कविता : नदीको माझमा

~अमर गिरी ~amar-giri

नदीको माझमा छु म
डगमगाइरहेछ डुङ्गा
उठिरहेछन् छालहरू
ती ठोकिन्छन्
ढुङ्गामा/किनारमा
भयभीत छु म
विस्मित छु म
सोच्छु—
किनारामा उभिएर हेर्नेलाई
कति अभूतपूर्व लाग्दो हो यो दृश्य ?

आकाश सफा छ
सफा छन् पहाडहरू
पन्छी उडिरहेछन्
आकाशमा माथि–माथि
नदीको सुसाइमा मिसाएर
झन् मीठो सुनिन्छ लोकभाका
पहाड, न्यानो घाममा
सेकाइरहेछ पिठ्यूँ
तन्काउँदै शरीर
वृक्षहरू गरिरहेछन्
एकअर्कालाई अभिवादन
तर नदीको माझमा छु म
डुङ्गा गरिरहेछ ढलपल ।

सदियौँदेखि भेट्न चाहेको
किनारा भेट्नु छ मैले
सदियौँदेखि मेट्न चाहेको
तिर्खा मेट्नु छ मैले
फेरि कहिल्यै नमेटिने गरी
नयाँ केही लेखियोस्
फेरि कहिल्यै नखोसिने गरी
नयाँ बिहान रचियोस्
सोचिरहेछु
तर नदीको माझमा छु म
उठिरहेछन् असङ्ख्य छालहरू
डुङ्गा गरिरहेछ ढलपल ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *