कथा : दुश्मन

~बिष्णु भण्डारी~

सिर्जना पुन सुबेदार निर्मल बोहोराको घरमा पुग्दा साँझ परिसकेको थियो । कार्यदलका सबैजना उपस्थित भइसकेका थिए । उसलाई म अलि ढिला भएँ कि भन्ने लाग्यो । उसले एकपल्ट सबैको अनुहार हेरी र लुसुक्क एकातिर बसी ।

पूरा पन्ध्र वर्ष भएछ, ऊ त्यो घरमा नआएको । हुन त यसबीचमा लामो समय ऊ बाहिरै बसी । दोस्रो संविधानसभाको चुनावपछि हो ऊ नियमित रूपमा गाउँ बसेको । निर्मल बोहोरा भने आर्मीबाट रिटायर्ड भएपछि गाउँ फर्कियो । यतै ठेक्कापट्टा र विकास निर्माणमा लाग्यो । पार्टी प्रतिनिधिको रूपमा काम गर्‍यो । दुवैजना विपरीत विचारका । परस्पर विरोधी । दुश्मन कित्ताका । आज भने समयले दुवै जनालाई एकै ठाममा ल्याएर उभ्याएको थियो

सिर्जनालाई यो सबै एकरत्ति पनि मन परेको थिएन । उसले नचाहँदा नचाहँदै चुनावी तालमेलका लागि कार्यदल बनेको थियो । जोसँग मिलेर भए पनि चुनाव जित्नैपर्ने ह्विप जारी भएको थियो । जसरी पनि सके अध्यक्षमा नभए उपाध्यक्षमा त जित्नैपर्ने थियो । यो प्रतिष्ठाको मात्र होइन, पार्टी जीवनकै लागि पनि महत्वको विषय थियो ।

खाना खाने गरी डाकेको थियो सुबेदारले बैठक । खाना बन्दै थियो । त्योभन्दा पहिले रुचि अनुसारको पेय पदार्थ आयो । चौधरी भाइले पहिले चिसोको बोत्तल र गिलास लिएर आयो । केही समयमा सेकुवा, भुटन र तरकारीसँगै चिउराको थाली आयो । अन्त्यमा ह्विस्कीको बोत्तल । ‘ल ! यस्तो पनि व्यवस्था छ ? ’, जिल्ला संयोजकले अलि आश्चर्य व्यक्त गर्दै भन्यो । ‘ल कमरेड पनि ! पहिलोपल्ट मेरोमा आउनुभएको छ, व्यवस्था त गर्नै पर्‍यो नि !’ निर्मल बोहोराले अलि अप्ठेरो मान्दै उत्तर दियो । त्यसपछि कोही बोलेन ।

आजको बैठकमा को कुन पदमा उठ्ने भन्ने निर्णय गर्नु थियो । बैठक गम्भीरै भएकाले होला, पार्टी संयोजक स्वयं आएका थिए । पार्टी संयोजक नै आएपछि म आउन्नँ भन्न पनि भएन । प्रतिबद्ध कार्यकर्ताका लागि यो सुहाउने कुरो पनि थिएन । फेरि चुनाव जित्नैपर्ने थियो । यो सबै विचार गरेर आएकी थिई बैठकमा सिर्जना पुन ।

उसले एकपल्ट कोठाको निरीक्षण गरी । धेरै वर्षपहिले ऊ अन्तिमपल्ट यो घरमा आएकी थिई । ऊ मात्र आएकी थिइन, ऊसँगै मिलिसियाको टिम पनि आएको थियो । सायद त्यति खेरको घटना यही झ्यालमा भएको हुनुपर्छ । उसले अनुमान लगाई । दक्षिणतिरको झ्याल र झ्यालसँगैको ढोकामा जमिनदार अहिले पनि खुकुरी उज्याएर उभिएझैं लाग्यो । त्यही झ्यालबाट उक्लिँदै गर्दा हो, जमिनदारले छप्काएको सिर्जनाको लोग्नेलाई ।
लोग्ने ठाउँको ठाउँ ढलेको थियो ।

भर्खरै सिर्जनाको विवाह भएको थियो । एउटै गाउँका बासिन्दा, मिलेरै बस्नुपर्छ भन्ने धारणा थियो उसको । समयले भने उनीहरूलाई मिलेर बस्न नसक्ने अवस्थामा पुर्‍याएको थियो । गाउँको ठूलो जमिनदारमध्येमा पथ्र्यो सुबेदारको बाउ । गाउँमा उसको सान र मान उँचो थियो । युद्धको प्रारम्भिक दिनको कुरो हो । एक दिन जमिनदारको आँगनमा ग्वारग्वार्ती विद्रोही देखिए । हुन त जमिनदारलाई उनीहरू आउँदैछन् भन्ने थाहा थियो । उसले पनि आफ्ना सेनामेना जुटाएको थियो । विद्रोहीको चासो जमिनदारका दुई नाल बन्दुकसँग थियो । उनीहरूलाई बन्दुक चाहिएको थियो ।

उनीहरूको भित्री उद्देश्य के थियो भन्ने सार्वजनिक भएको थिएन । घटना घटेपछि भने घरमा भएको सम्पूर्ण सुनचाँदी र नगद लुटिएको थियो । लालपुर्जा र तमसुकमा आगो लगाइएको थियो । दुइटा बन्दुकका लागि दुई जनाको ज्यान गएको थियो । सिर्जनाको लोग्ने र सुबेदारका बुवा मारिएका थिए । त्यसपछि हो, गाउँ आतंकित भएको । जमिनदारको लास आँगनमा लडेको थियो । सिर्जनाको लोग्नेलाई भने मिलिसियाले राति नै लिएर गए । जाँदै गर्दा उनीहरूले लगाएको नारा अझै पनि सम्झना छ उसलाई ।त्यसपछि सिर्जना पनि भूमिगत भएकी थिई ।

उसले यो सबै सम्झिई । त्यसपछि के-के घटना घटे, सबै उसको स्मृतिमा आउने र जाने भइरह्यो । कसरी ऊ युद्धको अग्रमोर्चामा रहेर लडाइँ लडी ? कसरी ऊ दुश्मनद्वारा बलात्कृत भई ? र, कसरी ऊ शान्तिप्रक्रियापछि गाउँ आई ? यो सबै सम्झिँदा उसलाई असह्य भयो । हेर्दाहेर्दै सबै माथिमाथि पुगे । उसको मोर्चामा रहेका कतिपय मारिए, बाँचेका कोही विदेश पलायन भए । कोही व्यापार व्यवसायमा लागे । नेताको नजिक रहेका र टाठाबाठा सभासद् भए । ऊ भने अन्तिममा गाउँमै फर्किई । गाउँ फर्किएपछि धेरैले धेरै लख काटे । कतिले भने— सिर्जनाले पार्टी छोडी । कतिले भने— सिर्जनाले विवाह गरी । कतिले भने— सिर्जना फेरि बन्दुक बोक्छु भन्ने पार्टीमा जाँदैछे । सबैका अनुमान फेल खाए । ऊ कतै गइन ।

गाउँमा स्थानीय चुनावको सरगर्मी बढ्दै गयो । जनजाति बहुल गाउँ, सिर्जना नै उत्तम उम्मेदवार हुन सक्थी । उसलाई भने खै के भएको हो, चुनावप्रति पटक्कै ध्यान थिएन । उसको हाउभाउबाट बुझिन्थ्यो— उसलाई सत्ता साझेदारीको दुर्गन्धित खेल मन परेको छैन । ऊ भन्थी, ‘हामीले यस्तै फोहोरी राजनीतिको विरुद्धमा हो बन्दुक बोकेको ? खै मैले त बुझ्नै सकिनँ यो राजनीतिको खेल ? ’
ऊ सम्पूर्ण लोभ र लालचदेखि टाढै बसेर राजनीति गर्थी । कसैले सोध्यो भने भन्थी, ‘मैले राजनीति गरेको सेवाको निम्ति हो । मेवा त म स्वयं फलाउन सक्छु ।’‘अब पुराना कुरा बिर्सनुपर्छ सिर्जना’, एक दिन जिल्ला संयोजकले भनेका थिए, ‘राजनीतिमा स्थायी शत्रु हुन्न भन्ने बुझिएन भने हामी फेरि पछाडि फर्कनुपर्छ ।’
यो सुन्दा उसलाई सहिनसक्नु पीडा भएको थियो ।

अब उसले सुबेदार निर्मल बोहोरालाई महान् उम्मेदवार भन्नुपर्नेछ । गाउँका सहिद र बेपत्ता परिवारजनसँग गएर उनका लागि भोट माग्नुपर्नेछ । ‘हिजो त सुबेदार निर्मल बोहोरालाई वर्ग दुश्मन भन्थिस् नि नानी !’ भन्दा उसले के उत्तर दिने होला ! होइन तेरो सिन्दूर मेट्ने यिनै हैनन् र भन्दा के भन्ने होला ! ऊ क्षोभ र विषाद्को भुँवरीमा यसरी फसी कि उसलाई लाग्यो अब ऊ निस्कन सक्नेछैन ।

केही बेरमै सबैले चियर्स गरे । उसले भने चिसोमात्र लिई । ऊसँगै बसेकी कार्यदलकी महिला सदस्यले पनि चिसोमात्र लिई । ‘भाउजू तपाईंकोमा त घरमै मदिरा बन्छ, हैन र !’, मुस्कुराउँदै सुबेदारले जिज्ञासा राख्यो । ‘त्यो त हाम्रो संस्कृति हो बाबु । तर, मलाई दारु मन पर्दैन’, सिर्जनाले प्रतिउत्तर दिई । उसले नलिए पनि सबैजना गफिँदै सेकुवा र ह्विस्कीमा रमाए । केही बेरमा बँदेलको सेकुवा आयो । ‘बँदेल पो ! क्या हो सुबेदार सा’ब ? आजैदेखि भोज सुरु ! यस्तै हो भने विजय निश्चित हुने भयो ।’ जिल्ला संयोजकले बँदेलको सेकुवा चपाउँदै भन्यो । उसको यो भनाइ कत्ति पनि मन परेन सिर्जना पुनलाई ।

‘कसरी लाछी भएर बोलेको होला !’ उसले घृणापूर्वक संयोजकको अनुहारमा हेरी । ऊ भने हिजोका सबै प्रतिबद्धता भुलेर सुबेदार निर्मल बोहोरासँग यसरी साखुल्ले भएको थियो कि कसैले पनि ऊ हिजोको क्रान्तिकारी पार्टीको जिल्ला संयोजक हो भन्न सक्दैनथे ।

मेयर पदको उमेदवार हुन पाएकोमा खुसी व्यक्त गर्दै सुबेदारले भन्यो, ‘ल कमरेड ! के गर्नुपर्छ, म तयार छु । एकछापे हानेर हुन्छ कि बुथै कब्जा गरेर हुन्छ, यहाँ हामीले नै जित्नुपर्छ ।’ सबैले हो मा हो मिलाए । ‘तपाईंजस्तो कर्मठ व्यक्तिसँग मिलेर चुनावमा जानु भनेको हाम्रो लागि पनि खुसीकै कुरो हो’, कमरेड संयोजकले ह्विस्कीको गिलास रित्याउँदै भन्यो । यस्तो लाग्थ्यो, यी दुई जोडी पहिल्यैदेखिका हितैषी मित्र हुन् । हिजोको दुश्मनी केवल स्वार्थका लागि थियो । ‘तपाईं होइन तपाईंको पार्टीसँग भन्नोस् न’, अर्को कुनोबाट संयोजकको भनाइप्रति असहमति व्यक्त गर्‍यो सुबेदारको कार्यकर्ताले।

‘कमरेडलाई हाम्रो पार्टीको नाम लिन अप्ठेरो भएर पो हो कि !’, अर्कोले हाँस्दै व्यंग्य गर्‍यो ।‘हामी त्यस्ता जड कम्युनिस्ट कहाँ हौं र मित्र ! हामी त एक्काइसौं शताब्दीका कम्युनिस्ट पो हौं त । वर्ग दुश्मन बिनाका । कि कसो !’, संयोजकको अनुहारतिर हेर्दै सिर्जनाले भनी । संयोजकको अनुहार अलिक बिग्रियो । उसले खाली गिलास स्वाट्ट पार्‍यो ।
‘अब पुरानो तिक्तता भुल्नुपर्छ भाउजू ।’ सुबेदारले सिर्जना पुनतिर हेर्दै भन्यो, ‘हामीलाई पनि तपाईंहरूसँग एकता गर्न त काँ मन थियो र ! तर के गर्ने, मुख्य दुश्मनलाई हराउन सहायक दुश्मनसँग मिल्नैपर्ने रै’छ । कतै मैले बढी त बोलिनँ कमरेड !’, उसले जिल्ला संयोजकतिर हेर्दै भन्यो ।

‘तपाईंको पार्टीमात्र अर्को हो । विचार त हामीसँगै मिल्ने हो नि !’, उसको भनाइमा सहमति जनाउँदै संयोजकले भन्यो, ‘त्यै भएर त हामीले स्वीकारेका हौं तपाईंलाई ।’
‘यो गाउँमा अब रूख र गोलाकार चिह्नमात्र देखिनेछ’, सुबेदारले घोषणा गर्‍यो । बोल्दै गर्दा किन हो सुबेदार निर्मल बोहोराको अनुहार आज अर्कै देखी सिर्जनाले । बत्तीको मधुरो प्रकाशमा उसको अनुहार विस्तारै बिग्रिँदै गयो ।

सिर्जना पुनको अगाडि यतिखेर कैयौं अनुहार तँछाडमछाड गर्दै थिए । उनीहरू जिब्रो लपलपाउँदै सिर्जना पुनको नांगो शरीरमाथि घोप्टिँदै थिए । त्यो तँछाडमछाडमा सुबेदार निर्मल बोहोरा पनि देखियो । ओहो ! के भएको हो यो ? कसरी सुबेदारको अनुहार यतिसाह्रो विकृत भएको ? उसले एकपल्ट आँखा मिची र पुनः सुबेदारको अनुहारमा हेरी ।

यतिखेर सुबेदार पार्टी संयोजकलाई चाकडी बजाउँदै गिलास भरिदिँदै थियो ।
आज सिर्जना तिनै ‘दुश्मन’ भनिएकाहरूसँग बसेकी थिई । उनीहरूसँगै अबको चुनावमा सिर्जना उम्मेदवार हुनेछे । उनीहरूसँगै ऊ चुनाव प्रचारमा हिँड्नेछे । सुबेदार निर्मल बोहोरालाई विकासप्रेमी, कर्मठ र इमानदार भन्नेछे । ऊ उपमेयरमा उठ्ने छे । उसलाई थाहा छ, मेयर उसलाई दिइनेछैन । फेरि ऊजस्तो महिलाले मेयर दाबा गर्न पनि त सुहाउँदैन । अमेरिकाजस्तो मुलुकमा त अहिलेसम्म महिला कार्यकारी छैनन् । यहाँ झन् कसरी हुने ?

त्यसमा पनि सुबेदार निर्मल बोहोरा उसको संयोजक कमरेडकै आफन्त ! उनको पनि मन राख्नैपर्‍यो, पार्टीमात्र भनेर भएन । नाता-सम्बन्ध पनि त हेर्नुपर्‍यो । भोलि फेरि प्रदेशको चुनाव हुँदैछ । त्यहाँ जित्नका लागि पनि त वातावरण मिलाउनै पर्‍यो ।
उसले सोच्दासोच्दै निकै बेर बितेछ । ‘ल ल ! समाचार हेर्नुपर्छ’, कसैले चिच्याउँदै भन्यो । टीभी अन भयो । बेलुकाको ८ बज्दै थियो । टीभी स्क्रिनमा सिर्जनाको पार्टी अध्यक्ष मुस्कुराउँदै देखा परे।

पार्टी अध्यक्षको दायाँबायाँ रूख र गाई पार्टीका अध्यक्षहरू शानले बसेका थिए । टीभी स्क्रिनको तल लेखिएको थियो, ‘चुनावी तालमेलका लागि तीन पार्टीबीच गम्भीर छलफल ।’ नभन्दै तत्कालै तीनैजना अध्यक्ष उठेर यसरी हात मिलाए कि, त्यहाँ कहीँकतै दुश्मनीको छनकसम्म पनि देखिँदैनथ्यो।

शनिवार, भदौ १०, २०७४

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *