निबन्ध : भोक

~भीष्म उप्रेती~Bhishma Upreti_1

‘जीवन सधैँभरि सोझो बाटोबाट मात्र हिँड्दैन’- जीवनमा चालीसौँ वर्षसम्म हिँडेपछि ज्ञानको एउटा झिल्को झिलिक्क बलेको छ मभित्र । यस्ता झिल्काहरू सधैँ बलिरहुन् र जीवन जाज्ज्वल्य भइरहोस् भन्ने चाहन्छु सधैँ तर चाहनु र हुनु दुई अलगअलग कुराहरू हुन् । यदाकदा हुने यिनको मिलनबाट प्राप्त हुने आनन्द र सौन्दर्य मेरा बाँच्ने प्रेरणाहरू हुन्- भोक हुन् । भोक भएपछि मान्छे गतिशील हुन्छ । गतिशील भएपछि बाँचिन्छ । गतिशील भएपछि नै हिँडिन्छ, गइन्छ र कहिलेकाहीँ पुगिन्छ पनि तर गतिशीलताहरूको बीचमा ‘पुग्नु’को स्थायी अर्थ हुँदैन रहेछ । एउटा ‘पुग्नु’मा पुगेपछि फेरि अर्को पुग्नुपर्ने ठाउँ देखिँदो रहेछ र भोक जागिहाल्दो रहेछ । बेलुका खाएर सुतेपछि बिहान फेरि भोक लागेजस्तो ।

यसो सोच्छु आजभोलि- मान्छेलाई डोर्याउने भोकले रहेछ । मान्छेलाई नचाउने भोकले रहेछ । मान्छेलाई नङ्ग्याउने र फेरि बचाउने पनि भोकले नै रहेछ । यसो भएपछि फेरि सोच्छु- ‘जीवन भन्नु त भोकै मात्र रहेछ वास्तवमा ।’ अलि अस्ति एउटा निबन्धमा लेखेको थिएँ- ‘जीवन भनेको ढोका रहेछ ।’ आज फेरि लाग्दैछ- ‘जीवन भनेको भोक पो रहेछ ।’ जब विचार गर्छु- के ढोका र भोक बिल्कुलै फरक कुराहरू हुन् त ? हो जस्तो पनि लाग्छ झट्ट हेर्दा तर गहिरिन्छु, सेती नदी पोखरामा भास्सिए जसरी नै भास्सिन्छु विचारको गहिरो भासमा । र, भेट्छु अर्को एउटा झिल्को उज्यालोको- भोक र ढोका ठ्याक्कै एकै नभए तापनि विल्कुलै फरक कुराहरू पनि होइन रहेछन् । ढोका खोलेर अघि जान भोक लाग्नुपर्छ । ढोकाको अर्थलाई त भोकले सार्थकता दिने रहेछ । त्यसो हुँदा यी दुई आपसमा ज्यादै सम्बन्धित रहेछन् ।

त्यसै भएर म आफू अझै पनि सही नै छु भन्दैछु जीवन भनेको भोक हो भनुञ्जेलसम्म पनि । यो अर्को ढोका खोलेपछि देखेको संसार हो ।

किताबभन्दा माथि उठेर जीवन र संसार पढ्न थालेपछि हिँड्ने बाटाहरू अनगिन्ती देखापर्न थालेका छन् र त्यसरी नै पहिले देखापरेका कतिपय बाटाहरू हराउँदै गएका पनि छन् । एउटा बाटोबाट हिँड्न चाहँदाचाहँदै बाटो मोडिएर कहाँकहाँ पनि पुग्नु परेपछि जीवन कहिले कुन बाटोबाट हिँड्छ र कहाँ पुग्छ भनेर कसरी भन्नु ! तर भन्न सके पनि, नसके पनि जीवन छ भने कतै त्यो त बाटैमा छ ।

जीवनलाई बाटोमा यसरी नै हिँडाउँदाहिँडाउँदै काठमाडौँ खाल्डोको एकरसे जीवनले दिनदिनै डसेर थिल्थिलो पारिरहेको बेलामा एक दिन एउटा बाटोले स्वाट्ट लिएर बुटवल पुर्यायो । त्यो केही दिनको बुटवलमा बस्नुपर्ने र त्यसैको सेरोफेरोमा कविता लेख्नुपर्ने अवस्था मेरो ‘पुग्नु’ भएको थियो त्यसबेला । तर केही दिनपछि नै थाहा भयो त्यो त कहाँ ‘पुग्नु’ थियो र । पसिना ओभाउञ्जेलको छोटो सुस्केरा मात्र पो थियो त्यो । र, त्यो बसाईंमा पनि निरन्तर गति थियो, भोकको आगो थियो । घर, जागिर, परिवार त्यसरी नै अनेकौँ अभाव र आवश्यकताको तनावबाट मुक्त त्यो छोटो अवधि जीवनको नयाँ अध्याय भएर लेखियो स्मृतिमा र अक्षरहरूमा पनि । स्मृति त कुनै दिन भोक सकिँदा मेटिएर जाला तर अक्षरहरू रहलान् बाँकी । तिनै अक्षरहरूमा चमेराभै”m झुण्डिएका भोकहरूले उज्यालाका केही झिल्काहरू पनि छाड्लान् कुनै दिन- एउटा सानो आशा- मेरो अर्को भोक ।

प्रसिद्ध रुसी साहित्यकार माक्सिम गोर्कीले भनेजस्तै बुटवलको विस्तृत फैलावट एउटा विश्वविद्यालय भएर खडा भयो मेरा लागि । जीवनमा नसोचेका र नभोगेका अनेकौँ घटना, अनुभूति र तथ्यहरू क्रमशः उद्घाटित हुन थाले अघिल्तिर । एउटा सानो कालखण्ड बुटवलमा बसेर मान्छेहरूबाट सुटुक्कसुटुक्क अनुभवहरू चोरेर अलि नयाँ र अलि बेग्लै रङ र स्वरूप दिनु थियो, कविता लेख्नु थियो, कविता खोज्नु थियो, कविताको चिन्तनमा बिताउनु थियो समयको एउटा आयतन । एउटा औडाहा थियो बोकिएको आफूभरिको ।

लमतन्न सुतेका सडकहरूमा तँछाडमछाड गर्दै गाडीहरू होइन भोक गुडेको देख्थेँ । स्कुलका लुगाहरू लगाएर सडकमा विद्यार्थीहरू होइन भोक हिँडेको देख्थेँ । झुण्डझुण्ड भएर चौतारामा भोकहरू नै बसेका हुन्थे र बन्धनरहित गफहरूमा बगेर सकिँदै गइरहेका थिए । प्रचण्ड गर्मीमा सडक छेउमा केही भोकहरू मकैसँगै पोल्थे यौवन र सपनाहरू । केही भोकहरू सर्वतपानीमा मिसाएर आफ्ना अधुरा आकाङ्क्षाहरू बेच्दै थिएँ र भोकलाई केही शान्त पार्न खोज्थेँ । भोक नै किराना पसलहरूमा छरिएको, मः मः र अन्य खानेकुरा पाइने रेष्टुरेन्टभरि भोक पाकिरहेको र प्लेटहरूमा भाग लगाइएको देख्थेँ । भोक नर्सिङ होममा उपचाररत देखिन्थ्यो, चौराहमा प्रदर्शित थियो र रात्रिकालीन जीवन र डान्स बारहरूमा धमाधम नाङ्गदिै बिक्री भइरहेको थियो । ए, त्यति मात्र कहाँ र ! फूलबारी र पार्कहरूमा गएर हेरेको त आफैंलाई समेत बिर्सेर भोक त ‘प्रेम’मा मग्न, आफ्ना सम्पूर्ण अहंहरू झुकाएर सिद्धबाबाका पाउमा अर्पित र साइबरहरूमा झुम्मिएको पाएँ इन्टरनेट अघिल्तिर कल्पँदै – कसरी हाल्ने हो पखेटा र भुरुर्र उडेर जाने हो सात समुद्रपारि उतै हराउन ।

अँध्यारोमा पनि र उज्यालोमा पनि सर्वत्र भोक मात्र व्याप्त भएको । अचम्म लाग्ने गरी, सोच्तै नसोचेको पनि हुँदोरहेछ, देखिँदोरहेछ । कहाँ कविताका कस्ताकस्ता विषयहरू खोज्न हिँडेको म, एकोहोरो भोकैभोकको बीचमा आइपुगेको थिएँ ।

देखेँ एउटा नदी बगिरहेको सहरको बीचैबाट । त्यो नदीको नाम तिनाउ भए पनि वा अरू कुनै भए पनि कुरा एकै हो, त्यस्तो फरक केही देखिनँ । अहिलेलाई त्यसको नाम तिनाउ नै भनुँ । तर यो नदी बेलाबेलामा मान्छेका सपनाहरूमाथि बग्छ, अस्मितामाथि बग्छ- कहिले हिलैहिलो भएर र कहिले रगतजस्तै रातो भएर । जसरी बगे पनि यो नदी भोक बग्छ, समय बग्छ । हामी नदीमा सभ्यता देख्ने मानिसहरू हौँ तर नदीमा सभ्यता पनि बगेको देख्ता भने अनौठो, उदेक र वाक्वाकी लाग्दोरहेछ । मैले त तिनाउमा सभ्यता र त्यसले बोकेको सौन्दर्य चाहिँ बग्दै गएको र अराजकता, अविश्वास र विभेद जति बालुवा र ढुङ्गामुढा जति किनारमा छोडिए जसरी मिल्किएर छोडिएको देखेँ । यसपछि भने भाउन्न भएर थचक्क भुइँमा बसेँ र खुइय्य लामो सास फेरेँ । मनमनै सोचेँ- ‘हिँड्न जानेन भने जतिसुकै ठूलो बाटोबाट हिँडे पनि र जति हिँडे भने पनि कहीँ पनि पुगिँदैन रहेछ ।’ यसै सहरको अनुहारलाई राम्ररी नियाल्दा यही देखिँदोरहेछ । यो एउटा बगिरहेको नदीले बीसौँ वर्षसम्म मैले किताब पढ्दा पनि बुभ\mन नसकेको सत्यलाई कति सजिलैसँग बुझाइदियो एकै पल्टको पाना पल्टाइमा ।

फर्किएँ पर क्षितिजतिर । “जीवन त साह्रै सुन्दर रहेछ ।” डुब्दाडुब्दैको घामले भन्यो । क्यान्सरले मर्न लागेको एउटा मान्छे, डाक्टरले जम्माजम्मी बाँच्ने दिन तोकिदिएको र त्यही तोकिएको जीवन बाँचिरहेको ऊ पनि त्यही डाँडामाथिको घामजस्तै हो । आजसम्म बाँचेको सम्पूर्ण जिन्दगीको सार खिचेर उसले एउटै वाक्यमा भन्यो-

निभ्ने बेलामा मात्र थाहा भो
जीवन त साह्रै सुन्दर रहेछ ।

दिनभरि अरू केही नसुनुँजस्तो, विश्वविद्यालयले कहिल्यै दिन नसकेको ज्ञानको बत्ती कत्ति सजिलै बालेर उज्यालो बनाइदियो मेरो जीवन तर आफू भने चुर्लुम्म डुब्यो आँसु र कालो अँध्यारोमा- “अब त थकथक मात्र लाग्छ ।” मलाई सिस्नोपानीले हिर्कायो उसको भनाइले र ब्यूँझाइदियो घोर निद्राबाट । भोक जागेर क्लाइमेक्समा पुगेको बेलामा जीवन साह्रै नै अस्थिर र अशान्त हुँदोरहेछ । पछाडि फर्केर हेरेँ पानीजस्तै बगेर गएको आफ्नो उमेर र सतर्क भएँ । ‘थकथकाउने काम कहिल्यै गर्नु नपरोस् जीवनमा’ आँखा चिम्म गरेर कामना गरेँ । छाती भरिएर आयो, उठेर हिँडिहालेँ या भनौँ भागेँ कठोर सत्यसँग ।

फेरि भागेर पनि पुगिन्छ नै कहाँ र ? फरक्क फर्किएँ पछाडि र देखेँ- एउटा मान्छे नाम्लोले थिचिएको बेस्सरी । एकछिन उसैमाथि समय अडिएको बेलामा उसलाई नै हेरिबसेँ । उसले भन्यो-

बितेका एक्काइस वर्षदेखि
यसै सहरमा
मिलन चोक, ट्राफिक चोक र दगुरिरहेका यी बाटाहरूमा
भारी बोकेर हिँड्दाहिँड्दै
नाम्लै पो भइसकेँ कि क्या हो,
ए भाइ, मलाई हेरेर भनभन
के म मान्छेजस्तै त देखिन्छु ?

यसरी उसको अजङ्गको प्रश्नले थिचिएपछि बल्लतल्ल त्यसलाई पन्छाएर निस्कएँ बाहिर चिसो हावामा । हत्तेरी, उसको यो प्रश्नको जवाफ के दिने हो मैले ? चूपचाप उसलाई नियालेर हेरेँ र जिल्ल परेँ । मेरो कविता लेख्ने मुड त कहाँ पुग्यो कहाँ !

यो स्थितिलाई यत्तिकै छाडेर म फेरि अर्कोतिर फर्किएँ । अलि सुन्दर र बान्की मिलेको कविता पाए हुन्थ्यो लेख्नलाई, लागिरहृयो । यसै बेला एउटा विशाल वृक्ष देखा परे आँखाअघि अनेकौँलाई छहारी दिइरहेको । त्यहीँ गएँ र थचक्क बसेँ छायाँमा । पसिना ओभाएपछि हेरेँ चारैतिर र देखेँ भोक मात्रै सर्वत्र । त्यही वृक्षसँग कुरा गर्न मन लाग्यो । उनले भने-

कठै !
यतिका वर्षसम्म त
केवल सपना मात्रै बाँचिएछ ।

यो गहिरो अफसोच उनीमा किन होला ? अचम्म लाग्यो तर उनले भने फेरि-

बाँचेँ भनेर देखाउन त
केही पनि रहेनछ जीवनमा ।

मलाई अनायस आफ्नै जीवनलाई च्याप्प समातेर केस्राकेस्रा पल्टाएर हेर्न मन लाग्यो । अरू केही नकमाए पनि उनले जीवनभरिमा यो एउटा अनुभव चाहिँ कमाएछन् । उनले सिङ्गै जीवन खर्चेर कमाएको यो अनुभव कत्ति सजिलै सुन्न पाएँ मैले । मलाई आफ्नो बाँकी जीवन झनै प्यारो लाग्न थाल्यो, सुम्सुम्याएँ ।

थकाइ लाग्यो । सम्झें- ‘जीवनमा थकाइ पनि छ । थकाइ चौतारो हो यात्रालाई एकछिन बिसाउने र बाटोको बारेमा चिन्तन गर्ने ।’ भोकको मात्रालाई नापजोख गर्ने अवसर पनि हो चौतारो । थकाइलाई पनि माया गरेँ स्फूर्तिलाई जस्तै । यो थकाइ पनि मेरो आफ्नै हो ।

थकाइलाई शान्त पारेर उक्लँे माथि फूलबारीतिर । जीवनमा त फेरि रङहरू पनि छन् । फूलबारीमा फूलहरू मुस्काएका । सम्मोहित भएर सायद, हात अघि बढाएको मात्र थिएँ- लेखिएको देखेँ सूचना- “कृपया फूललाई हातले नछुनुहोला ।” टक्क अडिएँ र सोचेँ – ‘काँडालाई पनि त छुनु भएन, घोचिहाल्छ ।’ फिस्स फुस्किएर झरेँ ओठहरूबाट पातलोसँग र तिनै फूलहरूका रङहरूमा मिसिएँ । काँडा छ र पो फूलको पनि महìव छ त । फूलको महìवलाई बढाइदिने काँडालाई पनि किन हेप्नु र । “काँडालाई पनि फूलकै छेउमा राखेको राम्रो !” फूलकै आँखा छलेर सुटुक्क लेखेँ डायरीमा ।

केटाकेटीहरू पाएँ खेलिरहेका, केटाकेटीहरू । भनिहाले- “अङ्कल, हाम्रो पनि फोटो खिचिदिनुस् न ।” फोटोप्रति जागेको उनीहरूको भोकलाई शान्त पार्ने प्रयास गरेँ फोटो खिचिदिएर तर फोटोमा त फोटो मात्र देखेँ । उनीहरूको जीवनको सौन्दर्य त खिचिएनछ । कठै ! पलपलमा सौन्दर्य छोडिँदै र खस्तै बाँकी रहेको मूढो जस्तो जीवन घिसारिरहेका छौँ । तैपनि विवश छौँ, सार्थकता खोजिरहेका छौँ । फेरि सम्झें आफ्नै हजुरआमालाई । नब्बे वर्षसम्म मान्छेको जीवन बाँचेर मायामोहका यावत् तँछाडमछाड, तानातान गर्दागर्दै, मेरोमेरो भन्दाभन्दै, सकिन्छ कि आजै, भोलिलाई पनि चाहिन्छ भन्दाभन्दै सबैलाई झुक्याएर सुटुक्क मान्छेको जुनी छोडेर फोटो भइदिनु भयो उहाँ कत्ति सजिलै ।

आखिर हामी सबैको जीवन बग्न रोकिएको दिन फोटो नै हुने रहेछ । भोक सकिएको दिन हामी फोटोमा चढ्ने रहेछौँ र प|mेमको सीमित आयतनभित्र अटाउने रहेछौँ । कठै ! मुटु निचोरिएर आयो र हुरुक्क हुने गरी भोक लाग्यो जीवनको । कविता खोज्दै हिँडिरहेको बेलामा भाइबहिनीले फोटो खिच्न चाहनु र आफ्नै हजुरआमालाई फोटोभित्र सीमित भएको भोग्नुपरेको विवशतालाई एकैचोटि सम्झें । कत्रो विरोधाभास छ जीवनमा । फेरि जीवन सकिनै लागेको मान्छेले भन्दै थियो- “जीवन त साह्रै सुन्दर रहेछ ।” यी एकएक ओटा पाठहरू हामी जीवन केही बाँकी रहेकैहरूले पाएका छौँ । यसलाई सदुपयोग गर्नुपर्छ, ठानेँ ।

तर दिनदिनै विचित्रताहरू भोगिरहेको थिएँ, देखिरहेको र त्यसबाट सिकिरहेको थिएँ । जीवनका अप्ठ्यारा र गाह्रा अर्थहरू समेत खुल्दै गएको लागिरहेको थियो तर कविता भने झन्झन् टाढा हुँदै गएकोले फेरि नजरहरू घुमाएँ कविताकै खोजीमा । अनेकौँ नाङ्गा सत्यहरूको बीचमा उभिएर कमला भावना र अनुभूतिहरूलाई कसरी जोगाउने हो, चिन्तित भइरहेँ ।

एकछिन सोचमग्न हुँदा जीवन त अनेकौँ अनुहारहरूका तस्बिरहरूको सिङ्गो एल्बम बनेको देखिँदोरहेछ । छक्क परेँ- यीमध्येका कुन चाहिँ तस्बिर आफ्नो हो वास्तवमा । हुन त सबै आफ्नै त हुन् नि बेग्लाबेग्लै समयले चिथोरेका र खिचेका । दिक्क लाग्यो आफू त अनुहारहरूको खात मात्र पो रहेछु । ऐनामा हेरेर सधैँ सुम्सुम्याएको अनुहार मात्र कहाँ आफ्नो रहेछ र । अघि आफैंले खिचेको तस्बिरसँग ती केटाकेटीहरूको अनुहार फेरि भिडाएर हेर्न मन लाग्यो तर ती त समय न हुन्, कहाँकहाँ पुगिसकेका थिए, कहाँ भेट्नु ?

मन भारी भएको बेलामा एकाग्रता खोज्दै पुगेँ ईश्वरकहाँ तर ईश्वर स्वयंले भन्न थाल्यो-

भक्त,
तिम्रो आस्थाले म थिचिएँ
सक्छौ भने
मलाई अब पीडाहरूबाट मुक्त गर ।

म झसङ्ग झस्किएँ । व्यर्थै भौँतारिँदो रहेछु कहाँकहाँ- सम्झें । फेरि सम्झें उसलाई पनि जसले भनेकी थिई हिजो साँझ-

यो एउटा मन मात्रै छ
जस्तै आँधीहुरी र विपत्तिमा पनि जोगाएर राखेको
मेरो बाँच्ने आशा,
कृपया मलाई
आफूलाई मन लागेको कुराचाहिँ
नसोधिदिनु होला ।

मनै अमिलो भएर आएको अनुभव गरेँ । कविता झनै टाढा भागेर गयो । जीवन त झनै अमूर्त चित्र जस्तो लाग्न थाल्यो, जीवन त झनै भोकैभोकको पहाड जस्तो लाग्न थाल्यो । नयाँनयाँ उज्यालाहरू झिलिक्कझिलिक्क बल्न थाले तर यिनले पनि बनिसकेका धारणाहरूलाई त झनै खण्डहर पो बनाइदिने रहेछन् । जीवनको विश्वविद्यालय त झन्झन् फैलँदै गइरहेको पाएँ । त्यस विशाल फैलावटबीचमा म आफूलाई झनै सानो र झनै निरीह बनिरहेको अनुभव गरेँ । यसै निरीहताबीच थचक्क बसेर आँखा बन्द गरेँ । तब फेरि अर्को झिल्को झिलिक्क गर्यो । देखेँ- भोक अझै बाँकी थियो, बाटो अझै बाँकी थियो । पुग्नु त कहाँ हो कहाँ के थाहा तर हिँड्नु अझै बाँकी थियो । हिँड्दाहिँड्दै बुटवल आइपुगेको त कविता लेख्नलाई थियो । जीवन पढियो पाटापाटामा तर कविता त लेखिएकै थिएन । यो कविताको खोजीको क्रममा केही गतिशीलता ग्रहण गरे तापनि र कहीँ पुगेजस्तो लागे तापनि पुग्नुको स्थायी ठेगाना नभएपछि फेरि पनि म हिँडिरहनुपर्ने, गइरहनुपर्ने नियतिसँगै थिएँ र छु । मैले घामबाट, हावाबाट, पानीबाट, अन्न र माटोबाट- हरियो प्रकृतिबाट शक्ति प्राप्त गरेँ र त्यसलाई नशानशामा सञ्चय गरेँ । त्यसपछि म उठेँ र भोकलाई पनि उठाएँ र आँखा खोलेँ । डायरी पल्टाएर कविता लेख्ने प्रयास गरेँ-

सहरलाई दुई चिरा पारेर
लमतन्न सुतेको सडकको किनारमा
चौतारोमा पीपलको छायाँमुनि बसेर
निकैबेर सडकलाई नियालेर हेरेँ ।
हेर्दाहेर्दै
सहरका सबै घरहरू र मानिसहरू हराए
सट्टामा देखिए
सपनाहरू
औडाहाहरू
लालसा
मोह र भोकहरू ।

सहरलाई
अझ गहिरिएर हेरेको त
बिस्तारै हरायो सपना
त्यसपछि हरायो औडाहा
त्यसपछि लालसा
अनि हरायो मोह पनि ।
अन्तिममा बाँकी रहृयो
मेरो अगाडि निर्लज्ज उभिएको
सहरजत्रै ठूलो
र एकदम नाङ्गो
भोक ।
केवल भोक ।

आफूलाई अलिकति हलुका भएको महसुस गरेँ । एउटा कविता बल्ल लेखेको अनुभव गरे पनि आफू त बाटैमा थिएँ हिँडिरहेको । बाटो सोझो मात्र हिँड्दैन- फेरि मनमनै सोच्तै भोक बाँकी नै रहेकाले कविताका नयाँनयाँ विषय र शैलीको खोजीमा नै लागिरहेँ । बाटोमै थिएँ र बाटोमै हिँडिरहेँ ।

शनिश्चरे, झापा
हालः काठमाडौं

(स्रोत : मधुपर्क २०६६ चैत)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *