स्वाङ पाररिहेँ। तिमीलाई अझ बढी दुखाउन चाहन्नथेँ म । किनभने, ‘तिमीलाई दुखाउन तिमी आफूमै पर्याप्त थियौ’ भन्ने ती दिनहरूमा तिम्रो संगतले मलाई बुझाइसकेको थियो।

तिमीमा अनेकौँ भद्दापन थिए, भ्रमहरू थिए। अचाक्ली अश्लील गालीजस्तो पोल्ने तिम्रो वाणीमा माधुर्यको अभाव मलाई खट्कन्थ्यो। कहिले कतै अकूटनीतिक रूखो तिम्रो वचन छुराझैँ झ्वाम्म मर्ममा रोपिएको महसुस गर्थें। कहिले फेर िपाखे पाराको एकलकाँटे ढिपीमा तिमी एकोहोरँिदा बर्बर युगको कुनै स्वाँठ सेनानायकजस्तो उरन्ठ्याउलो देख्थेँ, म तिमीलाई। तर, यति धेरै कुरूपताहरूमाझ ढपक्कै ढाकिएका भए तापनि तिमीलाई जाज्वल्यमान बनाइराख्ने केही प्रकृतिप्रदत्त क्षमता तिमीमा म देख्थेँ। जसलाई तिम्रो अस्तित्वको शृंगार, अलंकार वा सौन्दर्य भन्दा न्यायसंगत ठहथ्र्यो। ती थिए, १. तिम्रो बान्की परेको हस्तलिपि, २. तिमीद्वारा रचिएका उत्कृष्टतम् गीत र कविताहरू अनि सर्वोपरी, ३. कविता पाठ गर्ने तिम्रो विशिष्ट कला। एक त तिम्रो आफ्नै किसिमको विशेष शब्द-संयोजन, शिल्प-पद्धतिबाट सिर्जित कविताहरू, त्यसमाथि तिम्रो कवितापाठको अलौकिक लाग्ने शैली। यी सबै मिलेर तिम्रा कविता, मुक्तक र गीतहरूलाई सुनिरहूँ-सुनिरहूँ लाग्ने बन्नमा सघाउँथे। तिमीले गरेको कवितावाचन सुनिसकेपछि भने तिमीप्रति कुनै गुनासो मनमा शेष रहँदैनथ्यो। तिमी तिम्रा कविता, गीत र मुक्तकहरूसँग हुँदा देवदूतजस्ता देखिन्थ्यौ- धवल, उज्ज्वल अनि करुणामय !

मैले कौमार्यको दैलो-सँघार नाघेर बैँसको फराकिलो दुनियाँमा पाइलो चाल्न थालेको त्यो जादुमय समय सम्झन्छु। त्यो ‘७० को दशक थियो। त्यो दशक असमेली नेपाली कविताको क्षेत्रमा तिम्रो प्रगाढ प्रभावको दशक पनि थियो, कटुवाल दाइ। असमेली मात्र किन पूर्वाञ्चल भारतकै नेपाली कविहरूको एउटा सिंगै नवपुस्ता तिम्रो प्रभावको मुग्ध लयमा प्रवाहित बनी कविता रच्नमा तल्लीन थियो। त्यसरी तिम्रो प्रभावमा बहकिनेहरूमा मेरो दाजु पुस्ताका कविहरू मात्र सामेल थिएनन्, मेरा समकालीन र उत्तरवर्ती कविहरूसमेत थिए। जे होस्, त्यो तिम्रो सफलताको एउटा नापो, एउटा प्रतिमान थियो। आफ्नै किसिमका झर्रा शब्दावली, आफ्नै जीवन भोगाइबाट उप्जेका भाव-लहरी अनि तिमीले निर्माण गर्दै गइरहेको कविता लेखनको निजी शैल्पिक पद्धति- यिनले तिमीलाई एक जना प्रखर कविका रूपमा शिखरतिर डोर्‍याउँदै थिए। तिम्रो कविताको मोहनीमा लट्ठिनेहरू तिनताक दार्जीलिङ र नेपालतिर पनि धेरै थिए। कटुवाल दाइ, तिम्रो जीवन बाँच्ने शैली र तिम्रो बदनामी निम्त्याउने क्रियाकलाप कसैका निम्ति पनि अनुकरणीय आदर्श नहुन सक्छ तर कविता, गीत सिर्जना अनि विशेष कवितावाचन कलाका भने तिमी ‘नायक’ नै थियौ। यस अर्थमा तिमी पूर्वाञ्चल भारतका मात्र नभई समग्र नेपाली संसारकै ‘गर्व’ हौ, ‘गहना’ हौ।

तिमी एक जना साह्रै संवेदनशील कवि। स्वाभिमानी पनि उत्तिकै। व्यावहारकि संसारसित तिम्रो नाता टुट्दै जाँदो थियो। अनि, पाइलैपिच्छे चोट, पीडा, अन्तर्घात र अन्तरजलन बटुलिहिँड्नु तिम्रो सामान्य दिनचर्या बन्दै गयो। फलतः तिमी आफ्नै सेरोफेरोमा सीमित हुँदै गइरह्यौ। असममा तिमी नअटाउने भयौ। जसजसले दिएका चोट, आघात अनि उपेक्षा सहन नसकी यशोधराजस्ती भाउजू र घरपरविारलाई त्यागेर असमबाट महाभिनिष्कृमित भई सम्भावित बुद्धत्व प्राप्तिका निम्ति काठमाडौँ (नेपाल) पुगेका थियौ, सम्भवतः ती सबै कारण उप्जाउने कारकतत्त्वहरूलाई समयले बढारसिकेको छ, निस्तेज र निष्प्रभावी पारसिकेको छ यतिबेलासम्म। ृफेर िकाठमाडौँ पनि कहाँ सारनाथको तपस्याथली थियो र ! त्यो झन् घोच्ने, बिझाउने विषालु काँडाजस्ता मान्छेहरूले भरएिको अर्धसहर त्यतिबेला। काठमाडौँले पनि त्यस्तै लाञ्छना, तिरस्कार, ईष्र्या, उपेक्षा, धोका, द्वेष र घृणाले घोच्न थालेपछि तिमीले व्यावहारकि जीवन भोगाइको अर्धसत्य -आर्यसत्य होइन) र अर्धबुद्धत्व प्राप्त गर्‍यौ होला। त्यसैले होला, आफ्नो थातथलो सम्झेर तिमी फेर िअसम र्फकन र काठमाडौँ जाने गर्न थाल्यौ।े मैले देखेजानेको सत्य के पनि हो भने तिम्रो प्रतिभासँग जल्ने, डाह गर्नेहरूले सिर्जना र रचनामा तल पार्न नसकेपछि तिमीलाई ‘जँड्याहा’, ‘बौलाहा’ भनी तल पार्न खोजे। तिनैमध्ये केहीले तिम्रो श्रमशोषण गरे। तिमीले पाउनुपर्ने पारश्रिमिक आफ्नो पोल्टामा पारे। आज तिनैले सभा-समारोहहरूमा तिम्रो फोटोमा फूलमाला चढाउँछन्। तिमीसितको प्रगाढ मित्रताको इतिवृत्तान्त लाजै नमानी सुनाउँछन्। तर, अब तिनले तिम्रो प्रशंसाको भजन भट्याऊन् वा गुणगान गरेर घिच्रो सुकाऊन्, तिमीलाई कुनै फरक पर्दैन।

कटुवाल दाइ, तिम्रो कृतित्व र तिम्रो पुर्पुरोबारे पनि एक-दुई कुरो गर्न मन लागेको छ। कृतित्वबारे त ठीकै छ। तर, मरसिकेको मान्छेको पनि पुर्पुरो -भाग्य) हुन्छ र? भनी महाज्ञानीजनले प्रश्न ठड्याउलान्। तर, तिम्रो पुर्पुरोका सन्दर्भमा यथार्थ यस्तै छ। मैले भन्न खोजेको के भने धेरै ठूल्ठूला र जीवित छँदा चौतर्फी आफ्नो डंका पिटाएका साहित्यकारहरूलाई मरेको दस वर्ष नबित्दै समाजले त के परविारले पनि बिर्सिसक्छन्। काठमाडौँमा मैले देख्दै आएको कटु यथार्थ के पनि हो भने जीवनकालमा पद, प्रतिष्ठा र प्रसिद्धिको शिखरमा रहेका कतिपय कविलेखकको कतै कसैले एउटै शोकसभासम्म गर्न उपयुक्त ठानेन। कतिका लागि उनीहरू बाँचेको समाजले मृत्युपछि श्रद्धाञ्जलिको एकसरो शब्दसमेत खर्च गर्न चाहेन। कुन्नि किन हो, अत्यन्त प्रतिभाशाली र विशिष्ट योगदान पुर्‍याएका साहित्यकारहरूको समेत मरेर गइसकेपछि समाजले सम्झना र चर्चा गर्न छाड्दै गएको छ, अचेल यतातिर। यसै सन्दर्भमा मैले तिम्रो पुर्पुरोको चर्चा गर्न खोजेको हुँ, कटुवाल दाइ। असमको नेपाली समाजले तिमी बितेको एक वर्षभित्रै सन् १९८१ मा तिम्रो सम्मानमा भव्य स्मृतिग्रन्थ मात्र प्रकाशित गरेन, त्यतिकै खँदिलो दुईदिने स्मृति-सभाको आयोजना पनि गर्‍यो। अहिले फेर ितिम्रो ३५औँ पुण्यतिथिको अवसर पारेर असमको नेपाली साहित्यकार समाज तिम्रो दोस्रो स्मृतिग्रन्थ प्रकाशनको जोहोमा जुटेको छ। अनि, यसलाई तिम्रो बलियो पुर्पुरो नभनी भयो त कटुवाल दाइ। अब तिम्रो कृतित्वको कुरा पनि गर्छु। मलाई लाग्छ, तिम्रा गीत र कवितामा कालजयी तत्त्व अवश्य केही छ, जसले तिमीलाई तिमी बितिसकेको ३४-३५ वर्षपछिसम्म पनि एउटा रचनाकारका रूपमा धेरैको स्मृतिबाट ओझेल हुन दिएको छैन। कविता, गीत सिर्जनामा तिम्रो सिको गर्नेहरू, तिमीबाट अनुप्रेरति हुनेहरू अझ पनि प्रशस्त छन्। यस तथ्यबाट तिम्रो कृतित्वको शक्ति बुझ्न मद्दत मिल्छ।

कटुवाल दाइ, सम्झनाको यस चेतन प्रवाहलाई अब यतै कतै बिसाऊँ होला। तर, तुर्नुअघि तिमीबारे दुई-चार कुरा अझ भन्नु छ:

तिमीमा दसौँ दुर्गुण थिए। सयौँ सहन नसकिने निकृष्टताहरू थिए। तर, आज म भन्छु, तिमी कपटी भने थिएनौ कटुवाल दाइ। तिमी धूर्त र दुष्ट पनि होइनौ। हो, तिमीले जीवन बाँच्न भने नजानेकै हो। हो, तिमी दुःखी थियौ किनभने तिमीभित्रको समृद्ध कविले पाउनुपर्नेजति मान समाजबाट पाएको थिएन। सम्मानको लायक नठानिँदा तिमी मर्माहत थियौ। तिम्रो अन्तरआत्मामा अपमानबोध र तिरस्कारको घाउ बल्भिmँदै जाँदो थियो। र, त्यही डरलाग्दो घाउलाई आफू भित्रभित्रै लुकाउन तिमीले हाँसीहाँसी भनिरह्यौ, ‘मेरो घाउ तिमी नहाँसे पो दुख्छ !’

बुझ्नेले कति बुझे कुन्नि तिम्रो भित्री घाउको अन्तरकथा?

तर, जसलाई तिमी बुझाउन चाहन्थ्यौ, त्यसले भने तिमीलाई कहिल्यै पनि बुझ्न चाहेन भन्ने साक्षी तिम्रा गीत र कविताका हरफहरू हुन् ।

प्रकाशित: असार १, २०७१

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in संस्मरण and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *