कथा : म खेदिइरहेछु

~सुन्दर मानन्धर~Sundar Manandhar

मेरा पुर्खाहरुलाई नेपालको गरिबीले खेदेपछि भारतको पूर्वाेत्तर राज्य आसाम पुगे । म त्यहीँ जन्मिएँ । नेपाल, त्यसैले मेरा लागि पितृभूमि बन्यो । हामीले त्यहाँको बाँझो जमिनलाई जोत्यौँ, खन्यौँ र उर्वर बनायौँ । हामीले त्यहाँ गाईवस्तुहरु पाल्यौँ । अन्न र दूध हाम्रा प्राण थिए, हामी त्यहाँका नजानिदो धर्तीपूत्र बन्यौँ । आफूलाई आदिवासी बताउने त्यहाँका विद्रोहीहरुले हामीलाई खेदे । हामी त्यहाँ बस्नै नसक्ने भयौँ । पराइको माटामा बसेकाले हामी खेदियौँ । यत्रो पृथ्वीमा अन्त जाने ठाउँ कहीँ कतै पाएनौ हामीले, हाम्रा पाइतालाका पदचापहरु कसैले सुन्नै मानेनन् । हाम्रा अनुहारमा कोरिएका राष्ट्रियताका नीला धर्साहरु सबैका परिचायक बने ।

गरिब–सर्वहाराको देश–भेष हुँदैन भन्थे– तर सबैभन्दा बढी देश, भेष र राष्ट्रियता त तिनैका पो हुँदा रहेछन् । गरिबहरु अन्तर्राष्ट्रिय जाति भन्थे– तर सबैभन्दा बढी राष्ट्रिय जाति त तिनै पो हँुदा रहेछन् । बाध्यताले । मानिसहरुले गरिबको गरिबीलाई बौद्धिक विलासको साधन पो बनाइरहेका हँुदा रहेछन् । त्यसैले म र हामीहरु गरिबी छोडेर भागेकै देशमा फक्र्यौँ फेरि । रहरले होइन– खेदिएर फक्र्याैँ । बाँच्नै नसक्ने भएर बाँच्नका निम्ति फक्र्याैँ । त्यसैले आज गरिबीको दानवीय पहाडले थिचिएर मर्नै लाग्दा पनि नेपाली बनेर बाँचिरहेछु ।

होइन ! यो नेपाली भन्ने जात अरुको लागि लडिदिन, अरुको भाग्य सपारिदिन जन्मिदा रहेछन् कि कुन्नि !
पितृभूमि बनिसकेको देश फर्किदा बस्ने बास थिएन । घर खण्डहरमा फेरिइसकेको थियो । बुबाको नामको अंश माइलो हरायो भनेर दाजुभाइहरुले खेतबारी र पाखाहरु बाँडेर लिइसकेका थिए । एकाएकको हाम्रो उपस्थितिले आफन्तहरु एकैचोटि हर्ष–विस्मित् भए । हराएको माइलो परिवारसहित आउँदा खुशी भए, बाँडेर खाएको अंश फिर्ता दिनुपर्ने भएकाले विस्मित् भए ।

खण्डहर घरलाई पन्साएर त्यहीँ फेरि अर्काे नयाँ घर नामको बुकुरो बनायौँ हामीले । दुःखले खेदिरह्यो हामीलाई । आसामको सुख सम्झदा यहाँको दुःखले छाती पोल्थ्यो र पोलिरहेछ । नेपालको दुःखले मरुभूमिको चर्काे घामले भन्दा बढी पोलिरहेछ । अरबको÷मरुभूमिको घामले शरीर पोल्छ तर नेपालको गरिबीले मन भटभटी उम्लिरहन्छ । दुःखमा अचम्मैले उम्ल्यो मन– एकदिन गाँवै छाड्ने निर्णय गर्यौँ ।

+ + +

गाउँको दुःखले खेदेपछि पोखरा हान्नियौँ हामी । माछापुच्छ«े, सेती र फेवाले सान्त्वना दिएपनि यहाँका मानिसहरुले हामीलाई खेदिरहे । ढुङ्गा, गिट्टी र बालुवाहरुमा हामी खेदिइरह्यौँ । हाम्रा पसिनाहरुले कैयौँका घरहरु ठडिए, कैयौँका रङ्गीन जीवन शुरु भए– घरसँगै । तर हामी सधैँ उस्तै भयौँ र भइरहेछौँ । हाम्रा पसिनाहरुले हामीलाई नै डुबाएर मार्न खोज्दैछ । हामी हाम्रै पसिनाहरुको आहालमा डुबेर जिउँदै मरिरहेछौँ । यति विकराल गरिबीलाई पनि नदेख्ने यो के देश ? हाम्रा पसिनाहरुको मूल्य नबुझ्ने के शासक ? हामीलाई सधैँ आँसु, पसिना र वेदनाहरु उपहार दिने यो के राष्ट्रियता ? हाम्रा भोकहरुको साथी बन्न नसक्ने के नागरिक ? यो देशले हाम्रो श्रम–पसिना चुसिरहेछ । कति सस्तो आँसु हाम्रो अनि कति मूल्यहीन हाम्रा श्रम र पसिनाहरु……..।

हाम्रा आँसु, श्रम र पसिनाको मूल्य दिन्छौँ भन्नेहरु आए । त्यसैमा होमियो हाम्रो परिवार । दस वर्षसम्म अझैँ बढी आँसु र पसिनाहरु बगायौँ हामीले । कतै–कतै कतिका परिवारमा रगतको खोलो बग्यो । सर्वहाराको क्रान्तिलाई समर्पित गरेको मनमा एकाएक धजा फाट्यो । जब उनीहरु महलहरुमा पसे, चिल्ला गाडीहरु चढे, आफैले गाली गरेको बुर्जुवाहरुको अखडा मा डेरा जमाए, दुश्मनसँग नमीठो सम्झौता गरे……। हाम्रो हृदय बेस्सरी चहर्यायो, हामी लल्याकलुलुक भयौँ । हाम्रा आशा स्तम्भहरु यसरी जमिनमा उठ्नै नसक्ने गरी ढल्लान् भन्ने कहिल्यै कल्पनै गर्न बिर्सेछौँ । अरुलाई कागजी बाघ भन्नेहरु आफै पानी बाघ बने । कति–कति आमा र विधवाहरुको सिउँदो उधारेको त्यो क्रान्तिले पनि मलाई खेद्यो ।

मलाई जन्म दिने आमा कुपोषणले रोगी हुनुभयो, वहाँलाई उपचार गर्न पैसा थिएन, हप्तादिन जति ओछ्यानमै थलो पर्नुभयो, मजदुरी गरेर ल्याएको मेरो पसिनाको कमाइले वहाँलाई बचाउनै सकेन । मर्नुअघि आमाले भन्नुभयो– “बाबु ! तँलाई हामीले जीवनमा कहिल्यै सुख दिन सकेनौ, तँबाट पनि मैले सुख पाउँन सकिन ।” उफ् ! आमालाई मैले कहिल्यै सुख दिन सकिन । म कस्तो छोरो बनेछु, अहिले बुझिरहेछु । आमाको मनबाट पनि म खेदिएँ नराम्रोसँग ।

बुबा उस्तैगरी मजदुरी गरिरहनुहुन्थ्यो । साहूको काममा जाँदा घरको दुई तलामाथिबाट लड्नुभयो, अस्पताल लगेको भोलिपल्टै उपचार नपाएर वहाँले पनि हामीलाई सदाका लागि छाडेर जानुभयो । आफ्नो दुःख आफै लुकाउनुभयो । मर्नअघि बुबाले भन्नुभयो– “छोरा ! तँलाई पढाएर ठूलो मान्छे बनाउने सपना थियो मेरो । के गर्नु, उताबाट खेदिएर फेरि नेपालै आउनु पर्यो । यहाँ आएपछि हामीलाई नेपालको गरिबीले खेदेको खेद्यै छ, तेरी आमालाई पनि गरिबीले खेदेर आफूसँगै लगिहाल्यो, तँप्रतिको मेरा सपनाहरु टुहुरो बने । मैले तेरो भविष्य सर्पान सकिन । त्यसैले तैँले मलाई सुख दिन सकिनस् ।” बुबाको वाक्य र शब्दहरु अझैपनि मनमा घण्टीझँै टिनिन्नटिनिन्न गरिरहन्छ । बुबालाई सुख दिन नसक्ने म छोरो बुबाको तस्विर आँखामा टाँसेर खेदिइरहेछु ।

आसाममै हुँदा उतैकी केटीसँग प्रेमविवाह गरेँ । प्रेमको कुनै देश हुँदैन । प्रेमको साँध–सिमाना पनि देखिदैन । प्रेमको अमूर्त परिभाषामा बाँधिएका हामीबाट त्यहाँ हुँदा एउटा छोरो जन्मियो । खेदिदा हामी दोस्रो र तेस्रो पुस्ता आसामको माटोबाट खेदिएका थियौँ । मेरी स्वास्नीले सन्तानहरु जन्माइन् लगातार । खिनौरी शरीर बोकेर मजदुरी गर्न जान्थी सधैँ ऊ । उसको पेट बढेको देखेर भविष्यसँग डराएँ म– कसरी पालनपोषण गरुँला भनेर । साच्चिकै म पहिल्यै डराएको थिएँ– उसको पेटसँग, पेटभित्र हुर्किरहेको नयाँ जीवनसँग । उसको भविष्यलाई मार्न म बाबु बन्दै थिएँ । पाँच दिनसम्म सुत्केरी व्यथाले च्याप्यो उसलाई । पैसा नभएकाले हस्पिटलसम्म पुर्याउन सकिन । ऊ पनि मानिन । किनभने दुईवटै सन्तान सेतीको बगरमा फुत्तफुत्त जन्माएकी थिई उसले । “मलाई मारेर यो जन्मिनेछ ।” असैह््रय पीडामा बर्बराउँदै भनेकी थिई । छोरो जन्माई तर ऊ आफै मरी । एकदिन उसले दुःखी हुँदै भनेकी थिई– “मैले जीवनभर तिमीले जे–जे भन्यौ त्यही–त्यही मानेँ । त्यसैले म मेरो आमा, बुबा र आसामको माटोलाई त्यागेर तिमीजस्तै बनेर यहाँसम्म आएँ । तर तिमीबाट मैले कहिल्यै सुख पाइन । एउटा पतिबाट पत्नीले सधैँ उसको माया र सुखी जीवनको छाँया देखिरहेकी हुन्छे । तर म स्वयम् तिम्रोे छाँयाबाट खेदिइरहेछु– कहिल्यै नछुट्टिने गरेर ।” मेरी स्वास्नीका यी वचनहरुले मेरो हृदयलाई उठ्नै नसक्नेगरी छियाछिया बनाइदिएको छ । लोग्नेस्वास्नीको सम्झौतामा म नराम्रोसँग पछारिएको छु । स्वास्नीको आँसुसँग म हारेँ र ऊदेखि पनि खेदिएको छु ।

आमा नभएपछि शिशुहरु बाबुका निम्ति थप भार बन्दा रहेछन् । किनभने मसँग उसलाई माया गर्ने मातृवात्सल्य थिएन, उसको भोक तृप्ति गरिदिने दुधालु स्तनहरु थिएनन् । त्यसैले म मेरो नवजात शिशुदेखि पनि खेदिएँ । अझै भोकदेखि खेदिएँ । आज ऊ आठ वर्षको भयो । कुनै घरको मायालु वातावरणमा ऊ हुर्किरहेको छ । त्यहाँ उसका आमा र बुबा छन् । कहिलेकाही ऊ मेरै अगाडिबाट झोला बोकेर स्कुल हिडिरहेको हुन्छ– उसका साथीहरुँग । म बाबु ! टुलुटुलु हेरेर बस्छु । मेरा आँखाहरु–मनहरु विमूढ बन्छन् । कुनै दिन उसले म बाबु भनेर अवश्य चिन्नेछ । म त्यही दिनको प्रतीक्षामा छु । र त्यही दिनको आशामा बाँचेको छु– आउँला उज्यालो कुनै दिन भनेर ।

+ + +

यो प्रकृति प्रदत्त धरालाई मान्छेहरुले आ–आफ्ना साँध र सिमानाले छुट्याएर हामीलाई भूमिहीन बनाएका छन् । देश छुट्याएर हामीलाई देशविहीन बनाएका छन् । म नेपाली हुँ भन्न डर लाग्छ– किनभने म नेपालमा जन्मिन । मेरा आँखाहरु र पाइतालाहरुले पहिलोपटक स्पर्श गरेको धर्ती नेपालै होइन । यहाँदेखि माइलौँ दूरी परको माटो आसाम हो । तर म त्यहाँ नेपाली बनेकाले खेदिएँ रे ! कति भ्रमित जीवन मेरो ! सोच्छु– म को हूँ ! ?
सबैभन्दा ठूलो कुरा– अहिले मलाई नेपालले गरिबी उपहार दिएर खेदिरहेको छ । म खेदिइरहेछु…………!

(कथासमर्पण– जो विदेशी भूमिमा आफ्नो ज्यानको पर्वाह नगरी माटाको मायामा जुटिरहे, जसले मानिसलाई नयाँ जीवन दिए र यो धर्तीमा नयाँ ढङ्गले बाँच्न सिकाए, तिनै धर्तीपूत्रहरु घरवारविहिन भएर खेदिनुपरेको इतिहास प्रत्यक्ष देखेँ–तिनैप्रति)

बाटुलेचौर–१६,पोखरा

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *